Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसामुदायिक सिकाइ केन्द्र एक : सिकाइ र कमाइ अनेक

सामुदायिक सिकाइ केन्द्र एक : सिकाइ र कमाइ अनेक


काठमाडौं । समुदायका मानिसहरू मिलेर समुदायको विकासका लागि समुदायबाटै स्थापना र व्यवस्थापन गर्नेगरी अनौपचारिक प्रकृतिको स्वायत, स्वशासित स्थानीय शैक्षिक संस्था सामुदायिक सिकाइ केन्द्र हो । जहाँ समुदायका मानिसहरूको आवश्यकता र चाहना अनुसारको कार्यक्रम सञ्चालन गरिन्छ । समुदायको सशक्तीकरणका लागि सामुदायिक सिकाइ केन्द्र एक निर्विकल्प संस्था हो । सामुदायिक सिकाइ केन्द्रले समुदायका व्यक्तिहरूको जीवनस्तर उकास्न सिकाइ र कमाइसँगै लगेका सफल उदाहरण नेपालमा पनि पाइन्छ । आफ्नो क्षमताअनुसार शिक्षा र सीप आर्जन र परिष्कृत गर्दै स्वरोजगार बन्ने अवसर प्राप्तिमा सामुदायिक सिकाइ केन्द्र एक सशक्त माध्यम बन्दै आएको छ ।

सामुदायिक सिकाइ केन्द्रले व्यक्तिको शारीरिक, मानसिक, सामाजिक विकास र विस्तारका साथै नवीनतम ज्ञान र सीपबाट सुसूचित गर्दै सशक्तीकरण गर्न समयको माग र समुदायको आवश्यकताअनुसार विभिन्न कार्यहरू गर्छ । निरक्षर व्यक्तिहरूलाई अनौपचारिक शिक्षाको माध्यमबाट आधारभूत शिक्षा पाउने अवसर, विद्यालयबाहिरका केटाकेटीहरूलाई अनौपचारिक शिक्षाको माध्यमबाट विद्यालय शिक्षा प्राप्त गर्ने अवसर, समुदायका व्यक्तिहरूलाई साक्षरता, साक्षरोत्तर तथा निरन्तर शिक्षा जीवनपर्यन्त शिक्षा पाउने अवसर, व्यक्तिलाई आवश्यक ज्ञान सीप सूचना उपलब्ध गराउन पुस्तकालय वा स्रोतकेन्द्र सञ्चालन, समुदायका मानिसहरूको जीवनस्तर बढाउन पेसागत समूहहरू गठन गरी समूहगत कृयाकलापबाट पेसाको विकास गर्न प्रोत्साहन, समुदायमा परस्पर मिलेर काम गर्ने बानीको विकास, समुदायमा रहेका समस्या पहिल्याई समाधान गर्न योजना, कार्यक्रम बनाउने र ल्याउने र कार्यान्वयनम पहल, स्थानीय स्रोतसाधन परिचालन गरी विभिन्न सामुदायिक विकास कार्यक्रम सञ्चालन, सरकारी तथा गैरसरकारी निकायसँग मिलेर समुदायको विकासमा सहकार्य, विपन्न र पिछडिएका वर्गका बासिन्दालाई रोजगार र विकासको मूलधारमा ल्याउने, मानवीय स्रोत विकासको लागि राय सल्लाह प्रदान एवं परामर्श सेवा उपलब्ध गराउने आदि अनेकौँ काम सामुदायिक सिकाइ केन्द्रले गर्दै आएका छन् ।

साथै निरक्षर महिला पुरुषलाई साक्षर बनाउने, गृहिणी महिलालाई लक्षित गरी मैनबत्ती, धूप अगरबत्ती बनाउने, तरकारी खेती, सिलाइबुनाइ, कुखुरा तथा पशुपालनका तालिम र प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरेका उदाहरण छन् । जसको फलस्वरुप जनसमुदायको आर्यआर्जनमा वृद्धि गर्दै स्वरोजगार बनेका कैयौँ उदाहरण छन् । अझ यसले खासगरी निरक्षर र निमुखा महिलाहरूलाई सशक्तीकरणका साथै नेतृत्व क्षमताको विकास गर्दै स्वरोजगार र आत्मनिर्भर बनाउनेतर्फ पनि विशेष योगदान गरेको पाइन्छ ।

नेपालमा बेरोजगारीको समस्या दिनप्रतिदिन विकराल बन्दै गएको छ । रोजगारीको लागि नेपालीहरू भौतारिँदै आफ्नै देशमा उपलब्ध पेसा अँगाल्न हिच्किचाउँदै हजारौँ, लाखौँ रुपैयाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफूलखेती, भेडा चराउने, गधा जोत्नेजस्ता कृषिजन्य काम गर्न तँछाडमछाडका साथ पुगेका छन् ।

अर्कोतर्फ छिमेकी देशहरूबाट रोजगारिका लागि नेपाल आएर फलफूल तरकारी र अन्य सामान बेच्न सहर बजारमा मात्र नभएर विकट गाउँहरूमा पनि छ्यापछ्याप्ति पुगेको पाइन्छ । तर गर्वका साथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन ? त्योभन्दा तल्लोस्तरको काम गर्न मुगलान नै पस्नुपर्ने किन ? यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ? आफ्नो देशमा रोजगारी नपाएमा चारैतिर अभावै अभावबाट छटपटिई निराश भई विरक्तिएर विदेशिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर विचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ । यसरी तावाबाट उम्केको माछा भुंग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ ।

नेपाल कृषिप्रधान देश भए पनि वार्षिक अर्बौँ रुपैयाँको तरकारी, फलफूल तथा अन्नहरू आयात हुँदै आएको छ । आफ्नो परिवारसँगै घरमा बसेर मनग्ये आम्दानी गर्न सकिने पेसा व्यवसाय अँगाल्न उत्प्रेरित गर्ने वातावरणको खाँचो खट्किएको महसुस हुन्छ । सामान्य पेसा पनि स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराइमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले विदेशिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नु पर्ला ? चिन्ता र चिन्तनको विषय बन्नु पर्दछ ।

शिक्षा आर्जन जीवनपर्यन्त निरन्तर चलिरहने प्रक्रिया हो । आजको एक्काइसौँ सताब्दीमा विज्ञान र प्रविधिमा क्षण–क्षणमा चामत्कारिक आविष्कार भइराखेको छ । नवीनतम आविष्कारित ज्ञान र सीपलाई व्यक्तिले समयानुकूल आर्जन गर्दै आत्मसात् गर्ने सुविधायुक्त संस्था समुदायमा हुन पर्दछ । हाम्रो समुदायमा परम्परागत औपचारिक अनौपचारिक रूपमा सञ्चालित गुठी क्लबहरू केही नभएका होइनन् । तर तिनीहरूको संख्या र कार्यक्रममा व्यापकता पाइँदैनन् ।

सबैखाले जनसमुदायलाई समेट्ने खालको संस्थागत संरचनाको व्यवस्था राज्यले गर्नुपर्ने खाँचो खट्किएको देखिन्छ । समुदायको सशक्तीकरण र समृद्धिको अपेक्षासहित सामुदायिक सिकाइ केन्द्रको स्थापना विश्वका कतिपय देशहरूमा भएका छन् । जापान, थाइल्याण्ड, कम्बोडिया, भियतनाम आदि देशहरूमा यसको प्रभावकारिता उदाहरणीय पाइन्छ ।

हाम्रोमा पनि दशौँ पञ्चवर्षीय योजनादेखि सामुदायिक सिकाइ केन्द्रको स्थापना गर्ने नीति राज्यले लिएको पाइन्छ । नेपालमा अझै पनि ३७ प्रतिशत जनसंख्या निरक्षर र ३८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । यी व्यक्तिहरूको लागि साक्षरता शिक्षा, निरन्तर शिक्षा तथा कार्यमूलक शिक्षा प्रदान गर्न समुदायको विकासमा टेवा पु-याउने उद्देश्यले नेपाल सरकारले दशौँ पञ्चवर्षीय योजनाको अवधि (२०५९–२०६४)मा प्रत्येक निर्वाचन क्षेत्रमा एक ओटाका दरले २०५ सामुदायिक अध्ययन केन्द्र स्थापना गर्ने लक्ष्य राखेर कार्यक्रमको सुरुवात गरेको थियो ।

सामुदायिक सिकाइ केन्द्रमा समुदायका व्यक्तिहरूको इच्छा र आवश्यकताअनुरूप पेसागत सीपलाई परिस्कृत र समसामयिक बनाउने तालिम पनि सञ्चालन गर्दछ । त्यस्तै विभिन्न पेसाका महिलाहरूको आयआर्जन समूह बनाएर जीवनस्तर उकास्दै र आत्मनिर्भर बनाएको उदाहरण पनि छन् । अर्कोतर्फ समुदायका व्यक्तिहरूलाई व्यावसायिक रोजगारका लागि सामुदायिक अध्ययन केन्द्रले नै जमिन, पोखरी आदि भाडामा लिँदा सामुहिक खेती गर्ने उत्पादन किन्न बेच्नको लागि बजार व्यस्थापन गर्ने समेत काम गरेको उदाहरण चितवन, रूपन्देही, कपिलवस्तुमा प्रशस्त पाइन्छ ।

यसप्रकार सामुदायिक अध्ययन केन्द्र साक्षर शिक्षित बनाएर सूचना प्रविधिमा सशक्तीकरण गर्ने तथा आयआर्जन वृद्धि गरेर जीवनस्तरलाई निर्वाहमुखीबाट व्यायसायिकमुखी गरेर आत्मनिर्भर नागरिक बनाउने एक सशक्त संस्था हो भन्दा अन्यथा नहोला कि ? सामुदायिक सिकाइ केन्द्रमा समुदायको आवश्यकता र मागअनुसारको पेसागत तालिम, भाषा शिक्षण समेत दिन सक्ने भएकोले वैदेशिक रोजगारमा जाने वा देशमै काम गर्नेहरूलाई आवश्यक सीपमूलक दक्षता बढाएर उनीहरूको पारिश्रमिक र आयआर्जनस्तर बढाउन सकिनेछ । वैदेशिक रोजगारमा जानेहरूको लागि व्यावसायिक सीपको तालिम दिएर पठाउन सकेमा रेमिटेन्समा वृद्धि भई देशको अर्थतन्त्रमा नै सकारात्मक असर पर्ने यथार्थता हो ।

समुदायलाई सशक्तिकरण गर्दै समृद्धि ल्याउन सामुदायिक सिकाइ केन्द्रको भूमिका महत्वपूर्ण रहे पनि व्यवस्थापकीय अवस्था टीठलाग्दो छ । पर्याप्त स्रोतसाधानको अभाव, नगन्य सरकारी अनुदान रकम, भौतिक संरचनाको अभाव, सरकारका तीनै तहका सरकारले स्वामित्व नलिनु, कतिपय सामुदायिक सिकाइ केन्द्र दर्ता हुँदादेखि नै आफ्नो मान्छेलाई जागिर खुवाउने नियतले गर्दा झोले हुन पुगेका उदाहरण अनौठो छैन् । सिकाइ र कमाइ साथसाथै गर्ने खालका कार्यक्रमले समाजमा सम्मानित जीवन जिउने योग्यताको विकासको लागि सामुदायिक सिकाइ केन्द्र एक सशक्त माध्यम बन्ने र बनाउनेतर्फ सरकार र सरोकार पक्षको ध्यान जानु जरुरी छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया