Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगभूकम्पीय जोखिम र पुनर्स्थापनाको चुनौती

भूकम्पीय जोखिम र पुनर्स्थापनाको चुनौती


काठमाडौं । गत आइतबार २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो । यो दिवस नेपालको ७७ जिल्लालगायत केन्द्रीयरूपमा ललितपुरको पाटनमा मनाइएको थियो । मूलतः देशमा गएको भूकम्पहरूमध्ये सबैभन्दा ठूलो महाभूकम्प विसं १९९० सालको माघ २ गतेको थियो । यसै दिनको सम्झनामा नेपाल सरकारले भने विसं २०५५ सालदेखि प्रत्येक वर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । यस सालको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल नारा भने भूकम्पीय सचेतना, सुरक्षित संरचना भन्ने रहेको छ । त्यसरी नै दोस्रोे महाभूकम्प भने विसं २०७२ साल वैशाख १२ गतेका दिन गएको महाभूकम्पको सम्झनामा तीन करोड नेपालीहरूलाई गहिरोरूपमा ताजै रहेको छ । जुुन दिनमा कैयौँ नेपालीहरूको धन र जन गुमाउनुपरेको थियो । यसको साथसाथै झण्डै ८८ वर्ष विसं १९९० अघि नेपालमा गएको महाभूकम्पको चर्चा अहिलेसम्म पनि उत्तिकै छ ।

कुनै कारणले पृथ्वीको सतहमा हुने थर्काइ वा कम्पनलाई भुइँचालो भनिन्छ । यसमा ‘भू’ भनेको जमिन र ‘कम्पन’ भनेको थर्कनु वा काम्नु हो । यसरी बेला–बेलामा पृथ्वीको सतहमा हुने जोददार कम्पन वा हलचल नै भूकम्प हो । कसरी भूकम्पको पूर्वानुमान कहाँ, कहिले र कति परिमाणको गर्ने भन्नेबारे कुनै वैज्ञानिक ज्ञान छैन, न त निकट भविष्यमा कहिल्यै त्यस्तो ज्ञान प्राप्त हुने आशा तिनीहरू गर्छन् । अतः नेपाल युरेसियल प्लेट तथा भारतीय प्लेटको जोर्नीमाथि अवस्थित छ । यी दुई प्लेटहरू हरेक सय वर्षमा दुर्ई मिटरका दरले एक अर्कोतिर सरिरहेका छन् । यो गति भिन्नताले पृथ्वीभित्र चट्टानमा चापको सृष्टि गर्छ । त्यो चाप बढ्दै गएपछि भूकम्पद्वारा मात्र त्यसको विसर्जन हुन्छ । नेपालमा यसप्रकारले मात्र भूकम्प हुन्छ । हाम्रो देश भूकम्प संकटाभिमुताको हिसाबले विश्वमा ११औँ स्थानमा पर्दछ । यसको भूकम्पीय इतिहासको अध्ययन गर्दा प्रत्येक ७५ देखि एक सय वर्षमा एक विशाल भूकम्प र हरेक ५० वर्षमा मध्यखालको भूकम्प गएको पाइन्छ । यसरी विसं १९९० साललाई आधार मानेर हिसाब गर्दा विसं २०७० सालदेखि २०९५ सालसम्ममा ठूला खालका महाभूकम्पहरू जाने सम्भावना बढी देखिएका छन् ।

देशको करिब ८२ वर्षको अन्तरालमा २०७२ वैशाख १२ का दिन नेपालमा ठूलो भुइँचालो गएको थियो । विक्रम संवत् १९९० मा गएको भूकम्पका बारेमा भूगोलपार्कमा रहेको सानो स्तम्भ र ब्रह्मशमशेर जबराले लेख्नुभएको नेपालको महाभूकम्प १९९० साल नामक पुस्तकबाहेक नेपालमा गएका भूकम्पहरूको तत्थ्यांकसम्बन्धी भरपर्दा सामग्री भेटिँदैनन् । अतः ऐतिहासिक रूपमा राष्ट्रमा गएका भूकम्पहरू सरसर्ती हेर्ने हो भने विसं १३१० मा जसले तत्कालीन राजा अभय मल्लको ज्यान गयो । त्यसरी नै विसं १३१६, मात्र छ वर्षको अन्तरालमा भयानक भूकम्प गयो । त्यसरी नै विसं १४६४ अथवा एक सय ४८ वर्षपछि अर्काे भूकम्प गयो । त्यस्तै विसं १७३८ अथवा दुई सय ७४ वर्षपछि फेरि अर्काे भूकम्प गयो । त्यस्तै गरी विसं १८६६ अथवा एक सय २८ वर्षपछि पुनः अर्काे भूकम्प २१ पटक गयो । विसं १८८० अथवा १४ वर्षपछि पुनः अर्काे भूकम्प १७ पटक गयो  । विसं १८९० अथवा १० वर्षको फरकमा अर्काे भूकम्प २३ पटक गयो ।

विसं १८९१ भदौ र असोजमा अथवा एक वर्षपछि भूकम्पहरू गए । विसं १९९० अथवा ९९ वर्षपछि अर्काे विनाशकारी भूकम्प गयो । यो माथिको विवरणले घटीमा एक वर्ष र बढीमा दुई सय ७४ वर्षको अन्तर देखाएको छ । तर, के यो भूकम्पको नियम हो र ? विसं १८९१ मै भदौ र असोज दुई महिनाकै अन्तरालमा दुई पटक भूकम्प गएका छन् । विसं १७३८ को भूकम्प दुई सय ७४ वर्षपछि गएको छ । विसं १९९० पछि एकै पटक २०७२ वैशाख १२ मा मात्र भूकम्प गएको होइन । सोभन्दा पहिला नै अथवा २०४५ भदौमा पनि ठूलै भूकम्प गएको थियो । वर्तमान पुस्ता स्वयम्ले यो दुवै भूकम्प भोगेको छ । तर पनि हामी सचेत छैनौँ ।

समग्रमा भन्नुपर्दा विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पबाट भएको भौतिक संरचनाको क्षतिको पुनर्निर्माण गर्न स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले साढे छ वर्षको अवधि पूरा गरेको छ । यो भूकम्प यो पुस्ताकै अहिलेसम्मको सबैभन्दा विनाशकारी प्राकृतिक विपित्त हो । यसमा आठ हजार सात सय ९० जनाले ज्यान गुमाए भने २२ हजार तीन सय जना घाइते भए । मूलतः भूकम्पपछिको आवश्यकता आकलन प्रतिवेदनअनुसार ३१ जिल्लालाई प्रभावित बनाएको यो भूकम्पमा आठ लाखभन्दा बढी निजी घर, सात हजार पाँच सय ५३ वटा शिक्षण संस्था, एक हजार एक सय ९७ स्वास्थ्य संस्था, चार सय १५ सरकारी भवन, सात सय ५३ वटा पुरातात्विक तथा सांस्कृतिक सम्पदा र तीन सय ८३ वटा सुरक्षा निकायका भवन क्षतिग्रस्त भए । यसबाट सात खर्ब रुपैयाँको क्षति भएको थियो भने कुल जनसंख्याको एक तिहाइ अर्थात् ८० लाख जनसंख्या प्रभावित भएको थियो । यसरी पछिल्लो समय २०७२ सालमा नेपाली समाजले भूकम्पबाट ठूलो क्षति बेहोर्नु प-यो ।

भूकम्पका कारण भएको क्षतिबाट माथि उठ्न सकिरहेको छैन । यसको कारण मुलुकको झण्डै आधा भाग प्रभावित हुन पुगेको छ । यसमा १४ जिल्ला अति प्रभावित र थप १७ जिल्ला कम प्रभावित गरी ३१ जिल्लामा भूकम्पले क्षति पु¥याएको छ । यसले ठूलो जनधन क्षति र लाखौंँ मानिसलाई घरबारविहीन बनायो । यसमा हजारौंँ मानिस अकालमै जीवन गुमाउन पुगे । धेरैले अहिले पनि घाइते जीवन बाँचिरहनु परिरहेको छ । तर, भूकम्प गएको साढे छ वर्ष बित्न लाग्यो । तर यसले सिर्जना गरेको समस्या अहिलेसम्म पनि समाधान हुन नसक्दा नेपाली समाजमा यसले नकारात्मक असर पर्दै गइरहेको पाइन्छ ।

भूकम्पका कारण भत्किएका संरचनाको पुनर्निर्माण र गुमेका संरचना अनि संस्कृति पुनस्र्थापनामा धेरै समय, श्रम र स्रोत खर्च भइरहेको छ । यद्यपि भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा सोचेजति प्रगति हुन भने सकेको छैन । यसप्रति जनगुनासो पनि उत्तिकै छ । यसमा कुरा बढी काम कम भयो भन्ने आलोचनाहरू पनि उत्तिकै छ । भूकम्पपीडितले पनि पुनर्निर्माणमा आवश्यक चासो नदिएका देखिन्छ गाउँघरमा । बाहिर जसले जे भने पनि भित्री यथार्थ यही हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापना योजना बनाई तीन वर्षभित्र शतप्रतिशत निजी आवास निर्माण गर्ने घोषणा गरेको थियो । पुनर्निर्माण तथा पुनर्स्थापना योजनाका लागि कुल नौ खर्ब ३८ अर्ब रुपैयाँ आवश्यक रहेकोमा दाता सम्मेलनमा भएको प्रतिबद्धताअनुरूप हालसम्ममा दुई खर्ब ६२ अर्ब मात्र प्राप्त भएको छ ।

तर, सम्मेलनमा एसियाली विकास बैंकले ६० अर्ब, विश्व बैंकले ५० अर्ब, चीनले ४८ अर्ब ९६ करोड, जापानले २६ अर्ब र संयुक्त राज्य अमेरिकाले १३ अर्ब सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । यसबाहेक पनि द्विपक्षीय र बहुपक्षीय निकायबाट प्रतिबद्धता प्राप्त भएको थियो । प्राधिकरणका अनुसार व्यक्त प्रतिबद्धतामध्ये झन्डै एक खर्ब २९ अर्ब ४१ करोड ९२ लाख ९१ हजार पाँच सय अनुदान र दुई खर्ब १३ अर्ब ८० करोड सहुलियतपूर्ण ऋण रहेको थियो । सो सम्मेलनमा २३ बहुपक्षीय, ४० द्विपक्षीय, एजेन्सी र व्यक्तिगत गरी दुई सय ५० भन्दा बढी विदेशी प्रतिनिधिको सहभागिता रहेको थियो ।

उक्त सम्मेलनमा द्विपक्षीय र बहुपक्षीय साझेदार तथा दातृ निकायबाट चार खर्ब ४० अर्बको सहायता उपलब्ध गराइने प्रारम्भिक प्रतिबद्धता प्राप्त भएको थियो । अतः विश्वमा नेपाल जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिममा चौथो स्थानमा, भूकम्पीय जोखिमका दृष्टिले ११औँ स्थानमा र जल उत्पन्न जोखिममा ३०औँ पर्छ । त्यसैले भविष्यमा आई पर्नसक्ने विपत्ति सहन र जुध्ने क्षमता विकासलाई पनि गम्भीरतापूर्वक लिनैपर्छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया