Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगहालको तरलताको अवस्था र त्यसका कारणहरू

हालको तरलताको अवस्था र त्यसका कारणहरू


काठमाडौं । तरलताः बैंक तथा वित्तीय संस्थाहरूको दायित्व निक्षेपसँगै ब्याज पनि दिनुपर्ने हुन्छ । बैंकले आफ्ना निक्षेपकर्ताले मागेको बखत नगद दिनुपर्ने हुन्छ, बैंकको यही क्षमता नै तरलता हो । कुनै पनि वित्तीय सम्पत्ति सरल तरिकाबाट खर्च योग्य रूपमा परिवर्तन गर्ने अवस्थालाई तरलता भनिन्छ । अर्थशास्त्रको सिद्धान्तअनुसार तरलता बढ्दा ब्याजदर घट्ने र मुद्रास्फीति बढ्ने हुन्छ । साथै तरलता घट्दा ब्याजदर बढ्ने र मुदास्फीति दब्ने अवस्था आउँछ । त्यसैले तरलता बढी हुनु वा कम हुनु देशको अर्थतन्त्रको लागि राम्रो होइन भनी सिधै बुझ्न सकिन्छ ।

नेपालमा तरलताको अवस्था : विगतका करिब पन्ध्र वर्षमा नेपालमा तरलता बढी वा अभाव अर्थतन्त्रमा एक ठूलो अध्ययनको विषय बनेको छ तर यसमा सोझै भन्नुपर्दा वित्तीय संस्थाहरूको अनुशासनमा कमी र राष्ट्र बैंकको नीतिसहितको अनुगमनमा कमी देखिन्छ । एउटा सरकारले अर्काे सरकारलाई दोष दिए पनि विगत १५ वर्षका सरकारहरूसहित अर्थ मन्त्रालय र राष्ट्र बैंक यस विषयमा गम्भीर नभएको नै हो । ५/६ महिना अगाडि निक्षेपकर्ताले बैंकहरूमा ब्याज कम पाएको अवस्थामा बढी ब्याज दिने वित्तीय संस्था वा अन्य सहकारीमा समेत निक्षेप राख्न न रुचाएका निक्षेपकर्ता हाल बैंकहरूले बढी ब्याज दिने तथा बीमासहितका सेवा दिन्छौँ या अन्य सुविधा दिन्छौँ भनी पटक–पटक मोबाइलमा म्यासेज वा ईमेल आउँदा आश्चर्यचकित हुनु स्वभाविक नै हो ।

पैसा राष्ट्रिय अर्थतन्त्रको रगत हो । त्यसैले बैंकमा तरलता संकटलाई जाग्रुकताको रूपमा लिन नसक्नु राष्ट्र बैंकको कमजोरी हो भनी बैंकहरूले बढी नाफा कमाउने उद्देश्यका साथ होडबाजी गरी वित्तीय अनुशासन पालन नगर्नु व्यवस्थापकीय कमजोरी हो । विगत ५ महिनामा तरलतामा यतिछिटो कमी आउनु एक आफैँमा अध्ययनको विषय त हो नै तर जुन यस तरलताको कमीले आर्थिक वृद्धिलाई ध्वस्त गर्दछ त्यसको परिणाम अर्थ मन्त्रालय राष्ट्र बैंक तथा सरकारले जिम्मेवारी लिनुपर्ने कुराको बोध हुनु जरुरी छ । हाल निर्माण र विकास खर्च अति नै न्यून छ । पुस मसान्तमा कर तिर्नुपर्ने, रेमिट्यान्सको कमीले अर्थतन्त्र बिग्रेको हुनसक्छ तर यसमा समयमै तरलतासम्बन्धी अध्ययन गर्न नसक्नु अर्थ मन्त्रालयसहित राष्ट्र बैंकको पनि विडम्बना हो । अर्थ केही बैंकरहरूले तरलतामा अब सुधार आउँछ भनी प्रायोजित रूपमा अर्थ मन्त्रालय र राष्ट्र बैंकको बचाउ गर्ने मनसायले बोल्दा यसको असरले राष्ट्रलाई कतिको घाटा गर्छ भनी बुझ्नु जरुरी छ ।

हाल नेपालमा तरलतामा कमी आउनुका कारणहरू :
नेपालमा हाल बैंकिङ तरलतामा कमी आउने धेरै कारणहरू छन् । विगत केही समयमा यिनै कारणहरू पटक–पटक दोहोरिइरहेको अध्ययनले देखाएको छ । विगत केही महिनामा पनि यिनै कारणहरूले तरलतामा कमी आएको देखिन्छ ।

१) सरकारी खर्चमा कमी : आर्थिक वर्ष २०७७/७८ को अन्तिमतिर सरकारी रकम खर्च गर्नुपर्ने बाध्यता तथा अनिवार्यताले तरलतामा बढोत्तरी भएको देखिन्थ्यो । तर वास्तवमै तरलता बढी भएको थिएन । यो राष्ट्र बैंक र अर्थ मन्त्रालयले बुझ्नु जरुरी थियो । लगत्तै नयाँ आर्थिक वर्ष हुनुपश्चात् सरकारी विकास खर्चमा ठूलो कमी आएको वा भन्नुपर्दा सरकारी कोष राष्ट्र बैंकमा हालको दिनमा तीन खर्बभन्दा बढी छ, जुन खर्च हुने बजेटको करिब करिब २५ प्रतिशत हो । यो संकलित कोष वा रकम प्रवाह नहुँदा र अझै पनि समय लाग्ने हुँदा हाल तरलतामा कमी आएको देखिन्छ । सरकारी खर्च कम भएको कारण अहिलेको अर्थतन्त्रमा तरलताको कमीको प्रमुख कारण हो ।

२) रेमिट्यान्समा कमी : कोभिड दोस्रो लहरपश्चात् देशमा भित्रिने रकममा कमी आएको छ । विगतको तथ्याङ्कसँग यस वर्षको तथ्याङ्क हेर्दा करिब आठ प्रतिशतको रेमिट्यान्समा कमी देखिन्छ । जसका कारण नेपालको बैंकिङ बजारको तरलतामा कमी आउनु स्वाभाविक नै हो । विगतको तथ्याङ्क हेर्दा सरकारी विकास खर्च तथा रेमिट्यान्सले हाम्रो देशको तरलतामा ठूलो भूमिका खेलेको छ । तर हाल रेमिट्यान्समा कमी र विकास खर्च आजका मितिमा लगभग सात प्रतिशत खर्च हुँदा तरलतामा कमी आएको देखिन्छ ।

३) निष्क्रिय कर्जाको राशिमा बढोत्तरी : बैंकले ऋण दिँदा निष्क्रिय कर्जामा पनि ऋण दिइरहेको देखिन्छ तर निष्क्रिय कर्जामा बढी जोखिम हुनेहुँदा ऋणको राशि कम दिने गर्दछन् तर विगत ५/६ महिनाको समयलाई अध्ययन गर्दा (जेष्ठ–भाद्र) बैंकहरूले निष्क्रिय कर्जामा राम्रै लगानी गरेको देखिन्छ जुना रकम बजारमा तरलताको रूपमा रहन सकेन । समयमै राष्ट्र बैंकद्वारा बैंकहरूमा निष्क्रिय कर्जमा लगानीउपर अंकुश नकस्दा तरलतामा कमी आएको देखिन्छ ।

४) बैंकिङ अकुशलता र सुसाशनको अभाव : तरलता छँदा बैंकहरूले निक्षेपतिर ध्यान नदिई आक्रामक लगानी गर्नतर्फ ध्यान दिए ६/७ महिना पहिले बैंकहरूबाट सजिलै ऋण लिने साथै बैंकहरूले लगानी गर्नका लागि राष्ट्रिय स्तरका पत्रपत्रिकामा समेत विज्ञापन गरे जसले गर्दा ऋण लगानीमा निक्षेप सङ्कलनमा सन्तुलन राख्न सकेनन् फल स्वरूप तरलतामा कमी देखा प-यो । यसको प्रमुख कारण बैंकिङ अकुशलता र सुशासन नै हो । जबसम्म बैंकहरूले कुशलतापूर्ण काम गर्दैनन् यस्तो परिस्थिति आइरहन्छ ।

५) डलरको मूल्य वृद्धि : डिसेम्बर १५ तिर डलरको मूल्य नेपाली एक सय २२ रुपैयाँभन्दा बढी थियो । नेपालको रकम विदेशमा उल्लेखनीय रूपमा जाने गरेको छ । भारत, चीनजस्ता देशमा व्यापारका लागि डलरमा कारोबार गर्नुपर्ने तथा अष्ट्रेलिया अमेरिकामा उच्च शिक्षाका लागि ठूलो रकम बाहिरिएको देखिन्छ । विगत वर्षदेखि अमेरिका अष्ट्रेलियाले भिषामा कडाइ गरेको थियो भने बीचमा खुकुलो गर्नाले नेपालको ठूलो रकम डलरका रूपमा बाहिरिएको छ । साथै विगत छ महिनामा १५ हजारभन्दा बढी व्यक्तिहरू कागजीरूपमा वैदेशिक भ्रमणमा निस्केको तथ्याङ्क छ । यी सबै कारोबार अमेरिकी डलरमा नै गर्नुपर्ने हुन्छ । डलरको मूल्य वृद्धिले बढी रकम खर्च गर्नुपर्ने भएकोले तरलतामा कमी आएको देखिन्छ ।

६) कर सङ्कलन महिना र सरकारी खर्च : सरकारले पुस मसान्तमा गत वर्षको कर जम्मा गर्ने अन्तिम मिति तोकेको हुन्छ । प्राय पुस महिनामा अरु समयभन्दा कम नै तरलता रहने महिना हो विगतका वर्षमा पनि पुस महिनामा तरलतामा कमी नै देखिन्थ्यो । यस बखत कर चुक्तातर्फ ध्यान दिएको तथा रहेको तरलता पनि सरकारी ढुकुटीमा जम्मा गर्ने गरेकाले बैंकिङ तरलतामा कमी देखापरेको हो साथै बजेटमा गत वर्ष कोभिडको महामारीभन्दा पनि कम रकम खर्च रकम भएकाले हालको अवस्था सिर्जना भएको हो ।

७) ऋण चुक्तामा असफलता : ऋण चुक्ता असफलता पनि हालको तरलता कमीको कारण हो । बैंकहरू ऋण लगानी गरेपश्चात् ऋण असुल गर्नमा चुकेका नै छन् । बैंकहरूले लगानी त गरे तर विगत ५/६ महिनामा ऋण असुल गर्न सकेनन् । बैंकहरूले समयमा ऋण असुल गर्न नसक्ने कारणले वा ऋण चुक्तामा असफलताका कारण हालको तरलतामा कमी देखा परेको हो ।

८) गैरबैंकिङ कारोबारबाट मुद्रा अपचलन : मुद्रा शुद्धीकरण गर्नाले साथै गैरबैंकिङ तरिकाबाट नेपालबाट अन्य मुलुकमा रकम बाहिरिनाले हालको बैंकिङ तरलतामा कमी आएको हो । हुण्डीजस्ता कारोबार नेपालमा ठूलो राशिको हुने गर्दछ । जुन रकम कानुनीरूपमा तरलतामा देखिँदैन र बैंकिङ कारोबारमा संलग्न हुँदैन् । नेपालको रकम हुण्डीमार्फत बाहिरिने तथा भित्रिने राशिको राष्ट्र बैंकले आकलन समेत गर्न सकेको अवस्था छैन । जुन ठूलो राशिको गणना हुँदैन त्यही राशिले देशको अर्थतन्त्रमा असर गर्दछ । यही कारण हालको तरलतामा कमी गैरबैंकिङ कारोबार पनि एक हो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया