Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगप्रशंसामुुखी तृष्णामा रुमल्लिएका प्रधानमन्त्री

प्रशंसामुुखी तृष्णामा रुमल्लिएका प्रधानमन्त्री


काठमाण्डौँ,माघ ७
नन्दलाल खरेल
पटक–पटक मृत्युलाई जित्न सफल भएका शक्तिशाली नामधारी कम्युनिष्ट पार्टीका प्रधानमन्त्री केपी शर्मा ओली प्रशंसामुखी तृष्णाको तुवाँलोभित्र रुमल्लिएका छन् । केही समयअघि चेम्बर अफ कमर्सका सदस्यहरूलाई सम्बोधन गर्दै आप्mनो सरकारले राम्रो काम गरेको भए पनि पत्रकार र सम्पादकहरूले त्यो कुरा नलेखेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हामीकहाँ प्रशंसा गर्ने मुटु भएका सम्पादकहरू छैनन् भन्दै मृगतृष्णामा रुमल्लिएको हरिणझँै प्रचारमुखी भोकलाई उजागर गर्नुभएको छ । त्यो पूरै आधारहीन छ । कुनै पनि तथ्यले उनले लगाएका आरोपलाई पुष्टि गर्दैन । हुन त पहिले पहिलेका राजा महाराजाहरू पनि यस्तै प्रचारमै रमाउँथे । यसअघि पनि केही भएको छैन भन्नेहरूलाई आँखा खोलेर हेर्नुपर्छ भनेर विपक्षी दललाई तिखो प्रहार गरेका थिए । त्यति मात्र होइन सरकारको विरोध गर्नेहरूलाई पार्टी कार्यकर्ताहरूले अरिङ्गालझैँ प्रतिवाद गर्नुपर्नेजस्ता हास्यस्पद र राजनेताहरूले भन्न नमिल्ने शब्दवाण प्रहार गरेका थिए ।मुलुकको दुर्भाग्य नै होला कलाकारिता क्षेत्रमा फिट हुने व्यक्तिलाई प्रधानमन्त्रीजस्तो गरिमामय पदमा हामीले ओलीलाई आसन गराएका छौँ । गरिब मुलुकका जनताहरू कुनै चटकेको कृत्रिम जादुलाई साँच्चीकै जसरी पत्याउने स्वभावको हुन्छ ।

आज हाम्रो अवस्था यस्तै मिल्दोजुल्दो छ । प्रधानमन्त्रीमा विलक्षण हँसाउने कला छ, उखान टुक्कामा पनि पीएचडीबराबरको ज्ञान छ, तर वहाँमा मुलुकको अर्थतन्त्रलाई कसरी सुदृढ बनाउने, भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्ने , कर्मचारीलाई कसरी चलाउने भन्ने कुराको पटक्कै ज्ञान छैन । समृद्धिका कोरा सपना मात्र देखाएर २१औं शताब्दीका डिजिटल युगका जनताहरूले तपाईंको मिथ्या कुरा पत्याउनेवाला छैनन् । प्रधानमन्त्री केपी शर्मा आफूले गरेका अद्भूत कार्यको पं्रशसा गर्ने कुनै माध्यम पाइन, कुनै मिडिया नै मैले पाइन भनेर विलौना गर्नुभएछ प्रधानमन्त्रीज्यू तपाईंलाई ज्ञान होस् नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र, प्रेस काउन्सिल यी सबै राज्यका मुखपत्रहरू हुन् । सरकारले यी संस्थाहरूलाई तपाईंहरूकै बोली बारम्बार सुनाउन अर्बौं खर्च विनियोजन गरेको छ । प्रधानमन्त्रीले देशको विकास भयङ्कर गरे भनेर पत्रकार र सम्पादकहरूले लेख्दैमा जनताले पत्याउने कुरा हुँदैन प्रधानमन्त्रीज्यू । विकास जनताले अनुभूत गर्ने विषय हो । न कि प्रधानमन्त्रीको भाषणले बताउने विषय प्रधानमन्त्रीज्यू तपाईंको प्रशंसा किन गर्ने ? प्रशंसा गर्न लायक के भएको छ ? बितेको झण्डै दुई वर्षमा ? जनताको अधिकारलाई कुण्ठित हुनेगरी ल्याएको सूचना तथा प्रविधि विधेयक, गुठी विधेयक, शिक्षा विधेयक, स्वास्थ्य विधेयक, सैन्य गुप्तचर विधेयक, मानव अधिकार विधेयकको प्रशंसा गर्ने कि ? निर्मला हत्या र बलात्कार काण्ड, ३३ किलो सुनकाण्ड, बालुवाटार जग्गा काण्ड, मेडिकल माफिया काण्ड, होलीवाइन काण्ड, वाइडवडी काण्ड, नेपाली कालोधन तथा तिनको ओसारप्रसार प्रकरण काण्ड, गोकर्ण रिसोर्ट काण्ड, दरबारमार्गको सरकारी जग्गा प्रकरण काण्ड, एनसेल करछली काण्ड तथा सबै संवैधानिक आयोगहरू र राष्ट्रिय अनुसन्धान आयोगसमेतलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउने हर्कतलाई पनि चर्को स्वरले सरकारको राम्रो काम भनेर चिच्याउनु पर्ने प्रधानमन्त्रीज्यू ? तपाईंहरू दुई अध्यक्षबीचको जुँगाको लडाँइमा एक महिनादेखि संसद् बन्धक बनाउनुभएको छ । कि त्यसको पनि प्रशंसा गर्नुपर्ने ? त्यति मात्र होइन सरकारको आलोचना गरेकै भरमा नागरिकहरूलाई पत्रकारहरूलाई जेल हाल्ने अनि सरकारको प्रशंसा पत्रकार र सम्पादकहरूले गर्नुपर्ने ? प्रधानमन्त्रीज्यू, सञ्चारकर्मीहरू तपाईंले पक्षपोषण गरेका इमानदार कार्यकर्ताहरूजस्ता हलिया होइनन् ।

प्रधानमन्त्रीज्यू तपाईं समृद्ध नेपाल सुखी नेपालीको कुरा बारम्बार रटान लगाउनुहुन्छ । मुलुकलाई समृद्ध र सुखी बनाउन अर्थतन्त्रलाई मजबुत बनाउनु पर्छ । अर्थतन्त्रलाई मजबुत बनाउन लगानी, उत्पादन, रोजगारी र उपभोग बलियो हुनुपर्छ । सरकारी होस् या निजी लगानी दुवै घटेको छ । गतवर्षको भन्दा पनि कम यस वर्ष बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जासमेत घटेको छ । यसले निजी क्षेत्रको विस्तार नभएको देखाउँछ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनामा दुई खर्ब ५७ अर्ब रूपैयाँ कर्जा प्रवाह भएको थियो । यो आर्थिक वर्षको पहिलो ६ महिनामा एक खर्ब ९७ अर्ब मात्र कर्जा प्रवाह भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ६० अर्ब कमी हो ।
प्रधानमन्त्रीज्यू, तपार्इं कमजोर पुँजीगत खर्चमा समृद्धि सपना देखिरहनुभएको छ, यो विल्कुलै गलत हो । चालू आर्थिक वर्ष २०७६÷७७ को ६ महिना बितिसक्दा पनि कुल विनियोजित चार खर्ब आठ अर्बमध्ये १३ दशमलव ७२ प्रतिशत खर्च भएको छ । यो मैले भनेको होइन महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क हो । गतवर्ष यो पुँजीगत खर्च सोही अवधिमा १७ प्रतिशत भएको थियो । पुँजीगत खर्चमा मात्र होइन राजस्व असुलीमा पनि सरकारलाई धक्का लागेको छ । पहिलो ६ महिनामा सरकारले पाँच खर्ब ३७ अर्ब रूपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा पहिलो ६ महिनामा राजस्व लक्ष्य र असुलीको खाडल एक खर्ब रूपैयाँ नाघेको छ । यो ज्यादै ठूलो डरलाग्दो तथ्याङ्क हो । सरकारको गलत राजस्व लक्ष्य नीतिका कारण यस्तो हुन गएको हो ।

इतिहासकै शक्तिशाली दुई तिहाइको कम्युनिष्ट आवरणमा रहेको केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले व्यापारघाटाको व्यारोमिटर घटाउन सकेको छैन । प्रधानमन्त्रीज्यू तपाईंलाई राम्रोसँग थाहा हुनुपर्छ मुलुकलाई समृद्ध बनाउन व्यापारघाटालाई सन्तुलन गर्नुपर्छ । व्यापारघाटालाई सन्तुलन गर्न उत्पादन बढाउनु पर्छ । उत्पादन बढाउन युवालाई विदेश पलायन हुनबाट रोक्नु पर्छ र कृषिलाई व्यवसायीकरण गर्नुपर्छ । तपाईंलाई ज्ञान रहोस् वैदेशिक व्यापारमा नेपालले विभिन्न २७ मुलुकसँग मात्र झिनो नाफा गर्ने गरेको पाइएको छ भने एक सय १२ मुलुकसँगको व्यापार भने घाटामा रहेको छ । चालू आर्थिक वर्षको ५ महिनामा ४७ अर्ब ६१ करोड रूपैयाँको निर्यात भएको छ भने पाँच खर्ब ८१ अर्ब २५ करोड रूपैयाँ आयात भएको छ । यो अवधिमा पाँच खर्ब ३३ अर्ब ६४ करोड व्यापारघाटा भएको छ । यस्तो अवस्थामा पनि मुलुकको वैदेशिक व्यापार राम्रो भएको छ भनेर सञ्चारकर्मीहरूले भन्नुपर्ने प्रधानमन्त्रीज्यू ? यो कस्तो विडम्बना ?
सम्मानीय प्रधानन्त्रीज्यू ! तपाईंले भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचारीको मुख हेर्दिनँ भनेर पटक–पटक उद्घोष गर्नुभएको छ । नेपाल सरकारले मन्त्रिपरिषद्बाटै निर्णय गराएर गोकर्ण रिर्सोटको २६ सय ९३ रोपनी सरकारी जग्गा यति समूहलाई कसले दिएको हो प्रधानमन्त्रीज्यू ? म तपाईंलाई प्रश्न गर्न चाहन्छु । ११ अर्बमा पाइने सेक्युरिटी प्रेस कसले २३ अर्बमा किन्न लागेको प्रधानमन्त्रीज्यू ? नेपालमा अहिलेसम्मको ठूलो भ्रष्टाचार वाइडबडी काण्ड किन आजभोलि सेलाइएको छ प्रधानमन्त्रीज्यू ? के यी सबै विषयमा पनि सञ्चारकर्मीले राम्रो लेखिदिनु पर्ने यहाँलाई ?प्रधानमन्त्रीज्यू तपाईंले एमसीसीअन्तर्गतको अमेरिकी सहयोग जसरी पनि लागू गर्ने दाउमा हुनुहुन्छ । यो सम्झौता नेपालको सार्वभौमिकताको विरुद्धमा छ । यो सम्झौता इन्डो प्यासिफिक रणनीतिको अंग हो । यसको पुष्टि नेपालस्थित अमेरिकी दूतावसका प्रतिनिधिले गरिसकेका छन् । म चाहन्छु जीवनको उत्तराद्र्धमा राम्रो काम गरेर त जानुहोस् ।

आम जनताले हिजो ओलीलाई राष्ट्रवादी नेताको रूपमा हेर्दथे । तर, आज तिनै नेता कालापानीको विषयमा चुकेका छन् । किन यो विषय भारतसँग राम्ररी उठाउन सक्दैन । कतै भारतीय नेतालाई सरकारलाई चित्त दुखाएमा आप्mनो कुर्सी डग्मगाउला भनेर यसो गरेका त होइनन् प्रधानमन्त्रीज्यू ? तपाईं राम्रो गर्दै जानुहोस्, तपाईंको प्रशंसा गर्नेहरूको कमी हुँदैन । तपाईंले ब्लडप्रेसर नै बढ्ने गरी सञ्चारकर्मीहरूमाथि गर्जनु पर्दैन । म नै राज्य हुँ, राज्य नै म हँु, जसरी अगाडि नबढ्नुहोस् । यसले तपाईंको उचाइलाई कम गर्छ । तपाईंले जनतालाई राहत हुने र नेपालीको स्वाभिमान र आत्मासम्मान जोगाउने काम गर्नुहोस् । सञ्चारकर्मीहरूले तपाईंलाई सधैँ साथ दिनेछन् । सञ्चारकर्मी तपाईंकै सारथी हुनेछन् ।नन्दलाल खरेल


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया