Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसौन्दर्य कला र नारी स्वरोजगार

सौन्दर्य कला र नारी स्वरोजगार


काठमाडौं । ‘सौन्दर्यताका लागि कलाकारी, सम्पन्नताका लागि रोजगारी’ भन्ने मूल भावका साथ रोजगारीमा नारी सशक्तीकरण अनि आर्थिक उपार्जनमा महिला रोजगारीका अवसरहरू सिर्जना गरी नेपाली समाजका विद्यमान महिला-पुरुषबीचको वित्तीय विभेदलाई अन्त्य पार्न सौन्दर्य कलाको क्षेत्र प्रभावकारी बन्दै गएको छ । राज्यले आवश्यक रोजगारीका अवसरहरू उपलब्ध गराउन असमर्थ भएको वर्तमान परिस्थितिमा अधिक युवा जनशक्ति विदेशिन बाध्य हुनुपरेको छ ।

यही वास्तविकतालाई मध्यनजर गर्दै नयाँपुस्ताका युवाशक्ति सौन्दर्यकलाको पेसा–क्षेत्रप्रति आकर्षित हुँदै गएका छन् । यसै क्षेत्रमा अनुभव हासिल गर्दै गएपछि स्वदेशमै उचित स्वरोजगारीमा अवसरहरू सृजना गराउन महिलाहरू नै सक्षम भएका छन् । दायरा अझै फराकिलो पार्दै लाने हो भने सौन्दर्य कलाको क्षेत्र नै महिलाहरूका लागि निर्विकल्प छनोट बन्न सक्छ । किनभने आधुनिक जीवन शैलीमा नारीहरूका लागि सौन्दर्य दैनिक अपरिहार्यताजस्तै बनिसकेको छ ।

उसो त प्रसिद्ध अमेरिकी लेखक, दार्शनिक, अभियन्ता तथा इतिहासविद् हेनरी डेभिड थोरोले भनेका छन्– ‘तपाईँ आफू नराम्रो छु भन्ठान्नु पर्दैन, कसै न कसैका लागि धपक्क बलेको हुनुहुनेछ ।’ हुन पनि कोहीको नजरमा नराम्रो देखिएको त्यही व्यक्ति अरु कोहीको नजरमा भने सुन्दर-सुन्दरी हुन्छ । यस अर्थमा राम्रो र नराम्रोको कुनै मापदण्ड हुँदैन । तर, मानव स्वभाव न हो ऊ कहिल्यै पूर्ण सन्तुष्ट हुँदैन । फेरि आफूसुहाउँदो पहिरनमा चिटिक्क पर्ने, आकर्षक देखिने चाहना कुन मानिसमा नहोला र ? तर, अफसोच सबैले चाहेर यस्तो रहर पूरा हुँदैन । कतिको शारीरिक बनावटले साथ दिँदैन त कतिपयको पहिरनले । यी सबै ठीक भए पनि सौन्दर्यमा विशेष ध्यान दिइएन भने त्योचाहिँ अपूर्ण नै हुन्छ । यही भएर हुनुपर्छ पछिल्ला दिनमा सौन्दर्यकला मानव जीवनका लागि अपरिहार्यजस्तै बनेको हो । यसैको परिणाम सौन्दर्यकर्मी तथा प्रशिक्षकको माग र इज्जतसमेत बढ्दो छ ।

हुन पनि अहिले विवाहदेखि, पार्टी, फोटोसुट, म्युजिक भिडियो, टेलिफिल्म, फिल्म, फेसन सो आदि सबैमा सौन्दर्य कला र कलाकर्मीको आवश्यकता पर्छ । त्यसैले यस पेसाप्रतिको मोह बढ्दो छ । प्रशिक्षण लिनेको संख्या दिनानुदिन थपिदो छ । विभिन्न संस्थामार्फत बाहिर प्रशिक्षण दिन जाँदा मनग्गे आम्दानी हुन्छ । कतिपय बेला त त्यस्तै दुई-अढाइ घन्टा मेकअप गरेबापत पाँचदेखि २० हजार रुपैयाँसम्म कमाइ हुन्छ । फेरि मेकअप आज चाहिने, भोलि नचाहिने भन्ने हुँदैन । यति मात्रै होइन, नेपालमा सौन्दर्य पेसा/व्यवसायप्रति हेरिने दृष्टिकोण समय परिस्थितिसँगै क्रमशः बदलिन थालेको छ । व्यक्ति तथा समाजको सोचमा आएको परिवर्तनले नै यस पेसामा सामाजिकता पनि थपिएको छ । र त हाल महामारीको रुपम लिएको कोरोनाजस्ता भवितव्य घटनाबाहेकको समयमा यो पेसासमेत व्यावसायिक रूपमा नै दु्रत गतिमा फस्टाउन थालेको हो । तथ्यांकहरूका अनुसार, नेपालमा सौन्दर्यकर्मीको संख्या हाल तीन लाखको हाराहारीमा छ ।

हरेक बिहानी सूर्योदयसँगै प्रत्येक महिलामा प्राकृतिक बनोटलाई आधुनिक सजावटबाट आफ्नो स्वरुपमा उत्कृष्टता झल्काउने कलाकारिता नै सौन्दर्य कलाको महत्वपूर्ण विशेषता हो । समयको गतिसँग बहने मानवीय स्वभावमा परिर्वतन हुने आवश्यकता, इच्छा र आकांक्षा प्रबल रहन्छ । यसले आधुनिक जीवनको मौलिक परिभाषा मात्रै बदलेको छैन, सौन्दर्य कला क्षेत्रमा स्वरोजगारीका अवसरहरू दु्रत गतिमा थपेको छ । महिला तथा घरपरिवारको आर्थिक सम्पन्नता, आत्मानिर्भरताको पहिलो र बलियो खुट्किलो पनि बन्दै गएको छ–सौन्दर्य कलाको क्षेत्र ।

हाम्रो देशको सन्दर्भमा ‘छोरा हुन् वा छोरी, दुवै बराबरी’ भन्ने नवीनतम सोचका कारण समाजमा छोराछोरीका लागि समान शैक्षिक अवसर र लगानीको प्रतिफल उत्साहजनक रहेको पाइन्छ । अबका शिक्षित महिला आफूलाई घरधन्दामा मात्र सीमित गराउन चाँहदैनन् । आफू स्वावलम्बी बन्न र आफ्ना सन्तानलाई बनाउन हरेक क्षण पाइला चलाउन अग्रसर छन् । हाल सरकारी–गैरसरकारी रोजगारी वा निजी व्यवसाय नै किन नहोस् महिला सहभागिताको अवस्था उत्साहजनक छ । पछिल्ला दिनमा विशेषतः घरायसी कामकाजमा अल्मलिने महिलाहरूको तुलनामा घरबाहिर अग्रसर महिलाहरूको संख्या दिनप्रतिदिन उल्लेख्य वृद्धि भएको पाइन्छ ।

त्यसो त सौन्दर्य कला नारीहरूका लागि आन्तरिक तथा बाह्य रोजगारी सिर्जना गर्ने प्रचुर सम्भावना बोकेको क्षेत्र भए पनि हालसम्म यसप्रति चासो राख्ने महिलाहरूलाई राज्यले उचित सम्मान र व्यवस्थापन गर्न सकेको छैन । प्रोत्साहन, व्यावसायिक सीप ज्ञान, प्रशिक्षण, व्यवसाय वृद्विका लागि लगानी, लगानीको अवसर प्रदानजस्ता कार्यमा राज्य चुकेको छ । र त आशा गरिएजति यो क्षेत्र फस्टाउन सकेको छैन । अतः सौन्दर्य कलाका सम्बन्धमा सरकारी निकायबाटै आवश्यक सम्पूर्ण पहलकदमी गर्न ढिलाइ भइसकेकाले तत्काल थाल्न जरुरी छ । यसबाट महिला स्वरोजगार र आर्थिक रुपमा सबल मात्रै हुँदैनन्, महिलाको भविश्य सुनिश्चित गर्ने राष्ट्र भनेर नेपाल विश्वसामु चिनिनेछ । (शाह वरिष्ठ मेकअप आर्टिस्ट तथा प्रशिक्षक हुनुहुन्छ)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया