Techie IT
×
गृहपृष्ठविचारराष्ट्रिय ध्वजावाहक, हवाइ सञ्जाल र पर्यटन

राष्ट्रिय ध्वजावाहक, हवाइ सञ्जाल र पर्यटन


काठमाडौं ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको परिभाषाअनुसार हवाइ सञ्जालले मानिसहरूलाई निर्बाधरूपमा आफू रहेको स्थानबाट गन्तव्यसम्म पुग्न सहयोग गर्दछ । गन्तव्यसम्मको सहज पहुँचका कारण दिनदिनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्य स्थानहरूको विकास भएको अवस्था छ । विश्वव्यापीकरणको प्रभावको कारणले मानिसहरू निर्बाधरूपमा एक स्थानबाट अर्को स्थानमा पर्यटन तथा कामको खोजीमा हिँडने परम्पराको विकास भएको छ । पछिल्ला दिनहरूमा विकसित सँगसँगै विकासशील मुलुकका मानिसहरू समेत नयाँ–नयाँ गन्तव्यको खोजीमा निस्कने गरेको देखिन्छ ।

मानिसले गन्तव्यको छनोट कसरी गर्दछ भन्ने सन्दर्भमा ब्रिटिस विद्वान ग्राहम डाअनले पुश र पुल मोटिभेसनल फ्याक्टरको व्याख्या गरेका छन् । निजका अनुसार पुश फ्याक्टर मानिसको मनोविज्ञानसँग सम्बन्धित हुन्छ । मानिसलाई कुनै पनि गन्तव्यसम्म जानको लागि यो फ्याक्टरले प्रेरणा गर्दछ । अर्कोतर्फ गन्तव्यले मानिसलाई आकर्षण गर्ने फ्याक्टरलाई निजले पुल फ्याक्टरको रूपमा व्याख्या गरेका छन् । निजका अनुसार गन्तव्यको भौतिक पूर्वाधारको अवस्था, त्यहाँ पाइने सुविधा, सेवाको स्तर र गन्तव्यसम्म पुग्न तथा पुगिसकेपछि लाग्ने खर्च वा मूल्य पुल फ्याक्टरको रूपमा रहेका हुन्छन् ।

साधारणतया गन्तव्यसम्मको पहुँचको अवस्था र त्यसका लागि लाग्ने खर्चले मानिसलाई गन्तव्य छनोट गर्ने प्रक्रियामा सहयोग गर्दछ । पुश फ्याक्टर मानिसको मनोविज्ञान तथा मानिसको अन्तरमनसँग सम्बन्धित भए पनि त्यसलाई पुल फ्याक्टरले प्रभाव पार्दछ । त्यसैले गन्तव्य छनोटको लागि गन्तव्यसम्म पुग्नको लागि लाग्ने खर्चको विषय पर्यटकको प्राथमिकतामा पर्ने यो सिद्धान्तले व्याख्या गर्दछ । साथै सो गन्तव्य स्थानको पूर्वाधार तथा त्यहाँ पाइने सेवा सुविधाको विषय पनि पर्यटकको गन्तव्य छनोटको विषयसँग प्रत्यक्ष सरोकार राख्ने भएको हुँदा मानिसले त्यसको पनि विश्लेषण गरेर गन्तव्य छनोट गर्दछ । यसरी सम्पूर्ण पक्षको विश्लेषणपश्चात् मात्र पर्यटक गन्तव्य छनोट हुन उत्प्रेरित हुने गर्दछ ।

गन्तव्यसम्म पुग्न लाग्ने शुल्क वा अन्तर्राष्ट्रिय पर्यटकको सन्दर्भमा हवाइ टिकटको रकम त्यो गन्तव्य भएको मुलुकको अन्तर्राष्ट्रिय हवाइ सञ्जालसँग प्रत्यक्ष सम्बन्धित हुने गर्दछ । अन्तर्राष्ट्रिय हवाइ सञ्जाल बलियो भएका गन्तव्य मुलुकहरूसम्म पुग्नको लागि लाग्ने टिकट रकम समेत तुलनात्मक रूपमा कम हुने विभिन्न अध्ययनले देखाएका छन् । तसर्थ कुनै पनि मुलुकले पर्यटकको आवागमनलाई बढाउने योजना बनाउने हो भने हवाइ सञ्जाल बलियो बनाउन आवश्यक छ । विशेषत नेपालजस्तो भूपरिवेष्ठित मुलुकले पर्यटक भित्र्याउन हवाइ सञ्जाल विकासबाहेक अन्य विकल्पले काम नगर्ने स्पष्ट नै छ ।

हवाइ सञ्जालको विकासको लागि अन्य मुलुकका एयरलाइन्सहरूले सेवा सञ्चालन गरेको भरमा मात्र दिगो सञ्जाल विकासको कल्पना गर्न सकिँदैन । त्यसैले कुनै पनि मुलुकले अन्तर्राष्ट्रिय जगतसँग आफ्नो सहज हवाइ सञ्जाल निर्माणको लागि राष्ट्रिय ध्वजावाहक एयरलाइन्सको स्थापना गरेको पाइन्छ । राष्ट्रिय ध्वजावाहक एयरलाइन्समा सम्बन्धित मुलुकको नियन्त्रण हुने भएको हुँदा समेत हवाइ सञ्जाल वृद्धिमा यसको महत्वपूर्ण भूमिका रहन्छ ।

नेपालको सन्दर्भमा समेत नेपाललाई अन्तर्राष्ट्रिय सञ्जालमा जोडेर पर्यटन प्रवर्धन गर्दै राष्ट्रिय आयमा वृद्धि गर्ने अभिप्रायले नेपाल वायुसेवा निगमको स्थापना भएको देखिन्छ । नेपाल वायुसेवा निगम ऐन २०१९ को प्रावधान हेर्ने हो भने नेपालभित्र वा वाहिर सुरक्षित, कुशल, सुव्यवस्थित, किफायत र उचित रूपबाट हवाइ यातायात सेवाको व्यवस्था गर्ने कार्यलाई निगमको कर्तव्यको रूपमा व्याख्या गरिएको छ । स्थापनाकालदेखि नै निगमले यो कर्तव्य निर्वाह गर्ने कार्यमा प्रयन्न गरेको देखिन्छ ।

नेपाल सरकारको पर्यटन नीतिले दिगो पर्यटनको विकास गर्दै मानिसको जीवनस्तर उकासेर राष्ट्रिय आयमा पर्यटन क्षेत्रको योगदानलाई बढावा दिने लक्ष्य लिएको देखिन्छ । यस लक्ष्यको प्राप्तिको लागि विभिन्न उदेश्यहरूको व्यवस्था गरिएको छ । जसमध्ये विश्वसनीय, सुरक्षित र नियमित हवाइ सेवाको विकास गर्ने भनिएको छ । यसरी नियमित, विश्वसनीय तथ सुरक्षित हवाइ सेवाको विकास गर्दै अन्तर्राष्ट्रिय पर्यटकहरू नेपाल भित्र्याउनका लागि सबल राष्ट्रिय ध्वजावाहकको आवश्यकता पर्दछ । राष्ट्रिय ध्वजावाहक सबल भएमा त्यसले अन्य हवाइ कम्पनीहरूसँग सहज प्रतिस्पर्धा गर्न सक्ने भई सबल हवाइ सञ्जाल निर्माणमा योगदान दिन सक्दछ ।

त्यसैगरी नेपाल सरकारको हवाइ नीतिले समेत हवाइ नीतिमार्फत पर्यटन प्रवर्द्धनको परिकल्पना गरेको छ । यसले सुरक्षित, विश्वसनीय, स्तरीय, सहज उपलब्ध हुने, साधारण मानिसको लागि पहुँचयोग्य, दिगो तथा प्रभावकारी हवाइ सेवाको माध्ययमबाट हवाइ क्षेत्रको विकास गर्दै प्रभावकारी हवाइ सञ्जाल निर्माण गरी पर्यटन प्रवर्द्धन गर्ने परिकल्पना गरेको छ ।

अन्तर्राष्ट्रिय हवाइ सञ्जालको विकास तथा विस्तार नगरी आन्तरिक हवाइ सञ्जालको माध्ययबाट मात्र अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालमा आकर्षण गर्न नसकिने अवस्था छ । हवाइ नीतिको परिकल्पनाअनुसार हवाइ सञ्जालको सबलीकरणको लागि राष्ट्रिय ध्वजावाहकलाई सबल बनाउन आवश्यक देखिन्छ । राष्ट्रिय ध्वजावाहक सबल भएको अवस्थामा कसरी हवाइ सञ्जाल बलियो बन्छ भन्ने उदाहरण हेर्न कतार एयरवेज र त्यसले कतारको हवाइ सञ्जाल विकासमा पारेको प्रभाव हेर्न सकिन्छ ।

सरकारले पन्ध्रौँ योजनामार्फत समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्न पर्यटन क्षेत्रलाई सामाजिक आर्थिक रूपान्तरणको ९ वटा आयामहरूमध्ये एक आयामको रूपमा लिएको छ । नेपाललाई आकर्षक, सुरक्षित तथा सुन्दर पर्यटन गन्तव्य स्थलको रूपमा विकास गर्ने परिकल्पना लिएको यस योजनाले पर्यटन क्षेत्रलाई आर्थिक विकासको उत्प्रेरकको रूपमा लिएको छ ।

यस योजनामार्फत नेपाललाई पर्यटन बजारको अग्रस्थानमा स्थापित गरिने लक्ष्य लिएको देखिन्छ । योजनाले पर्यटन प्रवर्द्धनको विषयमा आकर्षक लक्ष्यहरू लिएर पर्यटन गन्तव्य स्थलको विविधीकरणको परिकल्पना गरे पनि विगतका दिनहरूमा अवलम्बन गरेको योजनाहरूलाई विश्लेषण गर्दा समेत हवाइ सञ्जालमा आवश्यक ध्यान नदिएको कारण योजनाको लक्ष्यअनुसार पर्यटक आकर्षित गर्न नसकिएको देखिन्छ ।

पर्यटन प्रवर्द्धनको केन्द्रमा रहेको हवाइ सञ्जालको सबलीकरणमा भूमिका खेल्ने राष्ट्रिय ध्वजावाहक हरेक आवधिक योजना तथा वार्षिक बजेटमा उपेक्षित भएको कारण समेत नेपालले उल्लेख्य हवाइ सञ्जाल निर्माण गर्न सकेको देखिँदैन । त्यसैले राष्ट्रिय ध्वजावाहक सबल नभएसम्म सबल हवाइ सञ्जाल निर्माण गर्न नसकिने अवस्था छ ।

नेपालको जस्तै आर्थिक अवस्था भएको इथियोपियाको अवस्था हेर्ने हो भने असले आर्थिकरूपमा फड्को मारिरहेको देखिन्छ । त्यस मुलुकको आर्थिक विकासमा क्षेत्रीय हबको रूपमा मुलुकलाई स्थापित गर्न सबल भएको राष्ट्रिय ध्वजावाहकको योगदान महत्वपूर्ण छ । आर्थिक रूपमा मुलुक सबल नभए पनि सबल एयरलाइन्सको स्थापना गर्न इथियोपिया सक्षम भएको देखिन्छ । आफ्नो राष्ट्रिय ध्वजावाहकलाई अफ्रिकाभरिको सबल एयरलाइन्स बनाउन सफल भएको छ । साथै शून्यप्राय रहेको त्यहाँको पर्यटन क्षेत्रलाई क्रमशः विकास गर्दै नेपालसँग तुलना गर्नयोग्य पर्यटन क्षेत्रको रूपमा मुलुकलाई स्थापित गर्न इथियोपियन एयरलाइन्सको ठूलै भूमिका छ ।

नेपालमा विभिन्न योजनाहरू, नीतिहरू तथा वार्षिक बजेटको माध्ययमबाट ठूलो संख्यामा पर्यटकलाई आकर्षित गर्ने लक्ष्य लिएको देखिन्छ । तर योजना तथा आकलनबमोजिमको संख्यामा पर्यटक भित्र्याउन नसक्नु हाम्रो हरेक योजनाको कमजोरी पक्षको रूपमा रहेको देखिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान् बुद्धको जन्म स्थल लुम्बिनी, विश्व सम्पदा सूचीमा सूचीकृत विभिन्न पर्यटकीय स्थल तथा साहसिक खेलका लागि सम्भाव्य प्रशस्त स्थल भए पनि हामी सोचेको संख्यामा पर्यटक भित्र्याउन कहिल्यै सफल भएका छैनौँ ।

संसारको सबैभन्दा होचो स्थान डेड सीलगायत अन्य विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरू भएको आधारमा जोर्डनले २०१९ मा ५३ लाखभन्दा बढी पर्यटकहरू भित्र्याउन सफल भएको देखिन्छ । यसको तुलनामा नेपालले त्यस्तै विश्व सम्पदा सूचीमा सूचीकृत स्थल तथा विश्वको सर्वोच्च शिखर भए पनि १२ लाखको हाराहारीमा मात्र पर्यटक भित्र्याउन सफल भएको छ ।

भूपरिवेष्ठित मुलुक भएका कारण समुद्रसँगको सम्पर्क नभएको कारण पर्यटक आकर्षण गर्न सहज छैन भनी तर्क गर्ने हो भने पनि थोरै स्थान भए पनि समुद्रसँग जोडिएको जोर्डनको जत्तिको पर्यटक ल्याउन नसके पनि त्यसको आधाआधी पर्यटक त नेपालले भित्र्याउने सम्भावना रहन्छ । तर नेपाल हवाइ सञ्जालको हिसाबले केही मुलुकहरूसँग मात्र सिधा सम्पर्क भएको कारण सञ्जाल विस्तार नगरी ठूलो संख्यामा पर्यटक भित्र्याउने परिकल्पना कल्पनामा मात्र सीमित हुने देखिन्छ ।

क्षेत्रीय रूपमा सार्कमा समेत नेपालका एयरलाइन्सहरूको उपस्थिति बलियो देखिँदैन जसको कारण हवाइ सञ्जाल क्षेत्रीय रूपमा नै बलियो छैन । क्षेत्रीय रूपमा सबल सञ्जाल निर्माण गर्दै विश्व बजारमा क्रमशः सञ्जाल विस्तारको लागि सरकारले समयमा नै ध्यान दिनुपर्ने देखिन्छ ।

नेपाल भित्रिने पर्यटकको तथ्यांक केलाएर हेर्दा समेत प्रत्येक वर्ष ९० प्रतिशतको हाराहारीमा पर्यटकहरू हवाइ माध्ययमबाट नेपाल आएको देखिन्छ । भूपरिवेष्टित मुलुक भएको कारण नेपालको पर्यटन क्षेत्र हवाइ सञ्जालमा निर्भर हुनुको विकल्प नहुने अवस्था छ । त्यसैले हवाइ सञ्जाल विस्तार गर्दै अधिकभन्दा अधिक पर्यटक भित्र्याउन समेत राष्ट्रिय ध्वजावाहकलाई समय सापेक्ष सबल बनाउन आवश्यक छ ।

समग्रमा राष्ट्रिय ध्वजावाहकको विकास तथा विस्तारविना अपनाइएका योजनाहरूले गरेको आकलन पूरा हुन नसक्ने परिदृश्यलाई समयमा नै सम्बोधन गर्दै नेपाल सरकारले नेपाल वायुसेवा निगमको विकास तथा विस्तारको लागि समयसापेक्ष तथा व्यावहारिक नीति अवलम्बन गरी समग्र पर्यटन क्षेत्रको विकास गर्दै अन्तर्राष्ट्रिय पर्यटकहरूको आकर्षक गन्तव्यको रूपमा नेपाललाई विकास गर्ने ठोस कदम चाल्दै यसको पुँजी वृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया