Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकांग्रेस नेतृत्वमा शेरपछि अब सिंहको आगमन हो कि ?

कांग्रेस नेतृत्वमा शेरपछि अब सिंहको आगमन हो कि ?


काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा देशकै सबैभन्दा ठूलो प्रजातान्त्रिक दलमा अहिले नेतृत्वको होड चुलिँदै गएको छ, जुन स्वाभाविक पनि हो । अहिले खासगरी बाम गठबन्धनमा चिरा परी झण्डै दुई तिहाइको सरकार ढल्नाका कारण नेपाली कांग्रेस सत्तारुढ हुन पुगेकाले पनि सो पार्टीको सभापतिको पद थप आकर्षक र चुनौतीपूर्ण बन्न पुगेको छ ।

अहिले पार्टीमा सभापतिको पदमा चुनाव लड्न इच्छुक व्यक्तिहरूमा पुराना र नयाँ पुस्ताका नेताहरूबीच कसले पार्टी हाँक्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ । परिवर्तनका पक्षधरहरू नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण भएको देख्न चाहन्छन् भने यथास्थिति नै मन पराउनेहरू पुरानै नेतृत्वको वर्चस्व पार्टीमा कायम रहोस् भन्ने चाहन्छन् । अहिले सरकार र पार्टीको नेतृत्व गर्नेमा उमेरले सत्तरी नाघेकाहरू शारीरिकरूपले त्यति सक्रिय र मानसिकरूपले त्यति तयार नभइरहेको अवस्थामा पनि उनीहरूले सत्ताको मोह त्याग्न सकिरहेका देखिँदैनन् । तर अधिकांश कार्यकर्ताहरू नयाँ नेतृत्व खोजीमा छन् भन्ने कुरा महाधिवेशनको तयारीको सिलसिलामा भएका वडा तथा अन्य स्थानीय तहका चुनावहरूमा नयाँ पिँढी अत्यधिक मात्रामा नेतृत्वमा चुनिने क्रम जारी रहनुले पनि स्पष्ट पारिदिएको छ ।

एकातिर प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी नेतृत्व अझै आफ्नो हातबाट फुत्काउने मनस्थितिमा छैनन् भने उता संस्थापनइतरका मानिने वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आफूले सभापति पदमा जित्ने पर्याप्त आधार नहुँदानहँुदै पनि पार्टीको चौधौँ महाधिवेशनमा आफ्नो भाग्य अजमाउन लालायित छन् । दोस्रो पुस्ताका नेताहरूमा गणेशमान सिंहका पुत्र प्रकाशमान, महेन्द्रनारायण निधिका पुुत्र विमलेन्द्र र वीपीका पुत्र शशांकबाहेक पनि कोइराला परिवारकै अर्का दाबेदारहरू शेखर र सुजातालगायत मध्यमार्गीमा गनिएका कृष्णप्रसाद सिटौला पनि आ–आफ्नो भाग्य अजमाउने तयारीमा लागिपरेका छन् ।

अब सर्वप्रथम पहिलो पुस्तालाई नै नेतृत्व सुम्पेर यथास्थितिमा नै कांग्रेसलाई राखिछाड्ने कि नयाँ पुस्तालाई अघि सारेर पार्टीलाई एक्काइसौँ शताब्दीको नयाँ युगअनुरूप गतिशीलता दिन र बढी प्रभावकारी बनाउन डाइनामिक र भिजनरी नेतृत्व चुन्ने भनी निर्णय गर्ने जिम्मेवारी पार्टीका सक्रिय सदस्य, महाधिवेशन प्रतिनिधि तथा शुभचिन्तकहरूको काँधमा आएको छ । हालै नेकपामा फुट आएर कांगे्रसलाई प्रधानमन्त्रीको पद चिठ्ठामा परेजस्तै स्थिति सधैँ कायम होला भन्ने कुनै ग्यारेन्टी पनि छैन । तसर्थ कांग्रेसले विगतमा जस्तै आफ्नै योजना र रणनीतिको खाका कोरेर नयाँ भिजन बनाएर आफ्नै ताकतमा उभिँदै अन्य समकक्षी शक्तिहरूसँग प्रतिस्पर्धामा उत्रन सकेमा मात्र आगामी चुनावमा सके बहुमत वा नसके सबैभन्दा ठूलो दलको रूपमा सत्ताको वागडोर सम्हाल्न सक्ने स्थिति सिर्जना हुनेछ ।

नेपाली कांग्रेस पार्टीमा स्थापनाकालदेखि नै चार नेताहरूको वर्चस्व रहिआएको देखिन्छ, जसमा चर्चित नेताहरू वीपी कोइराला, गणेशमान सिंह, सुवर्ण समशेर र सूर्यप्रसाद उपाध्याय पर्छन् । वीपी विचार, व्यक्तित्व र भिजन भएका नेतामा गनिन्छन् भने गणेशमान त्याग, तपस्या, निष्ठाका अतिरिक्त जनतामा भिज्न सक्ने नेताका रूपमा चिनिन्छन् । त्यसैगरी सुवर्णचाहिँ दानी र उदार चरित्रका नेताका रूपमा चिनिन्छन् भने सूर्यप्रसादचाहिँ कूटनीति क्षमता भएका र बुद्धीका खानी मानिन्छन् । तर वीपी राजनेता भए पनि सफल नेताका रूपमा स्थापित हुन सकेनन् विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिका कारण ।

सात सालको क्रान्ति र चौध सालको सत्याग्रह तथा ०३६।३७ को जनमत संग्रहताका वीपीको काँधमा काँध मिलाएर कांग्रेसमा नेतृत्वदायी भूमिका निभाएका गणेशमानले वीपीको देहावसानपछि पनि ०४२ को सत्याग्रहमा सफलतापूर्वक नेतृत्व दिनुका साथै २०४६ सालको जनआन्दोलनताका बामपन्थीहरूलाई पनि समेटेर सर्वोच्च नेताको हैसियत राखेर बहुदलीय प्रजातन्त्र पुनस्र्थापना गर्न सफल हुनुभयो । त्यसपछि नेपाली कांग्रेसमा नेतात्रयको अवधारणा विकसित हुँदै आयो ।

२०३५।३६ ताका वीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईको संयुक्त नेतृत्व कायम रह्यो भने वीपीपछि गणेशमान, भट्टराई र गिरिजाप्रसादको संयुक्त नेतृत्व कायम रहन गयो । त्यसै दौरान रामचन्द्र, शैलजा आचार्य र शेरबहादुर आरएसएसको नामले नयाँ पुस्ताका नेताका रूपमा चिनिए । यसरी कांग्रेसले प्रजातन्त्र पुनस्र्थापछि पनि पटक–पटक सरकारको नेतृत्व सम्हाल्ने मौका पायो र पछि आपसी मनमुटावका कारण पार्टी दुई टुक्रा भई पुनः एकताबद्ध हुनगयो तर पछिल्लो चरणमा गिरिजाप्रसादको देहावसानपछि सुशिल कोइरालाको नेतृत्वमा नयाँ संविधान जारी गर्न त सफल भयो तर विस्तारै पार्टी कमजोर हुन गई चुनावमा नराम्ररी पराजित हुनपुग्यो । अब फेरि पनि पार्टीलाई एकताबद्ध गरेर संगठनलाई चुस्त, दुरुस्त बनाउँदै आगामी चुनावमा सुदृढ भई देश हाँक्ने जिम्मा लिनसक्ने नेतृत्वको खाँचो छ यस पार्टीलाई ।

सभापतिका दाबेदारहरू कस्ता–कस्ता छन् ?
संस्थापनपक्षतर्फ सभापति पदका आकांक्षी निधिको उम्मेदवारी देउवाको निम्ति ठूलो चुनौतीको रूपमा देखापरेको छ भने सिंहले सभापतिका निम्ति आफ्नो उम्मेदवारी कुनै हालतमा नत्याग्ने अडान सार्वजनिक गरेपछि पौडेल असमन्जस्यपूर्ण स्थितिमा परेका छन् । अब नयाँ पुस्ताका सभापति पदका दाबेदारहरूको स्थिति के–कस्तो छ भन्ने विश्लेषण गरौँ ।

शशांक कोइराला हालका महामन्त्री र वीपीपुत्रका रूपमा पनि सभापति पदका निम्ति सशक्त दाबेदारका रूपमा उभिनु स्वाभाविक छ । तर कोइराला परिवारभित्र नै उनको पक्षमा एकमत बन्न सकेको स्थिति छैन । फेरि उनी नेपालको राजनीतिमा अलि पछि मात्र सक्रिय भएका हुन् आफ्नो चिकित्सा पेसा त्यागेर । स्वयं सभापति पदको अर्की दाबेदार सुजाता कोइरालाले शशांकलाई उनको लाइफस्टाइलले नै सभापति पदमा विजयी हुन दिँदैन भनी हालै एक टेलिभिजन अन्तर्वार्तामा टिप्पणी गरेको कुरा यहाँ स्मरणीय एवं अर्थपूर्ण छ ।

सभापति पदका अर्का दाबेदार कोइराला परिवारका शेखर पनि राजनीतिमा निकै पछि मात्र सक्रिय भएका हुन् । उनी यसअघि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा प्रमुखको हैसियतले जिम्मेवारी सम्हालेर बसेका थिए । पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा उनलाई माओवादीसँग सन्देश आदानप्रदान गर्ने जिम्मेवारी दिएपछि मात्र उनको राजनीतिमा सक्रियता देखिएको थियो । उता विमलेन्द्रले पनि तराईमा आफ्ना पिताले कायम गरेको राजनीतिक वर्चश्व थाम्न नसकेको र पछिल्लो पटक बेला–बेलामा राजनीतिक नियुक्ति तथा अन्य विवादहरूमा मुछिन थालेपछि उनको पनि राजनीतिक क्षमतामाथि प्रश्न उठ्ने गरेको छ ।

सर्वोच्च नेता सिंहका पुत्र प्रकाशमान भने अहिले कांग्रेसमा युवा पुस्ताको आशाको केन्द्र बनेर आएको देखिन्छ । उनले विगतका दुईवटै निर्वाचनहरूमा कांग्रेस देशभरि कमजोर रहेको स्थितिमा पनि राजधानीमा आफ्नो प्रभाव जोडदाररूपमा कायम राख्नु महत्वपूर्ण सफलता मानिएको छ । सर्वोच्च नेता सिंहले पार्टीको सभापति र देशकै प्रधानमन्त्री पदलाई समेत तिलाञ्जली दिएको इतिहासलाई सम्झने हो भने यसपालि सिंहले पार्टीको नेतृत्व सम्हाल्नुु महत्वपूर्ण र न्यायोचित हुने कुरामा प्रजातन्त्रवादीहरूबीच दुईमत नहोला । सिंह र कोइराला परिवारको पार्टीमा बराबर योगदान रहेको कुरालाई दृष्टिगत गर्दा र कोइराला परिवारका सदस्यहरूले पार्टी र सरकार चलाउन पटक–पटक मौका पाइरहँदा सिंहलाई माइनस गर्नु न्यायोचित नहुने तर्क पनि उत्तिकै जोडदार देखिन्छ ।

कुनै बखत गिरिजाप्रसाद र शेरबहादुरबीच पार्टी नेतृत्वका निम्ति टक्कर हुँदा शेरबहादुरलाई साथ दिएका एवं गणेशमान सिंहको प्रेरणास्वरूप पार्टी विभाजन गरी नेका प्रजातान्त्रिकको गठन गरिँदा पनि देउवाकै पक्षमा उभिएका सिंहलाई यसपल्ट पार्टी सभापतिमा समर्थन गर्नु देउवाको निम्ति पहिलेको ऋण चुक्ता गर्नुसमान हुने कांग्रेसभित्रकै एक वृत्तमा चर्चा छ । स्मरणीय छ, ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा देउवालाई पूर्वाग्रहयुक्त भई जेल राखिँदा पनि सिंहले खतरा मोलेर जेलमा समेत उनलाई नै साथ दिएका थिए । यदि पार्टीमा सभापति पदको निम्ति सिधै टकरावको स्थिति आएमा प्रम देउवालाई टक्कर दिनसक्ने हैसियत पनि हालको अवस्थामा संस्थापनइतरका तर्फबाट सिंहमै रहेको देखिन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया