Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसगरमाथाको कमाइ र पर्यटनको घाटा

सगरमाथाको कमाइ र पर्यटनको घाटा


काठमाडौं ।
हुन त आर्थिक वर्ष ०७८/७९ को वार्षिक बजेटमा तालुकवाला पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्य मन्त्रालयहरूको तुलनामा धेरै कम (२५औँ नम्बरमा राखेर) जम्मा सात अर्ब, १३ करोड ५० लाख विनियोजन गरिएको देखिन्छ । जब कि नेपाल सरकारले पर्यटनलाई केही बढी महत्व दिएर पर्यटन उद्योगका लागि पूर्वाधार, प्रचारप्रसार र सूचना प्रविधि आदिमा ध्यान दिएर र कोरोना भाइरसका कारण फैलिएको महामारीका कारण गत वर्षदेखि बन्द भएका, रुग्ण अवस्थामा पुगेका, धरमरको अवस्थामा चलिरहेका र पर्यटन व्यवसाय नै बन्द गर्न बाध्य भएका पर्यटन क्षेत्रका उद्योगी–व्यवसायीका साथै पर्यटन क्षेत्रका स्थायी तथा अस्थायी अथवा भनौँ मौसमी मजदुरहरूलाई केही न केही राहत हुने खालका प्याकेजहरू ल्याउनुपर्ने थियो ।

हामीले पर्यटन उद्योगलाई अलि बढी महत्व दिएर नेपालको पर्यटन उद्योगका लागि पूर्वाधार विकास, प्रचारप्रसार र सूचना प्रविधि आदिमा ध्यान दिने र सोहीअनुसार अन्तर्राष्ट्रिय क्षेत्रका मिडियाहरूमा प्रचारप्रसार गर्नका लागि मनग्गे खर्च गर्ने हो भने अझै पनि नेपालको पर्यटन क्षेत्रबाट दीर्घकालमा धेरै नै फाइदा लिन सकिने अवस्था छ, त्यसमा कुनै शंका रहेन ।

नेपालमा विदेशी मुद्रा आर्जन गर्नमा पर्यटन उद्योगले पनि ठूलै योगदान दिइरहेको छ । त्यस्तै विगतमा नेपालको समग्र अर्थतन्त्रको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)मा ४ दशमलव ७ प्रतिशतदेखि २ दशमलव १ प्रतिशतसम्म योगादन पर्यटन क्षेत्रबाट रहने गरेको तथ्यांक छ । त्यस्तै सन् २०१० मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको ३ दशमलव शून्य प्रतिशतको योगदान रहेको तथ्यांक छ भने लगभग २० प्रतिशत नेपालीहरू आर्थिक रूपमा पर्यटनमा कसै न कसैगरी आबद्ध रहेको तथ्यांक रहेकोे छ, राष्ट्र बैंकको ।

तर, सन् २०२० मा भने पर्यटन क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादनमा १ प्रतिशतको योगदान पनि दिन सकेन । किन त्यस्तो भयो ? हामी सबैलाई थाहा भएकै कुरा हो । किनकि त्यही सेरोफेरोमा (सन् २०१९ को डिसेम्बर अन्तिम ताका) चीनको हुपेई प्रान्तको राजधानी वुहानबाट फैलिन सुरु भएको ‘नोभेल कोरोनाभाइरस’ले केही महिनाभित्रै विश्वव्यापी रूपमा महामारीकै रूप लियो । जुन नयाँ खतरनाक भाइरस थियो । तर, सुरु–सुरुमा धेरै विश्वका देश र ती देशका शासकहरूले नोभेल कोरोनाभाइरसलाई केही होइन, वा सामान्य भाइरस हो भन्नाले र त्यहीअनुसार प्रचारबाजी गर्नाले अनपेक्षित जन र धनको क्षति व्यहोर्नु प-यो ।

फलस्वरूप विस्तारै विश्वभरि नै ‘नोभेल कोरोना भाइरस’को महामारीबाट बच्नका लागि यात्रा अर्थात् ट्राभल गर्नका लागि अस्थायी रूपमा अरु देशका मानिसहरू आउन नपाउने गरी प्रतिबन्ध लगाए भने, विभिन्न देशहरूले ‘नोभेल कोरोना भाइरस’को महामारीबाट आफ्ना जनताहरू बचाउन आफ्नो देशभित्र पनि लकडाउनको विधि अपनाए/लागू गरे । सो क्रम अझै चलिरहेकै छ । किनभने ‘नोभेल कोरोनाभाइरस’ पूर्ण रूपमा हटेर जानु वा कम हुनुको सट्टा नयाँ–नयाँ स्वरूप लिएर विश्वका विभिन्न देशमा झनै फैलिने क्रम चलिरहेको छ ।

फलतः सन् २०२० मा विश्वभरि नै यात्रा अर्थात् भ्रमण व्यवसाय कसैले नसोचेको स्तरमा धराशायी भयो । स्मरणीय छ, सन् २०२० मा सन् २०१९ को तुलनामा विश्वमा भ्रमण गर्ने मानिस अर्थात् पर्यटकको संख्या ८३ प्रतिशतले कमी आयो । यो तथ्यांकलाई विश्व इतिहासमै यात्रा गर्नेहरूको तथ्यांकमा सबैभन्दा कम रहेको तथ्यांक मानिन्छ ।

नेपाल मात्रै नोभेल कोरोना महामारीबाट अछुतो रहने कुरो भएन । फलतः नेपालमा पनि केवल दुई लाख ३० हजार चानचुन विदेशी पर्यटकहरूले मात्रै सन् २०२० मा भ्रमण गरे । त्यस्तै केही महिनाअघि आएको नयाँ तथ्यांकअनुसार सन् २०२१ को पहिलो तीन महिनामा पन जम्मा ३३ हजार चानचुन विदेशी पर्यटकहरूले मात्रै नेपालको भ्रमण गरेका छन् । स्मरणीय के छ भने, सामान्य अवस्थामा भए एक सिजनको एकै महिनामा लगभग ३२/३३ हजार विदेशी पर्यटकहरू नेपाल आउन थालेका थिए ।

नेपालको अर्थतन्त्रमा महत्वपूर्ण रहेको पर्यटन क्षेत्रमा कोभिड–१९ महामारीका कारण लकडाउन, निषेधाज्ञा र विश्वव्यापी कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा हाल दैनिक १० अबै नेपाली रुपैयाँबराबरको क्षति भइरहेको तथ्यांक हालै सार्वजनिक भएको छ । जस्तो कि हालै एक दैनिक पत्रिकाले नेपाल पर्यटन बोर्ड (एनटीबी) लाई उद्धृृत गर्दै प्रकाशित गरेको एक फिचर–समाचारअनुसार पर्यटन क्षेत्रका होटल, रेस्टुरेन्ट, क्युरियो, हवाइ सेवा, टुरिस्ट बस सर्भिस, ट्रेकिङ, -याफ्टिङ, साइक्लिङ आदिमा मात्रै माहिनैपिच्छे १० अर्बभन्दा बढीको घाटा भइरहेको छ भने कोरोना महामारीकै कारण नेपालका पर्यटन व्यवसायी र समग्र देशले एक खर्ब नेपाली रुपैयाँभन्दा बढीको नोक्सानी व्यहोर्नुपरेको भन्ने पर्यटन विज्ञहरूको भनाइ रहेको छ ।

सगरमाथाले केही राहत दियो हो, सगरमाथालगायत अन्य हिमालबाट यो वर्ष नेपाल सरकारलाई धेरै राम्रो आम्दानी भएको मान्न सकिन्छ । हुन पनि अहिलेसम्म सगरमाथाको आर्थिक धेरै राम्रो छ । किनभने एक जना सगरमाथा आरोहीले नै ११ हजार अमेरिकी डलर रोयल्टीबापत नेपाल सरकालाई शुल्क तिर्नुपर्छ । जुन विश्वकै एक मात्र महँगो शुल्क हो । यहाँ सो पक्ष अर्थात् सगरमाथाको कमाइबारे केही लेखिनेछ ।

हाम्रो देशले यो वर्ष (सन् २०२१)को वसन्त याममा कोरोना महामारीबीचमै पनि विश्वकै अग्लो सगरमाथा (नयाँ उचाइ ८,८४८. ८६ मिटर) हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरूबाट लगभग ६६ करोड नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा आर्जन गर्न सफल भएको छ । यो भनेको नेपाल सरकारले सगरमाथा चढ्न आएका पर्वतारोहीहरूबाट लिइने सलामी दस्तुरबाट गरेको खुद कमाइ अर्थात् नाफा मात्रै हो ।

त्यस्तै ट्रेकिङ एजेन्सी, हवाइ जहाज, हेलिकोप्टर, सरदार, गाइड, क्लाइम्बिङ शेर्पा, कुक, किचन ब्वाइ, चौरी र याकधनीहरू, भरियाहरू आदिले गरेको कमाइ र होटल, लजहरूले कमाएको त अलग्गै छँदै छ । यसरी हेर्दा कोरोनाको दोस्रो लहरबीच पनि नेपालले हिमाल आरोहणबाट धेरै राम्रो आमदानी गर्न सफल भएको छ ।

स्मरणीय छ, यो सिजन (वसन्त याम)मा सगरमाथा चढ्न भनी विभिन्न देशका ४४ वटा आरोहण दलका चार सय आठ जना पर्वतारोहीहरूले सगरमाथा चढ्न भनी नेपाल सरकारबाट अनुमति लिएका थिए । त्यसमध्ये एक जना तेस्रोलिंगी समेत थिए भने ९२ जना महिलाका साथै तीन सय १५ जना पुरुष रहेका थिए ।

तर, दुःखको कुरो, यो वर्ष ठ्याक्कै सगरमाथा आरोहण गर्ने समयमा नै खाडी मुलुक र भारतको विभिन्न राज्यहरूजस्तै गुजरात, महाराष्ट्र, पश्चिम बंगाल, बंगलादेशलगायत क्षेत्रबाट आएको ‘ताई/तेई’ र ‘यास/यस’ नामक समुद्री आँधी (चक्रावत)का कारण मौसममा एक्कासी आएको नकारात्मक परिवर्तनले गर्दा सगरमाथा आरोहणमा अपेक्षित सफलता भने मिलेन । यसले गर्दा यो वर्षको वसन्त याममा लगभग ६५ देखि ७० प्रतिशत सगमाथा आरोहीहरूले विनासफलता फर्किए होलान् ! यो मेरो व्यक्तिगत अनुमान मात्रै हो । किनभने, यस बारेमा हालसम्म पनि आधिकारिक निकाय अर्थात् पर्यटन विभागले के–कति प्रतिशतसम्म सगरमाथा आरोहीहरूले यो वर्षको वसन्त याममा सफलता प्राप्त गरे ? भनी विज्ञप्ति वा सूचना निकालको छैन । पर्यटन विभागले विस्तारै जानकारी गराउला नै ।

त्यसो त हजारौँ डलर खर्च गरेर जिन्दगीमा जसरी भए पनि ‘एक पटक विश्वकै अग्लो हिम शिखर सगरमाथाको शिरमा पाइला टेकेरै छाड्ने !’ सपना साँचेर आएका विभिन्न देशका पर्वतारोहीहरूले कतै मौसम सुध्रिहाल्छ कि त ? भनी सन् २०२१ को जुन महिनाको ११/१२ तारिखसम्म पनि सगरमाथा शिखरको क्याम्प–२, क्याम्प–३, क्याम्प–४ मा पर्खेर बसेका थिए क्यारे । अझै पनि सगरमाथा आरोहण गर्न गएका पर्वतारोहीहरू फर्केको, नफर्केको बारे कुनै पनि सञ्चारमाध्यममा समाचार आएको छैन ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया