Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगप्राकृतिक विपद्मा मानवीय सहायताको पक्ष

प्राकृतिक विपद्मा मानवीय सहायताको पक्ष


 काठमाडौं । नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको छ । प्राकृतिक प्रकोप नेपालको स्थायी समस्या हो । नेपालमा सामान्यतः १० जुनदेखि २३ सेप्टेम्बरसम्म करिब चार महिनाको मनसुनी अवधिमा ठूला विपद् हुनेगरेका छन् । वर्षा लागेसँगै बाढी, पहिरो, डुबान, कटान हुन थाल्छ । कहिलेकाहीँ हिमनदी र हिमतालले पनि समस्या ल्याउने गरेका छन् । चट्याङ, आगलागीका घटनाले पनि वर्षेनी धेरै जनधनको क्षति हुने गरेको छ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्यांक हेर्दा विसं २०७२ सम्म विपद्का दुई हजारभन्दा कम घटना भएका थिए । विसं २०७३ पछि विपद्का घटना क्रमशः दुई हजारबाट उकालो लागेकामा पछिल्ला केही वर्ष (विसं २०७५–२०७७) मा भने चार हजार बढी प्राकृतिक विपत्तिका घटना भएका छन् ।

बाढीका कारण हुने मानवीय क्षति घटे पनि पहिराबाट हुने क्षति बढ्दै जाने अर्काे जोखिमको विषय बन्न पुगेको छ । अधिकांश घटना मनसुनका बेला भएकाले उक्त तथ्यांकले नेपालमा मनसुनजन्य जोखिम थप चुनौतीपूर्ण रहेको देखिएको छ । विपद्का दृष्टिले भूकम्पलाई छाडेर हेर्दा पछिल्लो दशक बाढीका कारणले हुने मृत्यु दर घटेको तर पहिराबाट हुने क्षति भने बढेको छ । पछिल्लो एक दशक (विसं २०६८–२०७७) मा विपद्का २४ हजार पाँच सय ८६ घटना भयो । उक्त विपद्बाट चार हजार ५६ को मृत्यु भएकामा त्यसको आधा मानवीय क्षति बाढी र पहिराले गराएको छ । उक्त अवधिमा सबैभन्दा बाढी पहिराले एक हजार दुई सय पाँच, दोस्रोमा चट्याङ्बाट नौ सय ९९, तेस्रोमा बाढीले ७९४ र चौथो नम्बरमा आगलागीले ७१० को ज्यान लियो ।

गृह मन्त्रालयको नेपाल विपद् प्रतिवेदन २०१९ अनुसार मनसुनजन्य प्रकोपका कारण वार्षिक झण्डै एक हजारले ज्यान गुमाउने गरेका छन् । जलप्रकोपका कारण हुने मृत्युका हिसाबले नेपाल दक्षिण एसियामा नै सबैभन्दा उच्च जोखिम भएको मुलुकमा पर्छ । भूकम्प र जल प्रकोपबाट बढी क्षति पुग्ने देशमध्ये नेपाल विश्वमा क्रमशः एघारौँ र तीसौँ स्थानमा छ । मूल कुरा प्राकृतिक प्रकोपका उच्च जोखिम क्षेत्र पहिचान गरी जोखिम न्यूनीकरणका लागि राज्यका तर्फबाट प्रभावकारी पहल हुनुपर्छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष झण्डै १८ लाख जनसंख्या बाढी, पहिरो र डुबानबाट प्रभावित हुने अनुमान गरेको छ । यसका लागि केही पूर्वतयारीसमेत भएको छ ।

नेपालमा प्रतिवर्ष विभिन्न विपद्हरूबाट सरदर औसतमा एक हजारको हाराहारीमा मानिसहरूको मृत्यु हुने गर्दछ । जसमध्ये वार्षिक तीन सय जनाको मृत्यु बाढी तथा पहिरोका कारणले मात्रै हुने गर्दछ । विपद्को कारण नेपालले हरेक वर्ष औसतमा एब अर्ब २१ करोडको बराबरको सम्पत्तिको क्षति व्यहोर्नु परेको छ । त्यसैगरेर नेपालको विकास दर ३ देखि ४ प्रतिशतले रहेको छ भने विपद्ले विनाश गर्ने दर ८ देखि २५ प्रतिशतसम्म हुने गरेको देखिएको छ । कमजोर भू–बनोट, जटिल भूगर्भीय संरचनाका कारण नेपाल विपद्को उच्च संकटासन्नताको अवस्थामा रहेको छ ।

प्राकृतिक विपद् र मानवीय सहायताको अवस्थालाई केही समयअघि सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा आएको बाढीको घटनालाई नै एउटा उदाहरणको रुपमा लिन सकिन्छ । प्राकृतिक विपद्को हिसाबले सिन्धुपाल्चोक जिल्ला बाढी र पहिरोको बढी जाने क्षेत्रहरूमध्ये पर्दछ । वर्षेनी यो जिल्ला प्राकृतिक घटनाबाट प्रभावित हुँदै आएको छ । यहाँको भौगर्भिक बनावटका कारण जिल्लाका अधिकांश क्षेत्रहरू बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् ।

२०७२ सालको भूकम्पले सिन्धुपाल्चोक जिल्लामै सबभन्दा बढी क्षति गरेको थियो । केही अघिको जुरे र गत वर्षको लिदी पहिरोको त्रासदी बिर्सन नपाउँदै यसपटक पुनः त्यस्तै विपद् थपिएको छ । पछिल्लोपटक २०७८ असार १ गते निरन्तर परेको भारी वर्षाका कारण जिल्लाको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले छ जनाको मृत्यु र २० जनाभन्दा बढी बेपत्ता भएका थिए भने तीन सयभन्दा बढी परिवार घरवारविहीन भएका छन् । यसअघि पनि यस्ता ठूला विपद्का घटनाहरू भएका थिए । २०७३ सालमा भोटेकोशी र सुनकोशीमा बाढी आएको आएको थियो भने २०७१ सालमा आएको पहिरोको कारणबाट राम्चेमा एक सय ४५ जनाको मृत्यु भएको थियो । यहाँको भौगोलिक बनोट र नदी किनार तथा पहाडमा बस्ती बसेको कारण बाढी र पहिरोको उच्च जोखिममा रहेको भूगर्भविद्हरूको भनाइ रहेको छ । २०७२ सालको महाभूकम्पको असरले पनि त्यस क्षेत्रमा पहिरोको जोखिम बढेको थियो ।

२०७८ असार १ गते मेलम्ची र इन्द्रावती नदीमा पानीको उच्च बहाब आएको थियो । मेलम्ची माथिबाटै गेगरसहित बगाउँदै र नदी तटीय क्षेत्रसमेत कटान गरेको छ । मेलम्चीको शिर क्षेत्रमा हिमनदीले विगतमा थुपारेका गेग्य्रान बगेर तल्लो तटीय क्षेत्रमा ठूलो क्षति गराएको प्रारम्भिक अनुमान छ । विगतमा बसेको गेग्य्रान भूकम्पले हल्लाएर कमजोर बनाएको र भारी वर्षा हुँदा त्यसलाई बगाएर ठूला क्षति गरेको विज्ञहरूको भनाइ छ ।

बाढीले नदीवरपरका कैयन ठाउँको धरातलीय स्वरुप नै परिवर्तन गरेको छ । नदी आसपासका अरु कैंयन साना–ठूला बस्ती पनि नराम्ररी प्रभावित छन् । दशकौँको प्रयासपछि बनेका पक्की पुलहरू छिनभरमै भत्किएका छन् । बाढीले सडक र मोटर पुलमा पुगेको क्षतिले यस क्षेत्रको यातायात सेवामा आगामी केही वर्ष कठिनाइ थपिएको छ । केही छिटपुटबाहेक सबै झोलुंगे पुल पनि बाढीले बगाएको छ । कैयन सामुदायिक संरचनामा असर पुगेको छ । तालामाराङ, ग्याल्थुम आदि स्थानका विद्यालयहरूमा समेत क्षति पुगेको छ । नदीको दायाँबायाँका लगभग सबै फाँटहरू लेदो र ढुंगाले पुरिएका छन् । बालीनाली, पशु चौपाया, व्यापार व्यवसायमा ठूलो नोक्सानी भएको छ ।

विपद् नै नआओेस् भनेर समयमै ध्यान दिनुपर्नेमा सरकार तथा नागरिक उत्तिकै सचेत हुनुपर्ने देखिन्छ । बसोवास चयनदेखि विपद्अगाडि सम्बद्ध निकायले जारी गर्ने सुरक्षात्मक सचेतना/सूचनालाई ध्यान दिएर नागरिकले जोखिम न्यूनीकरणमा सहयोग गर्न सक्छन् । परापूर्वकालदेखि बसी आएका मानिसलाई आफ्नो थातथलो तत्काल छाड्न सम्भव हुँदैन तर वा नयाँ विकास भएका बजार तथा सहरी क्षेत्रमा आवास निर्माण गर्दा विपद् सुरक्षाका दृष्टिकोण तथा मापदण्डलाई उपेक्षा गर्न नहुने विपद्का विभिन्न घटनाले स्पष्ट गरेका छन् ।

विपद्को समयमा हुने उद्धार, राहत एवं पुनर्स्थापनाका काममा मानवस्य सहायताको विषय निकै महत्वपूर्ण र संवेदनशील हुन्छ । विपद्मा परेकालाई सबैभन्दा पहिलो आवश्यकता खाद्यान्न नै हो । त्यसपछि स्वास्थोपचार, लत्ताकपडा, आवासलगायतका अन्य कुरा पर्छन् । राहत वितरणका लागि गरिने यस्ता विभिन्न कार्यक्रमले पीडितलाई सहज अवश्य नै गर्छ । यस्तो सहयोगलाई नितान्त ‘मानवीय’ बनाउन सक्नुपर्छ । मेलम्चीको विपद्पछि पीडितका लागि खाद्यान्न, लत्ताकपडालगायत अन्य सामग्रीहरू उपलब्ध भएको थियो । मेलम्चीभन्दा माथिल्लो भाग जहाँ बाढीले निकै क्षति पु-याएको थियो, त्यहाँसम्म जाने सडकसमेत बाढीले बगाएको र पहिरोले क्षति गरेको हुँदा अधिकांश सामग्रीहरू मेलम्चीमै थुप्रिन पुगेको थियो । हेलम्बुका जनताले एक हप्तापछि मात्रै राहत पाउन सकेका थिए ।

सुरुका दिनहरूमा राहतस्वरुप उपलब्ध गरिएका खाद्यलगायत अन्य सामग्रीहरूको उपयोग राम्रैसँग भए पनि केही दिनसम्म राहत सामग्रीहरू आउने क्रम नरोकिएपछि मेलम्ची नगरपालिकाले कुनै भौतिक सामग्री नल्याउन समेत आग्रह गर्नुपरेको थियो । कतिपय व्यक्ति वा संस्थाका तर्फबाट केही राहतका सामग्री लिएर सञ्चार माध्यममा छाउने, केही गरेको सस्तो लोकप्रियतामा रमाउने क्रम पनि बढ्न थाल्यो ।

राहत वितरणमा एकद्वार नीति अपनाइएकाले खासै समस्या नआएको भए पनि वितरण गर्न ल्याइएका सामग्रीहरू पीडितको वास्तविक आवश्यकताभन्दा सहयोगदाताको इच्छा र लहडमा हुने हुँदा त्यसले मानवीय संवेदनालाई आत्मसाथ गर्न सकेको देखिएन । उदाहरणका लागि अधिकांशले चामल र चिउरा उपलब्ध गराउँदा एक त त्यसको भण्डारणको समस्या रह्यो भने अर्कोतिर बर्खाको समयमा धेरै समय भण्डारण गर्न सकिँदैन, खेर गएको अवस्था पनि देखिन्छ । केही पोका चाउचाउ, चामल लिएर हेलिकोप्टरमा जाने गर्दा त्यसले पीडितको मानवीय संवेदनामा चोट पुग्दछ । तत्कालीन राहत र अस्थायी आवासका लागि स्थानीय समुदाय र सरकार आफैँ सक्षम छन् । बाहिरी सहयोगी मनहरूले सहयोग गर्ने हो भने स्थानीय सरकारमार्फत मात्र सहयोग गर्ने संयन्त्र निर्माण गर्न सकिएमा जथाभावी राहत सहयोगले विवादहरू बढाउने स्थिति आउन पाउँदैन ।

पीडितको आँसुको लिलामी गरेर आफू मुस्कुराउँदै सन्तुष्टि खोज्ने दाताको भीड बढ्न थालेको छ । पीडितलाई राहत बाँड्ने क्रममा कुहिएको चाउचाउ, ढुसी परेको चिउरा, चिलेसो लागेका चामल र च्यात्तिएका त्रिपाल पनि भेटिएका थिए । राहतको नाममा भएको यसरी मानवीय समवेदनासँग खेल्ने अभियानलाई पक्कै पनि निरुत्साही गर्नु जरुरी देखिएको छ । वास्तविक पीडितको अवस्था कस्तो छ ? उनीहरूलाई तत्काल के कुराको आवश्यकता छ ? यस्तो समयमा उनीहरूसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने विषयमा दाता केही जानकार हुनुपर्ने देखिन्छ । सम्बन्धित क्षेत्रको आधिकारिक संस्था, निकायलगायतसँग सम्पर्क गरी आवश्यक सामग्री सहयोग गरेको अवस्थामा भने पीडितले वास्तविक राहत पाउने मात्र होइन, उनीहरूको भावनामा ठेस लाग्न पाउँदैन ।

स्वास्थ्य सेवा, मनोपरामर्श, महिला तथा बालबालिकाका लागि आवश्यक सामग्री पनि राहत हो भनेर सम्झने कमै मात्रामा थिए । विद्युत् अवरोधका कारण आवश्यक वैकल्पिक ऊर्जाका सामग्री, उद्धारका लागि आवश्यक पर्ने विभिन्न उपकरण उपलब्ध गराउनुको सट्टा उक्त क्षेत्रमा खाद्यान्नको मात्रै थुप्रो लागेको देखिन्थ्यो । यसरी सस्तो प्रचारबाजीले पीडिको मानवीय संवेदनामा गम्भीर असर पार्ने भएकाले देखाउनकै लागि एक-दुई बोरा चामल, चिउरा, दुई/चार प्याकेट चाउचाउ बाँडेको नाटकको अन्त्य हुनै पर्ने देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया