Techie IT
×
गृहपृष्ठविचारजब राजनीति पेशा बन्छ

जब राजनीति पेशा बन्छ


लक्ष्मण सिटौला
एक दिन एउटा भिखारी भिक्षा माग्दै हिँड्न थाल्यो । बाहिर निस्कनुपूर्व उसले सोच्यो कि भिक्षापात्र खाली देखे भने कसैले पनि उसलार्ई भिक्षा दिँदैनन । भिक्षा दिनेको पनि साइकोलोजी हुन्छ खाली पात्रमा अक्सर मानिस भिक्षा दिन्नन् । भिक्षा माग्न थालेको पाँच वर्षको अनुभवबाट उसले यही कुरा जान्यो । श्रम गरेर खानलार्ई उसको एउटा औँला अलिक लुलो थियोे । म अपाङ्ग हूँ मलार्ई सबै मान्छेको सहयोग मिल्नुपर्छ भन्ने यही मान्यता राख्थ्यो उसले । उसको सामान्य अपाङ्गता नै भिख माग्ने सर्टिफिकेट सम्झिन्थ्यो ऊ । जसै मानिसहरू सरकारी जागिरका लागि आफ्नो अध्यनको प्रमाणपत्र पेश गर्छन् । उसलार्ई भिक्षा दिने कोही मान्छे त ‘यस्तो लक्का जवान छोरो मान्छे त श्रम गर्नु नि ! त्यत्रो तिघ्रा हुनेले के भिक्षा मागेको ?’ भन्थे ।

त्यस्ता कुरालार्ई उसले खासै ध्यान दिँदैनथ्यो । ऊ एक नम्बरको लोभी पनि थियो । भिक्षा माग्दै जाँदा कसैले दिएनन् भने उसलाई रिस उठ्थ्यो । ऊ एउटा गाउँमा दुई तीन हप्ता बिराएर मात्रै जान्थ्यो । अक्सर मानिसहरू भ्रममा हुन्थे कि यो माग्नेलार्ई पहिला कतै देखेको हो कि ? वा होइन । ऊ हरेक पटक भेष बदलेर जान्थ्यो कि मानिसहरू उसलार्ई देखेर झुक्किउन वा कि यो त्यही पुरानो माग्ने होइन भनेर । ऊ माग्ने त हो तर अलिक भीआईपी माग्ने । माग्दा ऊ जुन ठाँउमा गए पनि समयअनुसार जे मिल्थ्यो त्यही भिक्षाको रूपमा ग्रहण गर्थ्योे ।

फलफूल दोकानको साहुसँग फलफूल लिन्थ्यो । दुध पसलेसँग दुध लिन्थ्यो र तुरुन्तै पिउँथ्यो । मासु पसलेसँग मासु लिन्थ्यो । गाउँको तल्लो भागमा मोटरबाटो र बजार थियोे । परपर गाउँ हुँदै भिक्षा मागेर फर्किँदा ऊ बजार हुँदै आउँथ्यो । भिक्षापात्र नै भरिएपछि ऊ झोलामा हाल्थ्यो चामल पैसा र अरु खानेकुरा । हरेक दिन ऊ त्यही गर्थ्योे । उसको कुटीमा अरु पनि गाँजा र भाङ खानेहरू आउँथे । तिनीहरूलार्ई पनि पालेको थियोे उसले भिक्षा मागेर । उसको कुटीमा जवान अल्छी भिखारीहरू थुप्रै थिए ।

भिक्षापात्रोमा सय/पचासका नोट र आधा माना चामल राख्यो उसले आफ्नो भण्डारबाट । ता कि अरुले उसलाई सजिलै पत्याउन सकून् । उसले सबैको सहानुभूति पाएको छ । बाटोमा जाँदै गर्दा उसले एउटा अपाङ्ग भिखारी देख्यो जसको काम गर्ने दुवै हात नै थिएन र त्यो भिखारीले भन्यो, “दाजु म सात दिनदेखिको भोकै छु, अन्नको दाना मुखमा नपरेको आज धेरै दिन भो अब पनि केही खाइन भने म मर्नेछु ।’ नभन्दै उसले त्यो अपाङ्ग भिखारीको शरीर भोकले गलित भैसकेको पायो । उसले सोच्यो भिक्षापात्रोमा भएको यो चामल र केही पैसा उसलार्ई दिएँ भने म दिनभर भिक्षाहीन हुन सक्छु । यसले मेरो दिनको सुरुवात नै बिगारिदियो । ऊ मनमै मुर्मुरियो खाली पात्रोमा कोही भर्न चाहँदैनन् । भरिएको पात्रो मात्रै हेर्छ यो समाज । त्यो भिखारी बडो संकटमा प-यो । दिउँ कि नदिउँ भैरह्यो उसलाई ।

भिक्षापात्रमा भएका केही चामलका दाना मुट्ठीमा राख्दै सोच्न थाल्यो कि के गरुँ ? अर्को अपाङ्ग भिखारीले भन्यो ‘मित्र दानपात्रको एक मुट्ठी चामल मलार्ई दिनलार्ई तिमीले यतिन्जेलसम्म सोचिरहेको छौ । तिम्रो मनले दिउँ कि नदिउँ भनिरहेको छ । दान गर्न कति गाह्रो रहेछ है ? हाम्रो मन र अरुको मन के फरक होला र है ? कसरी माग्दैमा भिख दिन्छन् त ती किसानहरूले ? जो एक गेडा अन्न उब्जाउनु दशौँ थोपा पसिना खर्च गर्न परेको हुन्छ । अझ तिमी त मभन्दा शारीरिकरूपमा पनि सशक्त छौ ।’

उसको कुरा सुनेर त्यो भिखारी रिसायो र भन्यो ‘जुन गोरुको सिङ छैन त्यही गोरुको नाम तिखे । दुवै हात छैन उसैको फुर्ती ?’
दुवै हात नहुने भिखारीले भन्यो ‘म त शारीरिकरूपमा अपाङ्ग त हुँ नि तिमी त मानसिकरूपमै अपाङ्ग रेछौ दाइ । शारीरिक अपाङ्गताभन्दा मानसिक अपाङ्गता झन् खतरा हो ।’

अर्को भिखारी झन रिसायो । मुठ्ठीमा राखेको चामलका दाना पुनः आफ्नै भिक्षापात्रोमा राख्यो र हिँड्यो । आधा घन्टा हिँडेपछि एउटा सुर्तिपुर गाउँ आयो । त्यो गाउँ तिनै गँजडीहरूको गाउँ हो, जसलाई उसले आफ्नो कुटीमा शरण दिएको थियो । तिनै मध्यकी एउटीको आमाले उसलाई चिनिन र गाली गर्दै लखेट्न थालिन् । ‘हाम्रा छोराछोरी भाँड्न तिमीलाई लाज लाग्दैन ? युवा भएर भिख माग्ने कि श्रम गर्ने ?’ बाटो अलिक भिरालो थियो । ऊ चिप्लियो र भिक्षापात्रोमा भएका सबै चामल पैसा पोखियो । गाउँलेले उसलार्ई अब त्यो गाउँ आउन नै प्रतिबब्ध लगाए ।

कथा सकियो । जब सबल र सक्षम मान्छेले भिख माग्न थाल्छ त्यहाँबाट सुरु हुन्छ मान्छेको अधोपतन । हामी हाम्रा देशका सबल र सक्षम नागरिकलार्ई विदेशमा रोजगार गर्न पठाउँछौ र त्यताबाट आएको रेमिट्यान्सले मुलुकको खर्च चलाउछौँ । प्रधानमन्त्रीदेखि एक हजार सांसदसम्मको तलब नेपालीले पठाएको रेमिट्यान्स र करबाट नै धानिरहेको छ । हामी उत्पादनमूलक काम सिर्जना गरेर रोजगारको सम्भाव्यता नै अध्ययन नगरी युवाहरूलार्ई विदेश पठाउन बाध्य बनाउँछौँ । आफैसँग छ उज्यालो भविष्य र अथाह सम्भावना र पनि भिक्षा माग्न आफ्ना युवाहरूलार्ई खाडी मुलुक धकेल्छौँ । कहिलेसम्म यो युवा लर्को विदेशमा भिक्षा माग्न गैरहने ? कहिलेसम्म युवाहरूको मृत शरीर कफनमा हालेर ल्याइरहने ? कहिलेसम्म नेपाली चेलीबेटीलार्ई विधुवा र एक्ली बनाइरहने ? कहिलेसम्म गाउँलाई युवाविहीन बनाइरहने ? कहिलेसम्म खेतीयोग्य जमिन बाझो बनाइरहने ? कहिलेसम्म दाल, चामल, आलु, दुध र सर्वजात भारतबाट झिकाएर खाइरहने ?, भारतसँग मागेर काम चलाइरहने ? उत्पादन गर्ने युवालार्ई विदेशमा बेच्ने अनि बुढाहरू देशमा बसेर राजनीति गरिरहे देश उँभो लाग्छ कहिले ? अर्बौको दालमोट भारतसँग किनेर खाने अनि राष्ट्रवादका कुरा गर्ने ?

आयातकर्ता हामी । निर्यातकर्ता होइनौँ । कुल बजेटको ४० प्रतिशत राजस्व भन्सार महसुलबाट उठाउनु भनेको बजेट घाटा बढाउनु हो । वर्षेनी अर्बौँ बजेट घाटा पर्नुको पछाडि नेपालको निर्यातजन्य उत्पादन नहुनु हो । हामी कुनै पनि उपभोग्य वस्तुमा आत्मनिर्भर छैनौँ । यहाँका राजनीतिक दलहरूले नै नेपालीलार्ई आत्मनिर्भर बनाउनुको अलवा गुलामी बन्न उत्प्रेरकको भूमिका खेलिरहेको छ । नेपालका राजनीतिक दलले आफ्ना जनतालार्ई शिक्षित आत्मनिर्भर अनुशासित स्वावलम्बी बनाउनुको सट्टा राजनीति गर्न मात्रै सिकाइरहेको छ । विदेशीको गुलामी बन्न बाध्य पारिरहेको छ । हडताल हुलहुज्जत दङ्गा फसाद नाराजुलुस भाषण र अराजक बनी ज्युनेतर्फ अभिप्रेरित गर्ने राजनीति सिकेका छौँ हामीले ।

आज राजनीति प्रोफेसन र फेसन बनेको छ । भाषण गर्न सबलाई आउँछ तर इमानदार बन्न भने प्रायः लार्ई आउँदैन । सस्थागत भ्रष्टाचार यति मौलाएको छ कि हामी कल्पना नै गर्न सक्तैनौँ । कर छल्ने राजस्व छल्नेहरूको नै यो देशमा बोलवाला छ । राज्यले एक अर्ब पाउने करमा पाँच लाख पहुँचवालालाई घुस ख्वायो भने त्यो राज्यको एक अर्ब कर नै छुट हुन्छ । करोडौँ कर छल्नेहरूले नै पालेका छन् यहाँ पहुँचवालालाई । सार्वजनिक लेखा समितिले सिफारिस गरेका कर, अदालतले दण्ड दाबी गरेको कतिपय जरिवाना, अन्तशुल्कबाट निर्धारण गरेका अर्बौँ कर उठाउन बाँकी छन् । त्यस्ता करदाताहरू सरकारका मन्त्रीहरूलार्ई रिझाउन व्यस्त हुन्छन्, सरकारका मान्छे नै खुशी भएपछि राज्यले अर्ब पाउने कर व्यक्तिको खल्तीमा पाँच लाखमा गएर चुक्ता हुन्छ । यो भयङ्कर डरलाग्दो छ ।

सरकार स्थायी बने पनि चरित्रचाहिँ अस्थायी हुन्छ । जुन सरकार जहिले बने पनि जुनसुकै पार्टीको बने पनि कार्यकाल जसरी नि बिताउने, सम्पत्ति आर्जन गने, भ्रष्टाचार गरेर अकुत कमाउने, आ–आफ्ना मान्छेलार्ई रोजगारी दिने, राजदूत बनाउने, जियम बनाउने, ठेक्का दिलाउने, संस्थानदेखि विश्वविद्यालयका कुलपति उपकुलपति चान्सलर आ–आफ्ना मान्छे बनाउने । राज्यकोषबाट मनलाग्दी रकम दुरूपयोग गरी आ–आफ्नो चुनावी क्षेत्रमा बाँड्ने । ता कि फेरि अर्को चुनावमा भोट पाउन सहज होस् र पुनः सांसद मन्त्री भएर फेरि लूटकै धन्दा सञ्चालन गरिरहने यो प्रवृत्ति दोहोरिरहेको छ यो बारेमा कसले बोल्ने ? आज सिङ्गो नागरिक समाज नै पार्टीहरूका गुलाम बनेका छन् । बाँच्नुको लागि पनि र सुरक्षाको लागि पनि कुनै एउटा पार्टीको झण्डा नबोकी सुखै छैन ।

नेपाली जनतालाई पौरखी बनाउने र आत्मनिर्भर भएर सम्मानका साथ बाँच्नको लागि अभिप्रेरित गर्ने पार्टी नदेखिनु पक्कै पनि राम्रो सङ्केत होइन । आर्थिक अनुशासनहीनताका कारण आन्तरिक राजस्वको अभिवृद्धि र यसबारेमा अध्ययन हुन सकिरहेको छैन । करदातालार्ई करको दायरामा ल्याउन नसकेको कयौँ उदाहरण छन् । घरजग्गा प्लटिङ गर्ने परिपाटीको अहिले आएर अन्त्य भयो तर योभन्दा अगाडि भू–माफिया र मालपोतका कर्मचारी मिलेर करोडौँ राजस्व छली व्यक्ति धनी हुने प्रवृत्ति हावी भएको कुरा कसैबाट लुक्तैन । राजस्व असुली अझैसम्म पारदर्शी हुन सकेको छैन । ठूला करदाता उम्किने साना व्यापारीलार्ई दुःख दिने प्रवृत्ति अन्त्य भएको छैन । संस्थागत भ्रष्टाचार अन्त्य गर्नका लागि आर्थिक नियमनलार्ई प्रवल र समयसापेक्ष बनाउनुपर्छ ।

अहिले काठमाडौँ उपत्यकामा एउटा कन्तबिजोक छ । सडक पूरै गाडीले भरिएको छ । गाडीसँग गाडी जोडिएका छन् । हिँडेर आधा घन्टामा पुग्ने स्थानमा गाडीमा गयो भने दुई घन्टा लाग्ने भैसकेको छ । सरकारले गाडी आयात गर्दै राजस्व मात्रै उठाउने उद्देश्य राखेको छ । सिङ्गापुरजस्तो वैभवशाली सुसम्पन्न देशमा सडक खाली देखिन्छन् । त्यहाँ पैदलयात्री र सार्वजनिक यातायातलार्ई महत्व दिइन्छ । त्यहाँ कहिले सडक जाम हुँदैन । सरकार ज्यादै कडा छ । यसको मतलव यो होइन कि सरकार निरङ्कुश छ । सरकार र सरकारी नीति कडा हुनुपर्छ । नियम मिच्नेलार्ई तीन पुस्तासम्म असर पर्नेगरी सजाय र सुविधाबाट वञ्चित गर्नुपर्छ । अब पाँच वर्ष उपत्यकामा गाडी आयात रोक्नुपर्छ कि हरेक दिन जोर÷विजोर गरेर गाडी चलाउनुपर्छ ।

यदि यही रफ्तारमा गाडी भित्रिने हो र बाटो नसुध्रने हो भने एउटा खतरापूर्ण स्थितिको सामना गर्न तयार हुनुपर्छ । राजधानीमा वर्षमा कतिवटासम्म नयाँ गाडी थप भित्रिन दिने भन्ने निश्चितरूपमा कोटा निर्धारण हुनुपर्छ जसले गर्दा उपत्यकाको मौलिकता पनि जोगियोस्, पोलुसन पनि नबढोस् र सरकारको आयकरमा पनि सन्तुलन आओस् । गाडी भित्रिएको करले मात्रै देश चलाउने हो ? के हामी उत्पादनशील र निर्यातकर्ता हुनु पर्दैन ? गाडी, सारीदेखि पेट्रोल र खाद्यान्नसम्म भारतकै प्रयोग कति गरिरहने हो सरकार ! युवाहरूलार्ई विदेशीको गुलामी बन्न लगाएर रेमिट्यान्सको मात्रै भरमा देश कति चलाउने ? अन्न उब्जाउने र कृषिप्रधान देश हो भनेर भन्न लाज लाग्दैन भने कृषि क्षेत्रमा नवक्रान्ति नै ल्याउनु जरुरी छ । बुद्धको देश हो भने शान्तिप्रेमी बुद्धको जस्तै बुद्धि देखाऊ सबैले, ता कि सधैँ अस्थिरताको राजनीति गरेर सोमालियाको जस्तो रूप नदेखाऊ ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया