Techie IT
×
गृहपृष्ठविचारपर्यटकीय, ऐतिहासिक तथा धार्मिक धरोहर : सिद्धिचरण नगरपालिका

पर्यटकीय, ऐतिहासिक तथा धार्मिक धरोहर : सिद्धिचरण नगरपालिका


काठमाडौं ।
नेपाल संघीय गणतन्त्रात्मक राज्य बनेपछि ओखलढुंगा जिल्लाप्रदेश नं. १ मा पर्ने पहाडी जिल्लामध्येको एक हो  । पूर्वदेखि पश्चिमतर्फ क्रमशः फराकिलो हुँदै गएको यस जिल्लालाई तीनतिरबाट सुनकोशी, दुधकोशी तथा लिखु नदीले छुट्याएको छ  ।

नेपालका ७७ जिल्लामध्ये पहाडी जिल्लाको रूपमा यस जिल्लाको कुल भू–भागमध्ये सदरमुकाम ओखलढुंगा बजारबाट थोरै क्षेत्र पूर्वमा र धेरै क्षेत्र पश्चिममा पर्दछ  । युगकवि सिद्धिचरण श्रेष्ठ र हालको राष्ट्रिय गानको रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)को जन्मभूमि समेत भनेर चिनिने यस साहित्यिक उर्वर भूमिमा अहिर वंशी, गोपाल वंशी एवं किराँतवंशी राजाहरूले राज्य गरेको पाइन्छ  ।

ओखलढुंगा नामकरण सम्बन्धमा एउटा ऐतिहासिक तथ्यमा करिब चार सय वर्षअघि राजा नरसिंह मल्लका शासनकालमा काजी भीम मल्लले तिब्बतको धेरै भाग जिती किराँत प्रदेशमा लडाइ गर्ने क्रममा ओखलढुंगा सदरमुकाममा उनको फौजको बास प-यो  । बासमा खानेकुरोको हकमा धान मात्र पाइयो  । धान कुट्ने साधन नपाई एउटा ठूलो ढुंगाको खोपिल्टामा धान राखेर ढुंगाकै मुसलले कुटेर चामल बनाई उनीहरूले छाक टारेका थिए  । यसैले त्यस दिनदेखि सो ठाउँको नाम ओखलढुंगा रहन गयो भन्ने भनाइ छ  ।

हाल ओखलरूपी ढुंगा रहेको ठाउँसँगै यहाँ जन्मिएका कवि सिद्धिचरण श्रेष्ठको प्रतिमा रहेको र सो स्थानलाई सार्वजनिक पार्कको रूपमा विकास गरिँदै आएको छ  । ओखलढुंगा जिल्लाको एकमात्र नगरपालिका जसको नाम युगकवि सिद्धिचरण श्रेष्ठको सम्झना र सम्मानमा सिद्धिचरण नगरपालिका नामकरण गरिएको पाइन्छ  । यस लेखमा युगकवि सिद्धिचरण श्रेष्ठ साथै ओखलढुंगाको बारेमा प्रकाश पार्ने जमर्काे गरिएको छ ।

नेपाली साहित्यमा युगकवि सिद्धिचरण श्रेष्ठको विशिष्ट स्थान भएको पाइन्छ । उनको कविताशिल्पको अन्तिम खोज मानव भएको पाइन्छ साथै कवितामा विश्वको व्यथा, निजी मर्मस्पर्शीता छ, समाज सुधार्ने सामर्थ्य र देशप्रेमले भरिएको, कवितामा जति प्रकृतिको उपासना र आराधना, राजनीतिक चेतना र वेदनाको सहज धारा–प्रवाह, जीवन्त र सामाञ्जस्य, प्रकृतिको अत्यन्त सरल चित्रण तथा समाजलाई उठ्ने चेतना दिने खालको उनको कृतिहरूको विशेषता हो । उनको अत्यन्तै लोकप्रिय र कर्णप्रिय गीतिकविता मेरो प्यारो ओखलढुंगा कालजयी सिर्जना हो ।

नेपाली शोककाव्य जगतमा कविवर माधवप्रसाद घिमिरेको कालजयी सिर्जना गौरीको जुन स्थान छ, स्थान परिचय र देशभक्तिको भावनामा युगकवि सिद्धिचरणको मेरो प्यारो ओखलढुंगा सिर्जनाको त्यही स्थान छ । सो कविताको एक अंश तल प्रस्तुत गरिएको छ ।
तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल वक्षस्थलमा
यो कविको शैशवकाल बित्यो
हाँस्यो खेल्यो वन–कुन्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा !

वि.सं. १९६९ जेठ ९ गते ओखलढुंगा जिल्लामा जन्मेका सिद्धिचरणले संवत् १९९० सालमा भुइँचालो कविता लेखनबाट आफ्नो साहित्यिक यात्रा आरम्भ गरेका पाइन्छ । राष्ट्र, राष्ट्रियता एवं जन्मभूमिप्रतिको स्नेहपूर्ण भक्तिभाव उजागर गर्न उनको चम्कन युवक चम्क कविताले राष्ट्रबोधको बारेमा राम्रो सन्देश–प्रवाह गरेको छ । उनका कवितामा एकातर्फ प्रकृतिप्रेम र मानवीय वेदना प्रतिविम्बित छ भने अर्कोतर्फ समाज सुधारको पक्ष पनि दह्रो छ ।

सफल प्रकृति चित्रण र समाजलाई युगबोध चेतनातर्फ अभिप्रेरित गर्नु कविको वैशिष्ट्य कर्म हो । मुलुकभित्र र बाहिर समेत तत्कालीन नेपाली समाजमा जनचेतना र जागरण अभिवृद्धि गर्ने अन्य कार्यमा संलग्नहरूले जस्तै देशका सबै साहित्यकारहरूले पनि गहन भूमिका खेलेको पाइन्छ । तत्कालीन राजनीति र साहित्यिक जगतमा विद्रोह र क्रान्तिको शंखघोष गर्ने प्रातः स्मरणीय विशिष्ट प्रतिभा युगकविले कविताको माध्यमद्वारा युगचेतना र जागरणको आन्दोलन आरम्भ गरेका पाइन्छ ।

प्राचीनकालमा यो क्षेत्रमा अहिर वंशी, गोपालवंशी एवं किराँत वंशी राजाहरूले राज्य गरेको पाइन्छ  । वल्लो किराँत भनिने यस क्षेत्रमा किराँतीलाई लखेटी मल्लहरूले शासन गरेको कुरा इतिहासमा उल्लेख छ  । पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि भीमसेन थापाको प्रशासनिक विभाजनअन्तर्गत ३९ जिल्लामध्ये पूर्व ३ नम्बर ओखलढुंगाको नामले यस जिल्लाको जन्म भएको हो  । विसं २०१८ सालको प्रशासनिक विभाजनपूर्व हालका सोलुखुम्बु, ओखलढुंगा र खोटाङ जिल्लाहरू पूर्व ३ नम्बर ओखलढुंगामा पर्दथे  ।

ओखलढुंगा जिल्लामा प्रकृतिले सिंगारिएको सुन्दर नगरपालिका सिद्धिचरण नगरपालिका हो  । २०७१/१/२५ मा नगरपालिका घोषणा हुँदा बर्नालु, ओखलढुंगा, ज्यामिरे, सल्लेरी, अँधेरी नारायणस्थान, रुम्जाटार गरी बनेकोमा २०७३ को राज्यपुन संरचना समयमा तलुवा, ठूलाछाप, जन्तरखानी, विगुटार, बेतिनी समेत ५ गाविस र वारुणेश्वर गाविसको एक वडा समेत गरी यो नगरपालिका २०७३ मा थप विस्तार भएको पाइन्छ  ।

पूर्वमा पर्ने १ नं वडा तलुवाको भू–क्षेत्र बाहिङ तोलाचा राईको थरबाट अपभ्रंश हुँदै तलुवा बनेको छ  । क्षेत्री, बाहुन, नेवार, मगर, राई र दलितको जनसंख्या भएको यो क्षेत्र सहिष्णु संस्कृति सभ्यता भएको उर्वर बेंसी पर्ने हुनाले यो नगरपालिकाको गरिमा हो  । यसैगरी यस नगरपालिकाको पूर्वमा पर्ने ठूलाछाप क्षेत्र पनि त्यतिकै महत्वको छ  ।

यस क्षेत्रको सिरानमा ऐतिहासिक गढी (किल्ला) रहेको हुनाले ठूलाछाप नामांकित हुनगएको यस क्षेत्रमा क्षेत्री, बाहुन, दलित, (वि.क., सार्की, दमाई)को उल्लेख्य बसोबास रहेको छ  । उर्वर भूमि तथा श्रमजीवी मानिसहरूको बसोबास गर्ने यो स्थानमिश्रित जीवन पद्धतिका लागि प्रसिद्ध छ  । पूर्वी क्षेत्रको अँधेरी नारायणस्थान बाहिङ राई भाषामा खिमपापु भनेर चिनिन्थ्यो  ।

काजी भीमसेन थापाको समयमा स्थानीय व्यक्ति इन्द्रवीर गुरुङले चार नारायणको मन्दिर स्थापना गरेपछि यस ठाउँको नाम नारायणस्थान रहनगयो  । राई, क्षेत्री र बाहुन, गुरुङ, भुजेल, गिरी, दलित बसोबास गर्ने यस क्षेत्रमा कृषि, वैदेशिक रोजगार, सरकारी सेवामा सक्रिय मानिसहरू रहेका छन्  ।

रुम्जाटार क्षेत्र ऐतिहासिक छ  । सन्त ज्ञानदिलदास, मेलवा देवीजस्ता रूपान्तरणमा लाग्ने नामहरू गुरुङको उल्लेख्य उपस्थिति, ऐतिहासिक वहुल सांस्कृतिक सम्पदाहरू, लोकभाषा, लोक साहित्य तथा यहाँ उत्पादित राडीपाखी विश्वभर प्रसिद्ध छ  । रुम्जाटारको माथिल्लो क्षेत्र बर्नालु पनि महत्वपूर्ण मानिन्छ  । वर्नेबाहिङ राईले शासन गरेको आधारमा नामांकित भएको यस क्षेत्रमा राई शेर्पा, बाहुन, गिरी, भुजेल, गुरुङ र विश्वकर्माको बसोबास रहेको छ  ।

सिद्धिचरण नगरपालिकाको जन्तरखानी क्षेत्र रमणीय पर्यटकीय गन्तव्य रहेको छ  । यस क्षेत्रको माथिल्लो टाकुरामाजन्तर आकारका दुईवटा ठूला ढुंगा र त्यसको फेदमा तामाखानी पाइने भएकाले यस ठाउँको नाम जन्तरखानी रहन गएको भनाइ छ  । मगर, शेर्पा र दलित जातिको उल्लेख्य बसोबास भएको यो क्षेत्रमा नगरभरिमा ओसिलो क्षेत्र मानिएको अत्यधिक तरकारी उत्पादन हुने विगुटार रहेको छ  । विगु भुजेलले उक्त क्षेत्रमा विजय हासिल गरी आवादी गरिएको भनाइ पनि रहेको छ  ।

बेतिनीका उर्वर फाँटहरू धमला मगर बस्तीको बाहुल्य मोलुङको सुसाइसँगै निरन्तर कृषि कर्ममा जुटिरहेको देखिन्छ  । ज्यामिरे जातका फलफूलले भरिपूर्ण ज्यामिरे खड्का, बानिया थरको ऐतिहासिक थलो, मोलुङको किनारबाट उभिएर क्षितिजको फेदमा फाँटिलो जमिनभरि नवीन परिकल्पनामा विकासका गतिविधिहरू सोचिरहन्छन्  ।

जिल्लाको माथिल्लो भागमा रहेको यस नगरपालिकामा भौगोलिक विविधताले गर्दा मौसम र यहाँको हावापानीमा पनि विविधता पाइन्छ  । माथिल्लो भागमा रहेका तीन हजार मिटरमाथिका डाँडाहरूमा पानी परेको अवस्थामा र हिउँद महिनामा प्रायजसो हिउँ पर्नेगरेको पाइन्छ  । दुधकोशी नदीको किनारसम्म पूर्वतिर यस नगरपालिकाको सिमाना रहेकोले नदी छेउछाउ करिब चार–पाँच सय मिटरको उचाइमा रहेका भूभागमा गर्मी हावापानी पाइन्छ  । पश्चिमतिर मोलुङ खोलाले यस नगरपालिकालाई उक्तगाउँसँग छुट्याई सिमाना कायम गरिएको छ  ।

तलदेखि माथिसम्मको विभिन्न भौगोलिक धरातलको कारणले नगरपालिकाको क्षेत्रभित्र उष्ण, समशीतोष्ण र शीतोष्ण खालको हावापानी पाइन्छ  । उष्ण हावापानी करिब चार सय मिटरदेखि हजार मिटरसम्मको उचाइमा, समशीतोष्ण, दुई हजारदेखि तीन हजार मिटरसम्म र शीतोष्ण तीन हजार मिटरदेखि माथि पाइन्छ  ।

रुम्जाटार र सो आसपासका क्षेत्र र कोशीनदीको छेउलगायततल्लो भेगमा तातो हावाको महसुस गर्न पाइन्छ भने अन्य स्थानमा समशीतोष्ण खालको हावापानी पाइन्छ जसले गर्दा यो नगरपालिका क्षेत्रमा धेरै गर्मी पनिनहुने धेरै जाडो पनि महसुस नहुने हुनाले बसोबास, हावापानीको दृष्टिकोणले सुरम्य मानिन्छ  । यस नगरपालिकाको क्षेत्रमा बढी वर्षा एक सय ७० मिलि र औसत वर्षा २९ सय ३० दशमलव ४ मिलि रहेको छ  ।

भू–बनोटतर्फ अध्ययन गर्दा नगरपालिकामा नदी किनारका सम्म परेका केही खेतहरू पाइन्छन् भने बीचको पहाडी खण्डमा गरा परेका खेतवारी र जंगलहरू यथेष्ट पाइन्छन् । माथिल्लो लेकाली क्षेत्रमावनजंगल कम हुने र सानातिना देवदारका रुखहरू, धुपी, सल्लातथा बुट्यानहरू पाइन्छन् । यहाँको अधिकांश जमीनको क्षेत्रफल भिरालोपना भएको हुनाले माटोको बनावटमा धेरै ठाउँमा समानान्तार पाइन्छ  । उवर्रा माटोको क्षयीकरणले गर्दा यस नगरपालिकाको अधिकांश भागमा रातो माटो, बलौटे दोमोट र कालो र कमेरो माटो पाइन्छ  ।

रुम्जाटार, विगुटारलगायत विभिन्न टारहरूमा उर्वरा माटो भएकोले सो स्थानमा राम्रो कृषि उत्पादन हुन्छ  । तल बेँसी ठाउँहरूमा मलिलो, पाँगो तथाकालो माटो र ढुंग्ययान तथा पत्थरयुक्त माटो समेत पाइन्छ  । यस नगरपालिकामा पाइने महत्वपूर्ण खनिज पदार्थहरू फलाम र तामा रहेका छन् जुन जन्तरखानीमा पाइन्छन् ।
सिद्धिचरण नगरापालिकामा मुख्यगरी विभिन्न जात्रा, दशैँ, तिहार, तीज, साउने संक्रान्ति, मंसिर पूर्णिमा, उधैली, उभौली, ल्होसार, कृष्ण अष्टमी, जनै पूर्णिमा, ठूलो एकादशी, भुजापाते मेला, गठ्ठेमंगल, माघे संक्रान्ति आदि मनाइन्छ  ।

यस नगरापालिकाको धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलहरू कर्कलादेवी मन्दिर, देवीबिजुवा मन्दिर, दक्षिणकाली देवीमन्दिर, मैलीदेवी मन्दिर, पञ्चमुखी मन्दिर, पहरेवेशी, बांगीवेँशी, मूलघाट, निशंखे, कोट मन्दिर, थापा डाँडा, कोटगढी मन्दिर, रेणुका मन्दिर, शीतला मन्दिर, सावित्रा देवी मन्दिर, रक्तमाला देवी मन्दिर, मुका डाँडा (याम डाँडा), तारेभिर, चम्पादेवी, पञ्चकन्या देवी, चार नारायण मन्दिर, कालिकादेवी मन्दिर, सेतीदेवी मन्दिर, गणेश मन्दिर, सरस्वती मन्दिर, भीमसेनस्थान मन्दिर, भगवती देवीस्थान, जाल्पादेवी स्थान, हरेराम हरेकृष्ण मन्दिर, चण्डेश्वर महादेवस्थान, रुम्जाटार वौद्ध गुम्बा, कालिकामन्दिर पार्क, ठूलो डिम पार्क, सन्त ज्ञानदिल स्मारक, अखण्ड हरिकीर्तन मन्दिर, थालडाँडा, देउराली डाँडा, खोख्ले खोला दोभान, टोडकेको साउने चौतारा, ठाडे दाह्रेगौंडा, सानोथाम डाँडा, सानोथाम गुफा, डाँडाखर्क, सप्नावती मन्दिर, राधालक्ष्मी कुञ्जरा, श्री कालिका देवी, तीनकन्या, पाँचकन्या देउराली, सिताढुंगा, सिद्रगैया लालु, ओख्लेढुंगा, छोलिङ गुम्बा, सोनाम छालिङ गुम्बा, धनमाया देवीमन्दिर, टोडके भ्यू डाँडा सिंहदेवी, सानु थाम, ठूलो थाम डाँडा, ज्ञानमती, पाँच कन्याललेश्वरी, पञ्चकन्या देवी, सिंहमहादेव, दांगेवन, दुधज्वालमती, वनपाले, देवाली स्थान, देउराली, चिलाउने खोप सार्वजानिकवन, साउने छिलछिरे सामुदायीक वन, विश्ले खोप सामुदायिक वन, मेघे पातल सामुदायिक वन, तिहारे, खर्क सामुदायिक वन, कालिका देवी धार्मिक वन, बाझोधार सामुदायिक वन, तोलु गुम्बा, जन्तरधाप, भुजापति मन्दिर, महघंर गुफा, तोलुगुम्बा, चम्पादेवी मन्दिर, सेतीदेवी मन्दिर सल्लेरी, टासी छोलिङ् गुम्बा सल्लेरी थाम डाँडा, सल्लेरी तामाङ गुम्बाघर, जाल्पादेवी मन्दिर, कान्तादेवी मन्दिर, चञ्चला देवी, कान्ता देवी, कालिका देवी, महादेवस्थानगउत, सिंह डाँडा, कालिकादेवी मन्दिर, झाक्री ढुंगा, वडा हाकिम दरवार, ओखल आकारको ऐतिहासिक ढुंगा, युगकवि सिद्धिचरण श्रेष्ठको जन्मस्थान, भैरवनाथ मन्दिर, महादेव मन्दिर, गणेश मन्दिर, गड्यौलेदेवी मन्दिर, वालकन्या सिंहदेवी मन्दिर आदि छन् ।

राष्ट्रिय संस्कृतिको स्वरूपलिन यहाँको लोक सांस्कृतिक एकतामा समाहित भएर सिद्धिचरण क्षेत्रले नेपाली माटोको सुगन्धबोकेर परम्परा बचाएको पाइन्छ र आफ्नै मौलिक जातीय पहिचानमा मौलाएको पाइन्छ  । हिमाली भेगको जातीय पहिचानमा सिर्जिएका गुरुङ समाजका, सोरठी, मारुनी, स्यार्गा, छ्याँडु, ठाडो–भाका, तामाङ समाजमा प्रचलित सेलो, टुङ्ना, ब्रामहण–क्षेत्री समाजमा चर्चित बालन, भजन–चुड्का, तीज, माहल आदि प्रचलित दोहोरी, झ्याउरे, सरस्वतीनाच, पञ्चैबाजा नाच र प्रायः सबै जातजातिमा प्रसिद्ध देउसी–भैलो आदि प्रसिद्ध नाचगानले यस समाजको पृष्ठभूमिमा सिर्जित लोक संस्कृतिले मुख्य स्थान लिएको पाइन्छ  ।

यस्तै बहु–रीतिरिवाज, चालचलन, रहनसहन, भेष–भूषा, बोलीबचन, साहिनो–अभिवादन, धर्मकर्म, लोकपरम्परा, कला–कौशल, लोक साहित्य र तिनको दैनिक उपभोग्य सामानको प्रयोगमामाझिएको ग्रामीण जीवनशैली यहाँका जनताको आफ्नै निजी सम्पत्ति हुन्  ।

विश्वमा सूचना र सञ्चारको जगतमा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ  । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजीबजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ  । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथाश्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ  ।

यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हाँसिल गर्दै पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ  । आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ  ।

विश्वको बद्लिदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकाशशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ  । यसै परिवेशमा विश्वमा माहामारीको रूपमा फैलिएको कोभिड–१९ ले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ  । सो क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाई, दिदीबहिनी जन्मभूमिमा फर्किरहेका छन् । सो कारण बेरोजगारीको समस्या हल गर्नको लागि पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ  ।

यस क्षेत्रको लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा नगरपालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन ।

यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेको अधिकांश स्थलहरू नगरपालिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवा सुविधा दिइने अवस्था अझै कमी छ । कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रसित रहेको छ । यसबाट यहाँका बासिन्दाले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, सिद्धिचरण नगरपालिका क्षेत्रको लागि पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।

यस क्षेत्रको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र अन्तर नगरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । सिद्धिचरण नगरपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ ।

नगरपालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ ।

अतः पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस सिद्धिचरण नगरपालिका क्षेत्रभित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकोले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र युगकवि सिद्धिचरण श्रेष्ठको मेरो प्यारो ओखलढुंगा कविता अझै उज्जल भई हरेक वर्ष जेठ ९ गते मनाइने युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्तीले सार्थकता पाउनेछ ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया