Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगवैदेशिक लगानीको प्रचुर सम्भावना : आप्रवाह न्यून

वैदेशिक लगानीको प्रचुर सम्भावना : आप्रवाह न्यून


काठमाडौं ।
नेपालमा विदेशी कम्पनीको प्रवेश २०४६ को परिवर्तनअघि नै भइसकेको पाइन्छ । प्रजातन्त्रको पुनः प्राप्तिपछि नेपालले उदार अर्थनीति अंगीकार ग-यो । पछि लाइसेन्स लिने व्यवस्थाको अन्त्य गरिएसँगै नेपालमा बहुराष्ट्रिय कम्पनीको प्रवेशका लागि ढोका खुला भयो । उक्त राजनीतिक परिवर्तनपछि नेपाली बजार खुल्यो । स्वदेशी लगानीकर्तासँगै विदेशी लगानीकर्ताले पनि नेपालमा ध्यान दिन थाले र बहुराष्ट्रिय कम्पनीहरू नेपाल आउन थाले तर, बहुराष्ट्रिय कम्पनीको प्रवेश भने उदार अर्थनीति लिएपछि नै भएको देखिन्छ ।

उदार अर्थनीतिसँगसँगै विभिन्न बहुराष्ट्रिय कम्पनीलगायत नेपालले धेरै उत्पादनका क्षेत्रमा विदेशी लगानी प्राप्त ग-यो । त्यसपछि दुई–तीन वर्षसम्म नेपालमा युनिलिभर, डाबरजस्ता धेरै बहुराष्ट्रिय कम्पनी भित्रिए । उद्योग, बैंक, होटेल, टेलिकम, खानीलगायत थुप्रै क्षेत्रमा विदेशी लगानी भित्रियो । विसं २०५२ मा सशस्त्र द्वन्द्व सुरु भएपछि फेरि विदेशी लगानी आउने तथा बहुराष्ट्रिय कम्पनीले उद्योग खोल्ने क्रम रोकियो ।

आन्तरिक द्वन्द्वले शान्तिको बाटो समातेपछि फेरि नेपालमा विदेशी लगानीका लागि माहोल बन्न थाल्यो । राजनीतिक संक्रमण सकिएर संविधानसमेत जारी भई स्थायी सरकार आएपछि विदेशी लगानीको आउनेक्रम क्रमशः बढ्न थालेको छ । विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न चासो दिन थालेका छन् । यसबीचमा ठूला लगानीसमेत भित्रिएका छन्, भित्रिने क्रममा पनि छन् । होटेलका व्यवसायमा धेरै लगानीकर्ताहरू आएका छन् । ठूला सिमेन्ट उद्योगमा विदेशी लगानी आएका छन् ।

नेपालका धेरैजसो क्षेत्रमा विदेशी लगानी आएको छ । विदेशी लगानीको अवस्था सन्तोषजनक छ, तर पर्याप्त छैन । नेपाल राष्ट्र बैंकको सन् २०१५÷०१६ को अन्त्यसम्ममा नेपालमा कुल एक खर्ब ३७ अर्ब ७० करोड रूपैयाँबराबरको विदेशी लगानी छ । अहिले नेपालको उत्पादन, प्रशोधन, खानी, जलविद्युत्, टेलिकम, बैंकिङ, होटेल, सेवालगायत सबैजस्तो क्षेत्रमा विदेशी लगानीको उपस्थिति रहेको छ । जति पनि विदेशी लगानी भित्रिएका छन्, ती सबैको अवस्था राम्रो देखिन्छ ।

विदेशी लगानीका कम्पनीले गरेको कारोबार, उनीहरूको सेयर मूल्य, ती कम्पनीले गरेको निर्यात, यहाँ आर्जन गरेको मुनाफालगायतलाई विश्लेषण गर्दा नेपालमा विदेशी लगानीका कम्पनीले राम्रो व्यवसाय गरिरहेको देखिन्छ । उदाहरणका लागि युनिलिभर कम्पनीको सेयर मूल्य प्रतिकित्ता २० हजार दुई सय हाराहारी छ ।

बोटर्लस नेपाल (तराई)को प्रतिकित्ता सेयर छ हजार दुई सय ५० र बोटर्लस नेपाल (बालाजु)को सेयर मूल्य पनि प्रतिकित्ता एक हजार आठ सय ३० वरिपरि रहेको छ । सबैभन्दा बढी कर तिर्नेमा पनि विदेशी लगानीका कम्पनी नै देखिएका छन् । सूर्य नेपाल र एनसेल यसका उदाहरण हुन् । अन्य विदेशी लगानीका कम्पनीमा गोर्खा ब्रुअरी, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, डाबर नेपाल, एसबीआई बैंक, नबिल बैंक, एसियन पेन्ट्स, आरती स्ट्रिप्स, पेप्सीलगायतले पनि राम्रो व्यवसाय गरिरहेका छन् ।

विदेशी लगानीले नेपालमा पुँजी, प्रविधि र ट्रेन्ड ल्याइ कर्पाेरेट कल्चरको विकास गराए । हजारौँलाई प्रत्यक्ष रोजगारी र अप्रत्यक्षरूपमा लाखौँलाई रोजगारी दिएका छन् । सबैभन्दा बढी कर तिर्नेमा विदेशी लगानीका कम्पनी नै छन् । यसकारण पनि नेपालमा विदेशी लगानी रहेका उद्योग–व्यवसायको योगदान महत्वपूर्ण छ । पुँजी निर्माणदेखि रोजगार सिर्जना र राजस्वमा यस्ता उद्योग–व्यवसायको योगदान अधिक छ ।

सुरुमा नेपालको टेलिकम क्षेत्रमा सरकारको एकाधिकार थियो नेपाल टेलिकम मात्र हुँदा सेवा विस्तार व्यापक हुनसकेको थिएन । पछि एनसेल आएपछि प्रतिस्पर्धा बढ्यो, प्रतिस्पर्धासँगै सेवा विस्तार पनि बढ्यो । अहिले टेलिकम क्षेत्रको सेवा सस्तो र सर्वसुलभ भएको छ । युनिलिभर, डाबर नेपाल, सूर्य नेपालजस्ता कम्पनीले उत्पादन, रोजगारी र वस्तु निर्यातमा योगदान दिएका छन् ।

बैंक, होटेल र सिमेन्ट क्षेत्रमा आएका विदेशी लगानीले पनि राम्रो प्रविधि र व्यवस्थापन भित्र्याएका छन, सिकाइरहेका छन् । बहुराष्ट्रिय कम्पनीहरूले सबै सामान आफैँले मात्रै उत्पादन नगरी करारमा समेत उत्पादन गराउँछन् । बहुराष्ट्रिय कम्पनीलाई आवश्यक कतिपय वस्तुहरू अन्य साना उद्योगबाट उत्पादन गराउँछन् । तेस्रो पक्ष सम्झौतामार्फत उत्पादन गरेर यहाँका साना तथा मझौला उद्योगलाई आफूलाई चाहिने सामान उत्पादन गराउँछन, उत्पादन गर्न सिकाउँछन् । लगानीको प्रतिफलको सुनिश्चित गराइिदन्छन् । जसले यहाँ उद्यमी, उत्पादन र रोजगारी बढाउँछ ।

नेपालमा विदेशी लगानी भित्र्याउँदादेखि यहाँ आर्जन गरेको नाफा लैजानसम्म विभिन्न समस्या छ । यहाँको मुख्य समस्या भनेको नीतिगत अस्थिरता, प्रशासनिक झन्झट र नीतिनियमको प्रभावकारी कार्यान्वयन नहुनु नै हो । प्रशासनबाट दुःख पाउने गरेको धेरै लगानीकर्ताको गुनासो छ । कर्मचारीले ढिलासुस्ती गर्ने तथा झन्झट दिने गरेको, एउटै कामका लागि अन्य धेरै निकाय धाउनुपरेको, नीति–नियमको फरक–फरक व्याख्या– विश्लेषण गरेर अवरोध गर्ने गरेको लगायत गुनासो उनीहरू गरिरहेका छन् ।

यहाँ कर्मचारीतन्त्रभित्र राजनीति हुनु पनि एउटा समस्या छ जसबाट लगानीकर्ता हतोत्साही बनिरहेका छन् । एक दलको कर्मचारीले अर्काे दलकोलाई नटेर्ने, एउटाले अर्काेलाई सहयोग नगर्ने प्रवृत्ति छ । यो राजनीतीकरणलाई नरोक्ने हो भने लगानी आकर्षण गर्न तथा प्रवद्र्धन गर्न गाह्रो हुन्छ ।

नेपालमा लगानी गरेर प्राप्त प्रतिफल फिर्ता लैजाने क्रममा पनि समस्या देखिन्छ । यहाँ दुई दशकभन्दा लामो समय काम गरेर हरेक वर्ष नाफा आर्जन गर्दै आफ्नो मुलुक लगिरहेका कम्पनीलाई पनि बेलाबखत विभिन्न बहाना देखाएर नाफा लैजान अवरोध गरेको देखिन्छ एक नेतृत्व तहको कर्मचारी फेरिनासाथ अवरोध गर्ने, लामो समयसम्म काम नगरिदिने, हिजो भएको कामलाई मतलब नगरी व्यवास्ता गरिदिन्छन् ।

नेपालमा प्रणालीले भन्दा पनि व्यक्तिको ततबिजीले काम गरिरहेको देखिन्छ । जब आफूले आर्जन गरेको नाफा नै लैजान अवरोध गरिन्छ भने यहाँ लगानी गर्न हिच्किचाउनु पनि पक्कै स्वाभाविक देखिन्छ ।

याहाँ बौद्धिक सम्पत्तिको संरक्षणमा पनि ठूलो समस्या देखिन्छ । खासगरी लोगो, डिजाइन तथा ट्रेडमार्कहरूको नक्कल भइरहेको छ, चोरी भइरहेका छन् । ठूला कम्पनीको ट्रेडमार्क आफ्ना नाममा दर्ता गरेर राख्ने र पछि ठूलो रकम लिएर मात्रै फिर्ता गर्ने प्रवृत्ति छ । कतिपय बहुराष्ट्रिय कम्पनीले आफ्नो ट्रेडमार्क प्रयोग गर्नसकेका छैनन्, कतिपयले मुद्दा लडिरहेका छन् । यसमा हामी गम्भीर भई कानुनी व्यवस्थापन मिलाउन आवश्यक छ ।

उद्योगहरूका लागि भन्सारदरको पनि समस्या छ । भन्सारमा कच्चा पदार्थ र तयारी वस्तुको भन्सारदर उस्तै–उस्तै छ । कतिपय कच्चा पदार्थको भन्सारदर तयारी वस्तुको भन्दा पनि बढी छ । बजेटले कच्चा पदार्थ र तयारी वस्तुको भन्सारदरमा एक–दुई तहको अन्तर राख्ने भनेको छ, तर कार्यान्वयन भएको छैन । नेपालको भन्सारदर तथा करका दरहरू बढी भएकै कारण पनि धेरै लगानीकर्ता नेपाल आउन हिच्किचाइरहेका छन् ।

नेपालले भारतमा भन्दा पहिला खुला बजारको नीति लियो, यसै कारण यहाँ धेरै उद्योग आए । तर, पछि यहाँको भन्सारदर बढ्दै गयो, करका दरहरू बढेका कारण नयाँ लगानी आउन कमी भयो, भइरहेका कतिपय लगानी पनि भारततिरै फर्किए । भन्सारदर बढी हुँदा हाम्रो निर्यात प्रभावित भएको छ । यसको उदाहरण युनिलिभर नै हो । पहिला युनिलिभरले आफ्ना उत्पादन भारतमा निर्यात गथ्र्याे, तर अहिले यहाँको भन्सारदर उच्च भएको कारण उताको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर निर्यात बन्द गरेको छ ।

नेपालले लगानी आकर्षण गर्न पटक–पटक लगानी सम्मेलन पनि आयोजना गर्दै आएको छ । सम्मेलनमा थुप्रै मुलुकका विदेशी लगानीकर्ताले अर्बाैँ लगानी गर्ने प्रतिबद्धता गर्दै आइरहेको तर त्यस्तो लगानी कागजमा मात्रै सीमित रहेको छ । उद्योग विभाग र लगानी बोर्ड नेपालमा आउने अर्बाैँका लगानीसमेत प्रत्यक्षरूपमा आउन सकेका छैनन् ।

विदेशी लगानीकर्ताले नेपालमा प्रतिबद्धता गरे पनि यथार्थमा लगानी गर्न सकेका छैनन् । कतिपय लगानीकर्ता यहाँको नीति तथा प्रक्रिया चित्त नबुझेर फर्कन्छन्, कतिपय प्रक्रियामै अल्मल्लिरहेका छन् । कागजमा आएका प्रतिबद्धतालाई यथार्थमा बदल्ने प्रयास नेपालले गर्न सकिरहेको छैन यसका लागि नीति तथा प्रशासनिक सुधारमा जोड दिनुपर्छ ।

कुनै पनि वैदेशिक लगानीकर्ता वा बहुराष्ट्रिय कम्पनीले जुनसुकै मुलुकमा लगानी गर्नुपूर्व त्यहाँको परिस्थिति, सुरक्षा र लगानीको प्रतिफलबारे अध्ययन गर्दछन् । यसका लागि सम्बन्धित मुलुकमा भएका आफ्ना राजदूतावास तथा त्यहाँ सञ्चालन भइरहेका विदेशी लगानीका कम्पनीबाट जानकारी लिन्छन् । अध्ययन गरिसकेपछि चित्त बुझे मात्रै लगानी गर्छन् । त्यसैले, सबैभन्दा पहिले हामीले यहाँ सञ्चालनरत विदेशी लगानी तथा बहुराष्ट्रिय कम्पनीको सहजीकरणमा ध्यान दिनुपर्छ । उनीहरूबाट राम्रो प्रचारप्रसार हुने वातावरण बनाउनुपर्छ । यसका लागि विज्ञहरूको गठन गर्नुपर्छ उनीहरूको विचार सुन्नुपर्छ उनीहरूले दिएको सुझाबको कार्यान्वयन गर्नुपर्छ । यसो गर्दा योजनाअनुसारको काम हुने वातावरण बन्दछ ।

नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीले पनि लगानी विस्तार गर्न नेपाल उर्बर भूमि हो भनिरहेका छन् । उनीहरूका समस्या सुल्झाएर लगानी प्रवद्र्धन गर्नसके अरु थप लगानी आउँछ, नयाँ लगानीकर्ता आकर्षित हुन्छन् । छिमेकी देश भारतमा उद्योगलाई के–के सुविधा दिइएको छ त्यसबाट हामीले पनि सिक्नुपर्छ ।

एकद्वार नीतिको प्रभावकारी कार्यान्वयन गरी बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी कानुन अविलम्ब ल्याउनुपर्छ । कच्चा पदार्थको भन्सारदरहरू घटाउनुपर्छ । निजी क्षेत्रले विदेशी लगानी आकर्षण तथा प्रवद्र्धनका लागि सरकारलाई धेरै सुझाव दिएको बताउँदै आएको छ । सरकारले निजी क्षेत्रबाट गएका सुझावहरू गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनमा ध्यान दिनुपर्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया