Techie IT
×
गृहपृष्ठविचारधर्म हराएको देशमा बढ्दो बलात्कार

धर्म हराएको देशमा बढ्दो बलात्कार


काठमाडौँ ।
प्रकृतिको नियमअनुसार उमेरको परिपक्वतासँगै कुनै पनि व्यक्तिले विपरीत लिङ्गीसँग शारीरिक सम्बन्ध राख्न चाहन्छ । यस्तो सम्बन्ध शारीरिक आवश्यकता भए पनि जबर्जस्ती गरिन्छ भने बलात्कार भनिन्छ । वस्तुतः बलात्कार इच्छाविपरीतको जबर्जस्ती सम्भोग र महिलाको शरीर लुटेर आनन्द लिन खोज्ने दुष्प्रयास हो । जुन विश्वभर विद्यमान छ ।

विश्वको तथ्यांक मनन गर्ने हो ३५ प्रतिशत महिला बलात्कृत हुन्छन् । बलात्कारको पीडा भोग्ने महिला तथा बालकालिकाहरूमध्ये ४० प्रतिशतले मात्र आफू बलात्कृत भएको कुरा अरुलाई भन्छन् भने बाँकी ६० प्रतिशतले गोप्य राख्छन् । बलात्कृत हुनेमध्ये झण्डै २ प्रतिशतको घटना बाहिर आउन नपाउँदै हत्या गरिन्छ भने अन्दाजी १० प्रतिशतले न्यायका लागि सहायता खोजे पनि समयमा पाउँदैनन् । बलात्कार शक्तिमा आधारित यौन अपराध मात्र नभई यौनको माध्यमबाट शक्ति प्रदर्शन गर्ने कुकृत्य पनि हो । त्यसैले सानो उमेरका केही बालिकाहरू बलात्कारपछि मारिन्छन् भने केहीको पीडापछि थोरै रुपैयाँमा गुमनाम गरिन्छ ।

धेरै दुःखको कुरा त के छ भने केही बलात्कार घरकै नातेदारहरूबाट गरिन्छ र उक्त घटनाको ढाकछोप गर्न हरसम्भव प्रयत्न गरिन्छ । वास्तवमा एउटा बलात्कारीलाई न्यून जरिबाना गरी माफ गर्नाले उसमा जोस थपिन्छ र भविष्यमा यस्तै अपराध गर्ने साहस प्राप्त हुन्छ । यथार्थतः पुरुष प्रवृत्ति आक्रमक हुन्छ र महिलाहरू खुलेर आफ्ना भावना व्यक्त गर्ननसक्ने हुँदा धेरैजसो बलात्कारका घटनामा महिला तथा बालबालिकाहरूमाथि पुरुषहरू हाबी भएको देखिन्छ । महिला तथा बालिकाहरूको चुप लागेर बस्ने स्वभावले गर्दा उनीहरू बलात्कारको शिकार हुनु मनोवैज्ञानिक तथ्य हो । उनीहरूलाई समाजमा जहिले पनि कमजोर प्राणीको रूपमा अंगीकार गरिन्छ । अन्यायमा परेर कसैमाथि प्रतिकार गर्न उनीहरूलाई समाजले रोक्छ र अन्याय सहने शिक्षा दिन्छ ।

धेरैजसो देशमा यौन शिक्षाको महत्व एवं आवश्यकतालाई प्रकाश पार्न शिक्षाको अभावको कारण पनि दबिएर रहेको यौनको शारीरिक आवश्यकता परिपूर्तिका लागि पुरुषहरू महिलाहरूप्रति आकर्षित भई बलात्कार गर्न विवश भएको हुनसक्छ । योबाहेक घरमा प्रेम, विश्वास आदि व्यक्त गर्न सिक्ने र सिकाउने वातावरण नभएमा यस्तो घटना हुनगएको अनुमान छ । तर विश्वमा विद्यमान बलात्कारको घटना एक गम्भीर चिन्ताको विषय भएको छ । नेपाली समाजमा बलात्कारलाई आजसम्म पनि एक गम्भीर अपराधको रूपमा लिइँदैन । प्रशस्त धन र ताकत भएका व्यक्तिहरूले बलात्कारलाई बेइजत मानेर गुपचुप रोख्छन् र बारम्बार यस्तो कुकृत्य गर्न चुक्दैनन् ।

नेपाल प्रहरीको एक तथ्यांकअनुसार आर्थिक वर्ष २०५३।०५४ मा बलात्कारको घटना एक सय १२ थियो भने २०७४।०७५ मा एक हजार एक सय ३१ पुग्यो । यसैगरी आर्थिक वर्ष २०७४।०७५ मा एक हजार चार सय ८०, २०७५।०७६ मा दुई हजार दुई सय ३० र २०७६।०७७ मा दुई हजार एक सय ४४ बलात्कारका प्रयास गरिएका छन् । यी त सम्बन्धित प्रहरी चौकीमा महिलाहरूले गरेको उजुरीका आधारमा प्राप्त तथ्यांक हुन् । परन्तु धम्की, मिलापत्र र दबाबमा घर, छिमेक, विद्यालय आदिमा गरिएका बलात्कारका घटना आजसम्म कुनै पनि व्याक्ति वा संघसंस्थाले लेखाजोखा गर्न सकेको छैन ।

यहाँ कहिलेकाहीँ बलात्कारीलाई फाँसी दे भन्दै जुलुस ननिस्केको होइन । सामाजिक सञ्जालमा पनि यस्तो तरंग नभएको होइन । तर दुःखको कुरा त के छ भने यहाँ न त बलात्कृत महिला तथा बालिकाहरूको पीडा सुन्ने न्याय छ न त सडक र सामाजिक सञ्जालको तरंगदेखेर उनीहरूको समस्या समाधान गर्ने सरकार नै छ । यथार्थतः योनीविनाको मानवको विरलै जन्म हुन्छ । तर स्त्रीलिङ्गी हुनालेको कारण कसैलाई डरमा बाँच्नुपर्ने वा बलात्कृत हुनुपर्छ भने समानताको कुरा गर्नु व्यर्थ हो ।

हालसम्म पनि यहाँका धेरै ठाउँहरूमा र खासगरी गाउँघरहरूमा पञ्च भलादमी बसेर मुद्दामामिला मिलाउने बहानामा बलात्कारका घटना लुकाउने र भित्रभित्र पीडक र पीडितबीच मिल्ने काम हुनाले महिला तथा बालिकाहरूलाई अन्याय भएको छ । साधारणतया यस्ता भलादमीले शक्तिशाली पीडकलाई न्याय दिने र पीडित महिलाहरूलाई अन्याय गर्ने दुष्प्रयास गर्छन् जुन हटाउन नसकेसम्म यहाँका महिला तथा बालिकाहरू बलात्कारबाट जोगिन सक्दैनन् ।

निःसन्देह कुनै पनि देशको सर्वत्तोमुखी विकासका लागि विज्ञानको आवश्यकता छ । तर एउटा वैज्ञानिक प्रविधिले हाम्रो मानसिक उत्तेजनालाई उत्प्रेरित गर्न सघाउ पु¥याइरहेको छ । अपराधिक गतिविधिहरू एवं अराजक कार्यहरूमा उत्प्रेरित हुन सिकाइरहेको छ । उदाहरणका लागि फेसबुक र युट्युबजस्ता सामाजिक सञ्जालमा प्रसार गरिने अश्लील भिडियो हेर्ने र यस्तै नक्कल गर्ने प्रवृत्ति बढ्नाले बलात्कारको घटना वृद्धि भएको अनुमान गर्न सकिन्छ ।

वस्तुतः अश्लील भिडियो हेर्ने लत बसेपछि यसले प्रत्येक व्यक्तिको मस्तिष्कमा नकारात्मक प्रभाव पार्छ । एक अनुसन्धानअनुसार सामाजिक सञ्जाल प्रयोग गर्ने १० प्रतिशत व्याक्तिहरू दुर्व्यसन बनेको पुष्टि गरेको छ । कुनै पनि व्यक्तिको भावना, ध्यान र निर्णय क्षमतालाई उत्तेजित गरी नियन्त्रणमा लिनसक्ने यस्तो सञ्जाललाई त्याग्न नसके सम्पूर्ण मानव जातिलाई नै खराब मार्गमा डो¥याउनेछ । महिलाहरू भिन्न पहिचान, स्वभाव र शक्तिका हुन्छन् जसलाई प्रकृतिले बेग्लै गुणहरू दिएर सिर्जना गरेको हुन्छ । तसर्थ महिलाहरूलाई पुरुषहरूसँग तुलना गर्न सान्दर्भिक देखिँदैन ।

आजसम्म पनि नेपाली सामाजिक संरचना र संस्कारमा पितृसत्तात्मक सोच र व्यवहारले पीडित महिला तथा बालिकाहरूलाई अन्यायमा पारेर पीडक पुरुषहरूलाई इज्जत दिने संस्कारको विकास भएको छ । जबसम्म महिला तथा बालबालिकाहरूका अन्यायका कुरा प्रष्ट रूपमा बाहिर आउँदैनन्, तबसम्म उनीहरूले न्याय पाउँदैनन् । महिलाहरूलाई सशक्त बनाउने समाजको परिपाटी र व्यवहारले हो । उनीहरूलाई इज्जत र सुरक्षा दिन अन्याय लुकाउन हुँदैन । त्यो कुरा समाजका सबै व्याक्तिहरूले नबुझेसम्म उनीहरू भविष्यमा पनि बलात्कृत हुनेछन् ।

नेपाली समाजमा हालसम्म पनि महिला तथा बालिकाहरू बलात्कृत भएमा उनीहरूलाई जीवनभर हेयको दृष्टिले हेरिन्छ । परन्तु बलात्कारीहरूलाई कुदृष्टिले नहेर्नाले उनीहरूमा दुस्साहस बढ्छ ।

यथार्थतः धेरैजसो पुरुषहरूको मानसिक प्रवृत्तिमा हिंसा र बलात्कारको भाव लुकेको हुन्छ भन्ने कुरा एक अध्ययनले पुष्टि गरेको छ । त्यसैले पुरुष र महिलाबीच आपसी प्रेमको भावना जागृत नभएसम्म बलात्कारका घटना कम हुँदैन । यसका लागि प्रत्येक व्यक्तिलाई बाल्यकालदेखि नै उपयुक्त शिक्षादीक्षा दिनु नितान्त आवश्यक छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया