Techie IT
×
गृहपृष्ठविचारकोभिडले मागेका सिकाइ विधि

कोभिडले मागेका सिकाइ विधि


काठमाडौं ।
गत वर्षदेखि विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना महामारीले विद्यार्थी भाइबहिनीको दुई शैक्षिक सत्रलाई बेस्सरी प्रभाव प-यो । भीडभाड, जमघट र अन्तरक्रियाका स्थल भएकाले शिक्षालयलाई कोभिड हब बन्न दिनुहुन्न भन्ने विश्वव्यापी कार्यसूची बन्योे । यसले सिक्ने, सिकाउने र परीक्षा लिने परम्परागत नीति, विधि, प्रविधि तथा अभ्यासलाई पुनर्बोधको माग गरेको छ । किनकि सिक्नु सिकाउनु छ, अमूल्य समय खेर जान दिनु पनि भएको छैन तर जीवन पहिलो हो र त्यपछि मात्र अरु भन्ने पनि भुल्नुहुन्न ।

यसैपनि सूचना सञ्चार प्रविधिको निरन्तर विष्फोट र भाषिक सांस्कृतिक आबद्धीकरणका कारण शैक्षिक क्रियाकलापका पर्खालहरू भत्किँदै थिए, कोभिड महामारीले कक्षाकोठाको पर्खाल गर्ल्यामगुर्लुम भत्काएको छ । जबर्जस्त रूपमा समुदाय, घर, सुरक्षित स्थान र ट्याबको टच स्क्रीन कक्षाकोठा बनेका छन् । सिकाउने शिक्षकहरू बहुरूपमा विस्तार भएका छन् । यसले एउटा उकुसमुकुसका साथ जबर्जस्त परिवर्तन र अनुकूलन क्षमताको माग गरेको छ । साथै टिचिङ पेडागोगी व्यावहारिक हुनुपर्छ, समय र चेतना निरपेक्ष रहनु हुँदैन भन्ने सन्देश दिएको छ ।

परम्परागत रूपमा सिकाइ विधि फेस–टु–फेस हो, जहाँ शिक्षकले भाषण गर्ने, विद्यार्थीले सुन्ने, पाठ्यक्रमलाई उपयोग गर्ने, गृहकार्य, कक्षाकार्य गर्ने र प्रत्यक्ष रूपमै परीक्षा लिई मूल्याङ्कन गर्ने गरिन्छ । यो सजिलो विधिमा शिक्षक, विद्यार्थी अभ्यस्त हुँदै आएका हुन् । सिकाइ क्रममा मनोभाव, शारीरिक भावभङ्गी बुझ्न र शाब्दिक पृष्ठपोषण गर्न फेस–टु–फेस विधि आफैँमा जीवन्त विधि पनि हो । कोरोना महामारीका कारण फेस–टु–फेस विधि अपनाउन नसकिने भएकोले शैक्षिक नम्र्स परिवर्तन हुँदै छन् । विद्यार्थी भाइबहिनीको पढ्न पाउने हक पनि उपयोग गर्नुपरेको छ, महामारीको संक्रमणबाट सुरक्षित पनि राख्नु छ । शैक्षिक सत्र क्षति हुन दिन भएको छैन, जीवनमा वर्षको निकै महत्व छ । समय क्षति भयो भने त्यो सधैंका लागि क्षति हो । तर जीवन जोखिममा पर्नेगरी सिकाइ क्रियाकलाप सञ्चालन गरिनु पनि हुन्न । जीवन पहिलो र त्यसपछि मात्र अरु हुन् ।

‘जीवन पहिलो, त्यसपछि अरु’ को रणनीति कार्यान्वयन गर्न सिकाइमा ब्लेन्डेड विधि अपनाउनुपर्ने बाध्यता छ । जुम लेक्चर बुक, ई–बुक, लर्निङ पोर्टल, भिडियो युट्युब, ड्रिल सÏटवेयर, कन्स्ट्रक्सन, लेगो, रोबोट, डिजिटल अन्तरक्रिया, गेम्स, ह्वाट्स याप, ब्लग, लगबुक र एसेसमेन्ट टुल्स उपयोगमा ल्याइन थालिएका छन् । आर्थिक क्षमता, प्रविधि पूर्वाधार र सिकाइ संस्कृतिका कारण हामीहरू तिनलाई कसरी उपयोग गर्नसक्छौँ ? गम्भीर प्रश्न छ । तर उपयोगमा नल्याइ भएको छैन, सञ्चय गर्न नसकिने समयलाई सिकाइविहीन बनाउन पनि भएको छैन । किनकि भाइबहिनीको भविष्यसँग समाज, सभ्यता र राष्ट्रको भविष्य जोडिएको छ ।

कोरोना महामारीले विद्यालय, कक्षाकोठा, सिकाइ विधि, परीक्षण प्रणालीको परिभाषामा आमूल परिवर्तन गर्दै छ । त्यस्तै शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापकको भूमिका पनि परिवर्तन चाहेको छ । विद्यालय वा सिकाइ स्थल कक्षाकोठाबाट विस्तरित प्लेटफर्मतिर पुगेको छ भने सिकाइ विधि सनातनी कक्षा सम्भाषणबाट वैकल्पिक र व्लेण्डेड विधि हुँदै समुदायसम्म विस्तारको माग गरेको छ । परीक्षणका निरन्तर स्वचालित विधि हुँदै स्वमूल्याङ्कनसम्म पु-याउनु पर्ने माग छ भने यस प्रक्रियाका प्रधान पात्रहरू विद्यार्थी, शिक्षक, अभिभावक र व्यवस्थापक उल्लिखित प्रक्रियासँग निरन्तर अनुकूलनमा जानुपर्ने भएको छ । जस्तो कि कक्षाकोठामा सम्भाषण गर्ने शिक्षक अब बहुसीपयुक्त हुनै प-यो, ‘डिजिटल स्याभी’ नभै भएन, परिवारका सदस्य पनि वैकल्पिक शिक्षक हुनुप-यो, व्यवस्थापकहरू परम्परागत प्रशासनबाट बास्तविक व्यवस्थापक हुनुप-यो, नियुक्ति हाजिरी र राजनीतिको सीमाबाट बाहिरिन प-यो । मेयर, मन्त्रीहरू विद्यार्थीको सुदूर भविष्य र वर्तमानको विपदप्रति संवेदनशील हुनुप-यो । अमूर्त राजनीतिको कुरा गर्ने भूमिकाबाट वास्तविक नीतिबोधी बन्नुप-यो ।

सुरक्षित वातावरणमा सिकाइ कसरी ? संक्रमणबाट सुरक्षित हुँदै सिकाइ प्रक्रियालाई कसरी निरन्तरता दिने ? यो नै अहिलेको प्रमुख सवाल हो । यो अलि जटिल पनि छ, हामीलाई आफू अभ्यस्त भएका विधिमा रमाउने बानी परेको छ । गत वर्षदेखि विकसित विकासशील सबै मुलुकहरू कुनै न कुनै रूपमा यो सवाललाई सम्बोधन गर्न लागि परेका छन् । शिक्षक, अभिभावक, शैक्षिक व्यवस्थापक, नीति निर्माता र विद्यार्थी भाइबहिनीहरूलाई थाहा छ कोरोनाले टिचिङ पेडागोजी बदल्न दबाब दिएको छ । त्यतिमात्र होइन, शिक्षकको परिभाषा बदलेको छ, कक्षाकोठाको परिभाषा बदलेको छ सिकाइ क्रियाकलापमा शैक्षिक परामर्श र सामाजिक–मनोवैज्ञानिक सहयोग पनि चाहिएको छ ।

विशेषतः साना भाइबहिनीहरू, जो प्रारभ्मिक बाल विकास, किन्टरकार्डेन, डे केएर सेन्टर, नर्सरी तहका छन्, उनीहरूलाई मनोपरामर्श सहयोग अरु जरुरी छ, त्योभन्दा पनि जरुरी अपाङ्गता भएका भाइबहिनीलाई छ । युरोपका कतिपय मुलुकहरूमा सामाजिक सहयोग समूहको परिचालन नै गरिएको छ । हामीले पनि त्यसो गर्नुपर्छ । किनकि भाइबहिनीको पढ्न पाउने हक कुनै हालतमा पनि सुरक्षित गरिनुपर्छ तर यो पनि भुल्नुहुन्न ‘जीवन पहिलो र त्यसपछि मात्र अरु’ ।

यस महामारीमा कतिपय मुलुकहरू आफ्ना विद्यर्थीलाई सिकाइ प्रक्रियामा क्रियाशील राख्न र घरपरिवार पनि सुरक्षित राख्न ‘पेण्डामिक पड’ को उपयोग गरिरहेका छन् । विशेषतः ससाना भाइबहिनीहरूलाई कुलतमा लाग्न नदिन, एक्लो बोध हुन नदिन र आफूजस्तैलाई एकै ठाउँ/सञ्जालमा जोड्न ‘पेण्डामिक पड’ उपयोग गर्न सकिन्छ । प्रविधि र चेतनाको स्तरले पनि त्यसो गर्न सघाएको छ । परिवार, शिक्षक र सामाजिक सहजकर्ता यस प्रक्रियामा परिचालित हुनुपर्छ ।

नेपालमा पनि गत असोजबाट कार्यान्वयनमा ल्याइएको सीयूजी (क्लोज युजर्स ग्रुपः जुन त्यति उपयोगमा आएन)लाई पेन्डामिक पडका रूपमा उपयोग गर्न सकिन्छ । यसबाहेक स्थानीयता र सिकाइ समूहअनुरूप अरु विधि पनि उपयोगमा ल्याउन सकिन्छ । नेपालका कतिपय शिक्षकसँग यसखाले नवप्रवर्तनको क्षमता देखिएको पनि छ, जसलाई सरकारले मान्यता (रिकग्नाइज) दिई विस्तारमा ल्याउन सकिन्छ ।

विपत्ले पाठ्यविधिमा मात्र होइन, पाठ्यवस्तु, पाठ्यक्रम र पाठ्यभारलाई पनि व्यावहारिक अनि आपदमैत्री बनाउने माग गरेको छ । महाविपत्मा सबै विद्यार्थी सामान्य अवस्थामा झैं सबै विषय पढ्न, बुझ्न सक्तैनन् । टेक्स्ट बुक एप्रोच सबै हदमा व्यावहारिक नहुनसक्छ । समुदायका सिकाइ र सीपलाई पनि आपत्कालीन पाठ्य भारमा समावेश गर्न आवश्यक छ । कसले कहाँ र कसरी सिक्न सक्छन्, परिवारमा, समुदायमा, जहाँ जसले जे सिक्नसक्छ, त्यो नै पाठ्यक्रम मान्नुपर्ने बाध्यता छ । किनकि शिक्षाले जीवन र समयलाई बोक्न सक्नुपर्छ । जुन समाज, विकास, आपत्विपत्सँग अनुकूलित पनि जानुपर्दछ ।

निश्चित उमेर समूहमाथिका भाइबहिनीहरूलाई समुदाय कार्य, जनस्वाथ्य सावधानीका विषमा गरेको काम, वैयक्तिक तवरबाट लिइएको सावधनी र घर परिवारसँगै गरिएको स्वाथ्य सुरक्षाका कामलाई सिकाइ उपलब्धिका अङ्ग मान्नुपर्छ । विद्यार्थीको च्वाइसको कार्यलाई पनि विशेष आधार मान्न सकिन्छ । तर उपलब्धि मूल्याङ्कनमा शिक्षकहरूको परीक्षण सदाचारिता देखिइनु पर्दछ । जुन गत वर्षको एसईई परीक्षामा देखिएन । त्यत्तिकै अङ्क दिएर स्तर वृद्धि गर्ने सोच लिनु विद्यार्थीका लागि पनि घातक हो, विशेष अवस्थामा व्यावहारिक हुनुपर्छ, तर इक्जामिनेसन इन्टीग्रिटीबाट पर रहनु हुन्न ।

कोरोना महामारीले अवस्था र उमेरअनुसार छुट्टाछुट्टै सिकाइ विधिको माग गरेको छ । माध्यमिक तथा उच्च शिक्षामा सिकाइ विधि फेस–टु–फेस, सम्पूर्ण दूरविधि र मिश्रित (ब्लन्डेड) विधि अपनाउन सकिन्छ, । जसरी हुन्छ उनीहरूलाई सिकाइ प्रक्रियामा सक्रिय राख्नुपर्छ, ता कि सिकाइबाट विषयान्तर नहुन, कुलतमा नफसुन, मनोसमस्याबाट ग्रसित नहुन् । बालिकाहरू लैङ्गिक रूपमा अरु जोखिममा नपरुन् । त्यसैले लाइभ अनलाइन कोर्ष, वेब पोर्टललगायत अरु डिजिटल स्रोत र सावधानीका साथ अफलाइन सिकाइका विधिहरू उपयोग गर्न सकिन्छ ।

नेपालका ११ विश्वविद्यालय र धेरैजसो सहरी विद्यालय यस विधिमा गत वर्षबाट नै अभ्यस्त भइसकेका छन् । विद्यालय तहका लागि मानव स्रोत विकास केन्द्र र उच्च शिक्षाका लागि विश्वविद्यालय अनुदान आयोगले प्रणाली विकास र सहजीकरण सेवा दिन सक्छन् । यसका लागि आवश्यक हुने खर्च विनियोजन, जस्तो कि विद्यालय खाजाको रकम, स्यानिटरी प्याडको रकम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा विनियोजन भएको रकम र अन्य भौतिक सुधारका लागि विनियोजित रकम उपयोग गर्न सकिन्छ । साथै ग्रामीण दूरसञ्चार कोषमा रहेको रकम र शिक्षा क्षेत्रमा क्रियाशील अन्तराष्ट्रिय गैरसरकारी संस्थालाई पनि साझेदारीमा लिन सकिन्छ ।

विशेष व्यवहार चाहिने वर्ग र प्रारम्भिक बाल विकास समूहका भाइबहिनीहरू त्यसै पनि जोखिममा छन्, महामारीले विशेष जोखिम थपेको छ । यी वर्गलाई लक्षित गरी अभिभावक र केएर गिभरलाई उपयोग गर्न सकिन्छ । ससाना बाबु नानी र विशेष व्यवहार चाहिने वर्गका लागि डिजिटल मनोरञ्जन प्याकेजसाथ सिकाउन प्याकेज व्यवस्था र एप्स निर्माण गर्न सकिन्छ । विपदमा यसले सिकाइ, मनोरञ्जन र जोखिम न्यूनीकरणजस्ता त्रैआयामिक फाइदा पुग्नजान्छ ।

तर यी विधि उपयोगमा ल्याउन केही सवालहरूमा गम्भीर हुनुपर्छ । पहिलो हाम्रो शैक्षिक नेतृत्व सुझबुझ, समझदार, संवदेनशील र दृष्टिबोधी हुनुपर्दछ, जुन देखिएको छैन । प्राज्ञिक व्यवस्थापनको कुरा त परको हो, शैक्षिक प्रशासन पनि भएको छैन । भविष्यका कारर्णाधारका लागि शैक्षिक नेतृत्वले सोच्नुपर्छ । होइन भने त्यो नैतिक अपराध नै मानिन्छ । गत आश्विनदेखि माघसम्म कोभिड लक्षित प्रयासहरू गरिएका छन्, तिनहीहरूलाई थप अग्रसरता दिनुपर्छ । त्यसपछिका सवालहरूमा दूरशिक्षा र वैकल्पिक विधिको अवलम्बनका लागि प्रविधिक सुविधा, डिजिटल पूर्वाधार, शिक्षक तयारी र क्षमता विकाससहितको अभिमुखीकरण, अनुकूलन विकास, कार्याशाला अभ्यास, परीक्षा विधि सुधार र परीक्षण सदाचारिताजस्ता कार्य आक्रामक रूपमा गरिनुको विकल्प छैन ।

स्वघोषित शिक्षाविद्हरू आफैँ गतावधिक भैसके, उनीहरूको बुझाइ र विज्ञताले अहिले काम गर्दैन, उनीहरू आफ्नै रोजगारी र व्यवसाय विस्तार गरिरहेका छन् । उनीहरूको धेरै सुझाव लिएर समय बर्बाद गर्नुहुन्न । र, के भुल्नु हुन्न भने विपत्ले दिएको शिक्षा पछि पनि काम लाग्छ । किनकि सिकाइ विधि अब हाइब्रिडतर्फ निरन्तर अघि बढ्नेछ ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया