Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोना नियन्त्रणको मार्गचित्र : चार ‘टी’

कोरोना नियन्त्रणको मार्गचित्र : चार ‘टी’


काठमाडौं ।
कोरोनाको दोस्रो लहर सहरमा मात्र नभएर समुदाय र गाउँ–गाउँसम्म पनि छ्यापछयाप्ती फैलिइसकेको तथ्य र तथ्यांकले पुष्टि गरेको छ । अहिलेसम्मको अध्ययन र अनुभवले कोरोना संक्रमण नियन्त्रणको मार्गचित्रको प्रमुख आधार चार ‘टी’ अर्थात् ट्र्याकिङ, ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्टलाई व्यवस्थित र प्रभावकारी कार्यान्वयनको विकल्प छैन ।

कोभिड—१९ को पहिलो चरणको संक्रमणबाट तंग्रिन नपाउँदै हामीलाई दोस्रो चरणको महाव्याधिको सामना गर्न विवश पारेको छ । डबल म्युटेन्ट र रूपान्तरित कोरोनाको संक्रमण दर र गति उच्च भएको विज्ञहरूले दाबी गरेका छन् । नयाँ भेरियन्ट कोभिडले कैयौँको ज्यान गइसकेको छ । भाइरसको संक्रमण दर उच्च बिन्दुमा असारतिर मात्र पुग्ने सरकारी आकलन छ । अझ जोखिम बढ्ने कारणले सर्वत्र त्रास छाएको छ । यस महामारीसँगको सामना गर्न सरकार र सरोकार पक्षले बेलैमा आक्रमक रणनीति अवलम्बन गर्नुको विकल्प छैन ।

यस महाव्याधिलाई ख्यालख्याल सम्झिदा अझ धेरै जनधनको क्षति बेहोर्नुपर्ने नहोला भन्न सकिन्न । भारतमा अनियन्त्रितरूपमा सल्केको कोरोना दोस्रो लहरको खुला सिमाना र सहज आवगमनको कारण नेपालमा पनि तीव्ररूपमा संक्रमण फैलिनु अन्यथा होइन । भारतमा कोरोनाको डरले स्वदेश फर्किने नेपालीहरूको लर्कोले अहिले कमजोर स्वास्थ्य संरचना र पहुँचका कारण गाउँ–गाउँसम्म कोरोना संक्रमण बढ्दो रूपमा छ । आवश्यक उपकरण र औषधिसहित पर्याप्त जनशक्तिको अभावमा कोरोनाको स्थिति अझ भयावह बन्ने प्राय निश्चित छ ।

कोरोना महामारी नियन्त्रणको लागि गत बर्ष नै राष्ट्रिय मार्गचित्र बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च पदाधिकारी रहेको एक समिति गठन गरेको थियो । त्यस समितिले मार्गचित्र बनाएर सार्वजनिक गरेको पाइँदैन । बेलैमा मार्गचित्र बनाएर लागू गर्न सकेको भए अहिलेको दोस्रो लहरमा यति विघ्न धनजनको क्षति बेहोर्नुपर्ने थिएन । संक्रमितहरूको बेलैमा पहिचान र उपचार तथा संक्रमण शृंखला तोड्न बेलैमा चनाखो नभए स्थिति थप गम्भीर हुने टड्कारो छ ।

भारतबाट कोरोना खोप ल्याउने क्रममा कमिसनको चक्करले ढिला भएको समाचारले जनमानसलाई आक्रोशित बनाएको छ । अर्कोतर्फ कतिपय निजी अस्पतालले अस्वभाविक अधिक शुल्क कोभिडका बिरामीसँग असुल्ने गरेको गुनासोप्रति सरकारले नतिजामुखी कारबाही गर्न विलम्ब गर्नु दुःखद हो । जनताको जीवनसँग खेलबाड गर्ने जोकोहीलाई पनि सत्यतथ्यको आधारमा निर्मम कारबाही गरेर सुशासनको प्रत्याभूति दिन सरकार चुक्नु हुन्न् ।

महामारीबाट उम्किन कडा सुशासन र स्वःअनुशासनको पनि उत्तिकै महत्व रहनेतर्फ हेक्का रहनु जरुरी छ । सरकार सुशासन कायम गर्न चुकेको कारण कोरोना संक्रमणको तीव्रता बढेको आम नागरिकको गुनासो छ । राज्यले कोरोना नियन्त्रणका लागि चालेका कदम फितलो साबित हुँदै गएका छन् ।

औषधिलगायतका मेडिकल सामग्रीहरूको महँगी, अभाव, कालोबजारी र कमसिनखोरीको जगजगीले सुशासनको खिल्ली उडाएको छ । सरकारको बोली र व्यवहारमा तादम्यता कमै पाइन्छ । तीनै तहका सरकारबीच सहयोग समन्वय आसलाग्दो छैन ।

सरकारी आदेश र निर्देशनको कागजी झटारोले मात्र कोरोना नियन्त्रण गर्न सकिन्न । सुशासनका न्यूनतम आधारभूत सर्तहरू पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया, उत्तरदायित्व र जवाफदेहिता, निष्पक्षता, समावेशिता, विकेन्द्रीयतालगायत आवश्यक स्रोतसाधानको न्यायोचित वितरण आदिको पर्याप्त पालना भएको पाइँदैन । बिरामीको चाप चौतर्फी दिनप्रतिदिन बढ्दो छ । आवश्यक स्रोतसाधानको सीमितताको कारण अस्पतालहरू अस्तव्यस्त बन्न पुगेका छन् । बिरामीले अस्पतालमा बेड पाउन उपचाररत बिरामीको मृत्यु वा निको हुनुपर्दछ । एम्बुलेन्समै अक्सिजन दिएर उपचार भइराखेका दृश्य देखिने क्रम बढ्दो छ ।

हाम्रोमा स्वास्थ्य समस्यासँग जुध्ने दूरदर्शी र दिगो व्यवस्थापनको खाँचो टड्कारो देखिएको छ । अघिल्लो कोरोना कहरको व्यवस्थापनका लागि बनाइएका भौतिक संरचनालगायत व्यवस्थापनहरू बेवारिसे बनेका कारण अहिले पुनः नयाँ व्यवस्थापन गर्नुपरेको जगजाहेर नै छ । अर्कोतर्फ कोरोना भ्याक्सिन आयातमा भ्रष्टाचारको कारणबाट समयमा खोप नआएको भन्ने समाचारले जनमानसमा आक्रोश र निराशा छाएको छ ।

महामारीले सर्वत्र हाहाकार मच्चाएको बेलामा सरकार ढाल्ने र जोगाउने खेलमा राजनीतिक दलहरू तल्लीन रहनु विडम्बना हो । जनताको जीवनको मूल्यलाई नजरअन्दाज गर्दै सत्ताधारी र विपक्ष दलहरूले कुर्सी राजनीतिमा आफ्नो दिलोज्यान लगाउनु उदेकलाग्दो अवस्था हो । कोरोना संक्रमणलाई निस्तेज पार्दै निर्मूल गर्न बेलैमा सरकारलगायत सबै नलागे अझ धेरै धनजनको क्षति बेहोर्नुपर्ने निश्चित छ ।

निकट भविष्यमा नै कोरोनाको तेस्रो लहर पनि आउने विज्ञहरूको भविष्यवाणीले आम जनसमुदायमा झन् त्रासको वातावरण छाएको छ । संक्रमणको तीव्रताको कारण र रोकथामका उपायबारे गहन अध्ययनको आधारमा नियन्त्रणको रणनीति अवलम्बन गरिनु दूरदर्शिता ठहर्छ । घरमा आगो लागेपछि मात्र कुवा खन्ने हाम्रो बानीलाई त्यागेर भविष्यदर्शी नीति र रणनीति नबनाएसम्म यस्ता सानाठूला क्षतिहरू बेहोर्नु हाम्रो नियती नै बन्नेछ ।

कोरोनाको दोस्रो लहरले भारतलाई नराम्ररी गाँजेको छ । अक्सिजन तथा औषधिको मात्रै नभएर स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको समेत अभावले कैयौँले समयमा नै उपचार नपाएर ज्यान गुमाएको समाचारहरू सार्वजनिक भएका छन् । अझ भारतको ग्रामीण इलाकामा त स्वास्थ्य संस्थाको अभावमा रुखको छहारीमा सामान्य बेडमा बिरामी राखेर उपचार गराइराखेको टीठलाग्दा दृश्यहरू टेलिभिजनमा प्रशारित भएका छन् ।

अर्कोतर्फ यस महामारीलाई कमाउ धन्दाको रूपमा अक्सिजन तथा रेम्डिसिभिरलगायतका महत्वपूर्ण औषधीको कालोबजारी गर्ने व्यपारीहरूको जगजगी त्यतिकै छ । नेपालमा समेत नक्कली रेम्डिसिभिर बेच्ने व्यपारी विराटनगरमा पक्राउ परेका छन् ।

कोरोनालाई परास्त गर्न स्वअनुशासन, स्वस्थ र स्वच्छ बानीबेहोरा तथा सन्तुलित पौष्टिक आहार अर्को विकल्प हो । रोगप्रतिरोधात्मक क्षमता बढाउन खानपान र शारीरिक व्यायम तथा सकारात्मक सोच पनि प्रभावकारी हुने विज्ञहरूको दाबी छ । कोरोना महाव्याधि उपचारको लागि विकास गरिएको खोप सबै नागरिकलाई उपलब्ध भएको छैन । खोपको प्रभावकारितामाथि नै शंका उब्जिएकोले उपचारभन्दा पनि रोकथामका उपायहरू नै कोरोनाबाट बच्ने उत्तम उपाय ठहरेको छ ।

सुरुमा चमेरोबाट मानवमा सरेको कोरोना भाइरस अहिले मानवबीचको संसर्गबाट सर्दै छ । मानव संसर्गलाई निरुत्साहित गर्न सामाजिक दूरी बढाउन विभिन्न उपायहरू हुनसक्छन् । अहिले रोकथामका लागि विश्वभर लकडाउन उपाय लोकप्रिय बनेको छ । त्यस्तै कोरोना संक्रमित पहिचान र उपचारका लागि संक्रमितको ट्र्याकिङ, ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्टलाई अभियानको रूपमा सञ्चालन गर्नुपर्ने खाँचो भएको छ । कतिपय व्यक्तिहरू स्वास्थ्यसम्बन्धी मापदण्डको बेवास्ता गर्दै अनावश्यकरूपमा घरबाहिर निस्करे रोग सल्किने जोखिमलाई निम्त्याएका घटना सार्वजनिक हुने गरेका छन् ।

कोरोनाविरुद्धको लडाइमा अग्रपङ्तिमा रहेका स्वास्थ्य तथा सुरक्षाकर्मीमाथि यदाकदा आक्रमणका निन्दनीय घटनाहरू पनि भएका छन् । संक्रमितको उपचारमा नजिकबाट खटिएका स्वास्थ्यकर्मीरूपी देवदूतलाई हातपात, दुर्व्यवहार गरेका समाचार सार्वजनिक हुनु तथा सरकार र सरोकार निकाय टुलुटुलु हेरर बस्नु दुःखद हो । अज्ञानता, भ्रम तथा कतिपय अवस्थामा नियतवस पनि यस्ता अप्रिय घट्नाहरू हुने गरेका छन् ।

यस्ता अमानवीय घटनाप्रति जिम्मेवार जोकोहीलाई पनि निर्मम कारबाही गरी अग्रपङ्तिमा खटिएका पेसाकर्मीको मनोबल उच्च राख्न हिचकिचाउनु गम्भीर भुल हुनजान्छ । अहिले दोस्रो लहरको कोरोना तीव्र र घातकरूपमा फैलिइरहेको अवस्था स्वास्थ्यकर्मीलगायत अग्रपङ्तिमा खटिएकाहरूका लागि सरकारले दिल खोलेर सबैखाले सेवा सुविधा प्रदान गरिनुपर्दछ ।

स्वास्थ्यकर्मीप्रति अमानवीय र आत्मघाती कदम गर्ने विविध कारण हुनसक्छन् । कोरोना कहरमा स्वास्थ्यकर्मीको महत्व थाहा नपाएर वा अरुको लहैलहैमा लागेर, जे गरे पनि हुन्छ भन्दै हेपेर, स्वास्थ्यकर्मीहरूमार्फत कोरोना संक्रमणका कारण आफूलाई सर्ला कि भन्दै आत्तिएर तथा अराजक झुण्डहरूले वितण्डा मच्चाउने उच्छृंखल तत्वहरूको सक्रियतामा यस्ता असामाजिक दुर्व्यवहारहरू हुने गर्छन् । यस्ता नकारात्मक प्रवृतिहरूलाई निरुत्साहित र नियमन गर्न जनचेतनामूलक कार्यक्रम तथा कानुनी कारबाही गर्न सरकार, समुदायलगायतका हरेक नागरिकले तदारुकता देखाउन विलम्ब गरिनुहुन्न ।

स्वास्थ्यकर्मीले आफ्नो दायित्वबाट पन्छिँदा आउने भयावह स्थितिको आँकलन गरेर बेलैमा कडा कारबाहीको नीति लिन तीनै तहका सरकारले तदारुकता देखाउनु दूरदर्शिता ठहर्छ । स्वास्थ्यकर्मीहरू आफ्नो रोजीरोटीको लागि मात्रै नभएर मानव सेवाजस्तो पवित्र काममा जीवन नै दाउमा राखेर दिलोज्यानले लागेका छन् । उनीहरूको हौसला र मनोबल बढाउन सर्वसाधारणदेखि सरकारसम्मले मुक्तकण्ठले प्रशंसा, प्रोत्साहन तथा सम्मान गर्नु हामी सबैको कर्म र धर्म हो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया