Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगशान्तिको लागि सहनशीलता : आजको आवश्यकता

शान्तिको लागि सहनशीलता : आजको आवश्यकता


काठमाडौं । हरेक वर्ष नोभेम्बर १६ मा अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइन्छ । यस वर्ष पनि विश्वको सम्पन्न संस्कृति, हाम्रो अभिव्यक्तिको तौरतरिका र मानव हुनुको तवरलाई स्वीकार्नु र सम्मान गर्नु हो भन्ने धारणालाई यो वर्षको सहनशीलता दिवसको मूल नारा बनाई मनाइएको पाइन्छ । विश्वभर रहेका सबै समुदायलाई एक–अर्काप्रति सहनशील हुनु र एक–अर्काको स्वरूप र शैलीलाई आह्वान गर्दछ । सन् १९९६ मा संयुक्त राष्ट्र संघको महासभामा यसलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने मान्यता दिएको थियो ।

सन् १९९५ मा विश्वमा फैलिरहेको नकारात्मक भावना र सोच एक–अर्काप्रतिको वितृष्णालाई कम गर्न समुदायबीच सहनशीलता बढाउन यो दिवस मनाइन्छ । विश्वभर असहमति, असमझदारी र सहनशीलता गुमेपछि आइपर्ने अशान्ति हटाउन यो दिवस मनाइन्छ । राजनीति परिवर्तन र परिवर्तनले निम्त्याउन सक्ने गैरराजनीति अवस्था गलत राजनीतिक प्रवृत्तिको उदय र विवादनको बहस हामीले बारम्बार देखिरहेका छौँ । यसै सिलसिलामा विश्वभर अशान्तिका कारण आतंककारी हमला छन् । मानव समुदायलाई एकताको शुत्रमा बाँध्न बढ्दै गएको असहिष्ण व्यवहार र गहिरो बन्दै गएको सामुदायिक अशान्तिका मुद्दालाई यो दिवसले कम गर्ने सन्देश दिन्छ । मानवीय त्रुटि र जटिलताबाट मुक्ति मिली शान्तिको लागि सहनशीलताको मुख्य भूमिका रहन्छ । रूप, रंङ र आकार फरक होला सबैलाई जोड्ने शुत्र हो, सहनशीलता । विश्वले विभिन्न तरिकाबाट वितिष्णा र घृणालाई समाधान गर्नसक्ने कुरामा विश्वास गर्दछ जसमा शान्ति कानुन, शिक्षा, सूचना आदि पर्दछ ।

नेपाल र नेपालीको सहनशीलता विकासको लागि आधारभूत शिक्षादेखि उच्च शिक्षा शान्तिमय वैज्ञानिक, व्यावहारिक र राष्ट्रिय हितको लागि हुनुपर्दछ । अशान्ति हटाउन सबैैभन्दा पहिले आफ्नो परिवार, समुदाय, समाज, संस्कृति, मानवअधिकार आदिमा विशेष ध्यान दिनुपर्ने हुन्छ । संघर्ष तथा द्वन्द्वले शान्ति कहिल्यै आउँदैन, अतः सदैव बन्धुत्वको भावनाको विकास गरी वैज्ञानिक शान्ति शिक्षाको सञ्चार गर्नु आवश्यक छ । प्रत्येक देशमा सांस्कृतिक, सामाजिक एवं आर्थिक विकासको सुनिश्चित गर्ने मार्गमा सबै समुदाय, वर्ग एवं धर्मको संयुक्तरूपले वैज्ञानिक शान्ति संस्कृतिको विकास गर्न नितान्त आवश्यक भएको छ । आज सम्पूर्ण विश्व नै विभिन्न बहानामा अशान्तिको छाल मडारिएको सन्दर्भमा सबैमा सहनशीलता बढाउन शान्तिमय संस्कृतिको विकास गर्नु नै आजको आवश्यकता हो ।

महान् दार्शनिक मार्टिन लुथरको भनाइअनुसार शान्ति केवल युद्धबाट आउने होइन, आपसी मेलमिलाप र शान्तिबाट नै आउँछ । आजको सन्दर्भमा माथि उल्लिखित वाक्यांशहरू धेरै महत्वपूर्ण छन् । विश्वयुद्ध, अन्याय एवं आपसी वैमन्यस्ताको कारण शान्ति भंग भई शान्तिको ज्योति टाढा भएकोले हामी सबै मिली शान्ति संस्कृतिको विकासबाट नै शान्ति ल्याउनु आवश्यक छ । शान्ति संस्कृतिको विकासबाट मानव मूल्य मान्यताको विकास सम्भव छ । शान्ति विकासको लागि विद्यालय तहको पाठ्यक्रममा नै शान्ति शिक्षाका राख्नुपर्ने आजको आवश्यकता हो । शिक्षण पद्धतिको माध्यमबाट शिक्षकद्वारा सदैव उच्च नैतिकताका साथ शान्ति शिक्षा व्यापक बनाउन आवश्यक छ । युनेस्कोले मानव मूल्य मान्यता र शान्तिबारे यसरी आफ्नो भाव व्यक्त गरेको छ, ‘उचित आचरण शान्ति प्रेम र अहिंसा सबैमा सार्वभौमिक मूल्य छ सहनशीलता र शान्तिको लागि’, जुन शान्तिमा आधारित शिक्षाको कार्यक्रमको निर्माण सबैले गुर्नपर्छ ।

सहनशीलता र शान्तिको लागि मुख्य तीन प्रकारको आयाममा विशेष ख्याल राख्नुपर्दछ : सार्वभौमिक शान्ति, सामाजिक शान्ति, प्राकृतिक शान्ति । आज हाम्रो देश नेपालमा पनि शान्ति शिक्षासम्बन्धी पाठ्यक्रम राख्ने बहस नचलेको भने होइन, यो बहस बहसमा मात्र सीमित भएको छ । शान्ति शिक्षाको लागि निम्न उद्देश्य राखी विद्यालयका विद्यार्थीहरूलाई शान्तिको मार्ग दिनसक्ने सशक्त पाठ्यक्रम बनाउन आवश्यक छ । शान्ति संस्कृति स्थापना गर्न अध्यापक अर्थात् गुरुहरूले पनि सोसम्बन्धी विभिन्न कार्य गर्नुपर्ने समय आएको छ । सोको लागि विविध छलफल एवं कार्यशाला आयोजना गरी विस्तृत पाठ्यक्रम बनाई शान्ति स्थापना गर्न सहयोग गर्ने, व्यावहारिक तथा वैज्ञानिक तरिकाबाट शान्तिसम्बन्धी कार्य एवं प्रशिक्षण दिने, पाठ्यक्रम निर्माण, विशिष्ट स्थानीयसहित विकास मापन गर्ने मानवीकृत मूल्यांकन प्रक्रियाको निर्माण तथा उपयोग गर्नुपर्दछ ।

शान्ति शिक्षा व्यक्तित्व, सहनशीलता तथा चरित्र निर्माणको लागि पाठ्यक्रम हुन आवश्यक छ । शान्ति स्थापना शिक्षा उत्पादनको लागि जिम्मेवार एवं संवेदनशील नागरिकको भूमिकामा जोड दिनु आवश्यक छ । शान्ति शिक्षाको कार्यक्रमको लागि विभिन्न पाँच स्तरको एकीकृत पाठ्यक्रम शान्ति शिक्षा दिनसक्ने क्षमतावान् शिक्षाको विकास गर्नु आजको आवश्यकता हो । यो निम्न प्रकारको हुन सक्छ : शान्ति शिक्षको सिद्धान्तबारे उचित पाठ्यक्रम बनाउनुपर्ने, सबै सैद्धान्तिक पाठ्यक्रम एवं शिक्षण पद्धतिको सम्बन्धित पाठ्यक्रममा नै शान्ति शिक्षाको बारे एकीकृत तरिकाबाट ज्ञान दिने, शान्ति शिक्षा अध्यापन अभ्यास तथा अन्य विद्यालय अनुभव आदानप्रदानमा ध्यान दिने, सांस्कृति साहित्यिक तथा अन्य पाठ्य सहभागी कार्यक्रमको सहयोगको माध्यममा शान्ति शिक्षाको विशिष्ट गतिविधि अयोजना गर्ने, शिक्षक, शिक्षण संस्था तथा सबै समुदायमा शान्ति शिक्षाको सन्देश प्रसारित गर्नु पर्दछ । तवमात्र सहनशीलताको विकास हुन्छ ।

हाम्रो देशको सन्दर्भमा, शिक्षाको मूल समस्यालाई हेर्ने हो भने क्षेत्र र परिधिबारे स्पष्ट नहुनु हो । राजनीतिक दलको विकृतिको कारण सरकारको विभिन्न शैक्षिक योजनाले पनि शिक्षाको लागि स्पष्ट मार्गचित्रण गर्न नसक्नु, नीतिनिर्माणको राष्ट्रप्रतिको ठूलो तिरस्कार नै हो । जसको परिणाम स्वरूप नेपालमा शिक्षा अन्यौल अवस्था, शिक्षक, विद्यार्थी, अभिभावकबीच समन्वय र सहनशीलता नभई विद्यमान समस्याहरू देखापरेको, शिक्षा क्षेत्र राजनीतीकरण, शैक्षिक संस्थालाई सम्बन्धन दिने नीति स्पष्ट र पारदर्शी नभएको, शैक्षिक तथा भौतिक पूर्वाधारको कमी, यसको परिणामस्वरूप अन्तर्राष्ट्रिय जगतमा नै हाम्रो शैक्षिक उपाधिको विश्वसनीयतामा नै प्रश्नचिह्न उठ्ने गरेको कारण शिक्षा प्राप्त गर्ने विद्यार्थीमा सहनशीलता नै गुमेको पाइन्छ । उचित शैक्षिक पाठ्यक्रम लामो समयदेखि समयअनुसार देशको आवश्यकताअनुसार परिवर्तन नभएको, भए पनि शान्तिमय व्यावहारिक पाठ्यक्रमको अभाव, पाठ्यभार, पाठ्यअवधि, गुणस्तरीय मापदण्डको अभाव, विदेशी विश्वविद्यालयहरूसँगको सम्बन्धनमा सञ्चालित शैक्षिक नियन्त्रण र समन्वयको अभाव, निजीस्तरबाट खोलिएका शैक्षिक संस्थामा बढ्दो व्यापारीकरण भई शिक्षक, अभिभावक, विद्यार्थीलाई शान्ति र सहनशीलता कम भई थप आन्दोलित बनाएको, उचित कार्यनीतिको अभाव, असक्षम प्रशासन, नातावाद, राजनीतीकरण, भ्रष्टाचारीलाई राजनीतिक तथा प्रशासनिक संरक्षण, व्यक्तिगत स्वार्थ, अक्षम राजनीति नियुक्ति, अनुशासनको कमी, न्यून आर्थिक स्थिति, विज्ञलाई पाखा अनभिज्ञलाई प्रशासन, पुरानै स्वार्थपूर्ण कार्य व्यावसायिक शिक्षाको अभाव, वास्तविक योजनाको अभाव, उचित पुरस्कार र दण्डको व्यवस्था नहुनु अक्षम व्यवस्थापन आदिबाट नेपालको शिक्षा खासै वैज्ञानिक, व्यावहारिक र शान्तिमय भएको छ भन्न सकिँदैन कि ! त्यसमा पनि कोभिड महामारीले झन् अस्तव्यस्त पारेको छ ।

अतः सो समस्या हल गर्न शिक्षा क्षेत्रमा आधारभूत शिक्षा र प्राविधिक वा व्यावसायिक शिक्षाबीच सरकारले स्पष्ट नीति ल्याउनुपर्ने, आधारभूत शिक्षा सबै नागरिकलाई प्रदान गर्नुपर्ने, गुणस्तरीय मूल्यांकन, समयसुहाउँदो पाठ्यक्रमको विकास हुनुपर्ने, शिक्षा क्षेत्रमा व्यापारीकरण रोकी, शिक्षक, विद्यार्थी र अभिभावकको मैत्रीपूर्ण वातावरण सिर्जना गर्नुपर्ने, सक्षम व्यवस्थापन, नातावाद, राजनीतिक प्रदूषण, भ्रष्टाचारीलाई प्रश्रय नदिने जनसहभागितामा जोड, वैज्ञानिक तथा व्यावहारिक शिक्षा, दीर्घकालीन शैक्षिक योजना, पूर्वाधारको विकास, आवश्यक उपकरण प्रयोग, वास्तविक देशअनुसारको शिक्षा, प्रशासनमा राजनीतिक हाबी रोक्ने, हाम्रो मान्छे होइन, गुणस्तरीय मान्छेलाई पदमा राख्ने आदि कार्य गरेमा हाम्रो शिक्षा गुणस्तर र व्यावहारिक, नेपाल र नेपालीको हितमा भई शान्ति संस्कृतिको विकास हुने थियो । तब मात्र हरेक वर्ष नोभेम्बर १६ मा मनाइने अन्तर्राष्ट्रिय सहनशीलता दिवसले सार्थकता पाउनेछ । डा.अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया