Techie IT
×
गृहपृष्ठविचारचाडपर्व र नेपालको अर्थतन्त्र

चाडपर्व र नेपालको अर्थतन्त्र


काठमाडौं । देशमा कोभिड–१९ महामारीको सिलसिला जारी नै रहिरहँदा हिन्दू धर्मावलम्बी नेपालीहरुको प्रमुख चाडका रुपमा रहेको दशैँ सकिएको छ । घटस्थापनाको दिनदेखि नै औपचारिक रुपमा दशैँको आरम्भ हुन्छ । दश दिनसम्म मनाइने राष्ट्रिय पर्वका रुपमा रहेको दशैँले धार्मिक, सांस्कृतिक र सामाजिक रुपमा निकै महत्व राख्छ । सँगसँगै, नेपालको सन्दर्भमा दशैँले अर्थतन्त्रलाई बहुआयामिक रुपमा चलायमान र गतिशील तुल्याउने मात्र नभई नकारात्मक रुपमा पनि उत्तिकै प्रभाव जमाउने प्रमुख पर्वका रुपमा समेत देखिनथालेको छ ।

आर्थिक दृष्टिकोणबाट हेर्दा दशैँ खुसियालीको पर्वमात्र नभई सुस्ताएको बजारलाई चलायमान बनाउने पर्व पनि हो । दशैँको समयमा औपचारिक रुपमा नै ठूलो मात्राको रकम एकैपटक अर्थतन्त्रमा प्रवाह हुने गर्दछ । नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब ४० प्रतिशत खर्च असोज र कात्तिक महिनामा हुने गरेको तथ्यांक छ । यी महिनाहरुमा दशैँतिहारलगायतका ठूला चाडहरु पर्ने गर्दछन् । दशैँको समयमा सरकारी, निजी र अनौपचारिक क्षेत्रमा रोजगाररत सबैले दशैँ खर्च एवं बोनस पाउने भएकोले यसबाट पनि अर्बौँ रुपैयाँ अतिरिक्त आम्दानीका रुपमा बजारमा भित्रिने गर्दछ । सरकारी कर्मचारीहरुका लागि मात्रै दशैँअघि चाडपर्व खर्चको भुक्तानीका रुपमा १२ अर्ब हाराहारी रकम खर्च हुने तथ्यांक छ । यसबाहेक निजी क्षेत्रबाट पनि योभन्दा निकै ठूलो हिस्सा कर्मचारीहरुको दशैँ खर्चका रुपमा बजारमा पुग्ने गर्दछ ।

सामान्य अवस्थामा देशको कुल जनसंख्याको एक तिहाइभन्दा बढी हिस्सा दशैँतिहारका समयमा मुलुकको एक भागबाट अर्को भागमा आवतजावत गर्ने भएकोले सिंगै मुलुक हरेक हिसाबले चलायमान भइरहेको हुन्छ । अर्कोतर्फ, आवतजावतका क्रममा यातायातका क्षेत्रमा मात्रै सात अर्बभन्दा बढीको कारोबार हुने यस क्षेत्रका व्यवसायीहरुको अनुमान छ । चाडपर्व मनाउन र आफन्तजनहरुसँग भेटघाटका लागि खासगरी सहरवासीहरु ग्रामीण भूभागतिर जाने भएकोले सहरको आम्दानी गाउँमा पुग्ने माध्यम र अर्थतन्त्रका लाभहरु सीमान्त वर्गसम्म पुग्ने अवसरका रुपमा समेत दशैँ रहेको छ ।

दशैँको समयमा आम नागरिकहरुलाई नयाँ नोटको मोह पनि उत्तिकै रहने गर्दछ । नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैँतिहारमा अर्बौँ रुपैयाँबराबरका नयाँ नोटहरु बजारमा पठाउने गरेको छ । केन्द्रीय बैंकले यस वर्ष पाँच, दश, बीस, पचास र सय रुपैयाँ दरका १५ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट बजारमा पठाएको थियो । दशैँको समयमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पठाउने विप्रेषणको रकम पनि ह्वात्तै बढ्ने गर्दछ ।

विगत वर्षहरुको तथ्यांक हेर्दा औपचारिक माध्यमबाट वार्षिक रुपमा भित्रिने विप्रेषण रकमको ठूलो हिस्सा यही सिजनमा देशमा भित्रिने गरेको अवस्था छ । यसरी हेर्दा दशैँको आसपासमा अर्थतन्त्रमा ठूलो मात्रामा नगद चलायमान हुने र खर्चको मात्रा पनि उत्तिकै बढ्ने गरेको अवस्था छ । दशैँ, तिहारको तीन सातामा नेपालीहरुले कुल उपभोगको झण्डै २५ प्रतिशत खर्च गर्ने अनौपचारिक तथ्यांक रहेको छ । यति धेरै उपभोग खर्च चाडपर्वमा नै हुनु भनेको अर्थतन्त्रमा विरलै हुने घटनाका रुपमा लिने गरिन्छ ।

दशैँको आरम्भसँगै धेरै चलायमान हुने अर्को मुख्य क्षेत्र व्यापार पनि हो । दशैँको शुभारम्भ हुनुभन्दा निकै दिन अघिदेखि नै साना पसलदेखि ठूला डिपार्टमेन्टल स्टोर र सपिङ्ग मलहरु छुट, आकर्षक उपहारलगायतका सुविधा एवं सहुलियतहरुसहितका विज्ञापनले झकिझकाउ भइरहेका हुन्छन् । पत्रपत्रिकाहरुलगायत आमसञ्चार माध्यमहरु व्यापारिक छुट र सहुलियतका आकर्षक विज्ञापनहरुले ढाकिने गर्दछन् । एक हिसाबले दशैँको समय मानिसहरुका लागि खरिददारीको मौसमका रुपमा रहेको हुन्छ । व्यापारिक स्थलहरुमा देखिने भीडभाड र कोलाहलले पनि यसको पुष्टी गरिरहेको हुन्छ ।

दशैँको समयमा नयाँ लत्ताकपडा, गरगहना, खानपानका लागि आवश्यक उपभोग्य सामग्रीहरुदेखि लिएर सवारीसाधन, भाँडाकुँडा, विद्युतीय सामानहरु जस्ता अनेकौँ वस्तुहरुको किनमेलमा मानिसहरु जुट्ने गर्दछन् । फलफूल, मरमसलादेखि लिएर थुप्रै घरायसी सामानहरुको कारोबार दशैँको समयमा चुलिने गर्दछ । पछिल्ला वर्षहरुमा विशेषगरी सहरी क्षेत्रहरुमा दशैँ, तिहारलाई नयाँ सामान जोड्ने पर्वका रुपमा समेत मनाउन थालिएको पाइन्छ । व्यापारीहरुको भनाइमा नुनदेखि सुनसम्म वर्षभरिको मुख्य कारोबार हुने सिजन भएकोले वर्षभरिमा हुने व्यापारको ठूलो हिस्सा कारोबार दशैँतिहारको समयमा नै हुने गर्दछ । यसबाट नेपालको व्यापारिक क्षेत्रमा ठूलो कारोबार हुने ‘पिक सिजन’का रुपमा दशैँ रहेको छ ।

दशैँतिहारजस्ता चाडपर्वले अर्थतन्त्रलाई व्यापक रुपमा चलायमान गराउने र थुप्रै सकारात्मक प्रभावहरु छोड्ने भए पनि यसका नकारात्मक पाटाहरु पनि उत्तिकै छन् । दशैँ, तिहारको समयमा ठूलो मात्रामा खर्च हुने गरे पनि यसको अधिकांश हिस्सा उपभोगमा नै सकिने गर्दछ । एक हिसाबले दशैँ उपभोगको पर्वका रुपमा रहेको छ । खर्चको ठूलो मात्रा उत्पादनमूलक क्षेत्रमा नभई उपभोगमा खर्चिने स्थिति अर्थतन्त्रका लागि हितकर हुन सक्दैन । अर्कोतर्फ, पछिल्लो समयमा ‘राम्रो लगाउने र मिठो खाने पर्व’का लागि खरिद गरिने, लगाउने एवं खाने अधिकांश वस्तुहरु आयातित हुनथालेका छन् । दशैँमा गरिने खर्च र यससम्बद्ध धेरै क्रियाकलापहरुले आयातलाई प्रश्रय दिइरहेको देखिन्छ । राम्रो लगाउने नाममा लत्ताकपडामा ठूलो रकम खर्च हुने तर स्वदेशी उत्पादनले बजारलाई भर नगर्ने भएकोले यसमा गरिने अधिकांश खर्च विदेशिने गर्दछ । पछिल्ला वर्षहरुमा खानपानका सामग्रीहरु पनि विदेशी नै हुनथालेका छन् ।

विगतमा दशैँका लागि भनेर खसीबोका, हाँस, कुखुरा आदि पालिने र मासुका रुपमा उपयोग गरिने प्रचलन रहेको थियो । हालका दिनहरुमा कृषि पेशाप्रति विभिन्न कारणहरुबाट मानिसमा देखिएको विकर्षणका कारण देशभित्रको मासुजन्य उत्पादनले आन्तरिक बजारको मागको १५ प्रतिशत हिस्सामात्रै धानिरहेको तथ्यांक छ । यसको अर्थ, दशैँमा मासुका लागि खसी, बोका, च्यांग्रा, कुखुरालगायतका जनावरहरु मात्रै ८५ प्रतिशत आयातित रहने गर्दछन् ।

कृषिप्रधान भनिएको मुलुकमा धान, चामललगायतका दैनिक खाद्यवस्तुहरुदेखि लिएर जिरा, धनियाँ र लसुन, प्याजसमेत भारत एवं चीनबाट आयात गरी उपभोग गर्नुपर्ने र चाडबाड मान्नुपर्ने स्थितिमा हामी पुगिसकेका छौँ । विप्रेषण आयमार्फत यो सिजनमा देशमा भित्रिएको रकमको पनि अधिकांश हिस्सा उपभोगमा नै सकिने गर्दछ । दशैँतिहारको समयमा ठूलो मात्रामा हुने उपभोग खर्चले हरेक कोणबाट आयातलाई बढावा दिइरहेको हुन्छ । यस किसिमको अवस्थाले दशैँतिहार जस्ता पर्वहरु देशमा चुलिएको व्यापारघाटालाई अझै उचाइमा पु¥याउने पर्वका रुपमा स्थापित भइरहेका छन् ।

चाडबाडको समयमा हरतरहले बजारमा मुद्राको आपूर्ति बढेसँगै अर्थशास्त्रको सामान्य सिद्धान्तअनुसार नै बजारमूल्य समेत बढ्ने गर्दछ । दशैँको आसपासमा एकैपटक ठूलो मात्रामा नगद प्रवाह भएसँगै उपभोक्ताहरुको क्रयशक्ति बढ्ने र यसबाट बजारको कारण सँगसँगै फेरिएको उपभोग प्रवृत्तिले समेत मूल्यवृद्धिमाथि चाप पर्ने गर्दछ । यसबाट गरिब एवं सीमान्तकृत नागरिकहरुलाई चाडपर्व मान्ने ध्याउन्न र देखासिकीका कारण अझै गरिबीतर्फ धकेलेका अनेकौं दृष्टान्तहरु छन् । ‘आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई’ भन्ने प्रचलित नेपाली उखानले समेत यसखालको अवस्थाको उजागर गरिरहेको छ । मुद्राको ठूलो मात्रा बजारमा एकैपटक भित्रने र मागमा व्यापक बढोत्तरी भई बजारमूल्य पनि ह्वात्तै बढ्ने अवस्था स्वस्थ अर्थतन्त्रको द्योतक होइन ।

यस किसिमका नकारात्मक पाटाहरुलाई ठेगान लगाउन र दशैँलाई मुलुकी अर्थतन्त्रको हितमा उपयोग गर्नका लागि विभिन्न सुधारहरु आवश्यक छन् । दशैँ, तिहारको समयमा ठूलो मात्रामा खर्च हुने र यसको अधिकांश हिस्सा उपभोग खर्चमा नै सीमित हुने स्थितिमा सकेसम्म न्यूनतम खर्चमा मितव्ययी हिसाबले चाडबाड मनाउने परम्परालाई स्थापित गरिनुपर्छ । दशैँमा हुने खर्चको केही अंशलाई मात्रै बचत गर्न र पुँजी निर्माणमा लगाउन सकिएमा यसबाट अर्थतन्त्रमा सोझै सकारात्मक प्रभाव पर्ने भएकोले यसतर्फ सबैलाई प्रेरित गरिन जरुरी छ । उपभोग खर्चको ठूलो हिस्सा आयातित सामानमा विदेशिने गरेको स्थितिलाई मध्यनजर गर्दै सम्भव भएसम्म स्वदेशी उत्पादनको उपभोग गर्नेतर्फ ध्यान पु-याइन आवश्यक छ ।

मुलुकभित्र कृषिजन्य उत्पादन एवं औद्योगिक उत्पादनलाई वृद्धि एवं विस्तार गर्न सकिएमा स्वदेशी वस्तुहरुको उपभोगमा खर्च भई अर्थतन्त्रमा गुणात्मक योगदान पुग्नसक्ने तथ्यलाई गम्भीरताका साथ लिन पनि ढिला भइसकेको छ । नेपालको सन्दर्भमा दशैँ, तिहारजस्ता ठूला चाडहरुमा हुने खर्चको आधा अंशमात्रै स्वदेशभित्र राख्नसक्ने वातावरणको सिर्जना गर्ने हो भने यसले नेपाली अर्थतन्त्रमा महसुस गर्न सकिने गरी सकारात्मक प्रभाव पर्ने निश्चित छ ।

दशैँतिहारजस्ता परम्परागत चाडहरु हाम्रो संस्कृति र सभ्यतासँग जोडिएका रमाइला एवं राष्ट्रिय रुपमा परिचायक पर्वहरु हुन् । यस्ता पर्वहरु मनाइनु र संस्कृतिको जगेर्ना गरिनु निश्चय नै सकारात्मक कदम हो । तर, यसखालका पर्वहरु मनाइरहँदा यसभित्रका आर्थिक पक्षहरुलाई पनि मध्यनजर गरिन आवश्यक छ । संस्कृतिको जगेर्ना गर्दे दशैँ मनाउने क्रममा गरिने ठूलो खर्चका कारण अर्थतन्त्रमा देखिएका र देखिनसक्ने यावत् नकारात्मक प्रभावहरुबाट मुलुकी अर्थतन्त्रलाई मुक्त राख्दै यसका सकारात्मक पाटाहरुलाई पक्षपोषण गर्नसके दशैँलाई देशको आर्थिक हितमा समेत उपयोग गर्न सकिने अवस्था रहन्छ । 


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया