Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविश्वको आर्थिक गतिमा घस्रँदै हामी

विश्वको आर्थिक गतिमा घस्रँदै हामी


अच्युतप्रसाद पौडेल ‘चिन्तन’
चालू आवको बजेटमा लिइएको लक्ष्य आर्थिक वृद्धिदर आठ दशमलव पाँच प्रतिशतबाट पछि हट्दै अर्थ मन्त्रालयले हालै सात दशमलव एक प्रतिशतको लक्ष्यमा झारेको छ । त्यसो त बजेट पेश भएकैै दिन यत्रो आर्थिक वृद्धि सम्भव नभएको अर्थविदहरूको तर्क रहेको थियो । विश्व बैंकको एक प्रतिवेदन अर्थात् विश्व बैंक ग्रुप र इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेण्ट स्टडिजले यही मंसिर ३ गते सार्वजनिक गरेको एसियाली आर्थिक प्रतिवेदनमा नेपालसहित अन्य एसियाली देशहरूको अर्थतन्त्रमा जोखिम बढेको उल्लेख गरेको छ ।

दक्षिण एसियाकै दुई तिहाई अर्थतन्त्र बोकेको भारतमा पनि आर्थिक मन्दी देखिएको छ । हाल भारतको आर्थिक वृद्धिदर छ दशमलव नौ प्रतिशतको प्रक्षेपण गर्न लाग्दा छिमेकी नेपाललाई त्यसको अप्रत्यक्ष प्रभाव पर्न सक्छ । विश्व बैंकको सो समूहको प्रतिवेदनले नेपालको सन् २०२० को आर्थिक वृद्धिदर छ दशमलव चार, सन् २०२१ मा छ दशमलव पाँचको प्रक्षेपण गरेको छ । यी दुई वर्षमा हाम्रो कृषितर्फ वृद्धिदर चार प्रतिशत र उद्योगतर्फ आठ दशमलव तीन र आठ दशमलव आठ प्रतिशत हुने अनि सेवाक्षेत्रको भने यी दुवै वर्ष सात दशमलव दुई प्रतिशत रहने पनि प्रक्षेपण भएको छ । आउने वर्ष दक्षिण एसियामा भुटानको आर्थिक वृद्धिदर एसियामै उच्च सात दशमलव चार र सबैभन्दा न्यून पाकिस्तानको दुई दशमलव चार प्रतिशतको आँकलन पनि गरिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्यांकलाई आधार मान्दै हालै लण्डन मुख्य कार्यालय रहेको सेन्टर फर इकोनोमिक एण्ड विजिनेस रिसर्चले अर्को अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बंगलादेश आगामी १५ वर्षपछि विश्वको २५औं ठूलो अर्थतन्त्र बोकेको देश हुनेछ । यतिबेला नेपाल भने ८८औं स्थानमा हुनेछ । त्यसो त सन् २०२६ मै छिमेकी देश भारत भने विश्वको चौथो ठूलो अर्थतन्त्र बोकेको देश हुने आँकलन गरिएको छ । वर्ल्ड इकोनोमिक लिग टेवुल २०२० ले बताएअनुसार चालू आवमा विश्वका एक सय ९३ देशमध्ये बंगलादेश ४०औं स्थानमा छ । सन् २०३४ मा २५औं हुनेछ । यता २५औं ठूलो अर्थतन्त्रको देश फिलिपिन्सले भने २२औं स्थान ओगट्ने छ ।

जीडीपीको पाँच हजार २८ डलर प्रतिव्यक्ति आय भएको बंगलादेशको अर्थतन्त्र यस वर्ष राम्रो देखिएको छ । सन् २०१८ मा सात दशमलव नौ प्रतिशत आर्थिक वृद्धिदर भएको बंगलादेशमा यस वर्षको आर्थिक वृद्धिदर सात दशमलव आठ प्रतिशत छ । हाल जम्मा एक प्रतिशतले वृद्धि भएको जनसंख्या दर आगामी ५ वर्ष अर्थात् सन् २०२५ सम्म औसत आर्थिक वृद्धिदर सात दशमलव तीन प्रतिशतको रहनेछ । सरसर्ती हेर्दा एसियामा मलेसिया, फिलिपिन्स र बंगलादेशको आर्थिक वृद्धिदर द्रुत गतिको छ ।

यता दक्षिण एसियामा भारतले गत वर्ष सन् २०१९ मा फ्रान्स, बेलायतलाई उछिन्दै पाँचौँ ठूलो अर्थतन्त्र बोकेको देश बनेको छ । सन् २०२६ मा भारतले जर्मनीलाई उछिनेर चौथो ठूलो बन्ने र सन् २०३४ मा जापान तेस्रो ठूलो अर्थतन्त्र बोकेको देश बन्नेछ । यता माल्दिभ्सले भने यस अवधिमा हालको एक सय ४९औं स्थानबाट एक सय ४५औं स्थान ओगट्नेछ र पाकिस्तान भने हालको ४४औं स्थानबाट ५०औं स्थानमा झर्ने पनि भविष्यवाणी गरिएको छ ।

नेपालको सन्दर्भमा चालू आवको पहिलो ३ महिनामा राजस्वको लक्ष्य दुई खर्ब ५२ अर्ब ४० करोडमा एक खर्ब ९८ अर्ब भनौँ झण्डै २२ प्रतिशतले कम उठेको छ । अघिल्लो वर्षमा हाम्रो आर्थिक वृद्धिदर सात दशमलव पाँच प्रतिशत, आव ०७३/७४ मा सात दशमलव ७४ प्रतिशत, ०७२/७३ मा शून्य दशमलव दुई प्रतिशत र ०७१/७२ मा दुई दशमलव ९७ प्रतिशतमा रहेको थियो ।

पछिल्लो समय हाम्रो आर्थिक वृद्धिदर केही बढेको देखिए पनि निर्यात व्यापारको स्थिति कमजोर रहेको, धानको उत्पादन कम भएको, अर्थतन्त्रको मुख्य आधार कृषिक्षेत्रबाट नेपालीहरू विस्तारै टाढिँदै गएको, पूर्वाधार निर्माणको गति पनि सुस्ताएकाले लक्ष्यअनुसारको आर्थिक वृद्धि नहुने संकेत देखिएपछि पहिले आँकलन गरिएभन्दा डेढ प्रतिशतले लक्ष्य कम गरिएको देखिन्छ अहिले । प्रथम चौमासिकमा पुँजीगत खर्च पाँच प्रतिशत मात्र हुनु अझ असोजमा त केवल चार दशमलव ४१ प्र्रतिशत मात्र हुनु पूर्वाधार खर्चमा निकै कम मान्नु पर्ने हुन्छ । कुल पुँजीगत खर्चको ३५ प्रतिशत बजेट रहेको भौतिक पूर्वाधारतर्फ सडक डिभिजन कार्यालयको संरचनागत समस्या, दक्ष प्राविधिकको कमीजस्ता थुप्रै समस्या देखिएका छन् ।

सानो आकारको मुलुक सिंगापुरले छिमेकी मुलुक मलेसियाबाट सन् १९६५ मा मुक्ति पाएको हो । १९६० को दशकसम्म विश्वको सबैभन्दा गरिबमा गनिने मुलुक सिंगापुरको कायापलट भएको छ अहिले । समृद्ध राष्ट्रको रूपमा चिनिन त्यस देशको नेता गतिलो हुनु पर्ने रहेछ । हालको समृद्ध मुलुक सिंगापुरमा सन् १९५९ देखि १९९० सम्म प्रधानमन्त्री लि कुआनले सत्ता सञ्चालन गरे । उनले त्यहाँ कडाइका साथ कानुनलाई स्थापना गराए । हाम्रोजस्तो धुलाम्मे सडक छैन त्यहाँ । हिलो, मैलो कतै छैन । पैदलयात्रीहरूले जथाभावि बाटो काट्दैनन् । सबैतिर सीसी क्यामरा फिट भएको छ । कसैले गल्ती गर्दैन । गाडीको आफ्नै गति हुन्छ । सडकमा ट्राफिक प्रहरीहरू देखिँदैनन् । विश्वकै इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको रूपमा काम गर्ने लि कुआन वास्तवमै शक्तिशाली व्यक्ति रहेछन् मुलुकप्रति समर्पित ।

सिंगापुरको अन्तर्राष्ट्रिय चाँगी विमानस्थल र सिंगापुरमा भएका गगनचुम्बी महलहरूले विश्वकै मन खिचेको छ अहिले । छिमेकी हङकङ सहर र न्यूयोर्कको म्यानहाटभन्दा कम छैन सिंगापुर । विश्वकै लगानी आकर्षित मुलुक हो सिंगापुर । आफ्नो प्राकृतिक स्रोत नभएको सिंगापुरमा पानीको स्रोत छैन, उसले समुद्रपारी रहेको मलेसियाबाट पाइपबाट पानी आपूर्ति गराएको छ । बाटाघाटामा रहेका धाराहरूबाट पिउन सक्ने पानी पनि बोतलको मिनरलवाटर भन्दा कम छैन । हामीकहाँ पानीको अपार भण्डार छ तर खेर गएको छ, न पिउन, न सिंचाइमा न जलविद्युत् उत्पादनमा खुलेर प्रयोग हुन सकेको छ ।

सुरूमा सिंगापुरको जनसंख्या २० लाख मात्र थियो, अहिले बढेको छ । प्रतिभाशाली, सीपयुक्त जनशक्तिको उच्च प्राथमिकता र प्रयोगले छिट्टै सिंगापुरले काँचुली फे-यो । कुशल र सिपालु जनशक्ति अनि अत्यन्त न्यून र पारदर्शी कर प्रणाली अनि सशक्त कर्मचारीतन्त्र छ । उत्पादनभन्दा सेवा, व्यापार बढी छ त्यहाँ र त विश्वको कुनै कुनामा उत्पादन भएको वस्तु तत्क्षणमै सिंगापुर पुगिसक्छ । विद्युतीय व्यापारले प्रश्रय पाएको छ त्यहाँ । विश्वको लगानी आकर्षणको केन्द्र बनेको सिंगापुरमा धुलो, धुँवा, फोहोर कतै भेटिन्न ।

चीन र अमेरिकासँग सिंगापुरले आर्थिक कुटनीति राम्रो गरेको छ । हामीले छिमेकमा रहेका दुई शक्तिशाली आर्थिक विकास गर्ने भारत र चीनबाट यथेष्ट लाभ लिन सकेका छैनौँ । चीनमा माओत्सेतुङले कम्युनिष्ट क्रान्ति गरेयता सन् १९५० मा चीनको अर्थतन्त्र जापानको भन्दा ४९ प्रतिशतले ठूलो थियो । सन् १९७७ तिर देङ सियायो पिङले चीनमा खुलाबजार नीति ल्याए । त्यतिबेलासम्म जापानको अर्थतन्त्र अकासियो चीनको भन्दा ३३ प्रतिशतले ठूलो भयो ।

अहिले उत्पादन र निर्यातमा चीन विश्वमा एकछत्र रजाइँ गर्दै छ, विश्वकै केन्द्र बनेको छ चीन । विश्वकै कारखाना बनेको छ चीन । सन् २०१८ को चीनको आर्थिक वृद्धिदर छ दशमलव छ रहेको छ । सन् १९८० तिर चीन तीन खर्ब पाँच अर्ब ३५ करोड जीडीपीसहित विश्वको सातौँ ठूलो अर्थतन्त्रको मुलुक बनेको थियो । सन् १९७८ मा बजार अर्थतन्त्र सुधार पछि चीनको वार्षिक आर्थिक वृद्धिदर १० प्रतिशत रहेको छ । हाल यसको आर्थिक वृद्धिदरमा केही कमी आए पनि विश्व अर्थतन्त्रमा चीन अगाडि नै छ । यत्रो समृद्ध मुलुक छिमेकी भएर पनि हामी खुम्चिएको अवस्थामै छौँ ।

सन् १९४९ देखि १९७८ सम्म चीन जनवादी गणराज्य तत्कालीन सोभियत संघको शैलीमा केन्द्र नियन्त्रित अर्थ व्यवस्थामा थियो । त्यतिबेलासम्म निजी व्यापार र पुँजी बजारलाई स्थान थिएन । औद्योगिक साम्यवादका लागि माओले दीर्घकालीन अर्थव्यवस्था स्थापना गरेका थिए । पछि माओको निधन भयो । देङ सियाओ पिङ र पछिका नेतृत्व व्यवस्थापनले सुधार गरे । एकदलीय शासनको अधीनमा बजारोन्मुख मिश्रित अर्थव्यवस्था । १९७८ पछि निजीकरण सुरू भयो, विदेशी लगानी पनि प्रोत्साहित बन्यो । विशेष आर्थिक क्षेत्रमा हङकङ नजिक सोजेल र अन्य सहरको छनौट भयो । पश्चिमी मुलुकका शैलीमा उद्योगहरू स्थापना हुन थाले । विस्तारै राज्य नियन्त्रित प्रणाली हट्दै गयो । १९७८ पछिको आर्थिक उदारीकरणले हालको आर्थिक आकार ९० प्रतिशतले बढेको छ । चीनको अर्थतन्त्रले सन् २०१० मै जापानलाई उछिन्यो । उसले बेलायत र जर्मनीलाई त सन् २००५ मै उछिनिसकेको थियो । हामीले उत्तरतिरको यस्तो समृद्धिलाई बास्नासम्म पनि लिन सकेनौँ ।

प्रसङ्ग सिंगापुरकै छ । उसको छिमेकी मुलुक मलेसियामा नवोदित बजार छ । लचकदार सटहीदर छ । मलेसियाको अर्थतन्त्र स्थिर आर्थिक वृद्धिमा आधारित छ, श्रम बजार सहज छ, यथेष्ट सुरक्षा प्रणाली छ । न्यून मुद्रास्फिती छ । आर्थिक वृद्धिदर पाँच प्रतिशतको छ । उसको मुद्रा रिंगिटले अमेरिकी डलरसँग सजिलै प्रतिस्पर्धा गर्न सक्छ । निजी क्षेत्रका कामदार न्यूनतम पनि छ प्रतिशतले बढ्ने गरेको छ । यथेष्ट अमेरिकी डलरको सञ्चितीले मलेसियालाई व्यापारमा समस्या छैन । शैक्षिकस्तर राम्रो छ । विविध पूर्वाधार विकास भएकाले मलेसिया हङकङको तुलनामा सस्तो गन्तव्यका रूपमा चिनिन्छ । नजिक रहेको मलेसियाको राम्रो प्रभाव छिमेकी सिंगापुरलाई परेको छ, उता छिमेकी इन्डोनेसियाको पनि ।

विश्वकै ढोका बनेको सिंगापुर वास्तवमै लोभलाग्दो छ । त्यहाँको सुशासन, भ्रष्टाचारमुक्त प्रशासनयन्त्र, प्रविधिमा आधारित पारदर्शी प्रणाली, जलीय यातायातको विकास, सार्वजनिक परिवहनको कुशल व्यवस्थापन, प्रदुषणरहित वातावरण, सडकमै उभिरहूँजस्तो लाग्ने, पर्यटकीय क्षेत्रहरू अत्यन्त मनमोहक धेरै छन् वर्णन गर्न लायक सिंगापुरमा । बाह्रौँ, तेह्रौँ शताब्दीका एसियाभरिकै दुर्लभ पुराना वस्तुहरूलाई विद्युतीय फिल्ममा सजाएर राखिएका छ । एसियाकै उत्कृष्ट गन्तव्यको रूपमा चिनिन्छ सिंगापुर । केन्द्रीय सञ्चयकोषको व्यवस्था, आवास विकास बोर्डअन्तर्गत फ्ल्याट सिस्टम छ त्यहाँ ।

आधुनिक, वैज्ञानिक अनि व्यवहारिक शिक्षा प्रणाली छ त्यहाँ । अनिवार्य शिक्षा, हरेक तहका जनतामा शिक्षाको पहुँच पु-याएर प्रधानमन्त्री लि कुआनले साँच्चै सिंगापुरलाई सिंगारेका छन् । आफूलाई विश्वकै महत्वपूर्ण वित्तीय केन्द्रका रूपमा राख्ने नीति र प्रयास गरेको छ । यसका लागि उसले जलीय र उड्ड्यन क्षेत्रलाई अझ उदाहरणका रूपमा स्वीकारेको छ । विश्वव्यापी बहुराष्ट्रिय कम्पनीहरूको क्षेत्रीय मुख्यालयका रूपमा सिंगापुरले आफूलाई उभ्याउने प्रण गरेको छ । सयौँ तलामाथि हेर्दा भवन मलहरूको चित्रले नै हाम्रा आँखा आकर्षित हुने गर्छन् सिंगापुर र नजिकैको मलेसियामा । भ्रष्टाचारविरूद्ध न्यून सहिष्णुता, व्यापार व्यवसायमा विनाअवरोध, गतिशील आर्थिक नीति, कानुनी राज्य, सशक्त सरकारी संरचना, समष्टिगत स्थिरता र बलियो आर्थिक पूर्वाधारले सिंगापुर सजिएको छ ।

अहिले हाम्रा छिमेकी मुलुक चीन र भारत जनसंख्याको हिसाबले अग्रस्थानमा छन् । जनसंख्याको हिसाबले अमेरिका तेस्रो स्थानमा छ र लामो समयदेखि अमेरिका भने अर्थतन्त्र अग्रणी स्थानमा नै छ । छिमेकी मुलुक भारतको अर्थतन्त्रबाट हामीले खासै फाइदा लिन सकेनौँ । अहिले विश्व अर्थतन्त्रमा भारत पाँचौँं स्थानमा हुनु भनेको हाम्रो लागि सुनौलो अवसर हुनुपर्ने थियो । विश्व बजारमा हाल अमेरिकी अर्थतन्त्र केही खस्कने संकेत देखिएको छ । लामो समय आफ्नो अग्रणी वर्चस्व कायम राख्दै आएको अमेरिकी अर्थतन्त्र अहिले पनि एक नम्बरमै पर्छ । प्राइस वाटर हाउस कुपर्स भन्ने एक संस्थाले गरेको अध्ययनअनुसार सन् २०३० अघि नै चीनले अमेरिकी अर्थतन्त्रलाई पछारी अगुवाइ गर्नेछ । छिमेकी मुलुक भारत पनि सन् २०५० अघि नै ठूलो अर्थतन्त्र बोक्ने मुलुकको रूपमा हुने भविष्यवाणी गर्न थालिएको छ । चीन र भारतपछि मात्र अमेरिका तेस्रो स्थानमा पुग्ने देखिन्छ र चौथो भने इन्डोनेसियाको आँकलन गर्न थालिएको छ ।

भारत भूगोलको हिसाबले ठूलो छ । त्यस्तै जनसंख्याको हिसाबले जीडीपी प्रतिव्यक्ति आयका हिसाबले भने धेरै तल छ अर्थात् जम्मा १९ सय ८२ मात्र । सन् १९८० सम्म अर्थतन्त्रमा भारत विश्वको तेह्रौँ स्थानमा थियो । सन् १९१७ को उसको आर्थिक वृद्धिदर ६ दशमलव ७ प्रतिशत थियो । सन् २०१८ मा सात दशमलव तीन प्रतिशत र सन् २०१९ मा यो थोरै खस्कियो पनि । स्वाधीनतापछि उसको अर्थतन्त्रको सुुरूवात कृषिबाटै भएको हो । हाल केही दशक यतादेखि निर्माण र सेवा क्षेत्रमा ऊ अगाडि छ । भारतीय अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ६० प्रतिशत पुगेको छ । सेवा क्षेत्रबाटै २८ प्रतिशत रोजगारी अवसर प्राप्त छ । कृषि क्षेत्रको योगदान १७ प्रतिशतमा झरेको छ र पनि पश्चिमी मुलुकका दाँजोमा राम्रो मान्नु पर्छ । भारतको सकारात्मक पक्ष भनेको उच्च जगेर्ना दर हो, अनुकूल जनसंख्या हो, मध्यम वर्गको उत्थान हो र सीमित आयात । त्यहाँ धनी पनि छन् र गरिब पनि । गरिबलाई बाँच्न असजिलो छैन । यस्ता राष्ट्रका बीच हाम्रो मुलुक उभिन पाउँदा पनि हामीले उन्नतिको यथेष्ट संकेत पाउन सकेनौँ ।

अमेरिका विश्वकै आर्थिक महाशक्ति राष्ट्र हो । सन् १८७१ देखि एकछत्र विश्वकै एकलौटी अग्रणी अर्थतन्त्रलाई अंगालो हालेको छ अमेरिकाले । औद्योगिक उत्पादन लगायत सेवा क्षेत्रबाट पनि उसले कुल गार्हस्थ्य उत्पादनमा ८० प्रतिशत स्थान ओगटेको छ । औद्योगिक उत्पादन मात्र १५ प्रतिशतमा सीमित छ । यहाँ पुँजीवादी मिश्रित अर्थव्यवस्था छ । प्रचुर प्राकृतिक सम्पदाहरू छन्, उच्च उत्पादकत्वको दर छ । अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार अमेरिकाको कुल गार्हस्थ्य उत्पादन एक सय ९४ खर्ब डलर छ । उसको कुल गार्हस्थ्य उत्पादनले विश्वको जीडीपीमा २४ प्रतिशत हिस्सा ओगटेको छ । विश्वको ठूलो अर्थतन्त्र बोकेको अमेरिकाको प्रतिव्यक्ति आयको सूचीमा नवौँ स्थानमा परेको छ । सन् २०१८ मा उसको कुल गार्हस्थ्य उत्पादन दुई सय चार खर्ब डलर नाघेको छ । विश्वमा ठूलो आयातक मुलुक हो यो र दोस्रो ठूलो निर्यातक मुलुक । सन् २०१७ मा त उसले व्यापारघाटा पनि सहनु प-यो ।

विश्वकै तेल उत्पादनको पहिलो मुलुक हो यो र पनि ऊ दोस्रो ठूलो तेल आयातक मुलुक पनि बनेको छ । विद्युत र परमाणु ऊर्जामा अब्बल दर्जामा छ अमेरिका । प्राकृतिक ग्यास र सल्फर नुन उत्पादनमा पनि अगाडि छ । कोइला, खनिज, तामा, सिसा, म्याग्नेसियम, जिंक, टाइटेनियम पनि हो उसको उत्पादन । बेलायत विश्वकै अग्रणी स्थान ओगटेको अर्थतन्त्रको मुलुक हो । सन् २०२३ मा उसले आफ्नो दौडमा सातौँ स्थान ओगट्ने छ । सेवा क्षेत्रमा अब्बल छ बेलायत । दोस्रोमा उसको स्थान कलकारखाना हो भने कृषि क्षेत्र तेस्रोमा पर्छ । खाद्यान्नको हिसाबले उसका ६० प्रतिशत जनसंख्यालाई मात्र आफ्नो उत्पादनले भ्याउने गरेको छ ।

कृषिले जीडीपीमा खासै योगदान गरेको छैन । दुई प्रतिशतभन्दा कम जनसंख्याले मात्र कृषि क्षेत्रमा श्रम रोजगारी पाएका छन् । युरोपको फ्रान्सलाई उछिन्दै जर्मनीपछि दोस्रो ठाउँ ओगट्दै उभिएको छ बेलायत । सेवा क्षेत्रमा अत्यधिक रोजगारी छ त्यहाँ । बैकिङ र बीमा क्षेत्रले लण्डन त ठूलो वित्तीय केन्द्र नै बनेको छ विश्वमै । लण्डनको हराभराले सबैलाई मोहित बनाएको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया