Techie IT
×
गृहपृष्ठविचारगुणस्तर जीवनको लागि : अर्गानिक कृषि उपज

गुणस्तर जीवनको लागि : अर्गानिक कृषि उपज


काठमाडौं ।
हाम्रो देशमा कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत योगदान रहेको र ६० दशमलव ४ प्रतिशत जनसंख्या आवद्ध भएको कृषि क्षेत्र आर्थिक समृद्धि हासिल गर्ने मुख्य आधार हो । उच्च र समावेशी आर्थिक वृद्धिमा योगदान पु-याउने क्षेत्र भएकोले वैज्ञानिक सुधार तथा रूपान्तर गरी कृषि उत्पादनमा वृद्धि गर्नु आजको आवश्यकता हो । नेपालको संविधानले खाद्यसम्बन्धी अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ ।

सो सन्र्दभमा विभिन्न कारणले उत्पन्न हुनसक्ने खाद्य तथा पोषण संकटको अवस्थालाई मध्यनजर राख्दै प्रमुख खाद्य, अन्नपात, फलफूल, तरकारी र माछामासु उत्पादनमा आत्मनिर्भरताको लागि कृषिमा नीतिगत संरचनागत र संस्थागत सुधारको आवश्यकता छ । देशलाई खाद्य सम्प्रभु तुल्याउन र स्वाधीन अर्थतन्त्रको विकास गर्न कृषि क्षेत्रमा उल्लेख्य लगानी बढाउन आवश्यक छ ।

नेपालको संविधानको अधिकार सूची कृषि क्षेत्रको समग्र विकासको लागि मार्गचित्रको रूपमा रहेको कृषि विकास रणनीति र दिगो विकास लक्ष्यलाई मार्गदर्शनको रूपमा लिनु आवश्यक भएको छ । देशको सर्वत्तोमुखी विकासको लागि सर्वप्रथम कृषि क्षेत्रको विकास हुनु अति आवश्यक छ ।

परम्परागत खेती प्रणालीमा समयानुकूल सुधार र वैज्ञानिक प्रविधि प्रयोग गरी उत्पादकत्वमा विकास गर्नु आवश्यक छ । देशको प्रमुख आय अझ पनि कृषि क्षेत्रमा निर्भर रहेकोले यस क्षेत्रमा संलग्न आम कृषकहरूमा बढ्दो जनसंख्या, गरिबी, कृषि जन्य उत्पादनमा संरक्षण र चेतनाको अभाव, युवा रोजगारीको लागि विदेश पलायन, परम्परागत कृषि प्रणाली, खाद्यन्न औद्योगिक कच्चा पदार्थ उत्पादनमा ह्रास, उत्पादन वृद्धि तथा संरक्षण हेतु प्रयुक्त अत्यधिक रासायनिक मल र विषादिले उत्पादनमा मात्र होइन उपभोगमा समेत प्रतिकुल असर परि मानव स्वास्थ्यम समेत प्रभाव परेको यथार्थलाई नकार्न सकिँदैन । रासायनिक विषादीको प्रयोगले ल्याएको विकरालबाट चिन्तित मानव समाज र यसबाट पशुपन्छीमा परेको दूष्प्रभाव नियन्त्रण गर्नु समयको माग हो ।

यसै क्रममा मानव जाति तथा विभिन्न जीवजन्तुको जीवनगति पर्याप्त खाद्यपदार्थको अभावमा सम्भाव हुँदैन । जनसंख्याको वृद्धिसँगै खाद्य पदार्थको वृद्धि गर्नु अति आवश्यक हुन्छ । सोको लागि समयसापेक्ष प्रविधिको विकास र कृषिजन्य उत्पादनको संरक्षण महत्वपूर्ण पक्ष हुनआउँछ । कृषि उत्पादनमा ह्रास पु-याउने कीराहरू नियन्त्रणको लागि रासायनिक कीटनाशक पदार्थहरू विश्वभरि नै प्रचलित छन् । मानिस, पाल्तु पशुपन्छी र वातावरणमै नराम्रो असर पु-याएको छ । यी पदार्थहरू विदेशबाट आयात गरिने र विशालु हुनाले प्रयोग गर्न जटिल र उचित उपकरणको आवश्यक भएकोले राम्ररी प्रयोग गर्न सकिएको छैन ।

हाम्रो देशमा रासायनिक कीटनाशक औषधिको प्रयोगमा वृद्धि हुँदै गएको छ । खासगरी तरकारी खेतीमा यस्ता पदार्थको आवश्यकताभन्दा बढी मात्रामा प्रयोगले उपभोक्तलाई त्रासमय बनाएको छ । विश्वभरि नै आज रासायनिक विषादीको प्रयोगबाट उत्पन्न विकरालबाट मानव समाज चिन्तित छ । यसको विकल्पको रूपमा विभिन्न उपायहरूको आवश्यक छ । हाम्रो देश नेपालमा कतिपय जडीबुटीमा कीटनाशक गुणहरू विद्यमान् छन् । जडीबुटीहरू कृषि क्षेत्रमा धेरै पहिलेदेखि प्रयोगमा आएका पनि हुन् ।

जबदेखि रासायनिक कीटनाशक पदार्थहरू बजारमा उपलब्ध हुनथाले तबदेखि कृषकहरू पनि सोप्रति आकर्षित भई जडीबुटीबाट उत्पादित कीटनाशक औषधिको प्रयोगमा धेरै कमी आउन थाल्यो । हाम्रो वरिपरि रहेका विभिन्न प्रकारका वनस्पतिहरू जसलाई हामी सधैँजसो प्रयोग गर्छौँ ।

उदाहरणको रूपमा मकै, धान, भटमास, बदाम, तिल, तोरी, सस्र्यूँ, सूर्यमुखी फुल, गोलभेँडा, काँक्रो–फर्सी समूह, सुर्ती, चिया, कफी, अँडिर, तरबारे सिमी, कपास, आरारुट, काजु, सरिफा, सुपारी, नरिवल, मेवा, कागती समूह, टिम्मुर, रुखकटहर, मौवा, चिउरी, लसुन, सुप, सेलरी, धनियाँ, जिरा, गाँजर, मधेसी सुप, चुकन्दर, मेथी, पुदिना, पिपरमिन्ट, दालचिनी, कपुर, मरिच, खुसार्नी, बेसार, बोझो, अलैँची, अदुवा, धतुरो, असुरो, निम, बकाइनो, सिमाली, हात्तीबार, आँख, तितेपाती, गोदावरी, सयपत्री, चिनिया गुलाफ, वनमारा, बेथे, गाँजा, जाइफल, मसलाको रुख, कुइनाइन, टिक, साल, सामा घाँस, सिट्रोनेला, पिरेझार, रातकी रानी, ढुङ्ग्रीफूल आदिमा विभिन्न प्रकारका कीरालाई नियन्त्रण गर्ने गुणहरू पाइन्छ । कीटनाशक जडीबुटीको लागि प्रशोधित वा कच्चारूपमा पनि प्रयोग गर्न सकिन्छ ।

नेपालमा हालसम्म यस्ता उपयोगी जडीबुटीबाट प्राप्त कीटनाशक पदार्थसम्बन्धी प्रयोग नगन्य रूपमा छ । हाल गुणस्तर जीवनको लागि विश्वभरि नै दिगो प्राङ्गारिक खेतीको खुबै चर्चा चलेको छ । रासायनिक मल र विषादिको प्रयोग नगरी प्राङ्गारिक पदार्थहरू मात्र प्रयोग गरेर उत्पादित खाद्यवस्तु उपयोग गर्न रुचाउने मानिसको संख्या नेपाललगायत अन्य मुलुकमा बढी छन् । वास्तवमा प्राङ्गारिक पदार्थहरू तथा जडीबुटीबाट उत्पादित कीटनाशकको प्रयोग गरेर उत्पादित खाद्य उपज नै गुणस्तर जीवनको लागि आवश्यक पर्दछ । यसै क्रममा माथि उल्लेख गरेजस्तै कृषि क्षेत्रमा कीटनाशक जडीबुटीको प्रयोग नयाँ होइन ।

परापूर्वकालदेखि हाम्रा पुर्खा कृषकहरूले जानीनजानी विभिन्न जडीबुटीहरू कीरा तथा अन्य विनाशकारी प्राणीहरूको नियन्त्रणको लागि प्रयोग गर्दै आएका थिए । यसै क्रममा पश्चिमी मुलुकमा आएको औद्योगिक क्रान्ति साथै रासायनिक कीटनाशक पदार्थहरू उत्पादन भएर अन्धाधुन्ध प्रयोगमा आए । सो प्रभाव नेपामा पनि प-यो । यसले गुणस्तरीय स्वास्थ्यमा नराम्रो असर पु-याएपछि फेरि एकपटक मानिसको ध्यान जडीबुटीबाट उत्पादित कीटनाशक पदार्थतर्फ गएको छ ।

विश्वका धेरै ठाउँमा वैज्ञानिकहरू जडीबुटीबाट बन्ने कीटनाशक औषधि तथा प्राङ्गारिक मल प्रयोग गरी कृषि उपज उत्पादन गर्न गइरहेका छन् । यो क्रम जारी छ । नेपालमा विभिन्न थरीका रासायनिक किटनाशक औषधिको प्रयोगबाट जनस्वास्थ्यमा प्रतिकूल असर पारेको छ । कतिपय खाद्य वस्तुहरू तरकारी, फलफूल, दलहन, मकै, धान, गहुँ आदिमा सहनसीमाभन्दा बढी विषादीका अवशेषहरू पाइन थालेका छन् । यस्ता रासायनिक विषादीहरूले मानव स्वास्थ्यमा ठूलो असर पारेको छ । विडम्बना, आज मुलुकमा हजारौँ मानिसले वर्षेनी विषादीको प्रयोगबाट विभिन्न रोगहरूको शिकार भई ज्यान गुमाइरहेका छन् ।

नेपालमा कीटनाशक औषधि गुण भएका तीन सय ७१ जातिका वनस्पतिहरू विद्यमान् हुनु नेपालीको लागि ठूलो बरदान हो । यिनको उपयोग र संवर्द्धनको विषयमा अभिमुखी गर्न आवश्क छ । उदाहरणको रूपमा अति उपयोगी कीटनाशक वनस्पतिमध्ये असुरो पनि एक हो । यो सदावहार बुटोको रूपमा उष्ण कटिबन्ध र निम्न उष्ण कटिबन्ध क्षेत्रमा १३ सय मिटरको उचाइसम्म हुने वनस्पति हो । असुरोको पात र फूल मानिसमा लाग्ने दम खोकीको औषधिमुलोको रूपमा प्रयोग गरिन्छ । नेपालको मध्यपहाडी भागमा यो वनस्पति वस्तुभाउलाई सोतर ओच्छयाउन र धान रोप्नुभन्दा अघि खेतमा हरियो मलको रूपमा प्रयोग गरिन्छ । यसको पात र कलिला डाँठहरूमा नाइट्रोजन, फस्फोरस, पोटासियम पाइन्छ । असुरोमा गोबर मलभन्दा चार गुणा बढी पोषक तत्व पाइन्छ ।

यस वनस्पतिमा विभिन्न किराहरूलाई मार्नसक्ने क्षमता हुन्छ । फूलबाट मौरीले रस र पराग पनि जम्मा गर्दछ । यसको पातको धुलो मिसाएर राखेमा भण्डार गरेको धानमा पुतली लाग्दैन । बोडी, धान, गहुँ, चालम आदिमा घुन लाग्दैन् । साथै आवश्यक मात्रामा प्रयोग गर्दा बन्दागोभीमा लाग्ने कीरा, पुतली, त्यस्तै भटमासको झुसीलेकिरो, लाइकीरा, लामखुट्टे, उपियाँ, झिँगा, सुलसुले, सुर्तीको पात खाने लाभ्रे आदि पनि नियन्त्रण गर्न सकिन्छ । असुरोको पातबाट इथानोलद्वारा प्राप्त रसमा पाँच प्रकारका क्षारीय यौगिकहरू पाइन्छन् जसले माथि उल्लेख गरिएको कीराहरूलाई रोकथाम गर्दछ । यो त एक उदाहरणको रूपमाप्रतिनिधि पात्र हो । कीटनाशक जडीबुटी र प्राङ्गारिक मलको प्रयोगबाट कृषि उपज उत्पादन गरी हाम्रो स्वास्थ्य गुणस्तरीय बनाउन सकिन्छ ।

नेपालमा कीटनाशक जडीबुटीको प्रयोग बढाउनु आवश्यक छ यसको लागि प्राचिन कालदेखि प्रयोग हुँदै आएका जडीबुटीहरू कृत्रिम विषादीको अन्धाधुन्ध प्रयोगबाट ओझेलमा पर्दै गएकोले कृत्रिम रासायनिक विषादीले जनस्वास्थ्यमा ठूलो असर पारेकोले परापूर्वकालदेखि प्रयोग भएको कीटनाशक जडीबुटीबारे कृषक समुदायलाई सरकारी, अर्धसरकारी, निजीस्तरबाट पनि व्यापक अभिमुखीकरण गराउनु आजको आवश्यकता हो । साथै स्वदेशमै किटनाशक औषधि कम्पनीहरूको स्थापना गरी रासायनिक किटनाशक औषधि खरिदमा खर्च हुने अरबौँ रुपैँया बचत गरि देशमै लगानी गरी गुणस्तर जीवनको लागि अर्गानिक कृषि उपज उत्पादन गर्न सकिन्छ । यसको लागि तीनै तहको सरकारले आवश्यक व्यवस्था मिलाउन आवश्यक छ । लेखकः डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया