Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबाक्लिँदै कोरोनाको दोस्रो लहर र लकडाउन

बाक्लिँदै कोरोनाको दोस्रो लहर र लकडाउन


काठमाडौं ।
विश्वव्यापी कोभिड–१९ का महामारीको कारणले गर्दा सन् २०२० देखि सम्पूर्ण देशहरू यस विपत्तिमा बाँच्न बाध्य भएका छन् । यस संकटको घडीमा नेपाल पनि अछुतो रहन भने सकेको छैन । आम मानवजीवन र सभ्यतामाथि धावा बोलिरहेको यस प्रकोपको हालसम्म ब्रम्हाण्डभरिका धेरै विज्ञान र वैज्ञानिकहरू अहोरात्र खटिए विभिन्न प्रकारका खोपहरू निर्माण गरेका छन् । यसर्थ सो खोप लगाउन लालयित भएका मानिसहरूलाई आवश्यक मात्रामा खोप उपलब्ध हुन भने सकिरहेको अवस्था छैन ।

यद्यपि, विश्वभरि हाहाकार मच्चाउँदै आएको कोरोनाबाट नेपाल पनि अलग नरहनु अस्वाभाविक होइन । हालसम्म विश्वमा १६ करोड ६५ लाखभन्दा बढीमा कोरोना संक्रमण भएको छ । यो संक्रमितमध्ये ३२ लाख ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसरी नै छिमेकी देश भारतमा हालसम्म झण्डै दुई करोड १९ मानिस संक्रमित भएका छन् ।

यो संक्रमितमध्ये एक करोड ७९ लाख निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई लाख ३८ हजारभन्दा बढी पुगेको छ । देशको कुरा गर्ने हो भने कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । यसरी अघिल्लो वर्ष मंसिरपछि बिस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई शून्यमा झरेकोमा दोस्रो लहर सुरू भएपछि चैतपछि बिस्तारै संक्रमितको संख्या बढ्दै गएको छ । त्यसरी नै हाम्रो देशमा पनि प्रति मिनेट एक जना संक्रमित हुने र प्रतिघण्टा एक जनाको मृत्यु हुने तथ्यांक रहेको सम्बन्धित क्षेत्रले उल्लेख गरिएको छ ।

यसैक्रम हालसम्म मुलुकमा तीन लाख ७७ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ । यो संक्रमितको संख्यामध्ये दुई लाख ९५ हजारभन्दा बढी निको भएर घर फर्किरहेका छन् । यीमध्ये कोरोनाबाट तीन हजार पाँच सय ७९ जनाहरूले ज्यान गुमाइसकेका छन् ।

अतः हालसम्म वैज्ञानिक अन्वेषणअनुसार संसारभरिमा कोरोना भाइरस हालसम्म आठ प्रकारको पत्ता लगाइसकेको अवस्था रहेको छ । यसले अफ्नो रूप परिवर्तन गर्ने हुनाले यस रोगको भाइरस समय–सयममा रूप फेरेर परिवर्तन भइरहेको पाइन्छ । तथापि, कोरोना भाइरसबाट बच्नको लागि अबको जनस्वास्थ्यको नयाँ मापदण्ड कस्तो किसिमको अपलाउन पर्छ भन्ने सवालमा विभिन्न वैज्ञानिकहरूले आ–आफ्नो राय, सल्लाहलगायत विभिन्न धारणाहरू व्यक्त गरेको विभिन्न पत्रपत्रिकालगायत लेख रचनाहरूमा पढ्न पाइन्छ ।

यसमा कोरोना रोग पनि हावाबाट पनि सर्नसक्ने विश्वप्रसिद्ध जर्नल द ल्यान्सेटमा प्रकाशित एक अध्ययनअनुसार कोरोनाको संक्रमण हावाको माध्यमबाट समेत हुनसक्ने भन्दै वैज्ञानिकहरूले रोचक तथ्यको खुलासा गरेका छन् । यसको साथसाथै अन्य विभिन्न जर्नललगायत लेखरचनाहरूमा पनि प्रकाशित भएको छ ।

यस्तै खालका विभिन्न सन्दर्भलाई अवलोकन गर्ने हो भने विश्वप्रसिद्ध जर्नल द यान्सेटमा प्रकाशित वैज्ञानिकहरूको यस अध्ययनलाई आधार मान्ने हो भने अब विश्व स्वास्थ्य संगठनलगायत प्रमुख स्वास्थ्यका निकायहरूले कोरोनाको संक्रमणबाट जोगिन भौतिक दूरी, मास्कको प्रयोग तथा साबुनपानीले हात धुने आदि जनस्वास्थ्यका विद्यमान मापदण्डहरूमा मात्र सीमित भएर कोभिड—१९ को संक्रमणबाट जोगिन नसकिने विचारहरू प्रस्तुत गरेका छन् ।

यससम्बन्धी अध्ययनलाई गहिरिएर आधार मान्दा कोरोनाको संक्रमणबाट जोगिन वर्तमान जनस्वास्थ्यका नियमहरूको पालनासँगै थप नयाँनयाँ जनस्वास्थ्यका मापदण्डहरू तय गर्दै लागू गर्न विश्व स्वास्थ्य संगठन, सेन्टर फर डिजिज कन्ट्रोललगायतका विश्वका अग्रणी स्वास्थ्य निकायहरूलाई चुनौतीपूर्ण रहेको देखिन्छ ।

हाम्रो देशको कुरा गर्ने हो भने छिमेकी देश भारतमा कोरोना बढेसँगै नेपालमा पनि सतर्कता अपनाउने प्रावधानअनुसार गत वैशाख १२ गतेदेखि बाँके जिल्लामा कोरोना महामारीका कारणले निषेधाज्ञा (बन्दाबन्दी तथा लकडाउन) सुरु भएको थियो । हालसम्म आइपुग्दा देशको राजधानी काठमाडौँलगायत ६१ जिल्लाहरूमा निषेधाज्ञा (वैशाख २४ गतेसम्म) जारी भएको अवस्था छ । उक्त छिमेकी देश भारतसँग नेपालको ३२ नाकाहरू जोडिएका छन् ।

यी नाकाहरूबाट वैशाखदेखि हालसम्म एक लाख ७० हजारभन्दा बढी नेपालीहरू भारतबाट स्वदेश आएका छन् । यसै क्रममा भारतमा काम गर्न जाने नेपालीहरूको स्वदेशमा फर्कने क्रममा नेपालमा संक्रमण तीव्र बन्दै ग¥यो । यसमा नेपाल सरकारले कडाभन्दा कडा नियन्त्रण तथा जाँचबुझ गर्न नसक्दा यस्तो किसिमको परिस्थिति हुन गएको हो । यी सबै नाकाहरूको जम्मा जम्मी दुरी झण्डै एक हजार सात सय किलोमिटरभन्दा बढी रहेको छ ।

अहिले संसारभरि कोरोनाको दोस्रो भेरियन्ट सुरु भइसकेपछि मुख्य कुरा प्रत्येक व्यक्ति र परिवारमा अनावश्यक डर फैलिएको छ । वस्तुतः बिरामीको संख्यामा पनि दिन दुई गुणा रात चारगुणाका दरले बिरामी थपिँदै गएका छन् । यो कारणले गर्दा बिरामीलाई अक्सिजन उपलब्ध गराउन सकिएको छैन ।

यसैबेला नाफाखोरी तथा कालाबजारीहरूले मौका छोपी कालो धन्दा गर्नाले पनि बिरामीहरू मारमा पर्नेगरेका छन् । यसै अवसरमा सामान्य मानिसहरूले पनि भोलि यो अवस्था आउला भनी घर–घरमा अक्सिजन सिलिन्डर किनेर राख्न थालेका छन्् । यसर्थ आफन्त, नातागोताले बारम्बार फोन गरेर हामीलाई पनि अक्सिजन सिलिन्डर राख्नका लागि हरेक दिन फोन गरिरहेका छन् ।

यसले गर्दा अस्पताल तथा मेडिकल वितरण केन्द्रमा अक्सिजन अभाव हुन थाल्यो । दोस्रो भेरियन्टसँगै यसको लक्षणहरू केही बदलिएको छ । पहिले उपचार गर्दा चलाउने औषधिले ठीक नहुने भयो । मूलतः खोपको विषय पनि यस्तै हो । पहिलो चरणमा देखिएका विशेषताको आधारमा खोप बन्यो तर अहिले फरक लक्षणसहित कोरोना संक्रमण फैलियो ।

यसैले अहिले देखिएको कोरोनाको नयाँ भेरियन्टलार्ई खोपले पनि रोकथाम गर्न सकेको देखिएन । पहिलेको तुलनामा संक्रमण र मृत्युदर पनि उच्च भएकाले धेरै मानिसहरू अत्तालिएका छन् । जसले गर्दा आम सर्वसाधारण मानिसहरूलाई आत्मविश्वास बलियो भएन भने कोरोनालाई जित्ने सम्भावना पनि कम हुँदै जानेछ ।

अन्त्यमा भन्नुपर्दा देशलाई कोरोना संक्रमणले एकातिर गाँजेको छ भने अर्कोतिर राजनीतिले पनि त्यसरी लपेटेको छ । यति बेला कोरोना कहर र राजनीतिक खिचातानीमा मुलुक सिकार बनिरहेको छ  । यसरी कोरोनाको दोस्रो सुनामी चल्नुभन्दा अघि राजनीतिक दलहरूले राष्ट्रभर विभिन्न प्रकारका कार्यक्रमहरू र सभा गरेका थिए  । जसले गर्दा अहिले आएर देशमा कोरोनाको भयावह स्थिति आइरहेको अवस्थाले गर्दा साढे चार लाख नेपालीहरू स्वदेश फर्कने क्रममा रहनुको साथसाथै भारतमा पनि तीव्र कोरोना प्रक्रोपको कारणले गर्दा नेपाललाई पनि धेरै नै आक्रान्त बनाउँदै गएको छ ।

यसै सन्दर्भमा केही दिन अगाडि भारतमा भएको कुम्भ मेला धार्मिक कार्यक्रममा लाखौँ लाख मानिसहरूको जमघट भएको थियो । उक्त मेलामा तीन लाखभन्दा बढी नेपालीहरू पनि सहभागी भएका थिए भन्ने कुरा पनि विभिन्न सञ्चार माध्यमहरूबाट आएको थियो ।

यसको अलावा हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाहको दम्पत्ती त एक कुम्भ मेलाका उदाहरणका पात्र मात्र हुन् । यस्ता कैयौँ नेपालीहरूले कुम्भ मेलाको धार्मिक नुहाइधुहाइमा सामेल भएका थिए । त्यस्तै गरी स्वदेशमा नै भएको विभिन्न कार्यक्रमको उद्घाटनदेखि लिएर विभिन्न राजनीतिक जमघट, विवाह, ब्रतबन्ध र विभिन्न कार्यक्रमहरूले समेत कोरोना संक्रमणमा तीव्र फैलावट बनाएको सम्बन्धित विज्ञहरूको दाबी रहेको बुझिन्छ ।

यी कारणहरूले गर्दा पनि नेपालमा कोरोनाको दोस्रो लहर उच्च बिन्दुमा पुगेको विज्ञहरूले अनुमान लगाएका छन् । यसै क्रममा ०७७ साल कात्तिक १८ गते सबैभन्दा बढी एकै दिन उच्च मृत्यु भएको संख्या ३० थियो भने त्यसैगरी ०७८ साल अहिलेसम्मको सबैभन्दा बढी मृत्यु एकै दिन वैशाख २२ गते ५८ जनाको मृत्यु भएको थियो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया