Techie IT
×
गृहपृष्ठविचारजैविक विविधता, संरक्षण र वायो पाइरेसी

जैविक विविधता, संरक्षण र वायो पाइरेसी


काठमाडौं । नेपाल भौगालिक दृष्टिाले सानो र आर्थिक दृष्टिकोणले विपन्न भए पनि हावापानी र उचाइको भिन्नताले गर्दा जैविक विविधताको दृष्टिले ठूलो र सम्पन्न मानिन्छ । नेपालमा हाल छ हजार पाँच सय प्रजातिका फल फल्ने र तीन हजार तीन सय ७० प्रजातिका फल नफल्ने वनस्पतिका नमूना संकलन गरिएको छ । तर पनि करिब दश हजार किसिमका फूल नफुल्ने वनस्पति पाइने अनमान छ । तीमध्ये पाँच सय ५० प्रजाति खानका लागि उपयोगी मानिन्छ र करिब दुई सय प्रजातिको खेती समेत गरिन्छ । विश्वमा पाइने नौ हजार ४० जातका चराहरूमध्ये नेपालमा मात्र नौ सय ६० जातका छन् । तराईको उपोष्णदेखि हिमालको शीतोष्ण हावापानीसम्म एक सय १८ वटा पारिस्थितिकीय प्रणाली र ३५ प्रकारका वनहरू छन् । यिनै प्रणालीभित्र एकसिंगे गैंडा, पाटेबाघ, एसियन हात्ती, हाब्रे अर्थात् रेड पाण्डा, नाउर, हिउँ चितुवा आदिजस्ता जनावरहरू प्रमुख रूपमा पाइन्छन् ।

त्यसैगरी तराईदेखि हिमालसम्म झण्डै सात सय प्रकारका गैरकाष्ठ वन पैदावरहरू छन् । सिकाकाइ, चिराइतो, टिमुर, यार्सागुम्बा, पाँचऔंले, कुटकी आदि यी क्षेत्रमा पाइने प्रमुख जडीबुटी हुन् । पारिस्थितिकीय प्रणालीको जैविक विविधताअन्तर्गत नेपालमा उष्ण प्रदेशीय हावापानीदेखि हिमाली शुष्क हावापानीसम्म पाइएको छ र १० प्रकारका जीव जलवायु क्षेत्रमा बाँडिएको छ ।

नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार एक सय ८१ वर्ग किलोमिटर छ जसअनुसार हिमाली प्रदेश १५ प्रतिशत, पहाडी प्रदेश ६८ प्रतिशत र तराई प्रदेश १७ प्रतिशत रहेका छन् । भू–उपयोगीय दृष्टिकोणले वनजंगल ३३ प्रतिशत, झाडी बुट्यान १० दशमलव ६ प्रतिशत, घाँसे मैदान १२ प्रतिशत, खेतीयोग्य जमीन २१ प्रतिशत, सीमसार क्षेत्र २ दशमलव ६ प्रतिशत, बाँझो जमिन ७ प्रतिशत तथा अन्य जमिन १७ दशमलव ८ प्रतिशत रहेको छ ।

तर जैविक विविधताको दृष्टिले धनी मुलुक मानिए पनि हामीले आफ्नो प्राकृतिक भण्डारमा के–कस्ता बहुमूल्य स्रोतहरू रहेका छन् ? यस्ता बहुमूल्य स्रोतहरूको संरक्षण र संवर्द्धनमा हामीले कत्तिको ध्यान दिने गरेका छौं ? कतै यस्ता बहुमूल्य स्रोतहरू अरुले नै टप्काउन सक्ने सम्भावना त छैन ? यसतर्फ हाम्रो खासै चासो र चिन्ता पुग्न सकेको देखिँदैन । उदाहरणको लागि भनौंं, यदि हामी नेपालको एउटा कुनै निश्चीत उब्जनी हुने गाउँमा गयौं भने त्यहाँ विभिन्न प्रजातिका धान रोप्ने गरिएको अथवा धानको खेती गर्ने गरिएको पाउँछौँं । नेपालको हिमाली प्रदेशदेखि तराई क्षेत्रसम्म यस्ता थुप्रै उदाहरणहरू पाइन्छन् । यसबाट एउटा कुरा के अनुमान लगाउन सकिन्छ भने हाम्रोजस्तो जटिल र विकट भौगोलिक स्थिति भएको पहाडी मुलुक जहाँ विभिन्न जात–जाति, धर्म, वर्ण र भाषाभाषीका मानिसहरू बसोबास गर्दछन् । ती मानिसहरूले परापूर्वकालदेखि नै आफ्नो खेतबारीमा बहुउपयोगी जैविक स्रोतको उपयोग र संरक्षण गर्दै आइरहेका छन् ।

यस्ता जैविक स्रोतहरूको बारेमा भन्नुपर्दा कुनैमा रोगले आक्रमण गर्न नसक्ने वंशाणुगत गुण निहित रहेको हन्छ भने कुनै–कुनै जैविक स्रोतमा खानालाई एकदमै स्वादिलो बनाउने एक किसिमको वंशाणुगत गुण पनि निहित रहेको हुन्छ । जस्तो भनौं न सामान्य मन्सुली चामलको भन्दा जिरे मन्सुली चामलको स्वाद अलि भिन्नै रहेको हुन्छ । त्यस्तै ताइचिन र पोखरेली चामलको भन्दा बासमति चामलको बास तपाईँले अलिक भिन्नै पाउन सक्नुहुन्छ । त्यस्तै कुनै जैविक स्रोतमा कीराले खान नसक्ने किसिमको वंशाणुगत गुण पनि निहित रहेको पाइन्छ । यस किसिमका जैविक स्रोतहरूको संकलन गरी विकसित मुलुकका कतिपय कम्पनी अथवा संघसंस्थाहरूले त्यस्ता जैविक स्रोतको वंशाणुगत गुणमाथि केही हेरफेर अथवा परिमार्जन गरी त्यस्ता जैविक स्रोतमाथि आफ्नो स्वामित्व स्थापित गर्ने अथवा त्यस किसिमको जैविक स्रोतको गुणलाई आफ्नो स्वामित्वको रूपमा दर्ता गरी अनुचित फाइदा उठाउने प्रवृत्ति पनि देखिने गरेको पाइन्छ । जसलाई प्राकृतिक स्रोतको स्वामित्वमाथिको बौद्धिक चोरी मान्न सकिन्छ । र यसै कार्यलाई बायो पाइरेसी पनि भन्ने गरिन्छ ।

बायो पाइरेसी जैविक विविधतासम्बन्धी उपयोगको सन्दर्भसँग गाँसिएको शब्द हो । यसलाई नेपालीमा भन्नुपर्दा जैविक स्रोत अथवा जैविक पदार्थको बौद्धिक रूपमा चोरी भन्न सकिन्छ । विज्ञान र प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय प्रगतिले गर्दा सिंगो विश्व आज एउटा सानो गाउँमा परिणत हुनपुगेको छ । तर विज्ञान र प्रविधिको विकाससँगै जैविक प्रविधिको क्षेत्रमा भएको प्रगतिले गर्दा बायो पाइरेसीको प्रवृत्ति पनि बढ्दै गइरहेको पाइन्छ ।

विकिसित मुलुकहरूबाट हुने यस किसिमको अवान्छित प्रवृत्तिले गर्दा जैविक स्रोतमा पाइने महत्वपूर्ण वंशाणुगत गुणहरूलाई परम्परादेखि नै संरक्षण गर्दै आएका नेपाली कृषकहरूको अवस्था एकातिर दयनीय छ भने अर्कोतर्फ वंशाणुगत गुणको स्वामित्व बौद्धिक रूपमा चोरी गर्ने त्यस्ता विदेशी कम्पनी वा संघ–संस्थाहरू भने झन्झन् मोटाउँदै गइरहेका छन् । त्यसैले यस किसिमको अवान्छित प्रवृत्तिबाट बच्न र हामीले आफ्नो जैविक स्रोतको स्वामित्वलाई सुरक्षित वा संरक्षित राख्न जैविक प्रविधिको माध्यमबाट आनुवंशिक तहमा पहिचान गर्नु अति नै आवश्यक देखिन्छ । र, साथै बायो–पाइरेसीसम्बन्धी जन–चेतना जगाउनु र एउटा भरपर्दो कानुन निर्माण गर्नु पनि उत्तिकै खाँचो देखिन्छ । अन्यथा हामीले देशको विभिन्न भागमा छरिएर रहेका यस्ता महत्वपूर्ण जैविक स्रोतहरूको सदुपयोगबाट वञ्चित रहनुपर्ने त छँदै छ । साथ साथै नेपाल जैविक विविधताको दृष्टिले धनी मुलुक भन्ने मान्यता एकादेशको कहावतमा मात्र सीमित रहन पुग्ने कुरालाई पनि नकार्न सकिन्न । (लेखक नास्टका सेवा निवृत्त वरिष्ठ प्रवर्द्धन अधिकृत हुन् । 


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया