Techie IT
×
गृहपृष्ठविचारस्वीकार्नै पर्ने अन्तिम सत्य ‘मृत्यु’

स्वीकार्नै पर्ने अन्तिम सत्य ‘मृत्यु’


काठमाडौं । भनिन्छ भोग्नेको पीडा देख्नेले बुझ्दैनन् । तर पनि परिस्थिति देखेर असहज पीडा भइरहेको छ । एकपछि अर्को चिनजानका मानिसहरूको अकाल मृत्युको खबर सुनिरहेको अवस्थामा दिनहरू बितिरहेका छन् । पछिल्ला केही मृत्युका घटनाका क्रमहरूले जीवनको अनिश्चितताको बारेमा बोध गराइरहेका छन् । कोरोनाको पहिलो भेरियन्ट आएको समयमा वृद्धवृद्धालाई बढी प्रभाव पारेको हुँदा सोही समूहका मानिसहरूको मात्र मृत्युको खबर सुन्न पाईएको थियो । दोस्रो भेरियन्टसँगै युवाहरूलाई कोरोनाको प्रभाव बढी भएको अवस्थामा अस्पतालहरूमा अक्सिजनको अभावका कारण दिनदिनै ठूलो संख्यामा मानिसहरूको अकाल मृत्यु भयो । हाल अक्सिजनको अभाव नभए पनि दिनहुँ मानिसहरू मर्ने क्रम रोकिएको छैन । संख्यात्मक हिसाबले मृत्युको ग्राफ ओरालो लागे पनि मृत्युका घटना रोकिएका छैनन् । घरबाहिर निस्कँदा कोरोना पनि बाँकी छ र जस्तो गरी भीडभाड हुन थालिसकेको छ ।

एकपछि अर्को चाडबाडको आगमनले मानिसहरू कोरोना बिर्सेर चाडबाड मनाउन लागि परिहेका छन् । चाडबाडको कारण बजारमा किनमेलको पनि भीड लाग्न सुरु भएको देखिन्छ । खोप लगाउन ठूलो संख्यामा मानिसहरू बाँकी रहँदा भीडभाडबाट रोग सर्ने भएको कारण अझै संक्रमणको त्रास बाँकी नै छ ।
नजिकका मानिसहरूको मृत्युले आहात पु-याइरहेको छ । कोरोनाको समस्या जसलाई प-यो, जुन परिवारमा प-यो त्यो परिवारमा निकै नै गहिरो छाप छोडेर गएको छ । आफन्तहरूको मृत्युका समाचारहरूले समग्र समाजलाई पीडा दिइरहेको छ । कोरोनाले पीडासहित जीवनलाई नजिकबाट चिन्न तथा आत्मकेन्द्रित हुनलाई पनि सचेत गराइरहेको छ । रिसराग छोडेर सामाजिक जीवन जिउने पाठ सिकाइरहेको छ ।

साथीभाइ छरछिमेकीहरूको मृत्युको खबरपश्चात् घरपरिवारमा नै घटेका मृत्युका खबर सुनेर मन अमिलो भएको छ । केही दिन पहिले विनोद मामाको मृत्युको घटना स्वीकार्न निकै नै कठिन भएको थियो । तीस/एकतीस वर्षको जवान बित्नुभयो भन्दा पत्याउन गाह्रो भएको थियो । त्यसको केही दिनपछि राति १० बजेतिर दादाले फोन गरेर मुरलिधर मामा बितेको खबर सुनाउँदा छाँगाबाट खसेजस्तो भयो । लगभग निदाइसकेको मेरो मनमा भुमरी उत्पन्न भयो । अकल्पनीय घटना भयो । झल्झल्ती आँखाअगाडि मामाको हँसिलो तेजिलो अनुहार नाचिरह्यो । सुत्न प्रयत्न गरेँ, सकिनँ । निकै बेर दिमागमा विगतका सम्झनाहरू ह्वारह्वारती आइरहे । मन समाल्न गाह्रो भयो । आफ्नो कान्छो भाइ बितेको नवौँ दिनमा मामा बित्नुभयो भन्दा पत्याउन त्यसै पनि गाह्रो थियो । कोभिडको कारणले अकालमा नै दाजुभाइको ज्यान गयो । भाइ बितेको छनक समेत नपाउनुभएको मामा विगत केही दिनदेखि अक्सिजनको साहरामा बाँचिरहनुभएको थियो ।

आफूलाई सम्झाउन खोज्दा पनि मामाको सम्झना आई नै रह्यो । मन बुझाउने प्रयत्न गरेँ तर सकिनँ । हुन त आफन्तको मृत्यु स्वीकार्ने सम्बन्धमा यहुदी पृष्ठभूमिकी अमेरिकी कवि लिन्डा पास्टनले लेखेको फाइज स्टेजेज अफ ग्रिफमा भनिएजस्तै दुःख व्यवस्थापन सहज कुरा हैन तर पनि यसलाई व्यवस्थापन गर्नैपर्ने रहेछ । मानिसले विस्तारै सबै घटनाहरू बिर्सँदै अगाडि बढने अद्भूूत क्षमताको कारण पनि मानवजातिले प्रगति गर्न सकेको होला । समय र समाज एकै ठाउँमा अडिन सक्दैनन निरन्तर अगाडि बढिरहन्छन् । टाइम हिएल्ज भनेझैँ समयले घाउमा मल्हम लगाउने कार्य गर्दै जान्छ होला तर हाललाई पत्याउन एकदमै गाह्रो भयो ।

परिवारको आशाका केन्द्र मामाले धेरै नै हण्डर खानुभएको थियो जिन्दगीमा । बनारसको बसाइपश्चात् धरान हुँदै काठमाडौँ आएर पुराण वाचनमा दत्त चित्तसहित लाग्नुभएका मामाले पुरानो घर भत्काएर नयाँ घर बनाउने र अलि व्यवस्थित भएर बस्ने चाहना जाहेर गर्नुभएको थियो । विशेष गरी हजुरबुबाको मृत्युपश्चात् हजुरआमाको स्वास्थ्यमा समस्या भएपश्चात् परिवारप्रतिको कर्तव्यबोधले आफ्नो पेसा दाउमा नै राखेर भए पनि कर्म थलो काठमाडौँ छोडेर घर नै फर्किनुभएको थियो ।

आमाको काकाको छोराहरू भए पनि मामाहरू सँगसँगै हुर्केको कारण त्यो घर प्यारो थियो सानैदेखि । नजिकै भएको कारण हाम्रो आवतजावत प्राय दैनिकजस्तै हुन्थ्यो । मीठोमसिनो बाँडेर खाएका थियौं । मामाहरूको उमेर आफ्नोजस्तै र कान्छो मामा त मभन्दा पनि कान्छो भएका कारण प्राय सम्बोधन तँतँ ममकै थियो । बच्चाबेलामा त अझ मेरो बास मामाहरूको घरमा नै हुन्थ्यो । मामाघरको खाना खाएर मुख फेर्न अभ्यस्त नै थिएँ म ।

समय परिस्थिति बदलिँदै जाँदा हाल आएर सबै आ–आफ्नो पेसा व्यवसायमा आ–आफ्नै गन्तव्यमा लागियो । मामाहरू बनारसबाट आउँदा ल्याउने सेतो प्रसाद मिठाइ खाँदै बनारसमा यस्तो हुन्छ, त्यस्तो हुन्छ भन्ने बनारस गाथा सुन्दा मलाई पनि बनारस जान बाल्यअवस्थामा ठूलो इच्छा थियो । मामाले क्षणिक मोह मात्र हो भान्जा बनारस भन्दै आफ्नै ठाउँमा पढनुपर्छ भन्नुहुन्थ्यो ।

सुरुका दिनहरूमा मामाहरूको तथा हाम्रो घर सामान्य फुसले छाएको खालको थियो । पानी पर्दा छानोबाट चुहिएको पानी भाँडो थापेर तर्काउने प्रयास दुवै घरमा हुन्थे । सामान्य गाउँले जीवनशैली थियो । वरपर सबैको बारेमा जानकारी हुन्थ्यो । विस्तारै सहरीकरणको प्रभावले हाल ओल्लो घर, पल्लो घर चिनजान हुन पनि कठिन भएको छ । क्रमशः हामी टिनको छानो हालेर एकडा बेरा जुन बाँसको भाटाले बनाइन्थ्यो र त्यस समयमा हाम्रोतिर चलन चल्तीको घर बनाउने पद्धति थियो, त्यतातिर लाग्यौँ र पछि पक्की घर बनाउन सक्यौँ । बुबाको जागिर स्थायी राम्रो भएको कारण हाम्रो घर बनिने आधार तयार भयो । तर मामाहरूको घर पुरानै अवस्थामा थियो । परिवारमा आयको स्थायी स्रोत केही थिएन । हजुरबुबाले कर्मकाण्ड गर्नुहुन्थ्यो ।

कर्मकाण्डको प्रसङ्ग उठ्दा चक्र मामा र म हजुरबुबाले पूजाआजाबाट ल्याउनुभएको सेलरोटी तथा अन्य प्रसाद खान एकदमै होडबाजी चल्थ्यो । हजुरबुबा एक्लैले कमाएको पैसाले घरधन्दा चलाउन कठिन हुन्छ भनेर हामीले पारिवारिक रूपमा समेत मेची राजमार्ग रुँघेर बस्नुभन्दा त्यहाँको जग्गा बेचेर अलि भित्रतिर अर्को जग्गा किनेर अलि व्यवस्थित घर बनाउन पनि सुझाव दिएका थियौँ । परिस्थितिमा सुधार गर्दै विस्तारै सोही ठाउँमा अलि व्यवस्थित तवरले घर बनाएर बसोबासको प्रबन्ध मिलाउने ठूलो मामाको सोच थियो ।

घर बनाएर व्यवस्थित तरिकाले बस्ने मामाको आत्मबल देख्दा रमाइलो लाग्थ्यो । मामाले आँटेअनुसार नै लामो समय संघर्ष गर्दै विस्तारै काठमाडौँमा बसेर अलिअलि कमाइ भएपश्चात् घर बनाएर बस्ने पुरानो सपना साकार बनाउन सुरुवात गर्नुभएको थियो । तर सुरुवाती चरणमा नै घर बनाएर नसक्दै मामाको दुखःद अन्त्य भयो । मामाहरूको व्यवस्थित बसाइको सपना साकार हुनै लाग्दा परिवारमा एकपछि अर्को बज्रपात भयो । कान्छो मामाको मृत्युको खबरले ठूलो मामालाई आघात पुग्ने देखेर मृत्युको खबर समेत सुनाइएको थिएन तर यसैबीच भाइ बितेको नौै दिनमा नै दाइको पनि मृत्यु भयो ।

धर्मिक तथा सांस्कृतिक सचेतनाको माध्ययमबाट हाम्रो हिन्दु धार्मिक मूल्य मान्यताहरूको प्रचार गर्दै समग्र विश्व शान्तिको कामना गर्ने अभिप्रायले ठूलो मामाले विश्व शान्ति अभियानका लागि गैरनाफामूलक संस्था चलाउने प्रयत्न गर्नुभएको थियो । विभिन्न सामाजिक संघ संस्थाहरूको सञ्चालन तथा विकासका लागि धार्मिक अनुष्ठानहरूको माध्ययमबाट दान संकलन गर्नका लागि नाम मात्रको शुल्क लिएर तथा कहीँ निःशुल्क नै पुराण वाचन गर्ने अभियान जारी नै थियो । तर अब त्यो कार्य अपुरो नै रहने भयो । सपना सपनामा नै सीमित हुने भयो ।

एकपछि अर्को छोराको मृत्यु सहन अवश्य नै गाह्रो छ । आफैँ रोगले थलिएको अवस्थामा परिवारको मियोको रूपमा रहेका जेठा छोराको मृत्युले क्षतविक्षत हुनुभएकी हजुरआमालाई भगवान्ले सहने शक्ति प्रदान गरुन् । तितो यथार्थलाई स्वीकार्नुबाहेक विकल्प नभएको अवस्थामा माइजुहरू तथा भाइबहिनीहरूमा पनि सहन गर्ने शक्ति मिलोस् भन्ने कामनाबाहेक केही गर्न नसक्ने गरी निरिह भइयो ।

दलाल पुँजीवादी अर्थतन्त्रको हाबी हुँदै गएको हाम्रोजस्तो मुलुकमा सामान्य मानिसले सामान्य पेसा अवलम्बन गर्दै लामो समय प्रयत्न गर्दा सफलता हासिल गर्नसक्छ भन्ने उदाहरण दिनै लाग्ने बेलामा मामाको देहवसान भएकोले पनि पत्याउन गाह्रो भयो ।

मृत्यु अकाट्य अनिवार्य तथा अन्तिम सत्य भए पनि कतिपय मृत्युको खबर झुटा साबित भइदिए हुन्थ्यो जस्तो लाग्नेरहेछ । मामाहरूको मृत्युको खबर सपना भइदिए हुन्थ्यो जस्तो लाग्छ । तर यथार्थतालाई स्वीकार्नेबाहेकको अन्य विकल्प नहुने भएको हुँदा स्वीकार्ने विभिन्न तहहरू पार गरिरहेका छौँ हामी ।

बाँच्नेहरूले जिन्दगीको रथ चलाउनुपर्ने बाध्यता भएको हुँदा परिवारको बिछोडको पीडालाई समयले मलम लगाउँदै जाओस् । जिन्दगीको स्वीकार्नै पर्ने बाध्यात्मक अन्तिम सत्य मृत्युलाई स्वीकार्न मामाको परिवारलाई शक्ति मिलोस् । हामीले कामना मात्रै गर्ने त रहेछ । बाँकी विधाताको भागमा । मामाहरूको आत्माले शान्ति पाओस्, स्वर्गमा बास होस्, अलविदा मामाहरू ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया