Techie IT
×
गृहपृष्ठविचारसिमसार क्षेत्रको संरक्षण

सिमसार क्षेत्रको संरक्षण


विश्वनाथ खरेल
विश्वस्तरमै संरक्षण गर्नका लागि सिमसार क्षेत्र मानव मात्र नभएर समस्त प्राणीवर्गका अमूल्य स्रोत हुन् । सिमसार हाम्रा लागि गतिला प्राकृतिक उपहार हुन् । जीवन र जीविका अनि जैविक विविधता सबै सिमसारबाट मात्र सम्भव छ । सिमसारमै अपार अवसर छन् । यो आयआर्जन र गरिबी निवारणका अनेक उपाय पनि सिमसारले नै दिन्छन् । मनुष्यले प्राप्त गर्ने माछा मात्र होइन, सिमसारले जीवनकै आशा जगाइदिन्छन् । जहाँ सिमसार, त्यहीँ भेटिन्छ जीवनको सार यी सिमसार स्वस्थ र स्वच्छ रहे मात्र मानव स्वास्थ्य पनि ठीक रहन्छ । मूलतः पृथ्वीको विभिन्न सिमसार क्षेत्रलाई हेर्दा अत्यन्त ओसिलो र दलदल भएकाले उत्ति मनमोहक र सुलभ नदेखिन सक्छन् तर यस्तै सिमसार क्षेत्रहरूका जीवहरू, वनस्पती एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरूलाई छानेर सफा र स्वच्छ बनाइदिने भएकाले यी क्षेत्रहरूलाई पृथ्वीको मृगौला पनि भनिन्छ ।

यसका अलावा सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि रोकथाम गर्दछ । संसारभर रहेको साढे सात अर्ब जनसंख्यामध्ये झण्डै तीन अर्ब संसारका वासीहरूले खाने चामल यसै सिमसार क्षेत्रका दलदलेमाटोहरूले उत्पादन गर्दछन्, सिमसारको नष्ट गर्नु भनेको संसारले भोकमरीको निमन्त्रणा गर्नुजस्तै भयावह छ । हाम्रो देशको कुरा गर्ने हो भने पनि समुन्द्रलाई नछोएको भूपरिवेष्ठित देश भए पनि नेपाल जलोतमा अत्यन्त धनी छ किनभने हामीसँग भएका नदिनाला, तालतलैया अनि कुवापोखरीहरूको कुल पानीको मात्रा धेरै छ ।

हाम्रो देश जलस्रोतको धनी देश मानिन्छ । हाम्रोमा समुद्र छैन तर नदीनाला र तालतलैयामा हामी धनी छौँ । हिमालको हिउँ पग्लेर बग्ने बाह्रैमासे ठूला नदीहरू मेची, कोशी, गण्डकी, कर्णाली र महाकाली हाम्रा लागि अमूल्य वरदान हुन् । एक तथ्यांकअनुसार नेपालमा जलाशय, ताल, दलदल, घोल गरी सात लाख ४३ हजार पाँच सय ६३ हेक्टर क्षेत्रफल सिमसारले ढाकिएको छ । नेपालको कुल भूमिमध्ये यो करिब दुई दशमलव पाँच प्रतिशत हो । वास्तवमा सिमसार भत्राले पानी र जमिन मिश्रित दलदल भएको र सधैँ अर्थात् बाह्रैयाम पानी नसुक्ने भूमिहरू हुन् जसमा सामान्यतया दलदल या हिलो सधैँ कायम रहन्छ ।

यस्ता सिमसार क्षेत्रहरूमा दुर्लभ चराहरूको पनि वासस्थान रहने गरेको छ । यस्ता सिमसार क्षेत्र हेर्दा अत्यन्त ओसिलो र दलदल भएकाले उत्ति मनमोहक र सुलभ नदेखिन सक्छन् तर यस्तै सिमसार क्षेत्रहरूका जीवहरू, वनस्पति एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरूलाई छानेर सफा र स्वच्छ बनाइदिने भएकाले यी क्षेत्रहरूलाई पृथ्वीको मृगौला पनि भनिन्छ । यसको राम्रोसँग हेरचाह सवर्द्धन र संरक्षण गर्न पछाडि पर्न हुँदैन । यसबाट नै पृथ्वी अनि यसमा बस्ने हाम्रो अस्तित्व कत्तिको सहज छ सजिलैसँग हेर्न सकिन्छ । यसका अलावा सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षण प्रदान गर्दछ । यसरी हाम्रो देशमा रहेको कैलालीके घोडाघोडी ताललगायत कोशीटप्पु वन्यजन्तु आरक्ष, जगदिशपुर ताल, गोसाँईकुण्ड, विसहजारी ताल, माईपोखरी अनि पोखरा नगरीका नौवटै तालहरू सिमसार क्षेत्रका प्रमुख उदाहरणहरू हुन् । तर, बढ्दो सहरीकरण, अनियन्त्रित बसाइँसराइ, जनसंख्या वृद्धि, भौतिक पूर्वाधारको निर्माणलगायतका क्रियाकलापले पनि सिमसार क्षेत्रको अस्तित्व संकटमा पर्दै गएको देखिन्छ । भूमाफियाको चलखेलका कारण यस्ता क्षेत्र अतिक्रमित हुँदै छन् भने जथाभाविरूपमा विकसित भएको आवास क्षेत्रका कारण कैयन् सिमसारयुक्त क्षेत्रको अस्तित्व नै लोप भएर गइसकेको छ ।

नेपालमा भएको सिमसारयुक्त क्षेत्रको अस्तित्व लोप हुनुको पछाडि राष्ट्रिय नीतिको पनि अभाव देखिन्छ । वन तथा भूसंरक्षण मन्त्रालयले सिमसार नीति निर्माण गरेको छ तर हालसम्म ऐन कानुन आउन नसक्दा सिमसार क्षेत्रको खासै व्यवस्थापन वैज्ञानिक ढङ्गले हुन नसकेको हो । यसर्थ वनजंगलको अतिक्रमण, चुरे दोहन, भू–माफियाको जथाभावि जग्गा अतिव्रmमण, जथाभावि फोहोरमैला बिसर्जन आदिका कारण हाम्रा सिमसार क्षेत्रहरू दिनप्रतिदिन जोखिममा परेका छन् । अधिकांश जीवजन्तुले वन, घाँसे मैदान र पानी क्षेत्रवरपर बच्चा कोरल्ने, बासस्थान बनाउने, विचरण गर्ने भएका कारण यस्ता सिमसारलाई जैविक विविधताका कारण महत्वपूर्ण मानिएको हो । त्यसैले हामी सबैले यस्ता सिमसार क्षेत्रको संरक्षणमा विशेष जोड दिनुपर्दछ ।

नेपालमा भएका विभिन्न ताल, नदी, पोखरी, छिपछिपे जमिनको संरक्षण गर्नका लागि विशेष नीति निर्माण गर्न अत्यावश्यक छ । त्यस्तै, यसका बारेमा व्यापकरूपमा खोज–अनुसन्धान गर्न पनि समयमा नै ऐन कानुन निर्माण गर्नु अपरिहार्य देखिन्छ । नेपाल जैविक विविधताका दृष्टिले धनी मानिए पनि यहाँका सिमसार क्षेत्रको संरक्षण नहुँदा र त्यसलाई व्यवस्थितरूपमा उपयोग गर्न नसक्दा एकातिर जैविक विविधतामा खतरा बढेको छ भने अर्कोतिर सिमसारसँग जोडिएका जैविक, सांस्कृतिक तथा धार्मिक महत्व पनि ओझेलमा पर्न पुगेका छन् । नेपालमा ६० हजार पाँच सय ६१ हेक्टर जमिन सिमसारले ओगटेको पाइन्छ । त्यसैले यस्ता क्षेत्रको संरक्षण गर्ने हो र यससँग सम्बन्धित धार्मिक, सांस्कृतिक महत्वलाई बढीभन्दा बढी उजागर गर्ने अनि स्थानीय जनसमुदायलाई त्यसमा संलग्न गराउने हो भने पक्कै पनि सिमसार क्षेत्रको संरक्षण हुन्छ र यसलाई आयस्रोत वृद्धिको माध्यमका रूपमा पनि विस्तार गर्न सकिन्छ ।

अन्त्यमा भन्नुपर्दा जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिएका सिमसारलाई रामसार सूचीमा सूचीकृत गरिन्छ । नेपालले पनि सिमसार क्षेत्रका यिनै महत्वलाई आत्मसात गर्दै विसं २०५९ सालमा ल्याएको सिमसार संरक्षण नीतिलाई २०६९ सालमा परिमार्जन र स्वीकृती दिएको छ तथापि सिमसार क्षेत्रहरू जोखिममै छन् । कानुनको दायरा फराकिलो पार्दै अपराधीहरूलाई कानुनको कठघेरामा ल्याउन जरुरी छ । पृथ्वीको संरक्षण जरुरी छ नत्र मानव समुदायको अस्तित्व संकटमा छ । सिमसार क्षेत्रमा विभिन्न प्रजातिका जीवजन्तु बसोबास गर्ने र विभिन्न प्रकारका वनस्पतिसमेत पाइने हुँदा यसप्रकारको भूमिको संरक्षण गर्नु अत्यावश्यक ठहरिन्छ । सिमसार क्षेत्रमा विभिन्न प्रकारका जीवहरू विचरण गर्ने तथा बास बस्ने भएका कारण सिमसार क्षेत्रको संरक्षण गर्दा त्यस्ता जीव तथा वनस्पतिको पनि संरक्षण हुन पुग्छ र वातावरण संरक्षणमा टेवा पुग्छ । दिगो इकोसिस्टमका लागि पनि यस्ता सिमसारको ज्यादै महत्व हुन्छ ।

हाम्रो देशको लागि आफैँ सिमसार क्षेत्रको सरंक्षणका लागि अगाडि बढ्न जरुरी छ । यसै क्रममा पोखराका तालहरूलाई नै उदाहरणमा लिऊँ, वर्षदिन पिच्छे ताल खुम्चिँदै अनि बस्ती बढ्दै गइरहेको छ, मान्छेले सहज आवासको खोजी गरेकाले पनि नेपालमा भू–अतिक्रमण बढ्दै गइरहेको छ र सिमसार क्षेत्र जोखिममै छ । समुदायका अगुवा अनि सरकार स्वयंले पनि आफूअनुकूल अनि व्यावसायिक नीतिहरू ल्याएर क्षणिक पैसा कमाउनका लागि दीर्घकालीन घाटा हुने कार्य गरिरहेको पाइन्छ, आउँदो पुस्तालाई एउटा सफा अनि सुरक्षित संसार दिएर जानु हामी सबैको कर्तव्य हो । वास्तवमा भन्ने हो भने मानवीय विकासक्रमको अनि पूर्वाधारहरूको अविवेकी क्रमले नेपालमा सिमसार क्षेत्र दिनप्रदिन नाश हुने क्रमबाट ग्रसित रहेको छ । यी कुरा सबैले बुझ्नुपर्छ मानवको लागि पर्यावरण अति आवश्यक पर्छ त्यो जोगाउनु भनेको सिमसरलाई जोगाउनु हो ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया