Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालको जाति, भाषा र संस्कृति : बाहुन, क्षेत्री खस आर्य–१४

नेपालको जाति, भाषा र संस्कृति : बाहुन, क्षेत्री खस आर्य–१४


काठमाडौँ । खस जातिसम्बन्धी धेरै अध्ययन अनुसन्धान पहिलाका इतिहासकारहरुले नगरेकाले आफ्नो छुट्टै नश्लीय पहिचान र गौरवपूर्ण इतिहास रहँदारहँदै पनि पौराणिक ग्रन्थहरुमा खस जातिलाई वैदिक आर्यइतर दरद, कुषाण, यमन, किराँतसरह असभ्य जाति भनी वर्णन गरिएकाले हिन्दू धर्म संस्कृतिमा आबद्ध खस ब्राह्मणहरुलाई खस जातीय पहिचानमा हीनताबोध हुन गयो ।

खसेर खस भएको भन्ने कपोलकल्पित अनुमानले गर्दा पहिलाका समयका वेद पुराण वाचन गर्ने खस ब्राह्मणहरु खस भन्ने शब्दसँग टाढा हुँदै गएर त्यो शब्द केवल तगाधारी नभएका जातविहीन जाँड रक्सी खाने मतवाली खसहरुमा मात्र सीमित हुन गयो ।

आश्चर्यजनक रुपमा पछिल्लो समयका नेपाली विद्वान्हरु खस शब्दसँग नै तर्सने गरेकाले खसहरुबारे उत्ति धेरै अध्ययन र अनुसन्धान भएन । पछि गएर केही विद्वान्, इतिहासकार अनुसन्धाताहरुले सिञ्जाली इतिहास, सुदूरपश्चिमका स्तम्भ, शिलालेख मन्दिर, मूर्ति, ताम्रपत्र आदिको खोज र अध्ययन गरेकाले बृहत् रुपमा अनेकौँ कुराहरु प्रकाशमा आउनपुगेको हो ।

खसहरु मुख्यतया हिन्दू हुन् भने मष्टो तिनै खस आर्यका कुलदेवता हुन् । अहिले आएर एउटा अचम्मको कुरो के फैलाइँदै छ भने मष्टोलाई नै भिन्दै धर्म भनेर कस कसका स्वार्थ र अभीष्ट पूरा गर्न इतिहासमै कहिल्यै नभएको धर्मलाई खडा गरी अन्यौल र विभाजनको बीउ रोपिँदै छ ।

खस आर्यले पूजा गर्ने मष्टोको पूजा विधि उसो भए किन क्रिश्चियनसँग मिल्दैन वा अन्य धर्म र जनजातिसँग मिल्दैन ? हिन्दू धर्म आचारसंहिताअनुसारका कर्मकाण्ड मान्ने खस आर्यद्वारा खसान जडान आदि क्षेत्रमा विकसित कुलदेवताको पूजा वा पूजा विधिलाई विना प्रमाण भिन्दै धर्म भनिदिनु हावादारी कुरोबाहेक अरु थोक केही पनि होइन ।

भारत वर्षको वा भनौँ हिन्दू आर्यावर्तको उत्तरी सिमाना पहाडी र हिमवत्खण्डमा बसोबास गरि आएको हिन्दू धर्मावलम्बी नै खस हुन् । सोही हुनाले कर्मकाण्डलगायत धार्मिक कार्यहरु समेतमा जम्बुद्वीप उत्तराखण्डे भारतवर्षे भनेर अनिवार्य भन्ने गरिन्छ । पहिलेका समयमा जम्बुद्वीप भन्नेबित्तिकै सम्पूर्ण आर्यावर्तलाई बुझिने गरिन्थ्यो । सोही हुनाले पुराणलगायत अनेकौँ कर्मकाण्डका पुस्तकहरुमा पुरोहितजनले मन्त्रोच्चारण गर्दा जम्बुद्वीपे भनेर धेरै ठाउँमा प्रसंग आउने गरेको हो ।

खस जातिको इतिहास : नेपालका खस जातिका नजिकैका पूर्वज बाल्हिक प्रदेश अर्थात् भारतवर्षको पश्चिमोत्तर प्रदेश हिन्दूकुश पर्वत क्षेत्र (अहिलेको उत्तर पूर्वी अफगानिस्तान, उत्तरी पाकिस्तान र प. कश्मिरका दुर्गम पहाडी भू–भाग) लगायतका क्षेत्र थिए । यो क्षेत्र पौराणिक कालहरुमा उन्नत जातका घोडा र घोडसवारहरुका नाममा समेत प्रसिद्ध रहेको थियो ।

हिन्दूहरुका पवित्र ग्रन्थ महाभारतको कर्ण पर्वमा पुलिन्द, खस, बाल्हिक आदिका घोडसवार सैनिकहरुलाई पाण्डव पक्षद्वारा घोडासहित संहार गरिएको उल्लेख छ । तर पौराणिक साहित्यहरुमा खसजातिहरुको उतिसाह्रो उल्लेख गरिएको पाइँदैन । सम्भवतः आदि वैदिक कालमा खसजातिको भारतवर्षका पश्चिमोत्तर भू–भागसम्म पूर्णतया आगमन भइसकेको थिएन । इ.पू. करिब १००० वर्ष अर्थात् करिब तीन हजार वर्षयता लेखिएका वैदिक साहित्यहरुमा मात्र खस जातिका प्रसंगहरु उल्लेख गरिएको पाइन्छ ।

खसहरुका इतिहासको सन्दर्भमा खोज्दै जाँदा नेपाल हुँदै कुमाउँ, गढवालका पहाडी भू–भागहरुबाट बाल्हिक प्रदेश (जसलाई बडा खसान समेत भनिने गरिन्थ्यो) । यी लगायत इरान र इराकको सीमामा पर्ने खसिस्तान र इराक अर्थात् पहिलेको बेबिलोनियाको कसाइट साम्राज्य सम्मको भू–भागहरुमा खसहरुको उपस्थिति प्रमाणित भएको हामी पाउँछौँ ।

वैद्विक आर्य अर्थात् मैदानी आर्यका पूर्वजका बन्धु कुनै बखत सयौं हजारौं वर्षअघिका इरानी आर्यहरु रहेका थिए भने नेपालका खसहरुका पूर्वज तिनै क्षेत्रहरुका खसहरु रहेका थिए । जो सातौँ सदी पश्चात्का समयहरुमा इस्लाम धर्मको विस्तार र प्रसारले इस्लाम धर्मावलम्बी बनी इस्लाम धर्म कबुल गर्न पुगेका थिए ।

विशेषतः इरानका आर्यबाहेकका कसाइट्स भनिने खसहरुको सम्बन्ध पुराणहरुमा वर्णन गरिएको असिरियाका (हाल सिरिया) का असुरहरुसँग समेत रहेको थियो । ती देवासुर संग्राममा उल्लिखित असुरहरुको कस्साइट्स खस र (इरानी आर्य समेतको) भारतवर्ष सिन्ध प्रवेश गरेका वैदिक आर्यहरुका पूर्वजहरुसँग लामो काल युद्ध र शत्रुताको सम्बन्ध रहेको थियो ।

रातिका समयमा झुक्याएर, अनेक रणनीतिहरु बनाएर चलाखीसाथ हमला गर्ने गरेकाले नै ती खस तथा असुरहरुलाई पुराणहरुमा मायावी भनेर उल्लेख गरिएको हो । वैदिक आर्यहरुका ती पूर्वजहरुका कुरा वा इतिहासका कथाहरु अलिखित रुपमा वाचन गरिने धार्मिक वैदिक मन्त्र, पुराणहरुद्वारा पुस्तौँ पुस्ता निरन्तरता पाउँदै आएको हो । यस्तै दानव भनेर सम्बोधन गरिएका जातिहरु भने आर्य वर्गले भारत वर्ष प्रवेश गरिसकेपश्चात्का भिल्ल निषाध, शम्बर आदि जस्ता अष्ट्रोलोआइड जातिहरु हुन् भन्ने बुझिनमा आउँछ ।

नेपालका बाहुन क्षेत्रीहरु खस आर्य वर्गका भए पनि केही कुरा र चलनहरु कुमाउँ तथा पश्चिम नेपालका प्राचीन खस चालचलनको निरन्तरताका रुपमा अभै बाँकी रहेको देखिन्छ । वैदिक आर्य समेतले मानेका र भन्ने गरेका मरुत भनिने मष्टो देवताको पूजन केवल कुमाउँ तथा पश्चिम नेपालका खस जातिहरुमा मात्र देख्न सकिन्छ । अन्यत्रका हिन्दू जातिले मरुत वा मष्टो देवताको पूजा गरेको सुनिँदैन ।

खस नृवंश जातिको प्राचीन इतिहासका सन्दर्भमा बेबिलोनियाको प्राचीन इतिहासमा महत्व दिइएको कस्साइटस खस जातिको निकै महत्व रहेको देखिन्छ । हालसम्म अस्तित्वमा रहेका खसहरुसम्बन्धी खसहरुलाई जताउने ठाउँका नामहरु खशिस्तान, वडा खसान, हिन्दूकुश पर्वतका क्षेत्रहरु, कश्मिर, खशाला, खस मण्डल, खसान आदिले खस जातिका पूर्वस्थानहरु र छाड्दै आएका बन्धुहरुलाई जताउँछ । खसहरु आर्य भए पनि वैदिक आर्य वा मैदानी आर्यहरु भने होइनन् ।

यी ईशापूर्व प्रथम शताब्दी अर्थात् करिब २१ सय वर्षअघि भारत वर्ष प्रवेश गरी पाँचौँ शताब्दीतिर प. नेपाल प्रवेश गरेको कुरामा धेरै विद्वान्हरुको मान्यता छ । खसहरुको आगमनभन्दा पहिलेका समयमा नै गंगाका मैदानी इलाकाहरुबाट थोरै ब्राह्मण क्षेत्रीयलगायत हिन्दूजन पहाडहरुमा आई बसोबास थालिसकेका हुनाले पहाडी सवर्ण समुदायमा वैदिक आर्य र खस आर्य दुवैको सम्मिश्रण रहेको हो भन्ने स्पष्ट हुन आउँछ । मुसलमान आक्रमणहरु बढ्न थालेपश्चात् मात्र वैदिक आर्यहरु आउने क्रम केही बढ्न गएको हो । खसहरुबारे हिन्दू धर्मग्रन्थ पुराण, मनुस्मृतिमा समेत धेरै ठाउँमा उल्लेखहरु गरिएको पाइन्छ ।

ईशा पूर्व दोस्रो शताब्दीतिर रचिएको मानिएको मनुस्मृतिमा झल्ल, मल्ल, लिच्छवी, नट, करण, खस र द्रविणहरुलाई व्रात्य क्षत्रीय भनेर भनिएको छ । व्रात्य अर्थात् आर्य क्षेत्रीयहरु अन्य जातिहरुमा मिसिन गए भने तिनीहरुलाई व्रात्य क्षत्रीय भन्ने गरिन्थ्यो भने व्रात्य भनेर द्विज, (ब्राह्मण, क्षत्रीय र वैश्य)द्वारा आफू समान वर्णकी स्त्रीमा पैदा भएका व्रतबन्ध संस्कारका लागि अयोग्य तथा गायत्री जप आदि नगर्ने भ्रष्ट पुत्रहरुलाई ‘व्रात्य’ भनिन्छ भनेर मनुस्मृति (१०:४ र १०) मा उल्लेख वा परिभाषित गरिएको पाइन्छ । तर ऐतिहासिक अध्ययनमा लिच्छवी र मल्लहरुलाई व्रात्य क्षेत्रीय नभनी वैदिक आर्य क्षत्रीयहरु मात्र भनिएको पाइन्छ ।

मनु स्मृतिकारले हिन्दू संस्कृति अपनाउन छाडेकाले पौण्ड्रिक, द्रविण, यवन, शक, पारद, पल्हव, चीन, किराँत दरद र खस शकहरु आदि क्षेत्रीय जाति विस्तारै शुद्र भाव प्राप्त भए अथवा वृषल भए भनेर भनिएको छ । मनुस्मृति : (१०: ४३ र ४४)

शनकैसतु विक्रया लोपादिमाः क्षत्रीय जातयः ।
वृषलत्वां गता लोके ब्रह्मण दर्शनेन च ।।
पौण्ड्रकाश्चौड्र द्रविणाः काम्वोजां यवनाः शकाः ।
पारदा पल्हवाश्चिनाः किराता दरदाः खशाः ।।

यसैगरी अन्य पुराणलगायत महाभारतमा समेत खसहरुबारे उल्लिखित विभिन्न प्रसंगहरु पाउन सकिन्छ । खसका योद्धाहरुले महाभारतको युद्धमा दुर्योधनको कौरव सेनालाई चारै तर्फबाट रक्षा गर्ने प्रयत्न गरेको भन्ने उल्लेख पाइन्छ । त्यस महाभारत युद्धमा खस योद्धा लडाकाहरुले त्रिशूल, फलामका गोलाजस्ता शस्त्रहरुले युक्त भई कवच लगाएर, अश्वारोही अर्थात् घोडामा सवार भई युद्धमा संलग्न भएको उल्लेख पाइन्छ ।

कश्मिरको राजतरंगिणीमा खसहरुलाई लडाकु र बर्बर जाति भनि लेखिएको पाइन्छ भने कल्की पुराणमा खस तथा काम्बोज सैन्यहरुलाई भयंकर बलशाली (भीम विक्रम) भनी बताइएको पाइन्छ । त्यसैगरी हरिवंश पुराण र भागवत पुराणमा पनि खसहरुलाई बहादुर लडाका योद्धाका रुपमा प्रशंसा गरिएको पाइन्छ । (भागवत पुराण ९: २०: ३०)

यसैगरी अन्य धार्मिक कथा पुराणहरुमा समेत बेलाबखत खसहरुबारे उल्लेखहरु गरिएको धेरै ठाउँमा भेट्न सकिन्छ भने खसहरुको शक्तिशालीराज्य र सिञ्जा राजधानी बारेका धेरै ऐतिहासिक उल्लेखहरु प्रकाशमा आइसकेका छन् ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया