Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगगर्मी, कोल्ड ड्रिंस र स्वास्थ्य

गर्मी, कोल्ड ड्रिंस र स्वास्थ्य


काठमाडौं ।
यतिखेर गर्मीको मौसम चलिरहेको छ र गर्मी मौसम भन्नेबित्तिकै हाम्रो रुचि र चाहना प्रायः चिसो अथवा शीतल पेय पदार्थमा रहने गर्दछ । गर्मीबाट राहत पाउन होस् वा आफ्नो आँतलाई शीतलता प्रदान गर्न होस् हामी विभिन्न प्रकारका चिसो पेय पदार्थ अथवा कोल्ड ड्रिंस लिने गर्दछौँ । तर यसरी गर्मीबाट छुटकारा पाउने नाममा अथवा गर्मीबाट उत्पन्न तिर्खा मेटाउने नाममा अत्यधिक मात्रामा पिउने यस्ता कोल्ड ड्रिंसबाट कतै हामीले आफ्नो स्वास्थ्यलाई नोक्सान पु¥याइरहेका त छैनौँ ? यसतर्फ भने हाम्रो खासै ध्यान पुग्न सकेको देखिँदैन ।

हुन त कोल्ड ड्रिंस भन्नाले सबै प्रकारका चिसो पेय पदार्थ जस्तैः चिसो पिउने पानी अथवा कागती पानी, दहीको लस्सी, दहीको सर्वत, ताजा फलफूलको रस आदिलाई पनि लिन सकिन्छ । यस्ता चिसो पेय पदार्थले मानव स्वास्थ्यलाई नोक्सान पु-याउँदैन । बरु स्वास्थ्यको दृष्टिले यस्ता पेय पदार्थहरू प्रचूर मात्रामा सेवन गर्नु लाभदायक नै मानिन्छ । तर यहाँ चर्चा गर्न लागिएको कोल्ड ड्रिंसचाहिँ त्यस्ता चिसो पेय पदार्थ हुन् जुन प्राकृतिक रूपमा नभई पानीमा विभिन्न किसिमका कृत्रिम रासायनिक पदार्थहरू प्रयोग गरी तयार पारिएको हुन्छ । यहाँ कुनै यो वा त्यो उत्पादनका सम्बन्धमा कुरा नगरेर समग्रमा त्यस्ता पेय पदार्थहरूको बारेमा चर्चा गर्न लागिएको छ जुन पेय पदार्थ कुनै न कुनै रूपमा कृत्रिम रसायन वा केमिकल्सको प्रयोग गरी तयार पारिएको हुन्छ ।

प्रायः गर्मीको मौसममा अत्यधिक मात्रामा सेवन गरिने यस्ता कोल्ड ड्रिंसबाट तपाईंहामीलाई क्षणिक सन्तुष्टि त मिल्न सक्ला र सायद मजा पनि आउँछ होला तर यसबाट न हाम्रो शरीरको प्राकृतिक तिर्खा मेटिन सक्छ न त यसले हाम्रो स्वास्थ्यलाई नै कुनै फाइदा पु¥याउँछ । बरु यस्ता केमिकल्सयुक्त कोल्ड ड्रिंसको बढी सेवनबाट हामीले नजानिँदो पाराले आफ्नो स्वास्थ्यलाई क्षति पु¥याइरहेका हुन्छौँ ।

यसै क्रममा संयुक्तराज्य अमेरिकाको एउटा शोध पत्रिका ‘द अर्थ आइसल्याण्ड’मा जनाइएअनुसार यस्ता केमिकल्सयुक्त चिसो पदार्थको प्रत्येक बोतलमा ४५ देखि ७५ मिलिग्रामसम्म मादक पदार्थ, अल्कोहल र जनावरबाट पाइने ग्लिसरिन नामक रासायनिक तत्व मिसाइएको हुन्छ । उक्त शोधपत्रमा अगाडि जनाइएअनुसार हाल बजारमा उपलव्ध हुनेगरेका यस्ता कतिपय कोल्ड ड्रिंसहरूमा साइट्रिक एसिड पनि केही मात्रामा निहित रहेको हुन्छ । जसको फलस्वरूप कोल्ड ड्रिंस पिएर हामी आफ्नो शरीरभित्र अनेकन प्रकारका हानिकारक कृत्रिम रासायनिक पदार्थहरू भित्र्याइरहेका हुन्छौँ र यसबाट आन्द्रा, कलेजो, फोक्सो आदिजस्ता शरीरका महत्वपूर्ण अंगहरूमा क्षति पु-याइरहेका हुन्छौँ ।

त्यसैगरी छिमेकी मुलुक भारतको अहमदाबादस्थित कन्ज्यूमर्स एजुकेसन एन्ड रिसर्च सेन्टरको प्रयोगशालामा गरिएको एक अर्को परीक्षणबाट प्राप्त नतिजाअनुसार कोल्ड ड्रिंसमा विभिन्न प्रकारका हानिकारक रासायनिक पदार्थहरू निहित रहेका हुन्छन् जसमध्ये एउटा केमिकल्स हो सोडियम बेन्जोयट ।

यसले हाम्रो शरीरमा एक किसिमको मन्द विषको जस्तो काम गर्दछ । अर्थात् शरीरका कतिपय महत्वपूर्ण अंगहरूलाई यसले बिस्तारै बिस्तारै क्षति पु¥याउंदै लैजाने गर्दछ । जस्तो केही वर्षअघि मात्र पनि भारतमा बिक्रीवितरण भइरहेको कोकाकोला र पेप्सीकोलाजस्ता चिसो पेय पदार्थहरूमा कीटनाशक औषधिहरूको समिश्रण पाइएको कुरा वैज्ञानिक परीक्षणबाट पत्ता लागेपछि उक्त पेय पदार्थ उत्पादन कम्पनीको विरोधमा व्यापक विरोध प्रदर्शनी भएको कुरा यहाँ स्मरणीय छ । यसका साथै कोल्ड ड्रिंसमा कार्बनडाइअक्साइड पनि यथेष्ट मात्रामा रहेको हुन्छ ।

कार्वनडाइअक्साइड जसलाई हामी प्रत्यक स्वास–प्रश्वासबाट बाहिर निकाल्ने गर्दछौँ । त्यही हानिकारक कार्बनडाइअक्साइड हामी कोल्ड ड्रिंसको घुट्कोमार्फत भित्र लिइरहेका हुन्छौँ । हुन त त्यस्तो कार्बनडाइअक्साइड हामीले डकार्दाखेरी खाने मुख वा नाकबाट पनि बाहिर निस्कने गर्दछ । तर कहिलेकाहीँ हामीले लिएको कार्बनडाइअक्साइड मुख र नाकबाट पनि बाहिर निस्कन पाउँदैन । त्यस्तो अवस्थामा यो मानव स्वास्थ्यको लागि अत्यन्त खतरनाक साबित हुनसक्छ । यसबाहेक क्याफिन नामक एकप्रकारको नशाजन्य पदार्थका अतिरिक्त मिथाइल, बेन्जिन, पोटासियम सल्फेट र फास्फोरिक एसिड पनि यस्ता कतिपय कोल्ड ड्रिंसहरूमा मिसाइएको हुन्छ । यस्ता कोल्ड ड्रिंसहरूको पिएच भ्यालु ३ दशमलव ४ जति मात्रै हुन्छ जुन आफैंमा एउटा एसिडिक भएको प्रमाण हो ।

यसरी कोल्ड ड्रिंसमा पाइने यस्ता हानिकारक केमिकल्सका कारण स्वास्थ्यमा पर्न जाने प्रतिकूल असरलाई ध्यानमा राखेर फ्रान्स र बेल्जियमजस्ता मुलुकहरूमा यस्ता कोल्ड ड्रिंसको उत्पादन र उपभोगमा कानुनी रूपमै रोक लगाएको पाइन्छ । तर हाम्रोजस्तो विकासोन्मुख मुलुकहरूमा भने यस्ता कोल्ड ड्रिंसहरूको विनारोकटोक उत्पादन एवं बिक्रीवितरण भइरहेको छ ।

त्यस्तै यस्ता कोल्ड ड्रिंसको सम्बन्धमा हामीले ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण पक्ष के छ भने प्रायः यस्ता कोल्ड ड्रिंसका बोतलहरूमा उत्पादन मिति, उपभोग गर्नुपर्ने समयावधि एवं यसमा विद्यमान यौगिक तत्वहरूका सम्बन्धमा पनि स्पष्ट रूपमा खुलाइएको पाइँदैन । जुन कि उपभोक्ता हकहितका दृष्टिले पनि यस्ता कुराहरू खाद्य पदार्थका बोटलहरूमा स्पष्ट रूपमा खुलाउनु पर्ने बाध्यात्मक व्यवस्था पनि छ ।

तसर्थ समग्रमा हामी के भन्न सक्छौँ भने यस्ता कोल्ड ड्रिंसहरू उत्पादन तथा बिक्रीवितरण गर्दा हामीले आफ्नो र अरुको स्वास्थ्यप्रतिको सम्वेदनशीलतालाई पनि ख्याल राख्नुपर्ने आवश्यकता देखिन्छ । सबैभन्दा प्रमुख कुरा त उपभोक्ताहरू स्वयं नै आफ्नो स्वास्थ्यप्रति सजग र संवेदनशील रहनुपर्ने खाँचो देखिएको छ । लेखक नास्टका निवृत्त वरिष्ठ अधिकृत हुन् ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया