Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगराजनीतिक सुन्दरताको परिदृश्य

राजनीतिक सुन्दरताको परिदृश्य


काठमाडौं ।
राजनीतिक क्षेत्रमा हुनेगरेका विभिन्न प्रकारको आरोह अवरोहलाई केही हदसम्म राजनीतिक फोहरी खेलको रूपमा चित्रण गर्ने विश्व परिवेशको व्यवहारमा नेपाल पनि अछुतो रहन सक्दैन । सूक्ष्मरूपमा अध्ययन गर्ने हो भने प्रस्तुत फोहरी उपमा लुकेको राजनीतिक दृश्य, परिदृश्यभित्र नै मुलुक र जनहितको खातिर आर्थिक समृद्धि एवं विकास निर्माणको सुन्दरपक्षलाई समाहित गर्दै लोकतान्त्रिक राज्य व्यवस्थाले क्रमश : आफ्नो कार्यदिशालाई अगाडि बढाउँदै लक्ष्य प्राप्तिको चाहना राखेको हुन्छ ।

तसर्थ यथार्थपरक धरातललाई राम्ररी खुट्टाएर हेर्ने हो भने निश्चितरूपमा त्यहाँ सुखमय सुन्दरताको अनुभूति प्राप्त हुने नै छ । जसको सुन्दर पक्ष भनेको अन्ततः निर्वाचन नै हो । निर्वाचनको समयमा शारीरिकरूपले आकर्षणयुक्त व्यक्ति, समुदाय वा राजनीतिक समूह विशेषले सफल हुनु वा नहुनु भन्ने तथ्यले राजनीतिक सुन्दरताको क्षेत्रका गौण महत्व राख्ने गरेको हुन्छ ।

सम्बद्ध क्षेत्रमा विशेषगरी व्यक्तिको व्यक्तित्व पहिचानभन्दा पनि आस्थागत राजनीतिको आधारमा कुन राजनीतिक समूहले सम्बद्ध मुलुकलाई के–कति र कुन हदसम्म योगदान गर्न सबल, सक्षम र परिपूर्ण रह्यो भन्ने प्रश्नले विशेषगरी दलीय राजनीतिको क्षेत्रमा विशेष महत्व राख्ने गरेको तथ्यहरूले प्रमाणित गर्दै आएको छ । उपरोक्त तथ्य नै जनअभिमत प्राप्त गर्ने अनेकन लोकतान्त्रिक विधिमध्येको एक विधि हुनुको साथै लोकतान्त्रिक राज्य व्यवस्थाको सही अवधारणा समेत यसलाई मान्न सकिन्छ । जसलाई आवधिक निर्वाचनको समयमा विजय वा पराजय प्राप्त गर्ने प्रमुख कारक तत्व विशेषको रूपमा लिइने हुँदा यसको भिन्नै महत्व रहँदै आएको छ ।

व्यावहारिक दृष्टिबाट अध्ययन गर्दा पनि कुनै पात्र विशेषको उपस्थिति वा अनुपस्थितिले मात्र समग्र राजनीतिको सुन्दरतामा कुनै प्रकारको तात्विक असर पर्नेछैन जुन निश्चितरूपमा राजनीतिक आस्थामा निर्भर रहने कुरा हो । जसका कारण झिनो मतको अन्तरले विजय पराजयको निर्धारण हुने अवस्था पैदा हुनेछ । यो नै लोकतान्त्रिक राज्य व्यवस्थाको महत्वपूर्ण उपलब्धि हो । जहाँ आवधिक निर्वाचनसहितको लोकतान्त्रिक मूल्य एवं मान्यताले फक्रने अवसर प्राप्त गर्नेछ भन्न सकिन्छ ।

राजनीतिक सुन्दरताको कुरा गर्दा जुन लोकतान्त्रिक समूहले नागरिक समाजकेन्द्रित कार्यमा आफ्नो नितिगत सिद्धान्तलाई जनहितकारी कार्यमा उल्लेख्य मात्रामा क्रियाशील गराउँदै आएका छन् सोही अनुपातमा यर्थाथमा उक्त व्यक्ति वा दलीय समूह नै भावी निर्वाचनको समयमा विजयको असली हकदारको रूपमा साबित हुने प्रबल सम्भावना रहन्छ ।

सम्बद्ध समूहलाई लोककल्याणकारी कार्य गरेबापत पारितोषिक स्वरूप नागरिक समाजले आफ्नो प्रतिनिधिमूलक संस्थाविशेषको रूपमा सम्बद्ध मुलुकको शासकीय स्वरूपमा स्थापित गराउनको लागि अनुमोदन गरेको अवस्था निर्वाचनलाई मात्र मान्न सकिन्छ । जसमा विशेष गरी अराजक वा प्रभावहीन समूहको तुलनामा लोककल्याणकारी कार्यको प्रभावकारीताले निम्त्याएको सकारात्मक परिणामको उल्लेख्य राजनीतिक दर्शनको रूपमा प्रस्तुत कार्यलाई लिन सकिन्छ । जुन निर्वाचनको समयमा नागरिक समाजले निर्धारण गर्ने कुरा हो । यो नै राजनीतिक सुन्दरताको अभूतपूर्व पक्ष समेत हो ।

जसको आधारमा भावी सरकारको रूपरेखा समेत कायम रहने हुँदा प्रस्तुत तथ्यलाई कुनै पनि सचेत नागरिक समाजले सहजै इङ्कार गर्न मिल्दैन । विपरीत अवस्था कायम राख्दै निर्वाचनमा भाग लिने अनिच्छा जाहेर गर्नु भनेको हजारौँ सहिदको बलिदानलाई उपहास गर्दै प्राप्त राजनीतिक उपलब्धि एवं संवैधानिक नागरिक हक अधिकारलाई संकुचित पार्नुबाहेक अर्को कुनै ठोस उपलब्धिमूलक कार्य हासिल गर्न सकिँदैन । त्यसो भएको हुँदा आवधिक निर्वाचनको समयमा उल्लेख्य मात्रामा जनसहभागिताको परिचालन गर्नु वा गराउने वातावरण सिर्जना गर्नु भनेको ठोस राजनीतिक सुन्दरताको सफलता हो ।

यसका अतिरिक्त यदाकदा राजनीतिको क्षेत्रमा कायम रहने गरेको अराजक व्यवहारलाई समेत सुन्दरताको अर्को पाटोसँग तुलना गर्न सकिन्छ । किनकि प्रस्तुत तथ्य विशेषका आधारमा सम्बद्ध राजनीतिक समूहमा रहे भएको कमी कमजोरीलाई खुट्टाउन सहयोगीको भूमिका निर्वाह गर्ने देखिन्छ । जसलाई मूल केन्द्रबिन्दु बनाउँदै अघिल्लो निर्वाचनको समयमा नागरिक समाज समक्ष गरेका प्रतिबद्धताहरूलाई कुन राजनीतिक समूहले कति मात्रामा पूरा गर्न सक्यो वा सकेन भन्ने तथ्यलाई विशेष हेक्का राख्नुपर्ने हुन्छ । जसलाई दलीय समूहको मूल्यांकन परिणामको मापनबिन्दु मान्न सकिन्छ ।

जसको अभावमा पराजयको सामना गर्नुपरे पनि निश्चित समयसीमा पार गरेपछि आउने निर्वाचनमा सम्बद्ध मुलुकका राजनीतिक समूहले तिनका पुराना गल्तीलाई आवश्यक मात्रामा सुधार गर्दै पुनः आफ्नो बलियो उपस्थिति कायम राख्नको लागि राजनीतिक अराजक व्यवहार एवं दूषित तत्वलाई पहिचान गरी सोको निराकरण गर्ने अवसरको रूपमा निर्वाचनलाई लिन सकिन्छ । तसर्थः यस क्षेत्रमा रहेको अराजकताले राजनीतिक व्यवहार सुधार्ने कार्यमा महत्वूर्ण भूमिका निर्वाह गर्नेछ ।

दीर्घकालीन राजनीतिक छवि सुधार्ने हो भने पक्कै पनि अराजक गतिविधिलाई सुन्दरताको पथमा रूपान्तरण गर्ने प्रयास गरौँ । जसको सकारात्मक परिणामस्वरूप स्वच्छ प्रतिस्पर्धात्मक राजनीतिको सुत्रपात हुनगई हालसम्म यस क्षेत्रमा कायम रहँदै आएको नकारात्मक ऊर्जालाई न्यून गर्नेछ भन्ने विश्वास लिन सकिन्छ । तर यसका लागि राजनीतिक जनचेतनाको अभिवृद्धि गर्ने कार्यमा नागरिक समाजका हरेक तह र तप्कालाई जागरुक गराउनु अत्यन्त जरुरी भइसकेको छ । मुलुकको राजनीतिको क्षेत्रमा केही हदसम्म प्रस्तुत तत्वको अभाव रहनगएको हुँदा बेलावखत समस्या सिर्जना भई राजनीतिक जटिलता उत्पन्न हुनगएको मर्मस्पर्शी तथ्यलाई हामी कसैले पनि सहजै भुल्न मिल्दैन ।

अतः लोकतान्त्रिक मूल्य मान्यताको अभावमा जुन निर्वाचन पद्धतिमा महिला समूहको मतदान अधिकारलाई वञ्चित गर्ने प्रपञ्च रचिन्छ भने त्यस अवसरमा राजनीतिक सुन्दरताको परिकल्पना गर्नु मिथ्या साबित हुने देखिन्छ । किनकि महिला मतदानको रक्षासहितको जनअभिमत नै सही अर्थमा राजनीतिक सुन्दरताको अब्बल पक्ष हो भन्न सकिन्छ । विश्व समुदायमा आधा आकाशको प्रतिनिधित्व रहने समूहलाई कुनै पनि हालतमा जनअधिकारबाट अलग राख्न मिल्दैन भन्ने राजनीतिक सिद्धान्तलाई मनन गर्दै नेपालले महिला मतदानको अधिकार प्रदान गरेको पाइन्छ । यद्यपि विश्व समुदायको महिला मतदानको ऐतिहासिक पृष्ठभूमिलाई केलाएर हेर्ने हो भने उक्त समूहलाई मताधिकार प्राप्त भएको धेरै समय व्यथित भएको पाइँदैन । त्यसो भएको हुँदा राजनीतिको क्षेत्रमा कायम रहँदै आएको खराब परिसूचकका अनेकन विषय वस्तुलाई बदल्नु नै सही मानेमा राजनीतिक शुभसूचकको प्रारम्भ बिन्दु हो ।

जसका लागि खराब राजनीतिको परिदृश्यबाट पृथक रहनु नै यसबाट बच्ने उत्तम उपाय मान्न सकिन्छ । किनकि सुधारउन्मुख राजनीतिको क्षेत्रले मात्र नागरिक समाजलाई सही मार्ग डोहो-याउनको साथै लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न सम्भव रहन्छ । नेपाललगायत विश्वको कुनै पनि मुलुकमा राजनीतिक स्थिरता प्राप्त नभई आर्थिक विकास र समृद्धि सम्भव नहुने हुँदा राजनीतिक सुन्दरताको परिदृश्य नागरिक समाजको लागि दैनिक आवश्यकीय विषयवस्तु बनिसकेको वर्तमान अवस्थालाई बेवास्ता गर्न मिल्दैन जुन जनहितकारी कार्यको अनुपम नमूना समेत हो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया