Techie IT
×
गृहपृष्ठविचारनियोजित अप्रचलन पुँजीवादको प्रतिफल

नियोजित अप्रचलन पुँजीवादको प्रतिफल


काठमाडौं ।
आजभोलि टिकाउ वस्तु उत्पादन गर्ने कम्पनीहरूले उत्पादित वस्तुको परिमार्जित संस्करण छिटो–छिटो बजारमा ल्याइरहन्छन् । यसले भर्खरै किनेका वस्तु पनि पुरानोजस्तो लाग्ने वातावरण सिर्जना गर्दछ । पुराना वस्तुलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउनुभन्दा नयाँ खरिद गर्न उपभोक्तालाई प्रोत्साहित गरिन्छ । यसै प्रचलनलाई नियोजित अप्रचलन भनिन्छ ।

यस प्रचलनको मुख्य उद्देश्य उपभोक्तालाई छिटो–छिटो वस्तु किनेर उपभोग गर्न बाध्य पार्नु रहेको हुन्छ । नियोजित अप्रचलनका कारण आज विश्वका विकासोन्मुख र अतिकम विकसितको अर्थतन्त्र बढी प्रभावित बन्न पुगिरहेको छ ।

विश्वमा प्रचलित आर्थिक विचारधारा पुँजीवाद र साम्यवाद, यी दुईमध्ये कुन विचारधारालाई बढी अवलम्बन गरियो जसबाट अर्थतन्त्र निर्देशित भइरहेको छ । यसैको आधारमा वस्तुको उत्पादन, वितरण र उपभोक्ताको व्यवहार केन्द्रीकृत बनिरहेको हुन्छ ।

अप्रचलन वर्तमान समयमा विश्वमा फस्टाउँदै गइरहनु पुँजीवादी अर्थतन्त्रको सफल परीक्षण हो । ती वस्तु पुँजी हुन् जसले श्रमिकबाट अतिरिक्त मूल्य निकाल्छन् र आफ्नो मूल्यलाई बढाउन सक्छन् । आत्मविस्तार पुँजीको प्रमुख विशेषता हो, जसलाई वस्तु र मुद्राका रूपमा बुझ्न सकिन्छ ।

पुँजीपतिले उत्पादनका साधन श्रम, भूमी, मेसिन र प्रविधिको खरिदमा मुद्राको लगानी गर्दछन् । श्रमिकले आफ्नो श्रमशक्तिद्वारा उत्पादन साधनका अतिरिक्त मूल्य थप्दै नयाँ वस्तुको उत्पादन गर्छन् । जसलाई बेचेर पुँजीपतिले मुद्रा प्राप्त गर्छ । पुँजीपतिले उत्पादनका साधनमा लगानी गरेको मुद्राभन्दा उत्पादित मालको बिक्रीबाट प्राप्त मुद्रा उच्च हुनुपर्छ भन्ने अपेक्षा गरेको हुन्छ ।

पहिलाका दिनहरूमा पुँजीवाद सकियो, पुँजीवाद ढल्यो अब टाउको उठाउन सक्दैन, मरणासन्न अवस्थामा पुग्यो भन्दै राजनीतिज्ञहरूले राजनीतिक दृष्टिकोण व्यक्त गरे तर आजभोलि यो झन् जवान भइरहेको पाउन सकिन्छ । यो सैद्धान्तिकरूपमा पछारिँदा पनि उठाएर दौडाउने काम उपभोक्ताको उपभोक्तवादले गरिरहेको छ ।

उपभोक्तावाद उपभोक्तामा फैलिएको एउटा त्यस्तो विचार र संस्कृति हो जसले धेरैभन्दा धेरै वस्तु तथा सेवाको उपभोगमा जोड दिन्छ । यसरी बढेको उपभोग उपभोक्ताका लागि प्राकृतिकरूपमा आवश्यक हो वा होइन भन्ने कुरा उपभोक्तावादी संस्कृतिको सरोकारको विषय बन्ने गर्दैन । पुँजीवाद अधिक उत्पादनमार्फत उच्च नाफा आर्जन गरि पुँजी सञ्चय गर्ने विषयमा केन्द्रित भएको हुन्छ । उपभोक्तावाद र पुँजी सञ्चय खुल्ला अर्थव्यवस्थाका लागि एउटै सिक्काका दुई पाटा हुन् ।

पुँजीवादी व्यवस्थामा धन र नाफा आर्जनको कुनै निर्धारित सीमा हुँदैन । पुँजी र पुँजीवादी प्रणालीको स्वविस्तार प्रक्रियामा धेरैभन्दा धेरै वस्तुहरू उत्पादन भइरहनुपर्छ र उत्पादित वस्तुले बजार पाइरहनुपर्छ । यसो हुन सकेन भने पुँजीवादी प्रणाली संकटमा पर्छ ।

पुँजीपतिले नाफा आर्जन गर्न सक्दैन । आफ्ना श्रमिकलाई कमभन्दा कम ज्याला र सुविधा दिन खोज्नु कुनै पनि पुँजीपतिको आमप्रवृत्ति हो । उसले श्रमिकलाई जति कम ज्याला दिन सक्यो, उसको नाफा त्यति नै बढ्छ, तर यसले श्रमिकको उपभोग र क्रयशक्ति भने घटाउँछ । त्यही पुँजीपति आफ्नो कम्पनीभन्दा बाहिरका श्रमिकहरूले उसको कम्पनीले उत्पादन गरेका धेरैभन्दा धेरै माल किनेर उपभोग गरून् भन्ने अपेक्षा राख्छ ।

यही अपेक्षाबाट प्रेरित भएर उसले आफ्नो कम्पनीमा काम गर्ने श्रमिकलाई धेरैभन्दा धेरै वस्तुहरू उत्पादन गर्न लगाउँछ टिकाउयोग्य वस्तुहरू, जस्तै– कम्युटर, मोबाइल, टिभी, गाडी आदिको परिमार्जित संस्करण छिटो–छिटो बजारमा ल्याइरहन्छ र उपभोक्तालाई छिटो–छिटो वस्तु किन्न र उपभोग गर्न प्रेरित गर्ने वातावरण सिर्जना गरिरहेको हुन्छ । उपभोक्तालाई सरल मूल्यमा वस्तु उपलब्ध गराउनुभन्दा पनि विज्ञापनमा अधिक खर्च गरी बिक्री परिमाण बढाउने गर्दछ ।

विज्ञापनले मानिसलाई खाने, पिउने, लगाउने, खेल्ने, सोच्ने आदि तौरतरिका बदल्न बाध्य पारिरहेको हुन्छ । पुँजीवादमा मूल्यमा प्रतिस्पर्धा हुनुपर्ने हो तर पुँजीवादले एकाधिकारको स्वरूप ग्रहण गरेपछि मूल्यमा प्रतिस्पर्धा हुँदैन । बरु वस्तुको आवरण, प्याकेजिङ र विज्ञापनको प्रतिस्पर्धाले आकाश छुँदै जान्छ । यसले पुँजीवादमा गम्भीर अन्तरविरोध सिर्जना गर्छ ।

यो अन्तरविरोधको एउटा छेउमा धेरैभन्दा धेरै वस्तु बेच्न ठीक्क परेका पुँजीपतिहरू हुन्छन् भने अर्को छेउमा न्यून ज्याला र न्यून क्रयशक्ति भएका श्रमिक हुन्छन् । श्रमिकहरू आफँैले उत्पादन गरेका सबै वस्तु किनेर उपभोग गर्न सक्दैनन् जसले गर्दा धेरै माल नबिकेर खेर जान्छन् ।

अर्थशास्त्रले भन्छ जति धेरै वस्तुको उपभोग ग-यो, त्यति धेरै सन्तुष्टि प्राप्त हुन्छ । तर, जति धेरै खर्च गरे पनि, जति धेरै वस्तुको उपभोग गरे पनि उपभोक्ताले सन्तुष्टि प्राप्त गर्न सक्दैन, किनभने उसको वरिपरिको राजनीतिक, सामाजिक र आर्थिक संकटलाई पुँजीवादले झन्झन् बल्झाइरहेको हुन्छ । मान्छेका चाहना असीमित हुन्छन् भनिन्छ तर आम चाहना जनताको आर्थिक जीवन, उत्पादक शक्तिको अवस्था, परम्परा, सामाजिक अवस्था आदिको दायराभित्र रहने गर्दछन् ।

मान्छेका चाहना असीमित भएर पुँजीवादले त्यसको पूर्ति गरिरहेको छैन बरु त्यसविपरीत पुँजीवादले मान्छेका चाहना आफ्नो स्वार्थअनुकूल अघि बढाउन भूमिका खेलिरहेको छ । पुँजीवादी प्रणालीले आममानिसलाई उसको भूमि, उत्पादनका साधन, समाज र आफ्नो स्वविवेकबाट अलग्याइरहेको छ ।

वास्तवमा भन्ने हो भने पुँजीवादले सीमित व्यक्तिको मुनाफाका लागि असीमित मानिसमा खालीपन, निराशा र असन्तुष्टिको बीउ रोपिरहेको छ । पुँजीवादले अहिलेको अर्थतन्त्रमा उपभोक्तावादको हतियारबाट दुईवटा सिकार गरिरहेको छ । पहिलो, मानिसले आफ्नो कमाइले मात्र नपुगेर ऋण र किस्ताबन्दीमा बिलासिताका सामान खरिद गर्न थाले । यसले अतिउत्पादनको समस्यालाई एउट सीमासम्म टा¥यो र पुँजी सञ्चयलाई तीव्रता दियो यसको मतलव पुँजीपतिको ढुकुटी तीव्ररूपमा भरिन थाल्यो । दोस्रो, अनावश्यक उपभोग बढाउन श्रमिकले ऋण र किस्ताको भारी बोक्नुपर्ने भयो ।

पुँजीवादले आम मानिसका समस्याको समाधान गर्दैन र गर्न पनि सक्दैन । त्यसविपरीत यसले मान्छेको अलगावमा झन् मलजल गर्छ । मान्छेका नैराश्य र असन्तुष्टिलाई झनै बढाउँछ र त्यसैमा व्यापार गर्छ । यसले मान्छेलाई सन्तुष्टि प्राप्तिका लागि धेरैभन्दा धेरै वस्तु किन्न प्रेरित गरिरहन्छ । त्यसैले गर्दा पूरानो मर्मतभन्दा नयाँ किन्न उपभोक्ता अग्रसर भैरहेको हुन्छ । जस्तैः नयाँ मोबाइल, नयाँ गाडीलगायत टिकाउयोग्य नयाँ वस्तु आदि । जुन नियोजित अप्रचलन हो । उपभोक्तावादले धेरै परिमाणमा महँगो वस्तु उपभोग गर्न मानिसलाई प्रेरित गरिरहेको त हुन्छ, तर आमश्रमिक वर्गसँग रोजगारी छ कि छैन भन्नेमा यसले कुनै चासो राख्दैन ।

पछिल्ला समयमा अर्थतन्त्रका सबै क्षेत्र निजी क्षेत्रलाई छोड्नुहुँदैन भन्ने अवधारणा विकास भयो । शिक्षा, स्वास्थ्य, यातायात आदि अत्यावश्यक क्षेत्रको जिम्मा सरकारले लिनुपर्छ भन्ने मान्यताले प्रश्रय पायो । यसै अवधारणालाई कल्याणकारी राज्यको सिद्धान्त पनि भनिन्छ ।

यसै मान्यताअनुरूप श्रमिकका आधारभूत आवश्यकतामा राज्यले सहयोग ग-यो भने उनीहरूको ज्यालामा बचत हुन्छ । श्रमिकहरूले त्यसरी बचाएको ज्याला निजी क्षेत्रले उत्पादन गरेका वस्तुहरूको उपभोगमा खर्च गर्छन् । जसले अति उत्पादनको समस्यालाई समाधान गर्छ र पुँजीवादको संकट टर्छ ।

वास्तवमा कल्याणकारी राज्यको अवधारणाले कसको कल्याण गर्छ ? पुँजीवादी प्रणालीको, पुँजीपतिको वा श्रमिकको ? यसको वास्तविक समीक्षा गर्न जरुरी छ । पुँजी सञ्चयको होडबाजीले उत्पादित वस्तुको अप्रचलन बढेको हो यो जति तीव्र गतिमा दौडिरहेको छ, पृथ्वीमा रहेको स्रोत त्यति नै तीव्र गतिमा ह्रासोन्मुख भइरहेको छ । बिलासी उपभोगले गर्दा फोहोर र कार्बन उत्सर्जन पनि पर्यावरणले थेग्नै नसक्ने गरी बढेको छ ।

आर्थिक क्षयीकरण हुदै अर्थतन्त्रमा मुद्रास्फिति दिनानु दिन तीव्र भइरहेको छ । यसलाई न्यूनीकरण गर्दै स्रोतको समान वितरण भएको खण्डमा आम मानिसले गुणस्तरीय जीवन जीउने वातावरण बन्दै जान्छ । यथार्थमा पर्यावरण, अर्थतन्त्र, समाज र व्यक्तिको भविष्यका लागि वस्तुको नियोजित अप्रचलन हानिकारक छ । यसलाई न्यूनीकरण गरिने वातावरण सिर्जना गर्न जरुरी भइसकेको छ ।
(लेखक लेक्चरर अर्थशास्त्र हुन्)


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया