Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपरम्परागत प्रविधि : हाम्रो मौलिक निधि

परम्परागत प्रविधि : हाम्रो मौलिक निधि


काठमाडौं । नेपालले विश्वको कुल क्षेत्रफलको जम्मा शून्य दशमलव शून्य एक प्रतिशत भू–भाग मात्र ओगटेको छ । तथापि जैविक विविधताको दृष्टिले भने नेपाल सम्पन्न मुलुककै रूपमा चिनिन्छ । जैविक विविधताको दृष्टिले नेपाल विश्वको २६औँ स्थानमा पर्दछ । त्यसो त तराईदेखि हिमाल र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको नेपालको भौगोलिक बनावट, भू–स्वरूप तथा उचाइमा ठूलो अन्तर भएकोले पनि नेपाल जैविक विविधताको हिसाबले सम्पन्न मुलुकको रूपमा चिनिन पुगेको हो । यसबाहेक पनि नेपाली किसानहरूले १८ सयभन्दा बढी जातका धानखेती गरेको पाइन्छ । तीमध्ये कतिपय त लोप पनि भइसकेको बताइन्छ । यसका साथै नेपालमा सात सयभन्दा बढी प्रजातिका जडीबुटीहरू आयुर्वेद तथा अन्य औषधोपचारमा प्रयोग हुँदै आएको देखिन्छ । यसबाहेक प्रशोधन तथा अन्य प्रयोजनका लागि थुप्रै कृषि तथा वनस्पतिहरूको प्रयोग हुँदै आएको पाइन्छ ।

तथापि बढ्दो पश्चिमी रहनसहन र आधुनिकताको नाममा यस्ता जैविक विविधतासँग सम्बन्धित परम्परागत ज्ञान क्रमशः ओझेलमा पर्दै गइरहेको महसुस हुन थालेको छ । यस्ता परम्परागत ज्ञान र प्रविधिको संरक्षण संवर्द्धनको कुरा छाडौं नयाँ पुस्ताले यस किसिमको ज्ञान र प्रविधिप्रति एक किसिमको नकारात्मक धारणा राख्ने गरेको पाइन्छ । यसरी परम्परागत रूपमा नै एक पुस्ताबाट अर्को पुस्ता गरी सर्दै आएका यस्ता ज्ञान र प्रविधिप्रति बढ्दै गएको नकारात्मक धारणाले गर्दा हाम्रा स्थानीय जातका अन्नबाली, फलफूल, तरकारी तथा वस्तुभाउ हिजोआज नौलो र विकासे प्रजातिले गर्दा क्रमिक रूपमा लोप हुन थालेका छन् । यो ज्यादै दुःखलाग्दो कुरा हो ।

वास्तवमा भन्ने हो भने वर्तमान विश्व परिप्रेक्ष्यमा हाम्रो विकासको अधिकतम स्रोत भन्नु हाम्रो आफ्नो परम्परागत ज्ञान र प्रविधि नै हो । जस्तो कोदालोले काटेको घाउ घोडताप्रेको रस निचोर्दा ठीक हुन्छ भन्ने ज्ञान हाम्रो पुर्खाकै हो । शरीरलाई शीतल राख्न र स्मरणशक्ति बढाउन समेत यो जडीबुटी प्रयोग गरिन्छ । अनि त्यस्ता जडीबुटीमा के–के तत्व छन् भन्ने परीक्षण गरेपछि त्यसैको आधारमा आधुनिक खालका एलोपेथिक औषधि बनेका हुन् । घोडताप्रेको औषधियुक्त रसायन ‘एसियाटिकोसाइट’ प्रयोग गरेर अहिले आधुनिक मलम, इन्जेक्सन आदिको नाममा युरोपियन बजारहरूमा समेत आउन थालेका छन् । साँच्चै भन्ने हो भने आज जति पनि एलोपेथिक औषधिहरू बनेका छन् तीमध्ये धेरैजसो विभिन्न देशका परम्परागत औषधि उपचार गर्ने प्रविधि र जडीबुटीको आधारमा नै बनेका छन् । त्यति मात्र नभई कतिपय उन्नत कृषि बीउबिजनको आविष्कार पनि परम्परागत ज्ञान र सीपमा आधारित हुन्छन् । जस्तो हाम्रो क्षेत्रवरपर पाइने लुइँचेकै कुरा गरौं न । लुइँचे कुखुरा पाल्ने प्रचलन परम्परादेखि नै चलिआएको हो । यही परम्परा कालान्तरमा विकसित हुँदै गएर आज विश्वभरका मानिसले कुखुराको मासु र अण्डा खान पाएका हुन् । ती सबैको वंशाणुगत स्रोत लुइँचे हो । यसरी परम्परागत ज्ञान र प्रविधिबाट नयाँ–नयाँ औषधि, नयाँ खाद्यवस्तु, नयाँ घरपालुवा पशुपन्छी र तीसँग सम्बन्धित कतिपय नयाँ प्रविधिको आविष्कार हुन्छन् । कुरा यति मात्र हो कि त्यसबाट हामीले अधिकतम लाभ लिन सक्नु पर्दछ ।

परम्परागत ज्ञानको कुरा गर्दा कुन च्याउ खान हुन्छ र कुन हुँदैन भन्ने कुरा यसै ज्ञानको आधारमा निर्धारण गरिएको हुन्छ । त्यस्तै कुन कन्दमूल खानु हुन्छ र त्यस्ता कन्दमूल कसरी खानुपर्छ भन्ने ज्ञान पनि हाम्रा पुर्खाले सिकाएर गएकै कारण अहिलेसम्म जीवित रहेको छ । त्यस्तै घरछेउमा तुलसी रोप्ने कुरा पनि हाम्रै पुर्खाले आर्जेको ज्ञान हो । जुन वनस्पतिको बहुउपयोगिता अहिले वैज्ञानिक रूपमा समेत पुष्टि भइसकेको छ । तुलसीको उपयोगिताबारे हाम्रो पुर्खालाई धेरै अगाडिदेखि नै थाहा थियो । जब कि वैज्ञानिक अध्ययन अनुसन्धानबाट यसको पुष्टि त धेरै पछि मात्र भएको हो । त्यस्तै विभिन्न प्रकारले माछा मार्ने सीप पनि परम्परागत रूपबाट नै सर्दै आएको ज्ञान र प्रविधि हो । त्यस्तै आफ्नो स्वास्थ्य स्थिति सन्तुलित तुल्याई राख्न चाहिने ध्यान, योग र प्राणायाम, वातावरण संरक्षण तथा नदी, कुवा, इनार, वनजंगल आदिको संरक्षण संवर्द्धन अनि भिन्न प्रजातिका बिरुवाका जात उत्पादन गर्दा चाहिने ज्ञान वा प्रविधि परम्परागत ज्ञानमै आधारित रहेको पाइन्छ । दुःख लाग्दो कुरा के छ भने यस्तो महत्वपूर्ण प्रविधिको कुनै अभिलेख वा रेकर्ड हुँदैन । न त यसको कुनै तस्बिर, फोटो वा स्वरांकन नै रेकर्ड गरिएको हुन्छ । केवल एक पुस्ताबाट अर्को पुस्तामा अर्थात् जेनरेसन टु जेनरेसन मौखिक रूपमा वा व्यावहारिक क्रियाकलापको आधारमा मात्र हस्तान्तरण गरिंदै आएको हुन्छ ।

नेपालमा खासगरी बढ्दो सहरीकरण, गाउँबाट सहरतिरको बसाइँसराइ, वन तथा प्राकृतिक स्रोतमाथि भएको अनियन्त्रित दोहन आदिजस्ता कारणले गर्दा विद्यमान परम्परागत ज्ञान र प्रविधि क्रमिक रूपमा लोप हुँदै गइरहेको छ । यसले गर्दा परम्परागत ज्ञान र प्रविधिलाई प्रयोगमा ल्याएर आफ्नो जीविकोपार्जन गर्ने समुदायहरू समेत संकटमा पर्न थालेका छन् । यसका साथै त्यस्ता ज्ञान र प्रविध हाम्रो आफ्नै हो भन्ने चिनारी पनि हराउन थालेको छ । त्यसो त पश्चिमी रहनसहनको शैलीले गर्दा वर्तमान नयाँ पुस्ताका कतिपय शिक्षित युवायुवतीहरू प्नि आफ्नो परम्परागत इलम र पेसालाई चटक्कै छाडी अन्य पेसा वा व्यवसायतर्फ उन्मुख हुन थालेका छन् । जसले गर्दा हाम्रा कतिपय महत्वपूर्ण ज्ञान र प्रविधि क्रमशः लोप हुँदै गइरहेका छन् ।

निश्चय पनि गाउँ नै गाउँले भरिएको र बहुसंख्यक जनता कृषिमा आश्रित रहेको हाम्रोजस्तो मुलुकमा परम्परागत ज्ञानको संरक्षण, संवर्द्धन र आधुनिकीकरणबाट नै जैविक विविधता संरक्षणमा महत्वपूर्ण टेवा पुग्न जाने देखिन्छ । यसका साथै त्यस्ता परम्परागत ज्ञान र सीपहरूको उपयोगबाट स्थानीय जनता वा समुदायको जीविकोपार्जनमा टेवा पुग्नुका साथै आफ्नो मौलिक राष्ट्रिय पहिचान कायम राख्न पनि महत्वपूर्ण योगदान पुग्न जान्छ । त्यसकारण स्थानीय रूपमा उपलब्ध यस्ता प्राकृतिक स्रोत र साधनहरूको अधिकतम उपयोग र सोसँग सम्बन्धित विभिन्न ज्ञान, प्रविधि र सीपको संरक्षण, संवर्द्धन र आधुनिकीकरणद्वारा कृषि तथा घरेलु उत्पादनमा अभिवृद्धि ल्याउनु वर्तमान सन्दर्भमा टड्कारो आवश्यकता देखिन्छ । त्यति मात्र नभई नेपाल अन्तर्राष्ट्रिय जैविक विविधता महासन्धिको सदस्य समेत भएको नाताले पनि जैविक विविधता संरक्षण, त्यसको दिगो उपयोग र त्यसबाट स्थानीय तहसम्म समुचित अवसर र फाइदा पुग्ने व्यवस्थाजस्ता मूलभूत कुराहरूबाट लाभ उठाउन सकिन्छ ।

समग्रमा भन्नुपर्दा परम्परागत ज्ञान र प्रविधिलाई लोप हुनबाट जोगाउन सर्वप्रथम त्यस्ता ज्ञान र प्रविधिको अभिलेखीकरण गरिनु आवश्यक पर्दछ । त्यसो त हाम्रो प्राकृतिक तथा बौद्धिक सम्पदाहरूमाथिको प्याटेन्ट राइट अरुले दाबी गर्न नपाओस् भन्नका लागि पनि त्यस्ता ज्ञान र प्रविधिको हकदाबी लाग्ने अभिलेखीकरण हुनु अति नै जरुरी देखिन्छ । साथै यस किसिमको अभिलेखीकरणको माध्यमबाट एक ठाउँको परम्परागत ज्ञान र प्रविधिलाई अरु समुदायमा लैजान पनि सहयोग मिल्दछ । यसबाट हाम्रो कृषि र घरेलु उत्पादनमा मौलिक र गुणात्मक अभिवृद्धि हुन गई स्थानीय समुदायलाई दूरगामी फाइदा पुग्नुका साथै नेपालका विभिन्न जिल्लाहरूमा हाल प्रमुख समस्याको रूपमा देखा परिरहेको खाद्य संकट र गरिबी निवारणमा समेत महत्वपूर्ण टेवा पुग्न जाने देखिन्छ । लेखक नास्टका सेवा निवृत्त वरिष्ठ प्रवर्द्धन अधिकृत हुन् ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया