Techie IT
×
गृहपृष्ठविचारपहिचान सकिएपछि पार्टी आफैँ निरीह हुन्छन् 

पहिचान सकिएपछि पार्टी आफैँ निरीह हुन्छन् 


काठमाडौं ।
धर्म, संस्कृति, नैतिकता, इमानदारिता, बन्धुत्व र पारस्परिकता सकिएपछि देश सकिन्छ । अहिले करोडौँ नेपालीले राजनीति, चुनाव, प्रधानमन्त्रीको सत्ता हेरफेर चाहेका होइनन् । अहिले उनीहरू कोरोनाबाट बाँच्न चाहन्छन् । छिटोभन्दा छिटो कोरोनाको भ्याक्सिन व्यावस्थापन गरिदेऊ । यतिखेर हो राज्यको सम्पूर्ण शक्ति र ध्यान भ्याक्सिन उपलब्ध गराउनु । जनता यतिखेर आँसुको आहालमा डुबेका छन् ।

प्रधानमन्त्रीज्यू जीवनको उत्तरावस्थामा पुग्नुभएको तपाईं स्वयं नै अब राम्रो काम गरेर देवताजस्तै दयालु बन्दिनुस् । ढिलो नगरी द्रुत गतिमा भ्याक्सिन मगाइदिनुस् । नेपालीले ऋण गरेर भए पनि भ्याक्सिन लाउन चाहन्छ । जनताको ज्यानमा कमिसन खान नदिनुस् । चुनाव नै भएछ भने यो भ्याक्सिनले ठूलो महत्व राख्छ । पहिला भ्याक्सिन अनि चुनाव । केही छिटो निर्णय गर्नुस् इतिहासमा आफूलाई देवत्वकरण गर्ने मौका यही हो नत्र भने नेपाली जनता अतीततिर फर्कँदै छ ।

पहिचानविनाको राष्ट्र बाँचेर पृथ्वीको एउटा सानो टुक्रा नेपाल के भोलिका दिनहरूमा पनि आफ्नो वर्चस्व निरन्तर कायम राख्न सक्ला त ? पहिचान गुमाएका टुक्रिएर अलग बाँचेका ग्रेट रसीयाका साना–साना राज्यहरूको अहिले के हाल छ हामीले चिन्तन गर्नु जरुरी थियो । तर चिन्तन गरिएजस्तो लागेन किनभने संविधान र संघीयताको पूर्ण उपयोग नै नगरिकन यो संविधान र संघीयतामाथि धेरै विवादास्पद कुराहरू आउन थालिसकेका छन् जुन राम्रो होइन ।

हामीले देशको हित हेर्ने हो, देशअनुकूलको शासन व्यवस्थापन गर्ने हो । देशको पहिचान नै गुम्नेगरी व्यवस्था लादेर कहिले हित हुनेछैन । भनिन्छ हिन्दु राज्य हुनै सक्तैन । नेपालको संविधानमै उल्लेख छ । नेपाल धर्म निरिपेक्ष मुलुकको रूपमा स्थापित भएको छ । नेपाल धार्मिक स्वतन्त्र मुलुक किन हुन सकेन ?

हिजो राजा फ्याँक्ने निहुँमा के–के गरियो कसैलार्ई होस थिएन । क–कसको राजनीतिक स्वार्थ थियो को–को यो देशको सर्वोच्च पदमा पुग्न खोजेका थिए अहिले आएर प्रस्ट हुँदै छ ।

पञ्चायतलार्ई सामन्ती शासन व्यवस्था भनियो, सधैँ गाली गरियो सधैँ बन्द हडताल झैझगडा लडाइँ गोली बारुद र जिन्दावाद र मुर्दावादको नारा घन्कायौँ । जसरी पनि राजा फ्याँक्ने प्रपञ्चमा लागियो तर आज मुलुकको हविगत के सुधारिएको पाउनुभएको छ तपाईंले ? तपाईं हिजो खुसी हुनुहुन्थ्यो कि आज ? तपाईं हिजो हँसिलो हुनुहुन्थ्यो कि आज ? तपाईं हिजो सुरक्षित हुनुहुन्थ्यो कि आज ? तपाईं हिजो आफूलाई एक सार्वभौम राष्ट्रको नागरिक सम्झनुहुन्थ्यो कि आज ? हिजोभन्दा आज जनताले सहज र खुसी महसुस गर्न सकेन भने अन्ततः जनता अतीततिर फर्किन्छ फर्किन्छ ।

अतीततिर फर्किएका देशहरू पनि छन् । अतिततिर फर्किनु भनेको पस्चगामी हुनु वा आधुनिक मन नपराउनु पनि होइन । पार्टी मात्रै खुसी भएर देश खुसी हुन्छ र ? पार्टी मात्रै बलियो र संघसंगठन मात्रै धनी भएर नेपाल धनी हुन्छ र ? हो कम्युनिस्टहरू धर्म मान्दैनन् । धर्म नमान्न पाइने अधिकार छ तर अरुले धर्म मान्छु भन्दा उसको स्वतन्त्रताको रक्षा गरिदिनु पनि एउटा जिम्मेवार पार्टीको वा सरकारको दायित्व पनि त हो नि । आफूले धर्म नमाने पनि अरुले मानेको धर्मको रक्षाका लागि केही नगर्नु भन्ने छ र ? बहुदलीयमा बहुसंख्यकको कदर हुनुपर्छ ।

राष्ट्रको लागि पार्टीहरू मेरुदण्ड होइनन् । प्रजातन्त्रका लागि सबल जनशक्ति र स्वतन्त्रताको अनुभूति पहिलो सर्त नै हो । राजाको प्रत्यक्ष शासन पनि हेरेको हो नेपालले र अहिलेको जननिर्वाचित सरकारले चलाइरहेको शासन पनि हेरिरहेका छन् ।

नेपाली जनता नेपालका सबै पार्टीहरूका क्रियाकलापप्रति सन्तुष्ट छन् त ? राजामा दलगत स्वार्थ हुँदैन ऊ पूर्णरूपमा राज्य र राज्यको सार्वभौम र अखिल अखण्डताप्रति जिम्मेवार हुन्छ भनिन्थ्यो हिजो तर राजा पनि निजी स्वार्थमा लागेका देखियो र जनता राजाको विरोधी भएर सक्रिय राजतन्त्रलार्ई निष्क्रिय पारे ।
भन्नलाई जनतालार्ई मालिक बनाउने भन्ने तर कर्मचाहिँ जनतालार्ई शत्रुको व्यवहार गर्ने ? अहिले यही भैरहेको छ । राष्ट्रको लागि एक घन्टा समय दिइन्छ भने पार्टीको लागि दश घन्टा समय दिने परम्पराले गर्दा अहिलेको शासन व्यवस्थाप्रति जनाआक्रोस र असन्तुष्टि बढ्न थालेको हो ।

हिन्दु राज्यका लागि यो मुलुकमा जनमत संग्रह गर्नुपर्छ । बहुमतको निर्णयबाट नै यो कुरालाई टुंगो लगाउनुपर्छ भन्ने माग गर्नेहरूले अब समाज तताउने पक्कापक्की छ । नेपाल प्रजातान्त्रिक मुलुक हो भने अल्पमतको सम्मान गर्नु जरुरी छ । नत्र भने असन्तुष्ट बढिरहनेछ र यसले पछि विकराल रूप धारण गर्नसक्छ । नेपाललार्ई धर्म निरपेक्ष मुलुक कसको स्वार्थमा बनायो यो कुरो रहस्यमय छ ।

नेपालीको पहिचान केवल नेपाली मात्रै हुनुमा रहँदैन । पहिचान धेरै महत्वपूर्ण कुरा हो । बुद्धलार्ई भारतले बेला–बेलामा किन हाम्रो भन्छ ? त्यसमा धार्मिक पहिचानको मूल मर्म जोडिएको छ । नेपालमा जन्मिएका बुद्धप्रति किन आक्रमण गर्छ भारतले भन्दा बुद्धसँग आफू जोडिएर आफ्नो पहिचान स्थापन गर्नको लागि नै हो । पहिचान त्यो सम्पुजन हो जसभित्र हाम्रो अस्तित्वको किरण चम्किरहेको हुन्छ ।

हिराको पहिचान जसरी चम्किनुमा छ । फूलको पहिचान जसरी फूल्नु र सुवास छर्नुमा छ । पानीको पहिचान जसरी तिर्खा मेटाउनुमा छ । नेपालको आफ्नो पहिचान हिन्दु राज्य बनाउँदा आपत्ति के थियो होला र तर किन बनाइएन ? क्रिश्चियन धर्म मान्ने मुलुक त संसारमा धेरै छन् तर हिन्दु धर्म मान्ने मुलुक एक मात्रै नेपाल थियो तर डलर र आईएनजीओको स्वार्थका कारण नेपालले सदियौँदेखिको आफ्नो सभ्यताको उज्यालो गुमायो ।

यस्तै–यस्तै संस्कार र संस्कृति हामीले विस्तारै गुमाउँदै छौँ । नेपाली संस्कृतिमा फूलेका कतिपय रीतिथिति, संस्कार, सामाजिक प्रचलन, विश्वास, धार्मिक सहिष्णुता जनलोकोक्ति, हाम्रा लोक संस्कारमाथि सिधै पश्चिमा संस्कृतिले ठाडै हस्तक्षेप गर्दै आएको छ । जन्मदिन मनाउँदा बत्ती बाल्ने चलन थियो तर अहिले मैन फुक्ने कुप्रथा भित्रिएको छ । सयौँ नेपाली लोक संस्कारहरू मृत भैसकेको छ । बोर्डिङ स्कुलको दबदबामा र अभिभावकको अंग्रेजी मोहका कारण यतिबेला नेपाली सभ्यता कोमामा गएको अनुभूति सबैले गर्नथालेका छन् ।

म जन्मिदा मसँगै एउटा संस्कार जन्मिएको थियो । म झरेँ जब आमाको स्वर्ण संसारबाट मलार्ई हेर्ने मानिसको धुइरो थियो रे । मेरा किसान बाबु हलो जोत्ने साथी जन्मेकोमा खुसी थिए । मेरी आमा उनको बुढेसकालको बाँच्ने सहारा पाएकीमा खुसी थिइन् । मेरा बैनीहरू भाइटीका गर्न पाइने माइतीघर सधैँ उज्यालो हुने भएकोमा खुसी थिए । मेरो सालनाल घरछेउको बुढो खर्सेताको रुखमुनी गाडियो रे । म ठूलो हुन्जेलसम्म पनि त्यो बुढो खर्सेताको बोटलार्ई हेरिरहन्थेँ । त्यो बोट पछि निकै हरियो भरियो थियो । म रमाउथेँ यसलाई देखेर किनकि यसको फेदमा म पनि बाँचिरहेको छु जस्तो लाग्थ्यो । खोइ किन हो त्यो बुढो खर्सेतोको बोटको मलार्ई औधी माया लाग्छ । अलिकति म र मेरो ताकत मिलेर हरियो भएको छ त्यसको हाँगाहरू । हामी आफ्नो नाभि र सालनाल धरतीमा रोप्छौँ, सँगै उभिएर बाँचिरहेको त्यो घाँसको बिरुवालार्ई अलिकति भए पनि मल दिन्छौँ हाम्रो संस्कार कति मायाले भरिएको छ ।

हामी धराका सबै आत्मालार्ई सम्मान गर्छौँ । घाँस बिरुवामा पनि आत्मा छ र त यो हामी सँगै हुर्किरहेको हुन्छ । हामी बिरुवालार्ई माया गर्छौँ । त्यही बिरुवाबाट पालिएकी छिन् गौमाता । त्यही गाईको दुधबाट म सम्पोशित हुन्छु । ११औँ दिनमा न्वारान भयो मेरो । मेरा बाले मेरो जन्म संस्कार पूरा गरे । म अझै ठूलो भएँ । ब्राह्मणहरूद्वारा मेरो ब्रतबन्ध भयो । मैले नित्यकर्म गर्नथालेँ । म अब मेरा बासँगै धोती फेरेरे भान्सामा भात खान थालें । खाना खाँदा पनि आचारसंहितामा बाँधिनु पर्थ्यो । सन्जे भन्नुपर्थ्यो । थालको छेउमा धरतीलाई आफूले खाने थोरै भोजन अर्पण गर्नुपर्थ्यो । पानीले आचमानी गर्नुपर्ने हुन्थ्यो ।

धरती र पित्रीलाई प्रथम गाँस अर्पण नगरी खायो भने पाप लाग्थ्यो । हामी नेपालीको संस्कार त यस्तो हो तर अहिले यी सबै प्रचलनहरू ह्याप्पी बर्थडेले सलक्कै निले । नेपाली बच्चा जन्मिदा पहिला संस्कृतिका वेदवाक्यहरू जपेर जन्मसंस्कार पूरा गरिन्थ्यो अहिले कुनै होटेलमा जाँड पार्टी गरेर ब्रेकडान्स गरेर मनाइन्छ ।

हामी पूरै पश्चिमाहरूको अर्धली वा दास बनिसकेका छौँ । पहिला माया गरिन्थ्यो अहिले लभ गरिन्छ । माया मुटुको स्पन्दनबाट हुन्थ्यो तर लभचैँ मादकता मेट्न मात्रै गरिन्छ । नेपाली सभ्यताको धुकधुकी कोमाभित्र छ । यो सभ्यता विश्वको प्राचीनतम सभ्यतामध्यको एउटा सभ्यता हो । हामीभित्र जो मुस्किलले बाँचिरहेको छ । यो सभ्यताको निर्मलतालाई बिटुल्याउन शासक नै लागिपरेका छन् । हिन्दु राज्य नेपाल अहिन्दु भई बाँचिरहेको छ यतिबेला ।

बेलायत पुगेर आएका पहिलो नेपाली जङ्बहादुर गृह प्रवेशपहिले आफूलाई गहुँतले चोख्याएका थिए रे । जंगबहादुर हिन्दु धर्मप्रति कति आस्थावान् रहेछन् । अहिले यसलाई सिध्याउन सबै लागिपरेका छन् । क्रिश्चियन, बुद्धिस्ट र हिन्दुको फ्युजन भएर अगाडि बढिरहेको छ अहिले नेपालको सभ्यता । एउटा पहिचान थियो नेपालको हिन्दु राज्य तर अब त्यो रहेन ।

बुद्धलार्ई भारतले र सगरमाथालाई चीनले दाबी ग-यो भने हामी रित्तिनुपर्छ । त्यो नहोस् कहिले पनि । तर प्रधानमन्त्री पदका लागि नेपालका नेताले विदेशीको गुलामी गर्छन् । हिजो त्रिभुवनले प्रजातन्त्र ल्याउन र जहानियाँ राणा शासनको अन्त्य गर्न भारतको शरण परेकै हुन् । बाह्रवर्षे माओवादी द्वन्द्व अन्त्यका लागि पनि भारतमै १२ बुँदे सहमति भएकै हो । भारतविना के नेपाल अधुरो नै हुन्छ र ? नेपालीको प्राचीन सभ्यता गुम्दै गएको छ । किन दुनियाँ नेपाली सभ्यता मेटाउन पछि परिरहेको छ ? आफ्नो सभ्यता बचाउन के हामीले अलिकति पनि सोच्नु जरुरी छैन र ?

हामी सुन्दरता खोज्छौँ । बौद्धिकता कुल्चन्छौँ । हामी जवानी जुहार्छौँ, बुडेउली डकार्छौँ, शोझालाई हकार्छौँ, बांगालाई सकार्छौँ, सत्यलार्ई लल्कार्छौँ, अस्पतलाई सत्कार्छौँ कठैबरी ! मेरो शान सभ्यतालार्ई नहेप भोलिको उज्यालो बोक्ने, भोलिको पहिचान बोक्ने त्यही सभ्यता नै हो । मेरो सभ्यता भलै कुरूप होला तर म मेरो त्यही पहिचानलार्ई नै माया गर्छु । आदिम हुँदैन कहिले मेरो मातृबोली किनकि मैले त्यही बोली सुने रै बोल्न सिकेको हुँ र संसारसँग जुध्न सिकेको हुँ । सुन्दरता मर्छ एक दिन । जवानी ढल्छ एक दिन । तर मेरो पहिचानलार्ई आगोले पनि खाँदैन । भोलि फेरि हिजोको त्यही बुढो घाम बाटो देखाउन आउँछ मलार्ई जगतज्योति लिएर । त्यसैले यी ओठहरूमा शान्ति र संस्कृतिको अमृत भरिरहुँला हामी हाम्रै संस्कार बोकेर ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया