Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअनारमनी दुर्गा मन्दिरको नाममा रहेको र भू–माफियाले आफ्नो नाममा दर्ता गराएको जग्गा फिर्ता गराइपाऊँ ।

अनारमनी दुर्गा मन्दिरको नाममा रहेको र भू–माफियाले आफ्नो नाममा दर्ता गराएको जग्गा फिर्ता गराइपाऊँ ।


काठमाण्डौँ,माघ ६
प्रस्तुत विषयमा यो जग्गाका सन्दर्भमा मैले जानेका र थाहा पाएका विवरण यहाँ उल्लेख गरेको छु । थप जानकारीका लागि सहयोग गर्न तयार रहेको पनि जानकारी गराउन चाहन्छु । यो विषयमा मैले झण्डै एक दशकदेखि स्थानीय सञ्चार माध्यममा समाचार र विचार लेखिरहेको छु ।
पूर्वी नेपालको व्यस्त बजार विर्तामोडमा अढाइ दशकदेखि एउटा सवाल सधैँ उठ्छ, नगरक्षेत्रमा सानो कार्यक्रम गर्नुप¥यो भने पनि ठाउँ छैन । करिब १३ बिघा गुठीको जग्गा छ, त्यसलाई भू–माफियाले आफ्नो बनाउने अभियानमा छन् । त्यसलाई पुनः सरकारको स्वामित्वमा फिर्ता गराउनु छ । हालसम्म त्यसको समाधान भेटिएको छैन । विर्ताबजार पश्चिम रहेको देवी गुठीको जग्गा कसरी सरकारी स्वामित्वमा फिर्ता गर्ने भन्ने विषयमा खोज्दै जाँदा हाल सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले डोमालाल राजवंशी रंगशाला बनाउन प्रस्तावित हाल हरेक वर्ष झापा गोल्डकप भइरहेको जग्गा फिर्ता गराउने स्थानीयको अपेक्षा छ ।

देवी गुठीका लागि डोमालाल राजवंशीले दिएको लगभग १३ बिघा जग्गा देशभरका भू–माफियाको चंगुलमा पुगेको छ । अहिले डोमालाल राजवंशी रंगशाला बनाउने भनेर केही स्थानीयले निरन्तर फुटबल सञ्चालन गर्दै आएका छन् । तर, त्यहाँको करिब चार बिघा जग्गा भू–माफियाले आफ्नो नाममा पास गरिसकेका छन् ।अनारमनीको डोमालाल रंगशालालाई आफ्नो निजी सम्पत्ति बनाउने भू–माफिया को–को हुन् र कसरी हडप्ने प्रपञ्च मिलाए भन्ने अहिलेको पुस्ता कमै जानकार छ । सरकारले सरकारी जग्गा निजी बनाउनेबाट फिर्ता गराउन अधिकारसम्पन्न सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग पनि गठन गरेको छ । त्यो आयोगको काम जारी रहँदा आफूले थाहा पाएका तथ्य सार्वजनिक गर्नु एक नागरिकको कर्तव्य ठानेको छु ।

अनारमनी दुर्गा मन्दिरको नाममा रहेको हालको डोमालाल रंगशालाको जग्गामा २०५२–२०५३ सालदेखि नै भू–माफियाको गिद्देदृष्टि प¥यो । सर्वप्रथम त उनीहरूले मन्दिरको जग्गा राजगुठीमा लाने निर्णय गरे । यो कामका मुख्य मतियार थिए तत्कालीन देवी गुठीका अध्यक्ष खेम मैनाली र गणेश ओली । उनीहरूले गुठीलाई राजगुठीमा लाने निर्णय गरे । जग्गा राजगुठीमा लाने र मोही हक किन्ने उनीहरूको योजना थियो । राजगुठीको जग्गाको मोहीले प्राप्त गर्ने कानुनी व्यवस्था थियो ।
त्यो योजनालाई गुठी संस्थानका तत्कालिन कर्मचारी हाल पनि नेपाल सरकारका सहसचिव केशव विमलीसहितको सहयोग थियो । विमलीलाई तत्कालीन प्रभावशाली नेता सीपी मैनालीको साथ रहेको तथ्य जग्गा बचाउन आन्दोलन गरेका अनारमनी गाउँ विकास समितिका तत्कालीन उपाध्यक्ष लोकबन्धु कन्दङवाले बताएका छन् । मैनाली र विमलीलगायतको समूहले सूर्यकुमार विमली, टीकादेवी विमली र रमेश महर्जनको नाममा मोही खरिद गराए ।रंगशालाको कित्ता नम्बर १२० को एक बिघा दुई कठ्ठा १० धुर, ८२२ को ६ कठ्ठा, ८२५ को १३ कठ्ठा र ८१५ को ७ कठ्ठा टीकादेवी विमलीको नाममा दर्ता गराएका छन् । कित्ता नम्बर ८२० को ८ कठ्ठा रमेश महर्जनको नाममा र ८१२ को ७ कठ्ठा सूर्यकुमार विमलीको नाममा खरिद गरिसकेपछि मात्र स्थानीयवासीले थाहा पाए, देवी मन्दिरको जग्गा भू–माफियाको कब्जामा जाँदै छ भनेर । उनीहरूले २०५४ सालमा सूर्य मगर र शान्तिदेवी खड्काका नामबाट मोही खरिद गरी जग्गा लिएको मालपोत कार्यालयको स्रेस्तामा उल्लेख छ । तत्कालीन देवी गुठीका खेम मैनाली र गणेश ओलीले गुठीलाई राजगुठीमा लाने निर्णय गरी श्रेष्ठ र विमलीहरूसँग मिलेर जालझेल गरेका थिए । स्थानीयवासीले सो थाहा पाएपछि लोकबन्धु कन्दङ्वाको संयोजकत्वमा आन्दोलन समिति र खगेन्द्र प्रसाईंको नेतृत्वमा संरक्षण समिति बनाएका थिए । आन्दोलनपछि श्रेष्ठ र विमलीहरू मोही नभएको र अख्तियारको दुरूपयोग गरेको भन्दै पहिले डोमालाल राजवंशीले मन्दिरलाई दान दिएको जग्गामा भू–माफियाले चलखेल गरेको ठहर गरी मालपोतले मोही रद्द गरेको थियो ।

माफियाहरूले सुरुमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा हालेका थिए । त्यहाँ उनीहरूले जितेपछि संरक्षण समितिले मुद्दा पुनरावेदन अदालत पाटन पु¥याएको थियो । पुनरावेदन अदालत पाटनले भू–माफियाको षडयन्त्र थाहा पायो र जनताको पक्षमा फैसला ग¥यो । त्यसपछि उनीहरू सर्वोच्च पुगेका रहेछन् । तर, संरक्षण समितिका अध्यक्ष नेकपा मालेका तत्कालीन पोलिटब्युरो सदस्यसमेत रहेका खगेन्द्र प्रसाईंले थाहै पाएनन् वा थाहा पाएर पनि कसैलाई जानकारी दिएनन् त्यो भगवान भरोसाको विषय बनेको छ । एकै पटक जिल्ला मालपोत कार्यालयबाट मोही कायम भएको जानकारी पाउँदा अनारमनीवासी जिल्ल परे । पछि बुझ्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय गौरी ढकाल र राजेन्द्रप्रसाद कोइरालाको इजलासले २०६६ फागुन ९ गते नै अनारमनी दुर्गास्थान राजगुठीको नाममा रहेको जग्गा भन्दै सूर्यकुमार विमली, टीकादेवी विमली र रमेश महर्जनको नाममा मोही कायम गराउन फैसला गरेको रहेछ । अदालतको मुद्दा शाखाले मालपोत कार्यालय झापालाई फैसलाको तीन महिनापछि अर्थात् २०६७ वैशाख ३० गते मोही कायम गरिदिन पत्राचार गरेछ । मालपोतले त्यसको तीन महिनापछि मात्र तत्कालीन गाउँ विकास समितिलाई पत्राचार गरेको तथ्याङ्क छ ।

यो पत्राचारको श्रृंखलालाई नै षडयन्त्र मान्न सकिने आधार छन् । किन यस्तो ढिलो भयो ? पुनरावेदनमा मुद्दा लड्ने खगेन्द्र प्रसाईंले सर्वोच्चमा मुद्दा पुगेको किन थाहा पाएनन् ? कतै सीपी मैनालीको पार्टीको पोलिटब्युरो सदस्य भएकाले त होइन ? गुठी संस्थानमा कर्मचारी हुनु भनेको गुठीको जग्गा हडप्नु हो ? होइन भने टीकादेवीको वारेस भएर मुद्दा लड्ने केशव विमलीलाई किन अख्तियार दुरूपयोगमा उभ्याइएन ? दुई वर्षअघि नै सर्वोच्चले मोही खरिदबिक्री नहुने फैसला गरेको थियो । पछि मोही खरिदबिक्री नहुने भए पनि मोही कायम भए फैसला फेरिएको अवस्थामा करोडौँ कमिने भएकाले भू–माफिया लागि रहेका हुन् । अहिले रंगशाला आसपासको जग्गा प्रतिकठ्ठा ३० लाख रूपैयाँमा खरिदबिक्री भइरहेको छ । जम्मा मन्दिरको जग्गा १३ बिघा १७ कठ्ठा छ । यो धन देखेपछि तीन नेत्र भएको अवस्था हो ।

मुद्दा फैसला गर्ने न्यायाधीश राजेन्द्रप्रसाद कोइराला भद्रपुर–१५ का मान्छे हुन् । उनलाई यस्तो मुद्दाबारे जान्न के कठिनाइ थियो ? मुद्दाको फैसला गरेको केही समयपछि कोइराला रिटायर भए । कतै त्यही कारण पत्राचारका लागि ढिलाइ भएको त होइन ? भूमिसुधार मन्त्री सीपी मैनालीका कार्यकर्ता, भद्रपुरका कोइराला न्यायाधीश, संरक्षण समितिका अध्यक्ष सीपीका कार्यकर्ता, विमलीजीहरू सीपीका परिवारका मान्छे अनि मुद्दाको फैसला के यो संयोग मात्र हो ? यो संयोग नै हो भने पनि परिबन्ध मिलेको छ । सीपीदेखि गणेश ओलीसम्म लामै ताँती छ । यस्ता माफियालाई नङ्ग्याउनु सामाजिक दायित्व पनि हो । माले नेता तथा सर्वोच्चमा मुद्दा पुगेको पत्तो नपाउने खगेन्द्र प्रसाईंको भनाइलाई मान्ने हो भने जग्गा हडप्ने प्रपञ्चमा ४४ जना छन् । तर, प्रसाईं सर ती नाम सार्वजनिक गर्न तयार हुनुहुन्न । उहाँ भूमिसुधार मन्त्री पनि यहीबीचमा भइसक्नु भएको छ । अहिले विर्तामोड नगरका उपमेयर पवित्रा महतारा प्रसाईं त्यो जग्गा फिर्ता गराएर रंगशाला बनाउनुपर्छ भनेर लाग्नु भएको छ । उहाँले मेयर विदेशतिर गएको समयमा एउटा समिति पनि बनाउनुभयो । तर, मेयर आएपछि काम अगाडि बढेको छैन । केही पार्टीका गनेचुनेका मान्छै नै यो जग्गा खरिद गरी भू–माफियालाई पैसा दिनुपर्छ भनेर लागेको स्रोतको जिकिर छ । उपमेयरको पवित्र कामका लागि नगरवासी ऐक्यबद्ध छन् ।नीतिले कोही खराब हुँदैन, नियतले खराब हुने हो । मन्दिरलाई डोमालाल राजवंशीले जग्गा दान दिए । अहिले उनका नाति रिक्साचालक छन् । उनका हजुरबाले दान दिएको जग्गाको मोही किन्ने नेपाल सरकारका सहसचिव र कानुन व्यवसायी छन् । कस्तो विडम्बना । यो जग्गा राज्यको स्वामित्वमा फिर्ता गराइपाऊँ भनी दिवेदन गरेको छु ।
—गणेशप्रसाद पोखरेल
विर्तामोड–४ झापा


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया