Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालको जाति, भाषा र संस्कृति : बाहुन, क्षेत्री खस आर्य–७

नेपालको जाति, भाषा र संस्कृति : बाहुन, क्षेत्री खस आर्य–७


काठमाडौं । बाहुन क्षेत्रीका थरहरु विभिन्न गाउँ ठाउँको नामबाट रहन गएको हो भने अर्काे कर्मबाट अर्थात् जे काम वा पेशा अथवा पद प्राप्त ग-यो सोबाट रहन गएको छ । कार्यबाट बनेको थरमा जस्तै खड्का अर्थात् खस मल्ल राज्यमा मल्ल राजाहरुका खड्गधारी अंगरक्षकलाई खड्गा भन्न थालियो जुन पछि खड्का भनेर भन्न थालिएको हो ।

मल्ल : मल्ल एक प्रकारको दुई पक्षबीच गरिने युद्ध हो । त्यही युद्ध घमासान रुपमा गर्ने गरिन्थ्यो । यसैगरी पण्डितलाई पण्डा वा पंड्या वा पाण्डेय भन्दै पाण्डे सम्बोधन गरी पाण्डे थर बन्न पुग्यो ।

नेपालमा भने पाण्डे दुईथरिका हुन्छन् । बाहुनमा पाण्डे कुमाइ मात्र हुने गर्छन् भने क्षेत्री पाण्डेले पाँडे समेत लेख्ने गर्छन् । नेपाली पाण्डे ३ प्रकारका हुने गर्छन् ।
१) सिमलदीया पाण्डे :– यी कश्यप गोत्रका हुन् ।
२) कुलेटा पाण्ड :– यिनीहरु भारद्वाज गोत्रका पाण्डे हुन् ।
३) वडखोरा पाण्डे : यी पाण्डे पनि कश्यप गोत्रका नै हुन् ।
नेपाली खसआर्य पाण्डेहरुको मूलथलो पाँडूसेरा हिमगंगाका पश्चिम तिरमा रहेको छ ।

यस्तैगरी ज्योतिषविधा हेर्ने वा ज्योतिष पेशाबाट जोशी थर रहन गएको हो । जोशीलाई पहिलाका समयको नेपालमा जोइसी भनेर समेत विभिन्न कागजपत्र ऐतिहासिक अभिलेखहरुमा उल्लेख गरिएको पाइन्छ । जोशीको अपभ्रंश जोइसी भनेर पृथ्वीनारायण शाहका ऐतिहासिककालीन अभिलेख दानपत्र वंशावली दिव्य उपदेश आदिमा समेत उल्लेख गरेको भेटिन्छ । यस्तै नेवार जातिमा समेत जोशी थर हुने गर्छ । बाहुन जोशीहरु पनि तीन प्रकारका हुने गर्छन् ।
१) झिम्झार– यी जोशीहरु गर्ग गोत्रधारी हुन् ।
२) लरौला :– यिनका भारद्वाज गोत्र हो ।
३) सिलाइ :– यिनको अंगीरस गोत्र हो ।

यस्तै ब्राह्मणको भट्ट थरको उत्पत्ति पनि कर्मबाट हुन गएको छ । भट्ट अर्थात् भाषण वा कथन गर्नेलाई भनिन्छ । अर्थात् ब्रह्म (ईश्वर) को वाणी ब्रह्मनाद गर्ने वा वाचन गर्ने अर्थात् वेदादिको वचन गर्ने तथा वेदादिशास्त्र र काव्य बनाई जो प्रतिवाद गर्छन् उसलाई ब्रह्म भट्ट भनिन्छ । अर्थात् शास्त्र शास्त्रार्थको वेदादि वक्तालाई भट्ट भनिएको हो ।

यस्तै ठाउँका नामबाट पनि थर बन्न पुगेको देखिन्छ । जस्तै :– गुल्मी जिल्ला अर्जिका अर्जेल वा अज्र्याल पौडी सतालाका पौडेललगायत कर्णाली अञ्चलका गाउँ ठाउँका नामबाट धेरै बाहुनहरुका थर बन्न गएको हामी पाउँछौँ । जस्तै : कर्णाली अञ्चल जुम्ला जिल्लाको धिता गाउँका नामबाट धिताल र अछाम जिल्लाको तिमलसैन नामको गाउँमा बस्ने बाहुन तिमिल्सिना यस्तै अछामकै ढाकु गाउँमा बस्ने ढकाल, अछाम जिल्लाको रिमा गाउँबाट बसाइ सरी पूर्व लाग्दै आएका रिमाल कहलिन थाले । अछामको धमालीबाट धमला, कुइँकाका कुइँक्याल, चालसा गाउँ अछामका बासिन्दा चालिसे भनिए । यसैगरी कर्णाली अञ्चल जुम्ला जिल्लाको सिञ्जाबाट बसाइ सरिआएकाहरु सिजापती कहलिन पुगे भने जुम्ला जिल्ला चादिला गाउँमा बस्ने चौलागाईं भनिनथाले । जुम्ला जिल्लाकै सुवेदा गाउँबाट आएका सुवेदी वा सुवेडी भनिनथाले । जुम्ला जिल्लाको प्याकुरी गाउँ छाडी पूर्व लागेकाले आफ्नो थर प्याकुरेल लेख्न लागे ।

ठाउँका नामबाट बन्न गएका थर वा कुनै गाउँ ठाउँ छाडी अन्यत्र गाउँमा बसाइ सरेपश्चात् पुराना गाउँका नामबाट चिनिन थालेका व्यक्ति वा परिवारहरुको पुराना ठाउँ वा बसोबास गरिरहेका ठाउँको नामबाट थर बन्न गएको हो । यहाँ केही स्थान वा ठाउँका नामबाट बन्न गएका थरहरुको वर्णन गरिएको छ ।

१) सिग्देल : सिग्देलहरुको मूलथलो गुल्मी जिल्लाको सिग्दी भन्ने गाउँमा पर्छ । सिग्देललाई सिग्द्याल वा सिघ्द्याल समेत भनेर कसै कसैले सम्बोधन गर्ने गर्छन् ।

२) धमला : धामी गाउँमा बस्ने बाहुन धमला कहलिन पुगे । सम्भवतः ती गाउँमा धामीहरुको बढी बसोबास रहेको होस् !

३) ढकाल : कर्णाली अञ्चलको अछाम जिल्लामा ढाँकु गाउँ पर्छ । सोही ढाँकु गाउँबाट ढकाल वा ढाँकाल हुन गएको हो ।

४) प्याकुरेल: प्याकुरेलको मूलथलो प्याकुड्याबाट झार ज्वाला र तिलानदिका पश्चिम तटमा उखाडीनिर पर्छ । यो ठाउँ कर्णाली अञ्चलको जुम्ला जिल्लामा पर्छ । प्याकुरेललाई प्याकु¥याल समेत भनिन्छ भने यिनका गोत्र कौण्डिण्य, वशिष्ठ हुने गर्छन् ।

५) लम्साल : योगी नरहरिनाथले लेखेअनुसार ऋणमोक्ष क्षेत्रका नगिच लोमस पास वा दर्रामा लोमश भन्ने ऋषिको जम्न कर्मभूमि आश्रम गृह छन् । सोही लोमशाश्रमबाट आएकी नदीको नाम पनि लोमशाबाट लंश भएको छ भने गाउँको नाम समेत लुंश भएको छ लंशाल वा लोमशालयहरुको मूल थलो पनि यही हो भन्ने श्री नरहरिनाथ योगीले उल्लेख गर्नुभएको छ । लोमशालय अर्थात् लम्सालहरुको गोत्र वत्स, और्व, च्यवन, भार्गव, जमदग्न पञ्च प्रवर हो ।

६) न्यौपाने : मुसलमान बादशाह र आक्रमणकर्ताका डरले जनै एवं धर्मरक्षार्थ कनौजबाट पहाडतर्फ लागि नयाँ पानी भन्ने ठाउँमा आएर बसेका हुनाले नयाँ पानी वा नवपानीय भन्ने थर रहन गएको हो । ती नवपानीयहरुलाई खसान क्षेत्रमा न्यूपान्या भनेर सम्बोधन गर्न थालियो र जनजिब्रोले न्यौपाने भनी भन्नथालेकाले ती न्यौपाने भए ।

७) सेढाईं : सेढाईंहरुको मूलथलो हुमला जिल्लाको स्याँढा भन्ने स्थान हो । ती स्याँढा भन्ने स्थानमा बसोबास गरेका बाहुन परिवारले सेढाईं भनी थर भन्न वा लेखाउन थालेका हुन् ।

८) दाहाल : दाहालहरुको मूलथलो दाहा भन्ने स्थान हो । यो जुम्ला जिल्लाको जुविथा र मान्माका बीचमा पर्छ । यसै कर्णाली अञ्चल जुम्लाका बाहुनहरुलाई दाहाल भन्न थालियो ।

९) लामिछाने : लामोछाना भएको घर बनाई बस्नेलाई लामिछाने भनियो । लामोछानोको घर बनाई बसेका बाहुन परिवार र वर्गको पहिचानबाट गाउँको नाम पनि लामाछाना हुन गयो । यो गाउँ दैलेख जिल्लामा पर्छ । यसैगरी थापाहरु अर्थात् सेनाको उच्च ओहोदाबाट बन्न गएको थापा थर अर्थात् थापाहरु पनि सो गाउँमा बसेकाले वा गएकाले र लामोछाना भएको घर बनाएकाले लामिछाने थापा हुन गएका हुन् ।

१०) खतिवडा : खतिवडाहरुको मूलथलो खत्यार दर्राको खत्याड खोलो (राम गंगा) रारा दहबाट आएर कर्णाली नदीमा मिसिन्छ । खत्याडीबाट खत्यौडा हुँदै खतिवडा भन्न थालिएको हो । यो स्थान कर्णाली अञ्चलको हुम्ला जिल्लामा पर्छ । यिनको गोत्र अत्री अर्चनानस र त्रिप्रवर श्यावाश्व हो ।

११) काफ्ले :– अछाम जिल्लाको काफल खेत भन्ने गाउँमा बसोबास गरेका ब्राह्मण वर्गलाई काफ्ले भन्न थालिएको हो । यो पूर्व सेती अञ्चलको हाल सुदूरपश्चिम प्रदेशमा पर्छ । यसै लगायत कर्णाली क्षेत्र समेत खसान क्षेत्रभित्रै पर्छन् भने विगतको शक्तिशाली खस राज्य अर्थात् कुमाउदेखि सुदूरपश्चिम लगायत भोटाङ्ग मानसरोवरसम्मका क्षेत्र खस साम्राज्यअन्तर्गत पर्ने गर्दथ्यो ।

नेपालमा बाहुन क्षेत्रीका थरहरुको उत्पत्ति : बाहुन (ब्राह्मण) तथा क्षेत्रीयहरुका धेरैजसो थर गाउँ ठाउँका नामबाट उत्पत्ति भएका छन् भने धेरै थरहरु कर्मबाट अर्थात् ती व्यक्तिहरुका पुर्खाले कुनै समय अपनाएका पेशा, पद वा कार्यबाट बन्न गएका छन् । अघि समयमा उपाध्याय ब्राह्मण र कुमाइ ब्राह्मणभन्दा तल्लो श्रेणीमा जैसी ब्राह्मणलाई गणना गरिन्थ्यो । ती जैसीहरुलाई पनि तीनथरिको नामकरण वा वर्गीकरण गरियो ।

क्रमशः…ती ३ प्रकारका जैसीमा :–
१) वैकलय – कुनै कन्याको कुराकानी छिनिएर पनि विवाह हुन नसकी ति अविवाहित कन्यालाई विवाह गरी ल्याएपश्चात् ती कन्याबाट जन्म लिएका सन्तान वैकलेय जैसी अर्थात् अति उच्च कोटीको जैसी बाहुन कहलिन्थे । तिमसेना अर्थात् तिमल्सेना वा तिम्सिना अति उच्च कोटीको जैसी बन्न पुगे भने यसैगरी गजुरेल, मोठभरी वा मुडभरी पनि वैकलय जैसी कहलिन पुगे ।

२) गोलक :– आफ्नो ब्राह्मण पतिको मृत्यु भएपश्चात् ती विधवा ब्राह्मणीले अर्काे ब्राह्मण उपाध्याय पुरुष विवाह गरी जन्माएका सन्तान गोलक जैसीका नाममा वर्गीकृत हुन पुगे ।

३) कुण्ड :– ब्राह्मण पति छँदाछँदै अर्काे ब्राह्मण पुरुषसँग विवाह गरी वा पोइला गएकी स्त्रीबाट जन्मेका सन्तान कुण्ड जैसी कहलिए । यसैगरी उपाध्याय ब्राह्मणले आफ्नै ब्राह्मण जातकी केटी वा जारी स्त्री वा विधवालाई पुनर्विवाह गरी ल्याएमा तिनका सन्तानलाई नै कुनै बखत जैसी बाहुन वा जैसी भनिन थालियो भने जैसी बाहुनले अन्य आफूभन्दा तल्लो जातसँग विवाह गरी जन्मेका सन्तान क्षेत्री वा क्षेत्रीय जाति बन्न पुगे । जैसी शब्द जोशीबाट बन्न गएका हुन् अर्थात् ब्राह्मणबाट च्यूत भएपश्चात् कर्म काण्ड गर्नबाट वञ्चित भएकाले ज्योतिष पेसा अंगालेकाले ज्योतिष–जोशीबाट जनजिब्रोले जैसी भन्नपुगेका हुन् ।

कुमाइ ब्राह्मण :– कुमाई ब्राह्मणका मूल पुरुषहरु पनि काम्यकुञ्जी ब्राह्मण नै हुन् । जस्तो कि पूर्वीया ब्राह्मणहरुले मान्ने गरेका छन् भने पूर्वीया ब्राह्मणझैं कुमाइ पनि उपाध्याय ब्राह्मण नै हुन् ।

आफूहरुसँग पुर्ख्यौली सम्बन्ध भए पनि कुमाइभन्दा पहिला नै पूर्वीया ब्राह्मण महाकालीपूर्व लागेकाले यी दुई ब्राह्मणबीच कुनै समय राजनैतिक संघर्ष चलेर पूर्वीया र कुमाउबीच द्वेष पैदा भई बिहेबारीमा बन्देज मात्र भएन कि दुई अलग राज्य समेत कायम हुन पुग्यो । जनकलाल शर्माद्वारा लिखित ‘हाम्रो समाज एक अध्ययन’अनुसार ईशा द्वितीय सहशताब्दीको मध्यतिर डोटी र कुमाउ दुई अलग राज्य थिए । ती दुई अलग राज्यको सीमारेखा महाकाली नदीलाई मानिएकाले कुमाउमा बस्ने कुमाइ भए भने महाकाली पूर्व बस्न पूर्वीया हुन पुगेपछि कुमाउबाट पनि ब्राह्मणहरु पूर्व लाग्दै आएपश्चात् पछि आएकालाई आफूहरुसँग बिहेबारी चलाएनन् र पूर्वीयाले आफूहरुलाई पूर्वीया नभनी केवल उपाध्याय ब्राह्मण भन्न थाले । कुमाइ ब्राह्मण पनि दुई प्रकारका हुने गर्छन् ।

पाका कुमाइ र काँचा कुमाइ । धनीमानी कुमाइहरु र गरिब कुमाइहरुबीच वर्ग विभेद र मेलमिलापको अभाव हुन गई सम्पन्न कुमाइहरु पाका कुमाइ र विपन्न वा पहुँच नभएका कुमाइहरुलाई काँचा कुमाइ भनिन थालियो । यी दुई कुमाइमा भात भान्सा पनि चल्दैन भने बिहेबारीसमेत हुने गर्दैन ।

खनाल थरको उत्पत्ति :– खदालबाट खनाल थर बन्न गएको हो । खनाल वंशावलीमा खनालहरुको आदि थलो ‘खन’ वा खानी भनी उल्लेख गरिएको छ । गोरखाको खानी भन्ने स्थानमा बसेका हुनाले खनाल थर हुन गएको हो । योगी नरहरिनाथद्वारा लिखित ‘हाम्रो देश दर्शन’ भन्ने पुस्तकका अनुसार खनालहरुको मूल स्थान ‘खनाया’ गदमदरामा वरैदेखि दक्षिणपट्टि रहेको छ । खनाल, बराल, नेपाल र सुतार कार्की एउटै हाँगोबाट फुटेर निस्किएका सगोत्रीहरु हुन् । सुतार कार्कीचाहिँ खनाल र माझीको छोरीबाट जन्मिएका सन्तान हुन् ।

खनाल वंशावलीअनुसार खनालका प्रवरहरु तीन घृतकौशिक, अधभर्षण र विश्वामित्र भनी देखाइएको छ भने बरालहरुका वंशावलीमा दुईवटा मात्र प्रवर देखाइएको छ । यसैगरी शिखरनाथ सुवेदीको थरगोत्र प्रवरावलीमा खनाल दुई प्रकारका देखाइएका छन् ।

क) खोरिया : खनालहरुका मूल पुरुष विशेश्वर तत्कालीन पाल्पाली राजाको आश्रयमा रहेका थिए । राजाबाट बक्सिस प्राप्त खोरिया जंगल फाडेकाले खोरिया खनाल हुन गएका हुन् र यिनी घृतकौशिक गोत्रका हुन् ।

ख) टिङ्गली खनाल : राजाद्वारा नित्य दान दिने कार्य ढिलो भएको र टिङ्ग लिएको हुँदा यिनलाई टिङ्गुली खनाल भनियो । पं.शिखरनाथ सुवेदीले टिङ्गुली खनाललाई गैह्र खनाल भनी उल्लेख गरेका छन् ।

बराल थरको उत्पत्ति :– बराल वंशावलीमा बरालहरुको मूलथलो वा आदि थलो वरदनी देखाइएको छ । वरबाट बराल थर भएको हो । वर+आलय= वरालयबाट बराल हुन गएको हो । योगी नरहरिनाथले बरालहरुको मूलथलो लेख वरै र औल वरै मूल कर्णालीको पूर्वतटमा हुम्लामा छ भनी उल्लेख गरेका छन् । खनाल, नेपाल र बरालका एउटै गोत्र र प्रवर रहेका छन् ।

वरालहरु पूर्वीया र कुमाइ दुवै हुने गर्छन् । कुमायुँ वा कुमाइ बराललाई काला बराल समेत भनिन्छ । यसैगरी जसुका साहिला भाई जयंतु पण्डितलाई दुल्लु राजधानीभन्दा केही पश्चिम र सुतारकोटभन्दा केही दक्षिण कर्णाली नदीको पश्चिमी तटमा रहेको वारल नमको गाउँ बिर्ता पाई बसोबास गर्न थालेपछि बराल थर हुन गएको कुरा नेपालहरुका वंशावलीमा उल्लेख गरिएको छ । (सन्दर्भ स्रोत : “आर्यदेखि अर्याल सम्म” लेखक : ध्रुव प्र.अर्ज्याल)

खसान क्षेत्र कर्णाली अञ्चल जुम्ला जिल्लाका गाउँठाउँका नामबाट बन्न गएका केही थरहरु : धिता गाउँमा बस्ने धिताल भए र खस राज्यको राजधानी सिञ्जाबाट बसाइसराइ गरी आएका सिञ्जाली भए भने जुम्ला जिल्ला चादिला गाउँका चौलागाईं कहलिए । यस्तै जुम्ला जिल्लाकै सुवदा वा सुवडाका सुवेदी र प्याकुरी गाउँका बासिन्दा प्याकुरेल भए ।

खसान क्षेत्र बझाङ्ग जिल्ला अवस्थित गाउँहरुमा बसोबास गरेका खस बाहुनहरुका थरहरु :– रेगम गाउँमा बस्ने रेग्मी भए भने बझाङ्गकै खर गाउँमा बस्ने खरेल भए । खरेल कुमाइ बाहुन हुन् । यसैगरी सुदूरपश्चिम नेपाल अछाम जिल्लाको गाउँ वा स्थानहरुका नामबाट त्यस स्थानमा बस्ने आर्य खसहरुका बन्न गएका थरहरुमा तिमिलसैन गाउँका खस ब्राह्मण तिमिल्सिना, ढुंगानीका ढुंगाना, ढाँकुमा बसोबास गर्ने ढकाल, भजगाउँका भजगाईं वा बजगाईं ।

घोडासैन भन्ने स्थानका बाहुनको घोडासैनी थर हुन गयो भने अछाम जिल्लाकै पुडासैन भन्ने स्थानबाट पुडासैनी थर रहन गयो । यसैगरी धमाली भन्ने गाउँ ठाउँबाट धमला, दरानाबाट दर्नाल, कुइँकाबाट कुइँकेल र अछाम जिल्लाकै चालसा भन्ने स्थानको नामबाट चालिसे थर बन्न गयो । यस्ते सुदूरपश्चिम बाजुरा जिल्लाको जमाकाट्टी भन्ने ठाउँमा बस्ने जमर्कटेल, बाजुराकै छातिका छत्याल, कुण्डी भन्ने स्थानका कुंसडयाल कहलिन पुगे । बैतडी जिल्ला गजुराई भन्ने स्थानका व्यक्ति गजुरेल वा गजु-याल भनिए भने रुकुम जिल्लाको गोताम भन्ने गाउँका गोतामे र सापकोट भन्ने स्थानमा बसेकाहरु सापकोटा भनिन थालिए । यसैगरी सुदूरपश्चिम प्रदेश नेपाल खसान क्षेत्र सेती अञ्चल डोटी जिल्लामा कुनै समय लामो बसोबास गरेका खसआर्य ब्राह्मणहरुका डोटी

जिल्लाका ग्रामठामका नामबाट बन्न पुगेका थरहरु :– कुण्डाका कँडेल भनिए भने डोटेखोला भन्ने स्थानका डोटेल, यस्तै खत्याडीबाट खतिवडा थर बन्न पुग्यो भने निरौलीबाट निरौला थर बन्न गयो । ओझानाका ओझा बोगटानका बोगटी भए भने डोटीकै खनाया भन्ने स्थानको नामबाट खनाल थर बन्न पुग्यो र डोटीको बोगटान गाउँका बोगटी थरले चिनिन थाले ।

यस्तै सुदूरपश्चिम उत्तर तत्कालीन खस क्षेत्रमा अवस्थित हाल एउटा जिल्ला दैलेखमा अवस्थित विभिन्न गाउँहरुमा बसेका खस बाहुनका थरहरु सोही गाउँका नामबाट रहन गयो । जस्तैः– लामाछानीका लामिछाने, बाँसतोलाबाट बाँस्तोला, सतालाबाट सत्याल, लुयान्तिबाट लुइँटेल, बस्ताकोटबाट बस्ताकोटी, चापागाउँबाट चापागाईं, नेपाबाट नेपाल, पोखारबाट पोखरेल, लम्सुबाट लम्साल, लम्जीबाट लम्जेल, दाहाबाट दाहाल र कोइरालीबाट कोइराला थरहरु बन्न गए भने दवाडाबाट दवाडी, गैहरी भन्ने स्थानबाट गैरे थर बन्यो । यस्तै दैलेख जिल्लाकै पराजुलबाट पराजुली, कट्टी भन्ने ठाउँका नामबाट कट्टेल थर बन्न पुग्यो र भुसाकोटका बासी बाहुनहरु भुसाल भनिए । क्रमशः


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया