Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगजीवन बीमा : परिवारको लागि ब्याकअप

जीवन बीमा : परिवारको लागि ब्याकअप


 काठमाडौं ।
अन्धकार शब्द आफैंमा एक डरलाग्दो शब्द हो । तर यथार्थमा अन्धकार नभई रोशनीको उदय हुँदैन अर्थात् अन्धकारको सामना गर्न उज्यालो चाहिन्छ । उज्यालो खोज्नुपर्छ अथवा भनौँ ब्याकअप राख्नुपर्दछ । चाहे त्यो रातिको समयमा घरमा बिजुली नहुँदा होस् वा हामी मान्छेको जीवनमा आइपर्ने समस्या वा अन्धकार नै किन नहोस् । यी र यस्तै अन्धकारबाट मुक्ति पाउनका लागि तपाईं हामीलाई रोशनीको आवश्यकता पर्दछ वा भनौँ ब्याकअप चाहिन्छ । घरमा भएको अँध्यारो हटाउनका लागि हामीले विभिन्न प्रकारको वैकल्पिक व्यवस्था गरेका हुन्छौँ वा भनौं ब्याकअप तयार राखेका हुन्छौं । फलस्वरूप घरमा अँध्यारो हुनेबित्तिकै ब्याकअपको सहायताले उज्यालो बनाउँछौँ ।

एवं प्रकारले हामी मान्छेलाई पनि बेलाबखतमा आफ्नो जीवनकालमा यी र यस्तै प्रकारका अन्धकारको सामना गर्नु परिरहेको हुन्छ । चाहे त्यो २०७२ सालको प्राकृतिक विपत् भू–कम्पका बेला होस् या विगत एक वर्षदेखि विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ महामारीले निम्त्याएको घटना नै किन नहोस् । यी र यस्ता घटना दुर्घटनाले हाम्रो घरपरिवारमा निम्त्याउने अन्धकारलाई कसरी सामना गर्ने, यसको ब्याकअप कस्तो प्रकारले तयार राख्नुपर्दछ भन्ने विषयमा तपाईहामीले त्यति चासो दिएको जस्तो देखिँदैन । हामिले धेरैजसोले भन्ने गरेको सुन्ने गर्दछौँ जस्तो पर्ला त्यस्तै टर्ला । तर वास्तविक रूपमा यी शब्द सुन्दा जति छोटा र सहज जस्ता लाग्दछन् आफू र आफ्नो परिवारमाथि समस्या परिसकेपछिको भोगाइ भने त्यति सहज हुँदैन । यस्ता थुप्रै घटनाहरूको तपाईं साक्षी बनिसक्नुभएको छ ।

तपाईं भनेको आफ्नो परिवारका लागि सबैथोक हो । तपाईं तपाईंको घरको रोशनी हो, कमाउने मान्छे हो , खानलाउन दिने मान्छे हो । परिवारका सबै आवश्यकता पूरा गर्ने मान्छे नै तपाईं हो एक छिनका लागि सोच्नुस् त ! मान्छेको जन्म जसरी निश्चित छ त्यसरी नै जन्मेपछि मृत्यु पनि निश्चित नै छ तर जन्मने समयका बारेमा सबैलाई थाहा हुन्छ भने मृत्यु कहिले कहाँ कसरी हुन्छ कसैलाई थाहा छैन । यही मृत्युको कारणले घरपरिवारमा छाउने अन्धकारमय अवस्थाबाट परिवारलाई कसरी सहज अवस्थामा ल्याउने भनी यदि तपाईं सोच्नुहुन्छ भने त्यसको एउटा मात्रै सहज उपाय हो जीवन बीमा गरी राख्नुपर्ने । केवल जीवन बीमा ।

यदि तपाईंले आफ्नो जीवन बीमा गर्नुभएको छ र तपाईंलाई तपाईंको परिवारले भौतिकरूपमा गुमाउन पुगे पनि तपाईंले गरेको जीवन बीमाका कारणले उहाँहरूले जीवन बीमाबाट प्राप्त गर्ने रकमले घरपरिवारको आर्थिक अवस्थालाई माथि उकास्नेदेखि लिएर तपाईंको उपस्थितिमा जसरी परिवारको पालनपोषण र बालबालिकाको शिक्षादीक्षा भइरहेको थियो तपाईं नरहँदा पनि बीमाका कारणले तपाईंले देख्नुभएको सपना, बालबालिकाको पढ्नेलेख्ने सपनालाई तुहिन दिँदैन । हो भौतिकरूपमा तपाईंको परिवारलाई तपाईंको कमी रहन्छ तर तपाईंले गरेको जीवन बीमाले गर्दा उहाँको सपना पूरा हुने गर्दछन् ।

विकसित देशहरूमा त बच्चा जन्मनेबित्तिकै उसको भविष्यका लागि भनेर जीवन बीमा गर्ने गरिन्छ । जीवन बीमा गर्नुको फाइदाका बारेमा बुझ्नुपर्दा जीवन बीमा एक अनिवार्य बचत योजना हो जुन तपाईं (बीमा गर्ने व्यक्ति) र कम्पनीको बीचमा सम्झौता बनेको हुन्छ । तपाईंको उमेर, तपाईंले लिन चाहेको थप सुविधाहरू, तपाईंले चाहेको समयसम्म र तपाईंले छनोट गर्नुभएको बीमाको प्रकृतिको आधारमा तपाईंको अनिवार्य बचतको रकम कम्पनीको एपमार्फत तोकिने गर्दछ । यसले गर्दा एकातिर हाम्रो फजुल खर्च गर्ने बानिमा पनि परिवर्तन आउँछ भने अर्काेतिर परिवारका लागि र आफ्ना भविष्यको लागि भनेर बचत पनि भइरहेको हुन्छ । हुन त यहाँ कुरो बचतको गर्दैगर्दा पैसालाई त हामी बैंक खातामा पनि बचत गर्न सक्छौँ नि त भनेर भनिन्छ ।

हो बैंकमा पनि बचत हुने गर्दछ बैंकले हाम्रो बचत भएको रकमको ब्याज पनि दिनेगर्दछ । तर बैंकले हामीलाई जोखिम बहन सुविधाचाहिँ दिँदैन । तर बीमा कम्पनीले हाम्रो बचत रकमको ब्याज पनि दिन्छ र हामी र हाम्रो परिवारमाथि आइपर्ने विभिन्न खालका जोखिमजस्तै बीमितको दुर्घटनाबाट मृत्यु हुँदा बीमांक र बीमांकबराबरको थप रकमसहित बचत रकम बोनससहित फिर्ता दिने, कालगतिबाट हुने मृत्युमा बीमांक रकम र बचत रकम बोनससहित दिने, मान्छेका लागि मृत्युु मात्रै जोखिम होइन विभिन्न कारणले मान्छे अंगभंग अपाङ्ग अशक्त हुनसक्दछ यस्तो अवस्थामा बीमा कम्पनीले बीमांक रकम तत्कालै उपलब्ध गर्ने र बाँकी समयको अनिवार्य बचत रकम बीमा कम्पनीले नै व्यहोर्ने, साथै विभिन्न प्रकारका घातक रोगहरूको उपचारका लागि रकम उपलब्ध गर्नेसम्मका सुविधाहरू कम्पनीले उपलब्ध गराउने गर्दछन् ।

नेपालमा हालसम्म १९ वटा जीवन बीमा कम्पनीले बजारमा प्रतिस्पर्धा गरिरहेका छन् । सबै कम्पनीका आ–आफ्ना किसिमका बीमा योजनाहरू रहेका छन् । बीमा गर्दा हामीले हचुवाका भरमा बीमा गर्नु हुँदैन । कम्पनीको पृष्ठभूमिका बारेमा राम्रोसँग बुझ्ने, कति पुरानो हो, कस्तो सेवासुविधा प्रवाह गरेको छ, कम्पनीको बोनस दर कति छ, कम्पनीले भुक्तानीमा कति समय लगाउँछ । भविष्यमा हामीले पाउने सेवा सुविधा के–के हुन् कति हुन् यी तमाम कुराको जानकारीपश्चात् बीमा गर्नुभएको खण्डमा तपाईं सधैँ बीमा कम्पनीप्रति सकारात्मक र सबैलाई बीमा गर्नु भन्ने सुझाव दिने व्यक्ति बन्न सक्नुहुनेछ ।

झन् अहिलेको कोभिड १९ को विश्वव्यापी महामारीको कारणले त जीवन बीमाको आवश्यकता अझै बढी महसुस गराएको छ । यो महामारीको सिकारको कतिबेला हुन्छ कसैलाई थाहा छैन । तपाईंहाम्रो आँखाअगाडि नै तपाईंका प्रिय व्यक्तिहरू पत्याउनै नसकिने हिसाबले तपाईंले गुमाइराख्नुभएको छ । यो तितो सत्य हो । यसरी परिवारले आफ्नो सबैथोक भन्ने वस्तुलाई गुमाउँदा के अब पहिलेजस्तै सहजरूपले उहाँहरूको आर्थिक हैसित स्थिर रहन सक्ला त ? हो यसको एउटा मात्र उपाय हो उहाँले गर्नुभएको जीवन बीमाका कारणले उहाँहरूको घरपरिवारको आर्थिक हैसियत पुरानै रूपमा स्थिर रहनेछ । संक्षेपमा भन्नुपर्दा भविष्यका लागि बचत र जोखिम सुरक्षाका लागि जीवन बीमा अनिवार्य रहेको छ । जीवन बीमा गरौं । ढुक्क रहौं । (लेखक चन्द वरिष्ठ व्यवसाय प्रबन्धक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको चेयरपर्सन क्लबमा आबद्ध व्यक्ति हुन् ।) 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया