Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोना नियन्त्रणको मार्गचित्रः चार ‘टी’

कोरोना नियन्त्रणको मार्गचित्रः चार ‘टी’


काठमाडौँ । कोरोनाको दौश्रो लहर शहरमा मात्र नभएर समुदाय र गाउँगाउँसम्म पनि छ्यापछयाप्ती फैलिइसकेको तथ्य र तथ्यांकले पुष्टि गरेको छ । अहिलेसम्मको अध्ययन र अनुभवले कोरोना संक्रमण नियन्त्रणको मार्गचित्रको प्रमुख आधार चार ‘टी’ अर्थात ट्र्याकिङ्ग, ट्रेसिङ्ग, टेस्टिङ्ग र ट्रिटमेन्टलाई व्यवस्थित र प्रभावकारी कार्यान्वयनको विकल्प छैन् । कोभिड—१९को पहिलो चरणको संक्रमणबाट तंग्रिन नपाउदै हामीलाई दोश्रो चरणको महाव्याधिको सामना गर्न विवस पारेको छ ।

डबल म्यूटेन्ट र रुपान्तरित कोरोनाको संक्रमण दर र गति उच्च भएको विज्ञहरुले दाबी गरेका छन् । नयाँ भेरियन्ट कोभिडले कैयौंको ज्यान गैसकेको छ । भाइरसको संक्रमण दर उच्च विन्दूमा असारतीर मात्र पुग्ने सरकारी आंकलन छ । अझ जोखिम बढ्ने कारणले सर्बत्र त्राश छाएको छ । यस महामारीसँगको सामना गर्न सरकार र सरोकार पक्षले बेलैमा आक्रमक रणनीति अबलम्बन गर्नुको विकल्प छैन् ।

यस महाव्याधीलाई ख्यालख्याल संझिदा अझ धेरै जनधनको क्षति बेहोर्नुपर्ने नहोला भन्न सकिन्न । भारतमा अनियन्त्रितरुपमा सल्केको कोरोना दोश्रोलहरको खुला सिमाना र सहज आवगमनको कारण नेपालमा पनि तीब्ररुपमा संक्रमण फैलिनु अन्यथा होइन । भारतमा कोरोनाको डरले स्वदेश फर्किने नेपालीहरुको लर्कोले अहिले कमजोर स्वास्थ्य संरचना र पहूँचका कारण गाउँगाउँसम्म कोरोना संक्रमण बढ्दो रुपमा छ । आवश्यक उपकरण र औषधीसहित पर्याप्त जनशक्तिको अभावमा कोरोनाको स्थिति अझ भयावह बन्ने प्राय निश्चित छ ।कोरोना महामारी नियन्त्रणको लागि गत बर्ष नै राष्ट्रिय मार्गचित्र बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च पदाधिकारी रहेको एक समिति गठन गरेको थियो । त्यस समितिले मार्गचित्र बनाएर सार्वजनिक गरेको पाइदैन । बेलैमा मार्गचित्र बनाएर लागू गर्न सकेको भए अहिलेको दोश्रो लहरमा यति विघ्न धनजनको क्षति बेहोर्नुपर्ने थिएन । संक्रमितहरुको बेलैमा पहिचान र उपचार तथा संक्रमण श्रृंखला तोड्न बेलैमा चनाखो नभए स्थिति थप गम्भिर हुने टड्कारो छ ।

भारतबाट कोरोना खोप ल्याउने क्रममा कमिशनको चक्करले ढिला भएको समाचारले जनमानसलाई आक्रोशित बनाएको छ । अर्कोतर्फ कतिपय निजी अस्पतालले अस्वभाविक अधिक शुल्क कोभिडका विरामीसँग असुल्ने गरेको गुनासो प्रति सरकारले नतिजामुखी कार्वाही गर्न बिलम्ब गर्नु दुखद हो । जनताको जीवनसँग खेलबाड गर्ने जोकोहीलाई पनि सत्यतथ्यको आधारमा निर्मम कार्वाही गरेर सुशासनको प्रत्याभूति दिन सरकार चुक्नु हुन्न् ।महामारीबाट उम्किन कडा सुशासन र स्वःअनुशासनको पनि उत्तिकै महत्व रहने तर्फ हेक्का रहनु जरुरी छ । सरकार सुशासन कायम गर्न चुकेको कारण कोरोना संक्रमणको तीब्रता बढेको आमनागरिकको गुनासो छ । राज्यले कोरोना नियन्त्रणकालागि चालेका कदम फितलो सावित हुदै गएका छन् ।

औषधीलगायतका मेडिकल सामग्रीहरुको महंगी, अभाव, कालोबजारी र कमशिनखोरीको जगजगीले सुशासनको खिल्लि उडाएको छ । सरकारको बोली र व्यबहारमा तादम्यता कमै पाइन्छ । तीनै तहका सरकार बीच सहयोग समन्वय आसलाग्दो छैन् । सरकारी आदेश र निर्देशनको कागजी झटारोले मात्र कोरोना नियन्त्रण गर्न सकिन्न् । सुशासनका न्यूनतम आधारभूत शर्तहरु पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया, उत्तरदायित्व र जवाफदेहिता, निष्पक्षता, समावेसिता, विकेन्द्रियतालगायत आवश्यक स्रोतसाधानको न्यायोचित बितरण आदीको पर्याप्त पालना भएको पाइदैन् । बिरामीको चाप चौतर्फी दिनप्रतिदिन बढ्दो छ । आवश्यक स्रोतसाधानको सीमितताको कारण अस्पतालहरु अस्तव्यस्त बन्न पुगेका छन् । बिरामीले अस्पतालमा बेड पाउन उपचाररत बिरामीको मृत्यु वा निको हुनुपर्दछ । एम्बुलेन्समै अक्सिजन दिएर उपचार भैराखेका दृश्य देखिने क्रम बढ्दो छ ।

हाम्रोमा स्वास्थ्य समस्यासँग जुध्ने दूरदर्शि र दिगो व्यवस्थापनको खाँचो टड्कारो देखिएको छ । अघिल्लो कोरोना कहरको व्यवस्थापनका लागि बनाइएका भौतिक संरचनालगायत व्यवस्थापनहरु बेवारिसे बनेका कारण अहिले पुनः नयाँ व्यवस्थापन गर्नुपरेको जगजाहेर नै छ । अर्कोतर्फ कोरोना भ्याक्सिन आयातमा भ्रष्टाचारको कारणबाट समयमा खोप नआएको भन्ने समाचारले जनमानसमा आक्रोश र निरासा छाएको छ । महामारीले सर्बत्र हाहाकार मच्चाएको बेलामा सरकार ढाल्ने र जोगाउने खेलमा राजनीतिक दलहरु तल्लीन रहनु विडम्बना हो । जनताको जीवनको मूल्यलाई नजरअन्दाज गर्दै सत्ताधारी र विपक्ष दलहरुले कुर्सी राजनीतिमा आफ्नो दिलोज्यान लगाउनु उदेक लाग्दो अवस्था हो । कोरोना संक्रमणलाई निस्तेज पार्दै निर्मूल गर्न बेलैमा सरकारलगायत सबै नलागे अझ धेरै धनजनको क्षति बेहोर्नुपर्ने निश्चित छ । निकट भविष्यमा नै कोरोनाको तेश्रोलहर पनि आउने विज्ञहरुको भविष्यवाणीले आमजनसमुदायमा झन त्राशको वातावरण छाएको छ ।

संक्रमणको तीब्रताको कारण र रोकथामका उपाय बारे गहन अध्ययनको आधारमा नियन्त्रणको रणनीति अबलम्बन गरिनु दूरदर्शिता ठहर्छ । घरमा आगो लागेपछि मात्र कुवा खन्ने हाम्रो बानीलाई त्यागेर भविष्यदर्शी नीति र रणनीति नबनाएसम्म यस्ता साना ठूला क्षतिहरु बेहोर्नु हाम्रो नियती नै बन्ने छ ।कोरोनाको दोस्रो लहरले भारतलाई नराम्ररी गाँजेको छ । अक्सिजन तथा औषधीको मात्रै नभएर स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको समेत अभावले कैयौंले समयमा नै उपचार नपाएर ज्यान गुमाएको समाचारहरु सार्वजनिक भएका छन् । अझ भारतको ग्रामिण इलाकामा त स्वास्थ्य संस्थाको अभावमा रुखको छहारीमा सामान्य बेडमा बिरामी राखेर उपचार गराइराखेको टीठलाग्दा दृश्यहरु टेलिभिजनमा प्रशारित भएका छन् । अर्कोतर्फ यस महामारीलाई कमाउ धन्दाको रुपमा अक्सिजन तथा रेम्डिसिभिरलगायतका महत्वपूर्ण औषधीको कालोबजारी गर्ने व्यपारीहरुको जगजगी त्यतिकै छ । नेपालमा समेत नक्कली रेम्डिसिभिर बेच्ने व्यपारी बिराटनगरमा पक्राउ परेका छन् ।

कोरोनालाई परास्त गर्न स्वअनुशासन, स्वस्थ र स्वच्छ बानीबेहोरा तथा सन्तुलित पौष्टिक आहार अर्को विकल्प हो । रोगप्रतिरोधात्मक क्षमता बढाउन खानपान र शारीरिक व्यायम तथा सकारात्मक शोच पनि प्रभावकारी हुने विज्ञहरुको दावी छ । कोरोना महाव्याधी उपचारको लागि विकास गरिएको खोप सबै नागरिकलाई उपलब्ध भएको छैन् । खोपको प्रभावकारिता माथि नै शंका उब्जिएकोले उपचार भन्दा पनि रोकथामका उपायहरु नै कोरोना बाट बच्ने उत्तम उपाय ठहरेको छ । शुरुमा चमेरो बाट मानवमा सरेको कोरोना भाइरस अहिले मानव बीचको संसर्ग बाट सर्दै छ । मानव संसर्गलाई निरुत्साहित गर्न सामाजिक दूरी बढाउन विभिन्न उपायहरु हुनसक्छन् । अहिले रोकथामका लागि विश्वभर लकडाउन उपाय लोकप्रीय बनेको छ ।

त्यस्तै कोरोना संक्रमित पहिचान र उपचारका लागि संक्रमितको ट्रयाकिङ्ग, ट्रेसिङ्ग, टेस्टिङ्ग र ट्रिटमेन्टलाई अभियानको रुपमा संचालन गर्नुपर्ने खाँचो भएको छ । कतिपय व्यक्तिहरु स्वास्थ्यसम्बन्धी मापदण्डको वेवास्ता गर्दै अनावश्यकरुपमा घरबाहिर निस्करे रोग सल्किने जोखिमलाई निम्त्याएका घट्ना सार्वजनिकहुने गरेका छन् । कोरोना विरुद्धको लडाइमा अग्रपङ्तिमा रहेका स्वास्थ्य तथा सुरक्षाकर्मीमाथि यदाकदा आक्रमणका निन्दनीय घट्नाहरु पनि भएका छन् ।

संक्रमितको उपचारमा नजिक बाट खटिएका स्वास्थ्यकर्मीरुपी देवदूतलाई हातपात, दुव्र्यवहार गरेका समाचार सार्वजनिक हुनु तथा सरकार र सरोकार निकाय टुलु टुलु हेरर बस्नु दुखद हो । अज्ञानता, भ्रम तथा कतिपय अवस्थामा नियतवस पनि यस्ता अप्रिय घट्नाहरु हुने गरेकाछन् । यस्ता अमानवीय घट्ना प्रति जिम्मेवार जोकोहीलाई पनि निर्मम कार्वाही गरि अग्रपङ्तिमा खटिएका पेसाकर्मीको मनोबल उच्च राख्न हिच्किचाउनु गम्भिर भुल हुन जान्छ ।

अहिले दोस्रो लहरको कोरोना तीब्र र घातकरुपमा फैलिइरहेको अवस्था स्वास्थ्यकर्मीलगायत अग्रपङ्तिमा खटिएकाहरुका लागि सरकारले दिल खोलेर सबैखाले सेवा सुविधा प्रदानगरिनु पर्दछ ।स्वास्थ्यकर्मी प्रति अमाानवीय र आत्मघाती कदम गर्ने विविध कारण हुन सक्छन् । कोरोना कहरमा स्वास्थ्यकर्मीको महत्व थाहा नपाएर वा अरुको लहैलहैमा लागेर, जे गरेपनि हुन्छ भन्दै हेपेर, स्वास्थ्यकर्मीहरु मार्फत कोरोना संक्रमणका कारण आफूलाई सर्ला कि भन्दै आत्तिएर तथा अराजक झूण्डहरुले वितण्डा मच्चाउने उच्छृंखल तत्वहरुको सक्रियतामा यस्ता असामाजिक दूव्र्यवहारहरु हुने गर्छन् ।

यस्ता नकारात्मक प्रबृतिहरुलाई निरुत्साहित र नियमन गर्न जनचेतनामूलक कार्यक्रम तथा सख्त कानूनी कार्वाही गर्न सरकार, समुदायलगायतका हरेक नागरिकले तदारुकता देखाउन विलम्व गरिनु हुन्न । स्वास्थ्यकर्मीले आफ्नो दायित्वबाट पन्छिदा आउने भयावह स्थितीको आंकलन गरेर बेलैमा कडा कार्वाहीको नीति लिन तीनै तहका सरकारले तदारुकता देखाउनु दूरदर्शिता ठहर्छ । स्वास्थ्यकर्मीहरु आफ्नो रोजीरोटीको लागि मात्रै नभएर मानव सेवा जस्तो पवित्र काममा जीवन नै दाउमा राखेर दिलोज्यानले लागेका छन् । उनीहरुको हौशला र मनोबल बढाउन सर्वसाधारण देखि सरकार सम्मले मुक्त कण्ठले प्रशंसा, प्रोत्साहन तथा सम्मान गर्नु हामी सबैको कर्म र धर्म हो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया