Techie IT
×
गृहपृष्ठविचारसमृद्धिका लागि बौद्धिक वर्गहरूको रूपान्तरणको खाँचो

समृद्धिका लागि बौद्धिक वर्गहरूको रूपान्तरणको खाँचो


काठमाडौं । नेपालमा बौद्धिक समुदाय धेरै छन् तर देश, समाजप्रतिको दायित्व र चिन्तनमा धेरै कमी छ । जसले समाज र राष्ट्रका हरेक क्षेत्रमा चिन्तन मनन गर्छ । देशका हरेक क्षेत्रमा देखिएको विकृति र विसंगतिको बारेमा आफ्नो व्यक्तिगत जीवनभन्दा माथि उठेर समाज र राष्ट्रका लागि मैले केही गर्नुपर्छ र मैले केही दिनुपर्छ भन्ने सोच राख्ने, अग्रता देखाउने व्यक्तिहरू नै बौद्धिक वर्ग भन्न सकिन्छ । ती चाहे जुनसुकै पेसामा आबद्ध समुदायहरू किन नहुन् जसले मुलुक र मुलुकवासीप्रति सदा अग्रसरता र मुलुकवासीहरूको हितप्रति कटिबद्धता हुन पर्दछ । तर, हाम्रो देशमा बौद्धिक समुदायहरूको भूमिका न्यून छ र बौद्धिक समुदायहरूले देश र समाजप्रति बफादारी देखिँदैन केवल आफ्नो व्यक्तिगत लाभका लागि मात्रै लागि परेको देखिन्छ ।

नेपालमा बौद्धिक वर्गहरू विशेषतः ब्याचलरदेखि पीएचडी गरेका व्यक्तिहरूलाई भन्ने गरेको पाइन्छ । मलाई लाग्छ त्यो भनाइ गलत छ, कसैले पीएचडी गरेको हुनसक्छ र उसले नितान्त व्यक्तिगत पेसामा मात्र सीमित छ भने त्यो समाजभन्दा माथि उठ्न सकेको हुँदैन त्यसैले त्यसलाई बुद्धिजीवी हो भन्ने ठम्याई गलत छ । आज हाम्रो देशमा धेरै ड्राक्टर, इन्जिनियर अर्थविद्, शिक्षाविद् आदि इत्यादि थुप्रै छन् तर देशप्रति लगाम भन्ने शून्य छ, किनभने मेडिकल डाक्टरहरू सरकारी पेसामा आबद्ध हुँदा पनि प्राइभेट क्लिनिक खोलेर पैसा कमाउने धन्दामा छन् र आफ्नो व्यक्तिगत स्वार्थमा मात्रमा सीमित छन् ।

इन्जिनियहरू पनि सरकारी पेसामा आबद्ध हुँदा पनि प्राइभेट कन्सल्टेन्सी गरेर बसेका छन्, शिक्षाविद् नेपालको सरकारी क्याम्पस र स्कुलमा पढाउँदा पनि बोर्डिङ स्कुल कलेज खोलेर व्यक्तिगत काम सीमित छन् भने अर्थविद्हरू विदेशी कन्सलटेन्सीमा सीमित छन्, ती सबै वर्गहरू केवल आफ्नो बुद्धि र विवेकलाई व्यपारमा परिणत गरेका छन् । त्यसैले बौद्धिक जगत भनेको समग्र समाजप्रतिको पात्र हो तर हाम्रो देशमा जे–जति बौद्धिक वर्गहरू छन् उनीहरू आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेका छैनन् । नेपालको फेरियस्त हेर्दा विगतदेखि हालसम्म अध्ययनको सिलसिलामा विशष्ट श्रेणीमा उत्तीर्ण हुनेहरूले प्रायः डक्टर, पाइलट, इन्जिजियरभन्दा अरु रोजेको पाइएको छैन । तर विशिष्ट श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीहरू किन प्रशासन, राजनीतिज्ञ, पत्रकार र वकिल बन्न चाहँदैनन् । वास्तवमा देश चलाउने यी पेसामा किन अगाल्न चाहँदैनन् । यो ठूलो दुर्भाग्य भन्नु पर्दछ । भने अर्कोतर्फ नेपालका बुद्धिजीवीहरू नितान्त आफ्नो व्यक्तिगत स्वार्थमा मात्र किन सीमित छन् त ?

समाजको अध्ययन गर्न नसक्ने समाजमा घटेको घटनाहरूको ज्ञान नहुने, राष्ट्रको बारेमा चिन्तित नहुन, यो सबै प्रत्युत्पादक शैक्षिक प्रणालीको असर हो । विशेष गरेर तेस्रो विश्वका गरिब मुलुकका मान्छेहरू सामाजिक विभेद र गरिबीलगायत समस्याले गर्दा शिक्षाको अवसरमा अधिकांश जनताहरू वञ्चित छन् । तर, जो वर्गहरूले उच्च शिक्षा हासिल गरे ती वर्गहरू उच्च घरानियाँले मात्र पाए र तिनीहरू कहिले पनि दुःखकष्ट र अभाव भोगेका छैनन् त्यस्तो परिवेशमा हुर्केर आएका बौद्धिक वर्गहरूमा देश र समाजप्रति भन्दा आफ्नो व्यक्तिगत जीवनशैलीको बढी मोह जागेकाले सत्य तथ्य र जनताप्रति जिम्मेवारमा कमी भएको हो ।

नेपालको हाल देखिएको बौद्धिक वर्गहरूको ठूलो सञ्जाल एनजीओ र आईनजीओले कब्जा गरेको छ । नेपाल सरकारको तलबभन्दा पनि धेरै तलब र सुविधाहरू दिएको छ । त्यो वर्गले पनि देश र जनताको निम्ति सोच्न र काम गर्न सक्दैन, त्यहाँ विदेशीहरूले बनाएका योजना र कामहरू सेट भएका हुन्छन् । त्यहाँ ५÷१० वर्षे कामको योजना नीति बनाएको हुन्छ । त्यो क्षेत्रमा काम गर्ने बौद्धिक वर्गहरूले हाम्रो देशको एजेन्डालाई भन्दा पनि विदेशीहरूकै एजेन्डा तथा कार्यहरूलाई नै कार्यान्वयन गर्न गइरहेका छन् । यसले हाम्रो देश र समाजलाई कुनै उपलब्धि हुनेगरेको छैन  भने अर्को वर्ग केही बौद्धिक वर्गहरू राजनीति पार्टीमा देखिएका छन् । तिनीहरूमा पनि आफ्नो पार्टीले गलत गरेर पनि आँखा चिम्लेर तालि बजाउने र समर्थन गरेको देखिन्छ । किन भने उहाँमा पनि व्यक्तिगत स्वार्थ लुकेको छ, विभिन्न राजनीतिक निकायमा नियुक्ति भएर आफ्नो स्वार्थ प्राप्ति गर्न त्यो वर्गहरूको उद्देश्य रहेको देखिन्छ । चाहे राजदूत होस्, राष्ट्रिय योजना आयोगलगायत थुप्रै राजनीतिक बौद्धिक नियुक्तिका लागि चाकडीमा व्यस्त देखिन्छन् । नेपालको सबै खाले बौद्धिक वर्ग जसले ऐनाजस्तै छलङ्गै अनुहार देखिएको हुन्छ, त्यो वर्ग विशेष गरेर नितान्त आफ्नो व्यक्तिगत स्वार्थका लागि हिँड्नेले नेपालको समग्र क्षेत्रमा विकृति र विसंगति छाएको हो । जुन वर्ग सत्य, तथ्य र देश र जनताप्रति इमान्दारीका लेख्न, बोल्न र अभियन चलाउनुपर्ने हो त्यो वर्ग नै सबैभन्दा धुमिएको र कुनै न कुनै देशहरूको एजेण्डाको रूपमा काम गरिरहेकोले नेपालको हालत खराब भएको हो ।

नेपालको काम गरिरहेकोले नेपालमा जे–जस्ता राजनीतिक परिवर्तन भए पनि जुन वर्गहरू नीति निर्माणदेखि विदेशी नियोगमा कार्यरत छ । त्यो वर्गले आफ्नो देश र समाजको उत्थानका लागि काम गर्दैन तबसम्म मुलुकको प्रगति हुँदैन । अहिले नेपालको कुनै क्षेत्रमा पनि प्रगति हुनुको साटो झन् तल खस्कँदै जानुमा नेपालका जुनसुकै क्षेत्रका र पेसाका बौद्धिक वर्गहरू हुन्, उनीहरूको बुद्धिलाई राष्ट्र र समाजको समृद्धिका लागि आफ्नो बौद्धिक विवेक प्रयोग गर्न नितान्त आवश्यक छ । साथै आफूलाई बौद्धिक व्यापारीबाट मुक्त गराई समाज रूपान्तरणका लागि अग्रसर देखाउनु नितान्त जरुरी छ । तर, विडम्बना यहाँका लेखक हुन्, डाक्टर हुन्, इन्जिनियर हुन्, प्रोफेसर हुन् या सरकारी पेसामा आबद्ध सबैखाले बौद्धिक व्यक्तिहरू हुन् आफ्नो व्यक्तिगत स्वार्थलाई मात्रै सर्वोपरी ठानेर लाग्ने हो भने देशको भविष्य योजनालाई कसले बनाउने हो भन्ने विषयमा आजैबाट सबै बौद्धिक वर्गमा जागरण हुन आवश्यक छ ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया