Techie IT
×
गृहपृष्ठविचारव्यावहारिक शिक्षा : आजको आवश्यकता

व्यावहारिक शिक्षा : आजको आवश्यकता


काठमाडौं ।
विकासको स्रोत नै गुणस्तरीय, व्यावहारिक र शान्ति शिक्षा हो । नेपालको शिक्षा आधारभूतदेखि उच्चसम्म आम जनताका लागि फलदायक हुनुपर्दछ । शिक्षाले उचित दिशा लिन नसक्नु दुःखको कुरा हो, शिक्षाले उचित दिशा नलिई देशले उचित दिशा लिन सक्दैन । विगतदेखि हालसम्मकोे अवधिलाई हेर्दा नेपाल र नेपाली जनताको मूल स्वार्थ इच्छा र आवश्यकताभन्दा राजनीतिक परिवेशमै अल्मलिएको देखिन्छ । नेपालको शिक्षा आधारभूतदेखि उच्चसम्म नै देशसुहाउँदो छ भन्न सकिँदैन । यसको असरले लाखौँ शिक्षित बेरोजगारहरू खाडी मुलुकमा रोजगारको लागि जान बाध्य भएका छन् भने आफ्नो देशमा गाउँघरका कृषियोग्य जमिन सबै बाँझो छन् ।

नेपाल र नेपालीको विकासको लागि आधारभूत शिक्षादेखि उच्च शिक्षा व्यावहारिक र राष्ट्रिय हितको लागि हुनुपर्दछ । अशान्ति हटाउन सबैभन्दा पहिले आफ्नो परिवार, समुदाय, समाज, संस्कृति, मानव अधिकार आदिमा विशेष ध्यान दिनुपर्ने हुन्छ । संघर्ष तथा द्वन्द्वले शान्ति कहिल्यै आउँदैन, अतः सदैव बन्धुत्वको भावनाको विकास गरी शान्ति शिक्षाको सञ्चार गर्नु आवश्यक छ ।

प्रत्येक देशमा सांस्कृतिक, सामाजिक एवं आर्थिक विकासको सुनिश्चित गर्ने मार्गमा सबै समुदाय, वर्ग एवं धर्मको संयुक्तरूपले शान्ति संस्कृतिको विकास गर्न नितान्त आवश्यक भएको छ । आज सम्पूर्ण विश्व नै विभिन्न वहानामा अशान्तिको छाल मडारिएको सन्दर्भमा सबैमा शान्तिमय संस्कृतिको विकास गर्नु नै आजको आवश्यकता हो । शान्तिको लागि मानव मनमानै खुसी हुनुपर्दछ ।

उदाहरणको रूपमा एउटा सानो ३ वर्षको बालकलाई एउटा खेलौना पाउँदा बालक मीठो मधुर, लाखौँ रुपैयाँले किन्न नसक्ने हाँसो हाँस्छ । त्यस्तै धेरै समयसम्म भेटघाट नभएको सन्तानलाई पाउँदा बाबुआमा खुसीले हाँस्छन् । त्यस्तै करोडौँ ब्यालेन्स भएको पुँजीपति गाडी र मीठो खानेकुराको प्राप्तिमा पनि हाँस्न सक्दैनन् । जसले धनीलाई गरिब अनि गरिबलाई धनी बनाउँछ । त्यसैले त महाकविले लेखेका छन् ‘गरिब भन्छौँ सुखको मै छु धनी मिल्दैन कतै पनि ।’ त्यस्तै नारायण गोपालले गाएको गीत उल्लेख गर्न सान्दर्भिक हुन्छ ‘फाँटहरूले कसलाई पुग्छ भीरमा पनि फूलिदिन्छु म त लालीगुराँस भएछु ।’ निष्कर्षमा हाँसो एउटा यस्तो चिज हो जुन शान्तिको प्रतीक हो । त्यसैले १९७८ मे ६ मा भारतको मुम्बइबाट सुरु भएको शान्तिको लागि हाँसो दिवसको महत्व धेरै छ ।

मार्टिन लुथरको भनाइअनुसार ‘शान्ति केवल युद्धबाट आउने होइन, आपसी मेलमिलाप र हाँसोबाट नै आउँछ’ आजको सन्दर्भमा माथि उल्लिखित वाक्यांशहरू धेरै महत्वपूर्ण छन् । विश्वयुद्ध, अन्याय एवं आपसी वैमन्यस्ताको कारण शान्ति भंग भई शान्तिको ज्योति टाढा भएकोले हामी सबै मिली शान्ति संस्कृतिको विकासबाट नै शान्ति ल्याउनु आवश्यक छ । शान्ति संस्कृतिको विकासबाट मानव मूल्य मान्यताको विकास सम्भव छ । शान्ति विकासको लागि विद्यालय तहको पाठ्यक्रममा नै शान्ति शिक्षाका राख्नुपर्ने आजको आवश्यकता हो ।

शिक्षण पद्धतिको माध्यमबाट शिक्षकद्वारा सदैव उच्च नैतिकतासाथ शान्ति शिक्षा व्यापक बनाउन आवश्यक छ । युनेस्कोले मानव मूल्य मान्यता र शान्तिबारे यसरी आफ्नो भाव व्यक्त गरेको छ, ‘उचित आचरण शान्ति प्रेम र अहिंसा सबैमा सार्वभौमिक मूल्य छ शान्तिको लागि’, जुन शान्ति आधारित शिक्षाको कार्यक्रमको निर्माण सबैले गुर्नपर्छ ।

शान्तिको लागि मुख्य तीन प्रकारको आयाममा विशेष ख्याल राख्नुपर्दछ : सार्वभौमिक शान्ति, सामाजिक शान्ति, प्राकृतिक शान्ति । आज हाम्रो देश नेपालमा पनि शान्ति शिक्षासम्बन्धी पाठ्यक्रम राख्ने बहस नचलेको होइन, यो बहस बहसमा मात्र सीमित भएको छ । शान्तिको लागि आजसम्ममा शान्ति शिक्षाको निम्न उद्देश्य राखी विद्यालयका विद्यार्थीहरूलाई शान्तिको मार्ग दिनसक्ने सशक्त पाठ्यक्रम, उपयोग वा निर्माता बनाउन योग्य, अहिंसक मानव जातिमा सम्मानजनक भावना उत्पन्न आन्तरिक शान्तिको खोज वा समूहमा शान्ति स्थापना गर्नसक्ने सही अहिंसक तथा गहन विचारकको विकास गर्ने राष्ट्रिय कार्यक्रम आवश्यक भएको छ ।

शान्ति संस्कृति स्थापना गर्न अध्यापक अर्थात् गुरुहरूले पनि सोसम्बन्धी विभिन्न कार्य गर्नुपर्ने समय आएको छ । सो को लागि विविध छलफल एवं कार्यशाला आयोजना गरी विस्तृत पाठ्यक्रम बनाई शान्ति स्थापना गर्न सहयोग गर्ने, व्यावहारिक तरिकाबाट शान्तिसम्बन्धी कार्य एवं प्रशिक्षण दिने, पाठ्यक्रम निर्माण, विशिष्ट स्थानीयसहित विकास मापन गर्ने मानवीकृत मूल्यांकन प्रक्रियाको निर्माण तथा उपयोग गर्नुपर्दछ ।

शान्ति शिक्षा व्यक्तित्व तथा चरित्र निर्माणको लागि पाठ्यक्रम हुन आवश्यक छ । शान्ति स्थापना शिक्षा उत्पादनको लागि जिम्मेवार एवं संवेदनशील नागरिकको भूमिकामा जोड दिनु आवश्यक छ । शान्ति शिक्षाको कार्यक्रमको लागि विभिन्न पाँच स्तरको एकीकृत पाठ्यक्रम शान्ति शिक्षा दिनसक्ने क्षमतावान् शिक्षाको विकास गर्नु आजको आवश्यकता हो । यो निम्नलिखित प्रकारको हुनसक्छ : शान्ति शिक्षको सिद्धान्तबारे उचित पाठ्यक्रम बनाउनुपर्ने, सबै सैद्धान्तिक पाठ्यक्रम एवं शिक्षण पद्धतिको सम्बन्धित पाठ्यक्रममा नै शान्ति शिक्षाको बारे एकीकृत तरिकाबाट ज्ञान दिने, शान्ति शिक्षा अध्यापन अभ्यास तथा अन्य विद्यालय अनुभव आदानप्रदानमा ध्यान दिने, सांस्कृति साहित्यिक तथा अन्य पाठ्य सहभागी कार्यक्रमको सहयोगको माध्यममा शान्ति शिक्षाको विशिष्ट गतिविधि अयोजना गर्ने, शिक्षक, शिक्षण संस्था तथा सबै समुदायमा शान्ति शिक्षाको सन्देश प्रसार गर्नुपर्दछ ।

शान्ति शिक्षाको माध्यमबाट व्यावहारिक शिक्षाको लागि सम्पूर्ण राजनीतिक पार्टी, सरकार, शिक्षाविद्, शिक्षक, विद्यार्थी, अभिभावक लाग्नुपर्ने देखिन्छ । निजी विद्यालयहरूमा तिर्नुपर्ने शुल्कले आम अभिभावकहरू आर्थिक मारको चक्रव्यूहमा परे पनि सो विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्छ पनि लालाहित छन् भने सरकारी विद्यालयमा विद्यार्थीको उपस्थिति कम छ ।

सरकारको अरबौँ बजेट लगानी भएको छ । यो विषय ज्यादै मर्माहत छ, देश कोरोना महामारीले आक्रान्त छ । स्वच्छ प्रतिस्पर्धाबाट शिक्षाजस्तो गरिमामयको उचित व्यवस्थापन गरी आवश्यकताअनुसार व्यावहारिक तथ गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने समय हो । देश आज नयाँ अवस्थामा छ यस अवस्थामा देश भएको बखत सबै राजनीतिक पार्टी र साधारण जनताहरू शिक्षाविद्, विद्यार्थी, शिक्षक, गैरसरकारी संस्था, सरकार सबैले देशलाई सकारात्मक सहयोग गर्नुपर्ने हुन्छ । यसबारे सबैले नैतिकता साथ सोच्ने बेला आएको छ । आज शिक्षाक्षेत्र अनुशासनहीन अवस्थामा छ, राजनीतिक हस्तक्षेप, उचित नीतिनियमको अभावमा चिरनिन्द्रामा छ । यो ज्यादै दुःखपूर्ण कार्य हो नेपाल र नेपालीको लागि ।

हाम्रो शिक्षा क्षेत्रको मूल समस्यालाई हेर्ने हो भने क्षेत्र र परिधिबारे स्पष्ट नहुनु, अन्तर्राष्ट्रिय परिभाषामा उच्चशिक्षा कक्षा बाह्रपछिको शिक्षालाई जनाउँछ । सरकारको विभिन्न शैक्षिक योजनाले पनि शिक्षाको लागि स्पष्ट मार्गचित्रण गर्न नसक्नु, नीतिनिर्माणको राष्ट्रप्रतिको ठूलो तिरस्कार नै हो । जसको परिणामस्वरूप नेपालमा शिक्षा अन्यौल अवस्था, शिक्षक, विद्यार्थी, अभिभावकबीच समन्वय नभई विद्यमान समस्याहरू देखापरेको, शिक्षाक्षेत्र राजनीतीकरण, शैक्षिक संस्थालाई सम्बन्धन दिने नीति स्पष्ट र पारदर्शी नभएको, शैक्षिक तथा भौतिक पूर्वाधारको कमी, यसको परिणामस्वरूप अन्तर्राष्ट्रिय जगतमा नै हाम्रो शैक्षिक उपाधिको विश्वसनीयतामा नै प्रश्नचिह्न उठ्ने गरेको, उचित शैक्षिक पाठ्यक्रम लामो समयदेखि समयअनुसार परिवर्तन नभएको, पाठ्यभार, पाठ्यअवधि, गुणस्तरीय मापदण्डको अभाव, विदेशी विश्वविद्यालयहरूसँगको सम्बन्धनमा सञ्चालित शैक्षिक नियन्त्रण र समन्वयको अभाव, निजीस्तरबाट खोलिएका शैक्षिक संस्थामा बढ्दो व्यापारीकरण भई शिक्षक, अभिभावक, विद्यार्थीलाई थप आन्दोलित बनाएको, उचित कार्यनीतिको अभाव, अक्षम प्रशासन, नातावाद, राजनीतीकरण, भ्रष्टाचारीलाई राजनीतिक तथा प्रशासनिक संरक्षण, व्यक्तिगत स्वार्थ, अक्षम राजनीति नियुक्ति, अनुशासनको कमी, न्यून आर्थिक स्थिति, विज्ञलाई पाखा अनभिज्ञलाई प्रशासन, पुरानै स्वार्थपूर्ण कार्य व्यावसायिक शिक्षाको अभाव, वास्तविक योजनाको अभाव, उचित पुरस्कार र दण्डको व्यवस्था नहुनु अक्षम व्यवस्थापन आदिबाट नेपालको शिक्षा खासै व्यावहारिक भएको छ भन्न सकिँदैन ।

माथिको समस्या हल गर्न शिक्षा क्षेत्रमा आधारभूत शिक्षा र प्राविधिक वा व्यावसायिक शिक्षाबीच सरकारले स्पष्ट नीति ल्याउनुपर्ने, आधारभूत शिक्षा सबै नागरिकलाई प्रदान गर्नुपर्ने, गुणस्तरीय मूल्यांकन, समयसुहाउँदो पाठ्यक्रमको विकास हुनुपर्ने, शिक्षा क्षेत्रमा व्यापारीकरण रोकी, शिक्षक, विद्यार्थी र अभिभावकको मैत्रीपूर्ण वातावरण सिर्जना गर्नुपर्ने, सक्षम व्यवस्थापन, नातावाद, राजनीतिक प्रदूषण, भ्रष्टाचारीलाई प्रश्रय नदिने जनसहभागितामा जोड, व्यावहारिक शिक्षा, दीर्घकालीन शैक्षिक योजना, पूर्वाधारको विकास, आवश्यक उपकरण प्रयोग, वास्तविक देशअनुसारको शिक्षा, प्रशासनमा राजनीतिक हाबी रोक्ने, हाम्रो मान्छे होइन, गुणस्तरीय मान्छेलाई पदमा राख्ने आदि कार्य गरेमा हाम्रो शिक्षा नेपाल र नेपालीको हितमा हुनेछ । माथि उल्लिखित कार्यक्रम एवं तरिकाबाट शान्ति संस्कृतिको विकास सम्भव हुन्छ छ कि ? (स्वास्थ्य, वातावरण र जनसंख्या शिक्षामा विद्यावारिधि एवं सम्बन्धित विषयमा अध्ययन अनुसन्धान) 


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया