Techie IT
×
गृहपृष्ठविचारअंकल ! भोक त मलाई पनि लाग्छ तर…

अंकल ! भोक त मलाई पनि लाग्छ तर…


 मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन,
भागेर जाऊँ कुन ठाउँ जाउँ
मान्छे नमर्ने सहर हुँदैन…
दशैँको माहोल । दायाँपट्टि सडकको किनारामा यात्रु कुरिरहेको ट्याक्सीभित्र बजिरहेको छ यही गीत । प्रत्येक शब्दहरु तिखो गरी मेरो कानसम्म गुञ्जिइरहेको छ । आफ्नै कहालीलाग्दो अतितमा सोचमग्न छु म ।

रोएर हुनसक्छ– आँखाको डिल केही सुन्निएका थिए । त्यो धूवाँँधूलो अनि चिच्याहट । मसिनो बोली । त्यो पनि भास्सिएको । थोत्रा र झुत्रो कपडा । मैलो जिउ ।
केही माग्नका लागि दुई हात मेरो अगाडि फैलिएका थिए । कोही भनिरहेको थियो– अंकल, भोक त मलाई पनि लाग्छ नि ! खान त मलाई पनि पर्छ नि, तर कसैले केही दिँदैनन् ! शून्यतामा हराएको मन यी तीखा आवाजसँगै झल्याँस्स हुन्छ । चुरोटको अम्मली म होइन । रक्सी वा अन्य पदार्थको अम्मली पनि म होइन । एकान्तमा बस्न मन लाग्छ । एकान्तमा बस्दा आफ्नै अतितलाई सम्झिँदै भक्कानिन मन लाग्छ । तर यो भक्कानो त्यो आवाजभन्दा कम थियो होेला । केही सोच्नै सकिनँ । खल्तीमा हात हालेँ । हजारका केही नोट निस्किएछन् मुठ्ठीमा । ओठै नखोली उसको हातमा राखिदिएँ । उसको आँखा हेरेँ । थोरै उज्यालो भरिएको थियो । उसले मेरो अनुहार एक टकले हे¥यो । के देख्यो कुन्नि ! मलाई थाहा छैन ।

त्यसपछि ऊ मबाट केही टाढा भयो । नजिकै पसल थियो । उसले केही किन्यो र त्यही सडकको किनारामा बसेर खान थाल्यो । के किन्यो, कतिको किन्यो, त्यो त मलाई थाहा छैन । मलाई यति थाहा छ, उसले केही खानेकुरा किन्योे । जसले उसको जलिरहेको पेटभित्रको आगो केही समयको लागि निभाओस् । आशा गरेँ– फेरि बल्ने त्यही आगो निभाउन केही पैसा जतन गरेको होस् !

त्यो सडक । सडकसँगैको पेटी । त्योसँगै आफ्नै तीतो अतितमा भुल्ने म । मेरा लागि ती सडक अतितको भारी बिसाउने चौतारीजस्तै थियो र छ पनि । हरेक साँझ कामबाट थकित शरीर त्यहीँ गएर विश्राम लिन्थ्यो । मानसिक रुपमा त यो शरीरले विश्राम पाएको नै कहाँ छ र ! कहिले छ र ? त्यो विश्राम एक दिन पाउँछ, मृत्युसँगै । यस्तै भारी मन लिएर हरेक साँझ त्यही सडक किनारामा हराउँदै । यो अनौठो आवाजसँग जम्काभेट भएको धेरै दिन भइसकेको छ । तर त्यो अंकल शब्द मेरो कानले सुन्न पाएको छैन । सोचेँ– यो सहर अनि भीडभाडबाट त्यो आवाज कहाँ हरायो होला ? हरेक दिन म त्यही सडक किनारामा भुल्थेँ, हराउँथे, विश्राम लिन्थेँ । त्यो आवाज मनभित्र गुञ्जिन्थ्यो तर त्यसपछि कहिल्यै मेरो मनमा ठोक्किएन । दिन, हप्ता र महिना हुँदै केही वर्ष नै बित्यो । त्यो आवाज भुलिसकेको थिएँ । अथवा भनौँ, भुल्न लागिसकेको थिएँ ।

कामको सिलसिलामा केही समयको लागि कुनै फरक ठाउँ जाने मौका पाएँ । जहाँ गए पनि प्रकृति त त्यही हो । मान्छे त्यस्तै हुन् । सहर त्यस्तै हो । घर त्यस्तै हुन् । खालि मान्छेको अनुहार र सहरको नाउँ मात्र त फरक हो । ठाउँ फरक, सहर उस्तै । भीडभाड सधैँ बाक्लो । उस्तै लाग्ने ती मान्छेहरु ! त्यहाँ पनि मेरो लागि सडक किनारा त्यस्तै थिए । यात्रु कुरिरहेका ट्याक्सीमा बज्ने गीतका धुनहरु उही– मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन…! त्यो फरक ठाउँको सहरको सडक किनारामा उभिँदै थिएँ । मैलेँ भनेँ नि ! चुरोटको अम्मली म होइन ! चिसो मौसम । कफी पिउन नजिकैको कफी हाउस छिरेँ । भित्र छिर्नेबित्तिकै फरक ठाउँको आभास भयो । भित्तामा सजाइएका थिए– फरक–फरक ठाउँ, फरक–फरक मान्छे । भित्तामा झुण्डिएको सडक बालबालिकाहरुको फरक खालको पोट्रेट खास लाग्यो । ‘सर ! के ल्याऊँ हजुरलाई ?’ चित्रहरुमा हराइरहेको मेरो मन त्यो आवाजले झसंग भयो । ‘एउटा कालो कफी । नर्मल । सुगर म आफैँ राख्छु है !’, मैले भनेँ । ‘हस् सर !’, अर्डर लिएर ती किशोरी कफी हाउसको काउन्टर पुगिन् । काउन्टरमा हेरेँ । अर्डर लिने किशोरी निकै सरल, सहज र सुन्दर लाग्यो । उनको छेवैमा एउटा युवक बसिरहेका थिए । सोचेँ– यही कफी हाउसको साहु होला । अनि यी किशोरीचाहिँ कामदार । सोच्नलाई पैसा लाग्ने होइन । यही सोचेँ । यत्तिकैमा ‘सर हजुरको कफी’ भन्दै ती किशोरीले कफी राखिन् । म कफीको प्रत्येक चुस्कीसँगै आफ्नै अतितमा हराउन थालेँ । आँखाहरुले भित्तामा टाँगिएका तस्बिरहरु केलाइरहेकै थियो । सुन्दर तस्बिरसँगैं विभिन्न व्यक्तिहरुका प्रेरणादायी भनाइहरु सुन्दर फ्रेमभित्र कैद थिए ।

‘अंकल, भोक त मलाई पनि लाग्छ नि ! खान त मलाई पनि पर्छ नि ! तर कसैले केही दिँदैनन् ! म बसेको कुर्चीको दायाँपट्टि फ्रेममा कैद अपूरो वाक्यमा मेरा आँखाहरु टक्क अडिए । यो अपूरो वाक्यसँग त म परिचित नै थिएँ । धेरै समयसम्म यही वाक्यले मलाई घोत्ल्याइरहेको थियो । म त्यो भित्तामा राखिएको शब्द अंकित तस्बिर हेरेर टोलाइरहेँ । निकै भावुक भएँ । काठमाडौंको त्यो सधैँको भीडभाड र कोलाहलयुक्त सडक । त्यही सडकको किनारामा एक्लै टोलाइरहेको म । मेरो मौनतालाई भंग गर्दै एउटा बच्चाले झण्डै १५ वर्षअघि आधा पेट खान दुई हात फैलाएको घटना मानसपटलमा मडारिन थाल्यो । थोरै कुरा सम्झिएँ होला । धेरै कुरा बिर्सिएँ होला । तर त्यो बालकलाई भुल्नसकेको थिइनँ । सम्झिएँ– अहिले कस्तो भयो होला ? मेरो त हालत त यस्तै छ, उसको हालत सम्झिएँ । राम्रो होस्, कामना गरेँ ।

Open Photo

यस्तै सोचिरहेको थिएँ । एउटा पुरुष स्वर मेरो कानमा ठोक्कियो । कसैले बोलाएजस्तै लाग्यो । झसंग भएँ । म बसेको कुर्चीसँगै आएर त्यही कफी सपको मालिक टक्क उभिएको थियो । ‘अंकल ! हजुर त पहिला जस्तो हुनुहुन्थ्यो, अहिले पनि त्यस्तै हुनुहुँदो रहेछ । कपाल कालो थियो । थोरै सेतो भएछ । सधैँ सोचमग्न देखिने हजुरको हेराइ पहिलाको जस्तै’, ऊ एकनासले बोलिरहेको थियो, ‘मैले हजुरलाई चिनेको छैन । संगत गरेको पनि छैन । एक पटक भेटेको हो । त्यो भेट यति गहिरो बन्यो, आज जे र जस्तो छु, मसँग जे छ, त्यो सबै त्यही भेटका कारण सम्भव भएको हो ।’

ऊ बोलिरह्यो । म सुनिरहेँ– भोको पेटमा छटपटिएको म । केही खानाको लागि अघि सरेका मेरा हात त्यो सडकको किनारामा उभिएको तपाईँसँग फैलियो । तपाईंले एक शब्द नबोली खल्तीबाट पैसा निकालेर दिनुभयो । म पसल गएर हेरेँ । पचास, सयसहित १० हजार रुपैयाँ जति रहेछ । एउटा चाउचाउ र एउटा जुस किनेर खाएँ । बाँकी पैसा खल्तीमा हालेँ । खल्तीमा पैसा टन्न थियो । सोचेँ अब कसैसँग आधा पेट खान हात फैलाउँदिन । अर्को सहरमा जान्छु र त्यहीँ काम गर्छु भन्ने सोच्दै एउटा लामो दूरीको गाडी चढेर यहाँ आएँ । अहिले यहीँ छु । ऊ त्यो परको बसपार्कसँगै नाङ्लो पसल राखेँ । गाडामा तरकारी राखेर बेचेँ । सँगै चिया खाजा पनि बेच्नथालेँ । आफूले काम गरेँ । गाडा किनेर भाडामा दिएँ । अरुलाई पनि काम गराएँ । धेरै दुःख गरेँ । अहिले केही दुःख छैन । यही सहरको दुई ठाउँमा यस्तै अर्को पनि कफी सप छ । सानो गाडी छ । व्यापार यस्तै गरी राम्रो भयो भने यो वर्ष सानो घर किन्ने योजना छ ।

मलाई कफी दिने ती किशोरी उसकी बहिनी रहिछन् । उसलाई देखाउँदै भन्यो– बुबा सानैमा बितेको । तीन वर्षजति भयो । सौतेनी आमालाई छोडेर मसँगै बस्न आएकी । मैले बाहिर जति दुःख भोगेँ, त्योभन्दा धेरै दुःख यसले सौतेनी आमासँग बसेर भोगेकी छ । सौतेनी आमाले दिने गरेको पीडा सहन नसकेर त म सानैमा भागेर हिँडेको । तर अहिले केही दुःख छैन, सबै कुरा छ । दिन सबैको आउँछ भन्थे । मेरो पनि दिन आयो तर तपाईंबाट । उसले दोहो-यायो– हामी जुन ठाउँमा उभिएका छौँ, त्यो आधार तपाईंले दिनुभएको हो । त्यो धरातल तपाईंले दिनुभएको हो । तपाईंले दिनुभएको त्यो १० हजार रुपैयाँमध्ये केही रुपैयाँ खानामा खर्च गरेँ । बचाएको पैसालाई सय, हजार हुँदै लाख बनाएँ ।

मैले अगाडिको कुर्सीमा बसेका दुई पात्रहरुलाई टोलाएर हेरेँ । दुवैका आँखा रसाएका थिए । फिल्मको पात्रझैँ देखिन्थे । उसले सुनाएको कहानी कुनै फिल्मको पटकथाजस्तै । पीडा, रोदन, कठोर मिहिनेत, सफलता अनि मिठो मिलन । बुझ्नेलाई जीवनभरको लागि प्रेरणा । त्यसै त धेरै सोच्ने कम बोल्ने म निःशब्द भएँं । ती दुईका भरिएका आँखासँगै मेरा आँखा पनि भरिँदै थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया