Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआर्थिक अनुशासनहीनता र बेरुजुमा बेलगाम वृद्धि

आर्थिक अनुशासनहीनता र बेरुजुमा बेलगाम वृद्धि


काठमाडौं । आर्थिक अनुशासनहीनताका कारण वर्षेनी बेरुजुमा बेलगाम वृद्धि भइराखेको महालेखाको प्रतिवेदनले उजागर गरेको छ । राष्ट्रपतिलाई महालेखापरीक्षकले बुझाएको आर्थिक वर्ष २०७६/७७ को ५८औँ वार्षिक प्रतिवेदनअनुसार संघ, प्रदेश र स्थानीय तह र अन्य समिति तथा संस्थाहरूको बेरुजु रकम चार खर्ब १८ अर्ब ८५ करोड पुगेको छ । यो गत वर्षभन्दा शून्य दशमलव १३ प्रतिशतले बढेको छ । यस वर्षको मात्र बेरुजु एक खर्ब चार अर्ब ३९ करोड देखिएको छ । बेरुजु रकम तीनै तहका सरकारी निकाय र सार्वजनिक संस्थाहरूमा प्रत्येक वर्ष बढ्ने गरेको तथ्यांकले पुष्टि गरेको छ । अध्यावधिक कारबाही गरी टुंगो लगाउनुपर्ने रकम गत वर्ष सम्म छ खर्ब ६४ अर्ब ४४ करोड रहेकोमा यस वर्ष ११ अर्ब ९७ करोड थप भई छ खर्ब ७६ अर्ब ४१ करोड पुगेको छ । अहिलेसम्म बेरुजु नियन्त्रणका लागि अपनाइएका उपायहरू कागजी बाघ मात्र भएका छन् ।

बेरुजु भन्नाले ऐननियममा तोकिएको विधि र सर्त पूरा नगरी गरिएको खर्च हो । त्यस्तो खर्च अनियमितताको कारण आर्थिक अनुशासनको सुनिश्चिततामा गम्भीर चुनौती बन्दै गएको जगजाहेर नै छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७२ को दफा (२) अनुसार बेरुजुलाई प्रचलित कानुनबमोजिम पु-याउनुपर्ने रीत नपु-याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औँल्याएका वा ठहराएको कारोबार हो भनी परिभाषित गरिएको छ । लेखापरीक्षण सम्पन्न गरिसकेपछि देखिएका व्यहोरा समावेश गरी सम्बन्धित कार्यालयलाई उपलब्ध गराइएको प्रतिवेदन लेखापरीक्षण प्रतिवेदन हो । यस्तो प्रतिवेदनमा लेखापरीक्षणका लागि तोकिएका आधारहरू अवलम्बन गर्नुपर्ने सैद्धान्तिक मान्यता छ । स्वतन्त्र लेखापरीक्षणको लागि संवैधानिक सर्वोच्च निकाय महालेखापरीक्षकको कार्यालय हो ।

लेखापरीक्षणलाई सुव्यवस्थित र प्रभावकारी बनाउन विभिन्न नीतिनियम र सिद्धान्तहरू प्रतिपादित गरिएका हुन्छन् । लेखापरीक्षण ऐन २०७५, नेपाल सरकारी क्षेत्र लेखापरीक्षण मानदण्ड, सर्वोच्च लेखापरीक्षण संस्थाहरूको अन्तर्राष्ट्रिय संगठनद्वारा प्रतिपादित लेखापरीक्षणका आधारभूत सिद्धान्त, लेखापरीक्षण मार्गदर्शन र असल अभ्यासको आधारमा जोखिम पहिचान र मूल्यांकन गरी योजना तर्जुमा गर्ने, लेखापरीक्षणका क्रममा पर्याप्त र सान्दर्भिक प्रमाण संकलन गर्न नमूना छनोट एवं विस्तृत परीक्षण गर्ने, सोको लागि मुख्यतः स्थलगत निरीक्षण, प्रश्नावली, सोधपुछ, छलफल आदि माध्यमबाट जानकारी सूचना, विवरण प्राप्त गरी सारभूत परीक्षण, परिपालनको परीक्षण विधि तथा पद्धतिको पूर्ण अवलम्बन विरलै गरेको कारण बेरुजु बढ्दै गएको देखिन्छ ।

संघीय संरचनाअनुसार तीन तहको सरकारमध्ये जनताको नजिकबाट सेवा प्रवाह गर्ने भूमिकामा स्थानीय तह। महत्वपूर्ण छ । स्थानीय तहमा सुशासन कायम हुन नसकेमा जनताले अनावश्यक दुःख पाउने मात्र नभएर संघीयताप्रति नै वितृष्णा जाग्ने वास्तविकता हो । स्थानीय तहमा वित्तीय सुशासन कमजोर रहेको विभिन्न तथ्यांकले पुष्टि गरेको छ । राजनीतिक खिचातानी, पदाधिकारीहरूको मनोमानी आदेश, निर्देश र हस्तक्षेप, समयमा नै कर्मचारीहरूको पदपूर्तिमा उदासिनता आदि कारणले बेरुजु र भ्रष्टाचार मौलाउँदो अवस्था देखिन्छ ।

आव २०७४/७५ मा सात सय ४७ स्थानीयतहको पाँच खर्ब ७१ अर्ब ५१ करोडको अन्तिम लेखापरीक्षण हुँदा बेरुजु अंक २४ अर्ब १४ करोड अर्थात् ४ दशमलव २१ प्रतिशत रहेकोमा आव २०७५/७६ मा सात सय ४७ नै स्थानीयतहको सात खर्ब ४० अर्ब ६५ करोड अन्तिम लेखापरीक्षण हुँदा बेरुजु अंक ३८ अर्ब १३ करोड अर्थात् ५ दशमलव १५ प्रतिशत बेरुजुले पनि वित्तीय सुशासन कमजोर रहेको पुष्टि हुन्छ । त्यस्तै भ्रष्टाचारका तथ्यांक र घटनाहरूको ग्राफ पनि स्थानीयतहमा बढ्दो क्रममा नै छ । आर्थिक अनुशासन, वित्तीय पारदर्शिता र जवाफदेहिता पालना नभएमा अपेक्षित प्रतिफल प्राप्त हुन नसक्ने वास्तविकता हो । कमजोर व्यवस्थापनका कारण तोकिएको प्रक्रियाको पालना न हुँदा लक्षित वर्गले विकासको फल प्राप्त गर्न सक्दैनन् । यस्तो विसंगतिले सरकारप्रति जनताको वितृष्णा बढ्न गई अराजकता मौलाउने जोखिम प्रबल रहन्छ ।

लेखापरीक्षण बेरुजु बढ्नुका कारण विविध हुन सक्छन् । वित्तीय कारोबारमा संलग्न जिम्मेवार व्यक्ति र निकायले विद्यमान कानुनको परिपालना नगरी यथेष्ट प्रमाण र आधारबेगर खर्च गर्ने प्रवत्तिका कारण बेरुजु बढ्दै गइरहेको छ । खर्च लेख्दा खर्च पुष्ट्याइँका लागि तोकिएका कानुनी प्रावधान, निर्णय, कागजात प्रमाणबेगर तथा लेखापरीक्षकलाई विभिन्न किसिमले प्रभाव पारिहालिन्छ भन्ने विश्वासका कारणले पनि बेरुजु बेथिति मौलाउँदै गएको छ । बेरुजुकर्तालाई कसुरअनुसार कडा कारबाही नगरी उन्मुक्ति दिने कारणले पनि आर्थिक कारोबारमा अनियमितता सामान्य बन्दै गएको हो ।

अहिले पनि तोकिएका समयमै सबै निकायहरूको लेखापरीक्षण सम्पन्न भएको छैन । तसर्थ, बेरुजुको रकम योभन्दा बढी हुने सम्भावनालाई नकार्न सकिन्न । लेखापरीक्षण कार्य तोकिएका आचारसंहिता पूर्णरूपमा पालना नभएको गुनासाहरूलाई पुष्टि गर्ने कतिपय घटनाहरू सार्वजनिक हुनेगरेको जगजाहेर नै छ । अहिले पनि खर्च गरिएको रकमलाई नियमितता गराउन केही प्रतिशत रकम लेखापरीक्षकलाई छुट्याउने परम्परा खुला गोप्य नै हो । लेखापरीक्षकको निष्ठा, निष्पक्षता, गोपनीयता र पेसागत नैतिक आचरण तथा मूल्यमान्यता नै आचारसंहिता हो । लेखापरीक्षकबाट पालना गर्नुपर्ने पेसागत व्यवहार, क्रियाकलाप, चरित्र, स्वभाव, चालचलन र सामाजिकीकरणजस्ता आधारभूत सर्तहरू पालना विरलै भएको होला ।

लेखापरीक्षकहरूको आचारसंहिता, २०७० जारी भए पनि व्यवहारमा पर्याप्त अनुसरण नगरिएको वास्तविकतालाई नकार्न सकिन्न । यसप्रकार मिलेमतोमा गरिने लेखापरीक्षणबाट आएको बेरुजु रकम अझ बढी हुने सजिलै अनुमान गर्न सकिन्छ । बेरुजु बढ्नुका विविध कारणहरू हुन सक्छन् । तोकिएको मलेप फारामअनुसार लेखा नराख्नु, बजेट शीर्षक र दायराअनुसार खर्च नगर्नु, कार्यालयमा आन्तरिक नियन्त्रणको अवस्था कमजोर रहनु, तालुक कार्यालयबाट समय समयमा प्रभावकारी अनुगमन नहुनु, बेरुजु रकमलाई सरुवा, बढुवा, पुरस्कार, दण्ड सजायलगायतका वृत्ति विकासका पक्षसँग आबद्ध नगरिनु, आर्थिक कार्यविधि ऐन, नियम, सार्वजनिक खरिद ऐन नियमलगायत प्रचलित ऐन नियमको पूर्ण परिपालना नहुनुजस्ता कारणबाट बेरुजु बढ्दै जाने गर्दछ ।

मुलुक संघीयतामा गएपछि बेरुजु हुने प्रकृतिका खर्चहरू निस्फिक्री बढ्दै गएको तथ्य र तथ्यांकले पुष्टि गरेको छ । आर्थिक ऐन नियमहरूको परिपालनामा सरकारी रवैया गैरजिम्मार बन्दै गएको स्पष्ट देखिन्छ । गैरकानुनीरूपमा सम्पत्ति आर्जन गर्नेहरू दण्डित हुनेभन्दा संरक्षण र सम्मान हुने संस्कारको विकास सरकार र समाजमा बढ्दै जानु सुशासनको सुनिश्चितताको लागि शुभसंकेत मान्न सकिन्न । बेरुजुलाई कडाइका साथ जवाफदेही बनाउन नसके आगामी वर्षहरमा बेरुजु झन् बढ्ने निश्चित नै छ । तीनै तहमा निर्वाचित पदाधिकारीहरूको जानेर वा हेपेर स्वेच्छाचारिता बढ्दै गएको छ । महालेखाले औँल्याएका बेरुजुहरू फस्र्यौट गर्ने तदारुकताभन्दा पनि बेवास्ता गर्ने प्रवृति बढ्नु दुःखद हो ।

वार्षिक बजेटको झण्डै आधा रकम बेरुजु देखिनु, देश वैदेशिक तथा आन्तरिक ऋणले चल्नु, व्यापारघाटा चुल्लिँदै जानु, खुलेआम कमिसन र मिलेमतोमा विकास निर्माण गुणस्तरीय र तोकिएको समयावधि सम्पन्न नहुनु, जवाफदेहिता र जिम्मेवारी पन्छाउने आदि नकारात्मक प्रवृतिका कारण विपन्नताको दूष्चक्रमा जनता र देश फस्दै जाने वास्तविकता हो । निमुखा जनताहरूसँग विभिन्न उपाय रचेर संकलन गरिएको राजस्व रकम मनलाग्दी स्वार्थप्रेरित खर्च गरेर स्वाह पार्नु अनियमित मात्र नभएर अनैतिक प्रकतिको जघन्य अपराध पनि हो । यसबाट सरकारले विस्तारै जनविश्वास गुमाउँदै जाने निश्चित छ । अहिले पनि सरकार र नेताहरूप्रति हेर्ने दृष्टिकोण नकरात्मक बन्दै गएको जगजाहेर नै छ । दण्डहीनता र आर्थिक अराजकताका कारण सुखी नेपाली समृद्ध नेपालको नारा फिक्का साबित हुने प्राय निश्चित छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया