Techie IT
×
गृहपृष्ठविचारखोपको प्रतीक्षामा नागरिक

खोपको प्रतीक्षामा नागरिक


काठमाडौं ।
संसारभरि महामारीविरुद्धको खोप अभियान सहज र सुलभ हुँदै जाँदा नेपालले भने लय लिन नसक्नुका कारण खोजी गरिनु जरुरी भएको छ । यसको साथसाथै सहयोग स्वरूप प्राप्त खोपका अतिरिक्त सरकार सम्झौता गरेअनुरूप खोप भित्र्याउन ढिलाइ गर्नुहुँदैन । मूलतः आम जनताको स्वास्थ्यभन्दा ठूलो कुरा अरू कुनै हुनै सक्दैन ।

त्यसकारणले गर्दा पनि स्वास्थ्यसँग सम्बन्धित निकायले पनि बेलैमा सचेत, संवेदनशील, क्रियाशील, प्रयोगात्मक र नतिजामुखी हुनु जरुरी छ । यसमा पनि प्रचारप्रसार, स्रोत परिचालन र नीति, योजना मात्र आफैँमा पर्याप्त हुँदैन । यसलाई कार्यान्वयनको लागि सिंगो पाटोको पनि त्यत्तिकै जरुरी पर्छ । मुलुकमा पछिल्लो समयमा देखिएको दोस्रो लहरले उमेरको सीमारेखा पनि क्रस गरिदिएकाले अब खोप आम सर्वसाधारणका लागि सर्वसुलभ बनाउन अतिजरुरी हुनगएको छ । यसको अलावा देशमा १८ वर्षभन्दा कम उमेरका करिब ८४ लाख बालबालिकाहरू छन् । उनीहरूलाई खोप लगाउन मिल्दैन ।

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा ४० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने योजना बनाएको छ । यसको कार्यान्वयनको लागि स्वास्थ्य क्षेत्रका अधिकारीहरूले सरकारलाई एक करोड ११ लाख डोज खोप खरिद गर्न यसअगाडि नै सरसल्लाह पनि दिइसकेका थिए । यो खोप खरिदको लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेटमा छुट्याएको छ । यसको अतिरिक्त सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब रुपैयाँ बजेटमा छुट्याएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको ७० प्रतिशत जनसंख्यालाई भ्याक्सिन उपलब्ध गराउन सके कोभिडसृजित संकटबाट पार पाउन सकिन्छ । यस अवस्थामा नेपालले आम जनसमुदायलाई समयमै भ्याक्सिन उपलब्ध गराएर जनस्वास्थ्यप्रतिको राजनीतिक र अभिभावकीय दायित्व पूरा गर्न अविलम्ब कूटनीतिक सक्रियता देखाउनुपर्ने हुन्छ ।

विश्व स्वास्थ्य संगठन भारतमा फैलिएको कोरोना भाइरसको प्रकारलाई जनाउने भेरिएन्टलाई डेल्टा भेरिएन्टका रूपमा पहिचान गराएको छ । त्यसैगरी बेलायतमा भेटिएको खतरनाक नयाँ कोभिड भाइरसलाई डेल्टा, दक्षिण अफ्रिकामा भेटिएको भाइरसलाई बिटा र ब्राजिलमा भेटिएको नयाँ भाइरसलाई गामा नामाकरण गरिएको छ । तसर्थ देशकै कुरा गर्ने हो भने पनि खोपको तिर्खा मेटेर सुरक्षित रहने आशामा ठूलो जनसंख्या उपस्थिति रहेको छ ।

फलतः विगत डेढ वर्ष अगाडिदेखि नै विश्व मानव समाज कोरोना महामारीमा परिरहेकै छ । यसमा पनि प्रविधिको चरम विकासतिर बढिरहेको विश्व कोरोनाले निम्त्याएको संकटको पूर्ण निदान खोज्न असफल छ । यस स्वास्थ्य क्षेत्रमा ठूला–ठूला उपलब्धि हासिल गरेका देशहरूका नागरिकको जीवन पनि भगवान भरोसामा नै चलिरहेको छ । यो समय भनेको जीवन–मरणको त्रासदीपूर्ण यो घडीमा खोपले झिनो आशा जगाएको छ । यो खोपले भाइरसलाई पूर्ण परास्त गर्ननसके पनि ज्यानै जाने जोखिम टार्नसक्ने निक्र्योल विज्ञहरूले निकालेपछि मानव जीवन रक्षाको यो अस्थायी साधनको माग सबैतिर बढेको छ ।

यस समस्यालाई निराकरण गर्ने सन्दर्भमा हालसम्म विश्वभरिका धेरै विज्ञान र वैज्ञानिकहरू अहोरात्र खटिए विभिन्न प्रकारका खोपहरू निर्माण गरेका छन् । यसर्थ सो खोप लगाउन लालयित भएका मानिसहरूलाई आवश्यक मात्रामा खोप उपलब्ध हुन भने सकिरहेको अवस्था छैन । फलतः छिमेकी भारतमा कोरोना कहरले उत्पात मच्चाइरहेका बेला यहाँको चिकित्सक र जानकार समाजले बेलैमा आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराइरहेको छ । यसको साथसाथै सबैजसो देश आफ्ना नागरिकहरूको जीवनरक्षालाई प्रमुख प्राथमिकतामा राखेर खोप जुटाउन लागिपरेका छन् ।

नेपालको कुल जनसंख्या तीन करोड तीन लाख ६६ हजार चार सय ८५ जना अनुमान गरिएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । यसको साथसाथै सरकारले आगामी १७ पुससम्म लक्षित समूह दुई करोड १७ लाख ५६ हजार सात सय ६३ नागरिकलाई खोप लगाइसक्ने योजनासमेत बनाएको छ । यसर्थ मुलुकमा भने गत १४ माघ २०७७ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो ।

यसैक्रममा अर्कोतिर हेर्ने हो भने औषधि व्यवस्था विभागले कोभिसिल्ड, भेरोसिल, कोभ्याक्सिन, स्पुतनिक भी र साइनोभ्याकलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । यसरी स्वास्थ्य मन्त्रालयका अनुसार स्वास्थ्य तथा सामाजिक क्षेत्रका नौ लाख ११ हजार तीन सय ४२, ज्येष्ठ नागरिक ५१ लाख ६४ हजार दुई सय ६९, ४० देखि ५४ वर्ष उमेर समूहका २९ लाख एक हजार नौ सय चार, १५ देखि ३९ वर्षका बाँकी सबै एक करोड २७ लाख ८० हजार ४८ जनालाई खोप लगाउने योजना सरकारको छ ।

देशमा कोभिसिल्ड खोप भारतबाट अनुदानमा १० लाख र खरिदमा १० लाख, नेपाली सेनालाई सहयोग एक लाख र कोभ्याक्स सुविधामा तीन लाख ४८ हजार गरी जम्मा जम्मी हालसम्म प्राप्त खोप ४२ लाख ४८ हजार डोज आएको थियो । त्यसैगरी अर्को भेरोसेल खोप भने छिमेकी देश चीन सरकारको अनुदानमा आठ लाख, तिब्बत सरकारको सहयोगमा दुई लाख, चीन सरकारको थप सहयोगमा आठ लाख गरी कुल जम्मा १८ लाख डोज खोप उपलब्ध भएको थियो । यसरी प्राप्त भएको कोभिसिल्ड खोप प्रयोग यसरी भएको छ । जुन पहिलो डोजमा १८ लाख २३ हजार छ सय ६३, दोस्रो डोजमा चार लाख ११ हजार छ, खेर गएको खोपको डोज भने १३ हजार छ सय पाँच डोज भएको र बाँकी खोप एक लाख ९९ हजार एक सय ३२ कोभिसिल्ड खोप डोज बाँकी रहेको सम्बन्धित निकायले देखाएको छ । त्यसरी नै भेरोसेल खोप भने पहिलो डोजमा तीन लाख ७३ हजार नौ सय ९४, दोस्रो डोजमा दुई लाख ८० हजार चार सय ८८ र प्रयोग गर्न बाँकी ११ लाख ४५ हजार पाँच सय १८ भेरोसेल खोपको डोज बाँकी रहेको जनाइएको छ ।

हाम्रो छिमेकी देश भारत सरकारले नेपालले खरिद गरेको १० लाख मात्रा कोभिसिल्ड खोप दिन नसक्ने बताएपछि साढे १३ लाख व्यक्तिले तत्कालै दोस्रो डोज लगाउनबाट वञ्चित भएका छन् । नेपाल सरकारले भने गत फागुन २३ गतेपछि देशभरमै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोप लगाउने अभियान थालेको थियो । यसरी खोपको पहिलो मात्रा लगाएको ८ देखि १२ हप्तासम्ममा दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । तर, दोस्रो डोज लगाउने समय घर्किए पनि भारतीय कम्पनीबाट खोप प्राप्त हुनसकेको छैन ।

सरकारले १४ जिल्लामा ५५ वर्षभन्दा माथिका नागरिकलाई र अन्य बाँकी जिल्लामा ६५ वर्षमाथिका नागरिकलाई कोभिसिल्ड खोप लगाएको थियो । सो खोप लगाएपछि विश्व स्वास्थ्य संगठनले ८ देखि १२ हप्तामा दोस्रो मात्रा लगाउन भनेको थियो । यी करिब साढे १३ लाख नागरिकलाई दोस्रो मात्रा लगाउन कोभिसिल्ड, एस्ट्राजेनिका वा एस्केबायो एउटै प्रकृतिको खोप उपलब्ध गराइदिन पहल भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्त्यमा भन्नुपर्दा कोरोना महामारी सुरु भएयता जेठ ०७८ मा संक्रमणबाट नेपालमा सबैभन्दा धेरै मानवीय क्षति भएको छ । अतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो महिना एक लाख ७० हजार आठ सय ६३ मा कोरोना संक्रमण हुँदा तीन हजार सात सय ९० ले ज्यान गुमाएका छन् । सरकारले अपेक्षा गरेअनुसार खोप अभियान प्रभावकारी रूपमा लक्षित वर्गसम्म पुग्न सकिरहेको छैन । यसमा लक्षित वर्गभित्र पनि अझै पौने दुई करोड मानिस खोपको प्रतीक्षामा छन् । पहिलो लहरदेखि दोस्रो लहरसम्म आइपुग्दा खोप पर्खाइमै लामो समय गुज्रिसकेको छ ।

यसबीचमा जनस्वास्थ्यलाई केन्द्रमा राखेर सबै काम अघि बढाइने र तीनै तहका सरकार यसमा क्रियाशील रहने भनिए पनि खोप अभियानले गति लिन भने सकेन । प्राथमिक रोकथामका उपाय अपनाउनु त अहिलेको मुख्य आवश्यकता हो नै तथापि विभिन्न स्वरूपमा नयाँ–नयाँ भेरियन्टका महामारी देखापरिरहेकाले जनसाधारणमा रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि पनि खोप नभई नहुने अति आवश्यक कुराका रूपमा प्राथमिकतामा पर्न गएको छ । यस अर्थमा आम नागरिक पनि खोपकै प्रतीक्षामा अहोरात्र कुरिरहेका छन् । 


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया