Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबहुउपयोगी जडीबुटी : बर्राे

बहुउपयोगी जडीबुटी : बर्राे


काठमाडौँ । नेपाल प्राकृतिक स्रोत, साधन र सुन्दरताले भरिपूर्ण राष्ट्र हो । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदाहरु मध्ये वन जंगल तथा यहाँ भित्र पाईने अलौकिक तथा अद्धितिय जडीबुटी तथा गैरकाष्ठ वन पैदावरको महत्वपूर्ण स्थान रहेको छ । देश भित्र पाइने सुचिकृत करिब ७०० प्रजातिका जडीबुटीजन्य वनस्पति नेपाल र नेपालीको लागि मात्र होइन, समग्र जिवजन्तु, मानवजाति र विश्व समुदायलाई प्रकृतिको तर्फबाट अद्धितिय उपहार हो ।

अपार सम्भावना बोकेको महत्वपूर्ण जडीबुटी र गैरकाष्ठ वन पैदावार देशको समग्र र समावेशी विकासका महत्वपूर्ण साधन हुन । वर्षेनी अरबौँ धनरासीको विभिन्न गैरकाष्ठ वन पैदावारहरु विदेश निकासी भइरहेको छ । देशका ग्रामीण एवं दुर्गम भेगका असंख्य नेपालीहरुको नगद आम्दानी एवं जीविकोपार्जनको प्रमुख आधार गैरकाष्ठ वन पैदावारको संकलन तथा विक्रि वितरणबाट अरबौँ धनराशी वर्षेनी भित्रिने गरेको छ । यार्सागुम्बा लगायत अन्य महत्वपूर्ण जडीबुटीको विक्रि वितरणबाट दार्चुला, जुम्ला तथा डोल्पा जस्ता जिल्लाहरुमा करोडौँ रुपैँया वर्षेनी जिल्ला भित्रिने गर्दछ । यसैगरी मध्यपहाडका विभिन्न जिल्लाहरुबाट पनि लाखौँ, करोडौँ मुल्य बराबरको जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विदेश निकासी भएर गइरहेको पाईन्छ । यसै सिलसिलामा आजभोली जुनसुकै पत्रिकामा पनि कोरोना माहामारी र राजनिितक विकृति आदिआदि लेख देखिन्छ । अतः यस लेखमाबहुउपयोगी जडीबुटीतथा गैरकाष्ठ वन पैदावार ‘बर्राे’सम्बन्धि चर्चा गर्ने जमर्काे गरीएको छ ।

बर्राेको स्थानीय नाम बर्राे तथा बडेरो हो । यसको अंग्रेजी नाम ब्याडानट र बेलेरिक माइरोवलान हो भने वैज्ञानिक नाम टरमिनेलिया बेलिरिका हो । कम्बे्रटेसी वानस्पतिक परिवारमा पर्ने यो पतझड प्रजातिको ४० देखि ५० मिटरसम्म अग्लो, थुप्रै हाँगाविगा हुने रुख हो । यसको काण्डको गोलाई ३ मिटरसम्म हुन्छ । यसका पातहरु हाँगाको टुप्पामा झुप्पा भएर पलाएका १० देखि २५ सेन्टिमिटरसम्म लम्बाई र ७ देखि १५ सेन्टिमिटरसम्म चौडाई भएका हुन्छन् । नयाँ पातहरु पहिले तामा जस्तो रातो भई हलुका हुने र पछि कडा हरियो रंगमा परिणत हुने गर्दछन् । नमिठो वास्ना भएका ३ देखि १५ सेन्टिमिटर लामा फुलको झुप्पामा ५ मिलिमिटर स–साना फूलहरु रहेका हुन्छन् । यसका फलहरु २ देखि ४ सेन्टिमिटर लामा, ५ कोण परेका फिक्का खैरो रंगका र बाक्लोसित झुसिला रौँहरुले छोपिएका हुन्छन् ।

प्रत्येक फलभित्र एउटा मात्र बीउ हुन्छ । बर्राेलाई यसको गाढा फुस्रो–सेतो रंगको बोक्राले र पहेँलो रंगको काठले गर्दा सजिलै चिन्न सकिन्छ । यो नेपालको पूर्व पश्चिमसम्म तराई तथा चुरेक्षेत्रमा समुन्द्री सतहदेखि २०० देखि ११०० मिटरसम्मको उचाईमा पाईन्छ । दक्षिण पूर्वि एसियामा उद्गम स्थल भएको यो विरुवा नेपाल, भारत, भुटान, श्रीलंका, इन्डोनेसिया, थाईल्याण्ड, म्यानमार, चीन आदि देशहरुमा प्राकृतिक रुपमा पाईन्छ । यसले राम्रो उब्जनी हुने मलिलो माटो रुचाउने भएता पनि कहिले काँहि ढुंगा मिश्रित, कडा तथा कमशल माटोमा पनि सप्रेको पाईन्छ । समुन्द्रि सतह देखि ११०० मिटरसम्म उचाई, २२ देखि २८ डिग्री सेन्टिग्रेड औसत तापक्रम भएको औषत वार्षिक वर्षात ९०० देखि ३००० मिलिलिटर भएको ठाउँ बर्राेको लागि उपयुक्त मानिन्छ ।

हालसम्म बर्राे नेपालको जंगलबाट संकलन गरिने र स्थानीय खपत गरी सुकाएर विदेश निर्यात हुने गरेको देखिन्छ । व्यापारिक तवरमा कुनै पनि संघ संस्था व्यक्ति आदिले यसको खेती गरेको देखिदैन् तर हाल आएर बर्राेको बढ्दो उपयोग र व्यापारमा हुन सक्ने वृद्धिलाई हेर्दा यसको खेती सामुदायिक वन, कबुलियती वन, किसान आदिहरुबाट तदारुकताका साथ गर्न, गराउन अग्रसर हुनुपर्ने देखिन्छ ।

बर्राे प्राकृतिक रुपमा केहि क्षेत्रहरुमा मात्र पुनरोत्पादन भएको देखिन्छ जसले बर्राेको मागलाई पुरा गर्न सकेको देखिदैन् । रुखबाट छिप्पिएर भुईमा खसेका बीउहरु धेरै कम मात्रामा उम्रन्छ । यसको फलहरु भुईमा खसेपछि मुसा, लोखर्के तथा यस्तै प्रकारका अन्य स–साना जनावरहरुले खाने गर्दछन् । यसरी बाँकी रहेका बीउहरु माटोमा वा पत्कर तथा अन्य सुकेका झ्यासहरु भित्र छोपिएमा विरुवा उम्रन सक्दैनन् । त्यसैले यसको खेतीका लागि नर्सरीमा बीउबाट विरुवा उमारेर तथा हाँगाको कटिङ्ग गरि विरुवा तयार गर्न सकिन्छ । नर्सरीमा बीउबाट तयार पारिएका बेर्ना ६ देखि ८ महिनामा रोप्न लायक हुन्छ । यसरी तयार भएका विरुवाहरु आषाढ देखि श्रावणसम्म रोप्न सकिन्छ ।

बर्राेको बाली संकलन भनेको यसको फलटिप्नु हो । बर्राे मंसिर देखि फाल्गुन महिनासम्म संकलन गर्नुपर्दछ । विरुवाहरु प्रायः १० वर्ष पुगेपछि मात्र बाली संकलन योग्य हुने गर्दछन । प्रति रुखबाट करिब ५० किलोग्रामसम्म फल संकलन गर्न सकिन्छ । संकलन गरिसकेपछि फलहरुलाई घाममा सुकाई ओभानो ठाउँमा जमिन वा भित्तामा नछुने गरी काठका फल्याकहरुमाथि राख्नु पर्दछ । बर्राेको बोक्रा, फल र बीउहरु विभिन्न औषधिहरुमा उपयोग गरिन्छ । यसको फल र बीउ व्यापारिक प्रयोजनमा प्रयोग हुने गर्दछ भने बोक्रा परम्परागत तथा स्थानीय औषधिहरुमा प्रयोग हुने गर्दछ । यसको फल औषधिय पदार्थको रुपमा प्रयोग गरिन्छ । यसलाई आगोमा पोलेर चिसो, कफ, स्वर खुलाउन, घाँटि दुखेमा, ज्वरो नियन्त्रण गर्ने काममा प्रयोग गरिन्छ । यसको धुलो घाउहरुमा रगत रोक्न प्रयोग गर्न सकिन्छ ।

बर्राेको बीउबाट निकालिएको तेल वा फलको धुलो शरीरका सुन्निएको भाग वा दुखेको भागमा लेप लगाईन्छ । यसको फलले पाचन शक्ति बढाउने, भोक जगाउने आदि कार्य गर्दछ । आयुर्वेदिक औषधि त्रिफला बनाउन बर्राेको प्रयोग गरिन्छ । बीउबाट निकालिएको तेल कपालको सुन्दरता बढाउन उत्तम मानिन्छ । यसमा टयानिन नामक रसायन पाइन्छ । टयानिन छाला उद्योगहरुमा छाला चम्काउन तथा छालालाई लामो समयसम्म टिकाउ बनाउन प्रयोग गरिन्छ । यसको प्रयोग विभिन्न रंगहरु बनाउन तथा मसी बनाउनमा समेत प्रयोग हुने गर्दछ । हालसालै यसलाई क्यान्सर रोग उपचारमा प्रयोग गर्न सकिने उत्साहवर्द्धक परिणाम अनुसन्धानबाट देखिएको छ ।

निष्कर्षमा नेपाल वन र वनस्पतिको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ । यहाँ पाइने करिब ७०० प्रजातिको गैरकाष्ठ वन पैदावार तथा जडीबुटी बाट पर्याप्त आम्दानी तथा लाभ लिनसक्ने सम्भावनाका बावजुद राष्ट्र तथा स्थानीय स्तरमा उल्लेखनीय रुपमायसको लाभ लिन सकेको छैन् । उपलब्ध गैरकाष्ठ वन पैदावारहरुलाई वैज्ञानिक अध्ययन, दिगो व्यवस्थापन, व्यवसायिक खेती, मूल्य अभिवृद्धि तथा बजार प्रवद्र्धनद्धारा स्थानीय समुदायको आयस्तामा वृद्धि, रोजगारी श्रृजना र गरीबी न्यूनिकरणका लागि एउटा भरपर्दाे आधार बनाउन सकिन्छ । यसका लागि सम्बन्धित निकाय सदा क्रियाशिल र समर्पित रहनु पर्दछ ।

अतः बर्राे विभिन्न आयुर्वेदिक औषधि, तेल, रंग, मसि तथा क्यान्सर रोग उपचारमा समेत प्रयोग हुने भएकोले यसको माग नेपाल, भारत तथा विश्वभरी बढ्दो छ रनेपालको हावापानी र प्राकृतिक तथा भौगोलिक वनावटको आधारमा हाम्रो देशमा बर्राे खेतिको प्रचु्र सम्भावना रहेको छ । बर्राे खेतिको यस सम्भावनालाई योजनाबद्ध तरिकाबाट तिनै तहको सरकारलेव्यवसायिक रुपमा विकास गरी नेपालमा रहेका विभिन्न आयुर्वेदिक औषधि कम्पनीहरुमा यसको मागलाई पूर्ति गर्न सके देशैमै रोजगारीको सृजना गरी देश आर्थिक चलायमान बनाउन सकिने थियो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया