Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगस्वास्थ्य पूर्वाधारको कसीमा कोभिड–१९

स्वास्थ्य पूर्वाधारको कसीमा कोभिड–१९


प्रदीप उप्रेती

काठमाडौँ । मुलुकमा कोभिड–१९ को दोस्रो लहरको संक्रमणको दर अभिवृद्धि भएलगत्तै दैनिक रूपमा आम नागरिक समुदायमा संक्रमित रहने एवं मृत्युवरण गर्ने दरमा पनि अनपेक्षित रूपमा वृद्धि हँुदै गएको वर्तमान अवस्था हो । प्रस्तुत भयावह अवस्थाको कारण मुलुकमा कुन स्तरको जनधनको क्षति रहन्छ भन्ने तथ्यले राज्य एवं नागरिक समाजलाई थप पिरोल्दै आएको छ ।

निश्चय पनि महामारीको यस रौद्र रूपले मुलुकको कुनै गाउँबस्ती वा सहरबजारलाई अछुतो राखेको छैन । प्रस्तुत तथ्यलाई मध्यनजरमा राख्दै जनस्वास्थ्यसँग सरोकार राख्ने हरेक क्षेत्रविशेषले यस क्षेत्रमा रहँदै आएको कमीकमजोरीको मूल्यांकन गर्दै आवश्यक भए क्रमबद्धरूपमा सुधार गर्नु नै विषमपूर्ण संक्रमणजन्य परिस्थितिबाट नागरिक समाजलाई मुक्ति दिलाउनु हो भन्न सकिन्छ । कुनै कारणवश नागरिक स्वास्थ्यसँग गहिरो सम्बन्ध राख्ने उक्त विषयमा विलम्ब रहन गयो भने मुलुकको स्वास्थ्य क्षेत्रमा अतिरिक्त जोखिम बहन गर्दै अकल्पनीय रूपमा नागरिकको मृत्युदरमा आज कायम रहेको तथ्यांकको अनुपातमा गुणोत्तर श्रेणीमा माथि उल्किने अवस्थाको सामना गर्नुबाहेक अर्को कुनै विकल्प हामीसामु रहनेछैन । तसर्थ कोभिड संक्रमणको तेस्रो लहरको प्रहर सुरु नहँुदै सर्तक एवं सुरक्षित रहने अनेकन विधिको अवलम्बन गर्नेतर्फ सरोकारवाला पक्षको ध्यान केन्द्रित रहनु नै आम नेपाली नागरिक समूहको संक्रमणको कारण हुने मृत्युदरमा न्यूनता कायम राख्नुसरहको अवस्था हो ।

अनवरत रूपमा आफ्नो सुस्वास्थ्यको समेत रतिभर परवाह नगरी अहोरात्र चिकित्सा क्षेत्रमा होमिने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको कार्य निश्चितरूपमा प्रशंसनीय मान्न सकिन्छ । तथापि अक्सिजन एवं औषधिको अभावमा निहत्था नागरिक समाजले अनाहकमा ज्यान गुमाउने अवस्था पैदा हुनु, कुनै न कुनै रूपमा मुलुकको स्वास्थ्य पूर्वाधारको क्षेत्रमा हाल कायम रहन आएको जनसंख्याको अनुपातमा जति मात्रामा अभिवृद्धि रहनुपर्ने थियो, कुनै कारणवश त्यसमा आएको न्यूनताको परिणामले निम्त्याएको वर्तमान अवस्था हो भन्ने आम नागरिक समाजको बुझाइमा रहेको पाइन्छ ।

कोभिड–१९ दोस्रो कहरको शृंखला सूक्ष्म रूपमा छिमेकी मित्रराष्ट्र भारतमा सुरु हुनेबित्तिकै हामीले उच्च स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा सो नभई त्यस क्षेत्रमा आएको न्यूनताको कारण मुलुकको स्वास्थ्य पूर्वाधारको क्षेत्र हाल संकटपूर्ण अवस्था गुज्रिनुपरेको मात्र हो । समयमा नै ध्यान केन्द्रित रहन नसक्ने नेपाली संस्कृतिको पुनरावृत्तिको कारण समय घर्किएपछि तातो लाग्ने प्रवृतिको विकासले आम जनमानसमा राम्रो सन्देश प्रवाह गर्दैन भन्ने कुराले मुलुकको स्वास्थ्य पूर्वाधारलाई पनि समाहित गरेको हँुदा वर्तमानमा जटिलता आएको हो ।

हुन त मुलुकको वर्तमान चिकित्सा क्षेत्र तुलनात्मकरूपमा दक्षिण एसियाका अन्य मुलुकको चिकित्सा क्षेत्रभन्दा कुनै पनि हालतमा नराम्रो मान्न सकिँदैन । यसका बाबजुद पनि हालको महामारीपूर्ण अवस्थाको सामना गर्न हाम्रा स्वास्थ्य पूर्वाधारबाट मात्र तत्काल सम्भव नरहने हँुदा जनहितको लागि निश्चितरूपमा छिमेकी मित्रराष्ट्रलगायत विश्वसामु स्वास्थ्य सहयोगको याचना गर्नु आफँैमा नराम्रो कदम होइन । जसले नागरिकको जीवन रक्षा गर्दैै दिनहुँ उच्च गतिमा चुलिँदै गएको महामारीको क्षेत्रमा सहजीकरणको अवस्था तयार पार्नुको साथै संक्रमण तथा मृत्युदरमा कमी ल्याउन अवश्य पनि सहयोग गर्ने नै छ । आन्तरिक एवं बाह्य सहयोगबाट मात्र उर्लँदो महामारीको दरमा न्यूनता छाउनेछ भन्ने विश्वास लिन सकिनेछ ।

विश्व महामारीको क्षेत्रमा हालसम्मको प्रयासलाई हेर्दा मुलुकभित्रको एक्लो प्रयासले मात्र कुनै पनि हालतमा नियन्त्रण आउनसक्ने अवस्था रहँदैन । आज स्वास्थ्य पूर्वाधारको दृष्टिले निकै नै अब्बल मानिएका विश्वका समृद्ध राष्ट्र समेत महामारीको चपेटामा परेको वर्तमान समयमा नेपालले सहयोगको लागि याचना गर्नु कुनै नौलो होइन । जसका लागि जतिसक्दो चाँढो आवश्यक पर्ने औषाधिजन्य सामानलगायत अक्सिजन, अक्सिजन प्लान्ट निर्माण गर्नेतर्फ चनाखो रहनु समयको माग हो ।

यस क्षेत्रमा अक्सिजन प्लान्ट निमार्णका लागि नेपाल सरकारले एक सय शय्या वा सोभन्दा अधिक शय्या रहेको स्वास्थ्य प्रतिस्थापनलाई उक्त प्लान्ट निमार्णको लागि कार्य गर्न भनिएको कदम व्यावहारिक हिसाबले कति उपयुक्त रहन्छ भन्ने तथ्यको अध्ययनपश्चात् निस्कने नतिजाले यसको प्रभावकारी कार्यान्वयनमा विशेष महत्व राख्नेछ । किनकि महामारीजन्य प्रकोपको पीडा कति समयसम्म नेपाललगायत विश्वमा रहन्छ सहजै भन्न सकिने अवस्था पक्कै पनि होइन । यस क्षेत्रका जानकारहरूको भनाइलाई मात्रै हेर्ने हो भने पनि आगामी केही साता थप चुनौती एवं संकटपूर्ण रहने बताइएको छ । जसबाट प्रकोपको पीडा डरलाग्दो अवस्थामा रहेको तथ्यहरूले औंल्याएको पाइन्छ ।

विश्व स्वास्थ्य संगठनले समेत कोरोना भाइरसको दोस्रो कहरको भारतीय म्युटेन्ट अन्य संक्रमणको भन्दा निकै चाँढो नागरिक समाजमा फैलिनसक्ने जोखिमलाई प्रस्ट्याएको छ । हाम्रोजस्तो खुला सिमानाका कारण थप जोखिम बहन गर्न बाध्य रहेकै कारण मुलुकको स्वास्थ्य पूर्वाधारले सहजै धान्न सक्ने तयार नभएको हँुदा कोभिड–१९ को पहिलो कहरको तुलनाभन्दा दोस्रो कहरमा नागरिकको संक्रमण तथा मृत्युदर उच्च गतिमा रहनगएको पाइयो । मुलुकको सुविधासम्पन्न कतिपय ठूला अस्पतालमा समेत औषधि तथा अक्सिजनको अभावमा थप संक्रमित समुहलाई स्वास्थ्य सेवा प्रदान गर्न नसक्ने भन्ने कुरा केही समयअघि बाहिरिएको थियो जुन निकै नै दुःखलाग्दो विषय हो ।

प्रकोपको पीडा दोस्रो लहरमा मात्रै सीमित नरही तेस्रो वा सोभन्दा अधिक समेत रहन सक्ने भएको हँुदा समयमा नै हेक्का राख्नुपर्ने हुन्छ । प्रस्तुत सन्दर्भमा भन्दा हरेक व्यक्ति विशेष संक्रमित रहेका हुनसक्छन् भन्ने मानसिकताले अभिप्रेरित रहँदै अगाडि बढ्ने प्रयास गर्ने हो भने, न्यून रूपमा भए पनि संक्रमणको दर घटाउन मदत पुग्ने देखिन्छ । यसले नागरिक समाजमा सचेतताको अभिवृद्धि भई अस्पतालमा जाने समूहमा समेत कमी आई संक्रमित समूहलाई थप राहत मिल्ने अवस्था तयार हुने देखिन्छ ।

जे भए पनि महामारीपूर्ण अवस्थामा राज्य एवं चिकित्साकर्मीद्वारा देखाएको अदम्य शाहसका कारण संक्रमित समूहमा जीवनप्रतिको आशा सकारात्मकरूपमा अगाडि बढ्नेछ । तसर्थ हालको प्रतिकूल अवस्थामा हरेक समुदाय विशेषका अतिरिक्त स्वास्थ्य सेवामा समर्पित रहने समूहलाई जति सक्दो सकारात्मक हितभावले सहयोग गर्नु मानवीय धर्म हो । यसप्रकारका गतिविधिको विकासले संक्रमित समूह, चिकित्सकलगायत स्वास्थ्य सेवामा समर्पित रहने व्यक्ति विशेषको आत्मबल अधिक रहन गई संक्रमण एवं मृत्युदर न्यून रहन जाने विश्वास लिन सकिन्छ ।

त्यसो भएकोले कुनै पनि समूहले सामाजिक सञ्जालका अतिरिक्त अन्य क्षेत्रहरूमा समाचारहरू सम्प्रेषण गर्दा नागरिक समाजमा नकारात्मक ऊर्जा भर्ने गतिविधिलाई न्यून गर्नुपर्ने हुन्छ । राज्यका तर्फबाट आवश्यकताअनुसार सूचनाहरू प्रवाह गर्दै मनोबल उच्च राख्ने कार्यमा सदैव सर्वपक्षीय सहयोगको खाँचो रहन्छ । जसले यस क्षेत्रमा सकारात्मक ऊर्जा प्रक्षेपण गर्दै संक्रमित समूहलाई आत्मविश्वासको अभिवृद्धि गर्न सक्दो सहयोग गर्नेछ भन्दा फरक नपर्ला ।


क्याटेगोरी : विचार / ब्लग


तपाईको प्रतिक्रिया