Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगग्यास विस्थापन युग प्रारम्भ भएकै हो ?

ग्यास विस्थापन युग प्रारम्भ भएकै हो ?


प्रदीप उप्रेती
मानव सभ्यताको प्रारम्भिक चरणमा आगोको महत्वसँग प्रत्यक्ष साक्षात्कार हुन नसक्दा उचित प्रयोगमा ल्याउन सकिएको थिएन । जुन बेलादेखि यसको महत्व चुलियो । त्यस समयपश्चात् मानव दैनिकीको अभिन्न अङ्गको रूपमा आफ्नो भिन्नै वर्चस्व कायम राख्न सफल रह्यो । त्यसपछि आगो उत्पादन गर्ने इन्धनजन्य वस्तुको रूपमा पेट्रोलियम पदार्थलगायत ग्यासको क्रमशः आविश्कार, विकास, विस्तार र वितरण प्रक्रियाले दु्रत गतिमा नेपाललगायत विश्वभरिमा नै यसको प्रचलनमा अभिवृद्धि हुँदै गएको पाइयो । प्रस्तुत इन्धनजन्य वस्तु तथा सेवाको अत्यधिक मात्रामा उपयोग हुने वर्तमान अवस्थामा यस सन्र्दभमा आवश्यक पर्ने सुरक्षात्मक विधिलाई अपनाउँदै प्रयोगमा ल्याउने चेष्टा गर्नुपर्ने हुन्छ । जसले यस क्षेत्रमा रहेको दुर्घटनाको दर न्यून गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

करिब–करिब ३ दशकअघिसम्म अधिकांश नेपाली समाजले दैनिक घरव्यवहारको क्रममा आवश्यक पर्ने चुलोचौको लागि इन्धनको प्रमुख स्रोतको रूपमा वनस्पतिजन्य दाउराको उपयोग गर्दै आएका थिए । समयको चक्रसँगै अत्यधिक उपभोग एवं जनसंख्यीय चापको कारण वनक्षेत्रको अनधिकृतरूपमा तीव्र दोहन हुने कार्यको विकासले बढ्दो जनसंख्यालाई आवश्यक पर्ने दाउराजन्य इन्धन आपूर्तिको मागलाई सहजै व्यवस्थापन गर्न कठिनाइ उत्पन्न भयो । परिणामतः वैकल्पिकरूपमा मट्टीतेल तथा केही न्यून प्रतिशत नेपाली नागरिक समाज एवं होटल व्यवस्थापकहरूले एलपीजी ग्यासको प्रयोग गर्दै आएको तथ्यहरूले औँल्याएको छ । बाह्य संस्कृतिको अनुशरण, आधुनिकता एवं सहजतालाई महशुस गर्दै त्यसपछिका वर्षहरूमा क्रमशः भान्छाजन्य इन्धनको साथै न्यूनरूपमा भए पनि सवारी साधनमा समेत ग्यासको प्रयोग हुँदै आएको छ । हुन त ग्यासको विकल्पमा मट्टीतेल तथा प्राकृतिक इन्धनलाई पनि गार्हस्थ्य प्रयोजनको लागि उपयोगमा ल्याउन सकिने प्रशस्त सम्भावनाहरू जीवन्त रहेको पाइन्छ ।

प्राकृतिकरूपमा प्राप्त हुने इन्धन विशेषगरी पशुजन्य एवं वनस्पतिबाट उत्पादन हुने हुँदा प्रयोगमा सहजता एवं जोखिमको दर न्यून हुनको साथै मितव्ययीसमेत रहेको छ । यसका अतिरिक्त स्वदेशी पुँजीबाट स्वदेशमा नै उत्पादन गर्न सकिने तथ्यलाई अन्यथा लिन मिल्दैन । तथापि प्रस्तुत ऊर्जा नवीकरणीय ऊर्जा भने पक्कै पनि होइन । यसको प्रयोग सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा वर्तमान परिप्रेक्षमा समेत न्यूनरूपमा उपयोग हुँदै आएको पाइन्छ । किनकी आजको परिवर्तित नेपाली समाजमा पशुपालन व्यवसायमा आएको ह्रासका कारण प्रस्तुत ऊर्जाको उत्पादनमा समेत कमी आई यसको संरक्षणमा बाधा उत्पन्न हुन जाने अवस्था सिर्जना भएको छ । तसर्थ अन्य वैकल्पिक इन्धन व्यवस्थापनको अभावमा आम नागरिक समुदायले एलपीजी ग्यासको प्रयोगमा बढी अभिरुचि देखाएको मात्र हो ।

ग्यासजन्य इन्धनको प्रयोगमा जति सरलता कायम रहेको छ यसको जोखिमको दर त्यसको तुलनामा अत्यन्त भयावह रहेको देखिन्छ । किनकी यसको प्रज्वलनशीलता पेट्रोलको भन्दा पनि उच्च कोटीको रहेको हुँदा सम्बद्ध इन्धनको भण्डारणमा समेत विशेष सावधानी अपनाउँदै कार्य गर्नुपर्ने हुन्छ । अन्यथा आगोको सानोभन्दा सानो झिल्कोबाट समेत भीषण आगलागीजन्य दुर्घटनामा वृद्धि हुन गई अकल्पनीय जनधनको क्षति व्यहोर्नु पर्ने तथ्यलाई इन्कार गर्न मिल्दैन । यसका अतिरिक्त उक्त इन्धनजन्य पदार्थको उत्पादन मुलकभित्र नरहेको हुँदा आयातीत अवस्थामा नै निर्भर रहनुपर्ने बाध्यात्मक परिस्थितिले गर्दा उपभोगमा मितव्ययी रहनुपर्नेछ ।

यसै सन्दर्भमा हालै प्रकाशित एक तथ्यांकअनुसार वार्षिकरूपमै करिब करिब ४८ अर्बभन्दा अधिक रूपैयाँ ग्यासजन्य इन्धनको लागि खर्चिनु पर्ने अवस्था सिर्जना भएको छ । जसका कारण सम्बद्ध इन्धन आयातको लागि यति ठूलो मात्रामा वैदेशिक मुद्रा बर्हिगमनको सम्भावना रहेको हुँदा उक्त व्यवस्थालाई क्रमशः न्यूनीकरण गर्दै वचत रहन आएको रकमलाई जल ऊर्जाको क्षेत्रमा लगानी गर्न सक्ने परीस्थितिको निमार्ण भए दिनहुँ बढ्दै गएको विद्युत् आपूर्तिको मागलाई सहजरूपमा पूरा गर्न सकिने अवस्था तयार हुने थियो । यसप्रकारका सकारात्मक कदमले विद्युत् आपूर्ति तथा वितरणको क्षेत्रमा गुणस्तरीय सुधार आई विगतमा राष्ट्रले सहन गर्नु परेजस्तो विद्युत् कटौतीको अत्यधिक मारबाट आम जनसमुदायलाई राहतको व्यवस्थापन गर्न सहज हुने देखिन्छ । ऊर्जा क्षेत्रमा कायम रहने प्रस्तुत अवस्थालाई स्वर्णिम ऊर्जा युगको प्रारम्भबिन्दु मान्न सकिन्छ ।

किनकी नेपालको जलऊर्जा विशेषगरी वर्षामा निर्भर रहने हुँदा वर्षा याममा यसको अत्यधिक उत्पादन हुने तथा तुलनात्मकरूपमा हिउँदमा कम हुने देखिन्छ । यसै तथ्यलाई हृदयङ्गम गर्दै नेपाल विद्युत् प्राधिकरणले पनि वर्षा र हिउँदको विद्युत् दरमा पनि तुलनात्मकरूपमा केही भिन्नता कायम गर्न सके अझ प्रभावकारी हुन सक्ने थियो ।

यसप्रकारका सकारात्मक कदमबाट ऊर्जा उत्पादन, वितरणका साथै निकासीयोग्य वातावरण निर्माण गरी यस क्षेत्रमा पूर्णरूपले आत्मनिर्भर हुँदै आर्थिक विकास तथा समृद्धि र वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोतको रूपमा जलऊर्जा क्षेत्रको विकाशको सम्भावनालाई सहजै नजरअन्दाज गर्न मिल्दैन । उल्लेख्य ऊर्जा शक्तिको विकासको सम्भावनालाई देखेर यसको धेरैभन्दा धेरै उपयोग गर्न अत्यधिक मात्रामा जनसहभागिताको अभिवृद्धि रहोस् भन्नाको खातिर नेपाल सरकारले यसको उत्पादनलाई प्रमुख प्राथमिकतामा राखेर कार्य गर्दै आएको छ । जसले पेट्रोलियम पदार्थलगायत ग्यासको प्रयोगलाई क्रमशः न्यून एवं विस्थापित गर्दै यसको विकल्पको रूपमा जलऊर्जामा आधारित वस्तु तथा सेवाको उपयोग तथा वितरणमा जोड दिने नीतिलाई अख्तियार गर्ने देखिन्छ ।

यसप्रकारका सकारात्मक कार्यको परिणाममुखी नतिजा प्राप्त गर्दै अत्यधिक जनसमुदायहरू लाभान्वित रहनु भन्ने सुद्देश्यका साथ नेपाल विद्युत् प्राधिकरणले हाल कायम रहन आएको विद्युतीय महशुल दरमा हेरफेर गर्ने बताएको छ । जसमा विशेषगरी गार्हस्थ प्रयोजनको उपभोक्ताको हितलाई ध्यानमा राखी कार्यान्वयन पक्षलाई जोड दिनुको साथै महशुल परिवर्तन गर्ने रणनीतिलाई अख्तियार गर्नेछ । प्रस्तावित दरमा दश युनिटसम्म खपत गर्ने उपभोक्ता समूहलाई निःशुल्क विद्युत् सेवा उपभोग पाउने व्यवस्थाको लागि पहलकदमी गर्ने समेत बुझिएको छ ।

अख्यियार गरिने भनिएको नयाँ विद्युत् महशुल निर्धारण रणनीतिमा जति धेरै मात्रामा विद्युत् शक्ति उपयोग गरिन्छ त्यसको आधारमा खपत गरिएको युनिट शुल्क रकम भने कम गर्ने नीतिलाई आत्मसात गरिने व्यवस्थापन पक्षमा विशेष ध्यान दिइने बताइएको छ । जसको मुख्य उद्देश्य भनेको आज कायम रहन आएको एलपीजी ग्यासको अत्यधिक प्रयोगलाई क्रमशः विस्थापित गर्दै त्यसको भार जलऊर्जा क्षेत्रमा केन्द्रित गराउने भन्ने बुझिन्छ । यो हुनु भनेको स्वदेशी जलऊर्जाको विकासलाई प्रमुख प्राथमिकतामा राखी ऊर्जामय मुलुक बनाउने चेष्टा गर्नु हो भन्दा फरक नपर्ला ।

यसबाहेक यसको अर्को सकारात्मक पक्ष भनेको उद्योगको क्षेत्रमा रहेको ऊर्जाको मागलाई ग्यासजन्य पदार्थले कहिल्यै पनि पूरा गर्न नसक्ने भएको हुँदा औद्योगिकीकरणलाई प्रोत्साहन दिई विद्युत्को क्षेत्रमा पूर्ण आत्मनिर्भर बनाई मुलुकमा आर्थिक क्रान्तिलगायत समृद्धिको लागि आवश्यक पर्ने उद्योगको विकासमा विद्युतीय ऊर्जाको भूमिकामा विशेष ध्यान दिनु हो । यसप्रकारको व्यवहारलाई सहीरूपमा उपयोग गर्ने क्षमताको विकास गर्ने हो भने पक्कै पनि ग्यास प्रयोगको क्षेत्रमा कमी आई जलऊर्जालाई आम जनमानसले रुचाउनेछन् भन्ने विश्वास लिन सकिनेछ ।

किनकी सरलरूपमा घर–घरमा वितरण गरिएको बिजुलीको लाइनमार्फत जलऊर्जा उपयोग गर्न पाउनु, अनावश्यकरूपमा सामान नपाइएला कि भन्ने मनोवैज्ञानिक भयबाट मुक्त रहनु, प्रयोगको आधारमा मिटरमा उल्लेख भएअनुसारको रकम भुक्तानी गर्ने अवसर प्राप्त हुनुजस्ता कार्यले उपभोक्ता वर्ग लाभान्वित हुने देखिन्छ । प्रस्तुत व्यवहारको विकासपश्चात् एलपीजी ग्यासको उपभोक्ता मूल्यभन्दा न्यून दरमा यदि राज्यले बिजुली उपलब्ध गराउने क्षमताको विकास गर्छ भने प्रस्तुत सेवाको सदुपयोग गर्नमा हामी किन पछि पर्ने भन्ने प्रश्नले आम उपभोक्ता समुहमाझ खुशी साटासाट गर्ने अवसर प्राप्त हुने हुँदा यस अवसरको पर्खाइमा प्रतिक्षारत रहेका छन्, समस्त नेपाली जनसमुदाय ।

यसै तथ्यगत कारणले गर्दा एलपीजी ग्यास विस्थापनको युग प्रारम्भ भई स्वदेशमा उत्पादित जलस्रोतमा आधारित विद्युतीय युगको शुभारम्भका लागि नेपाल सरकारले अख्तियार गर्न लागेको युग सुहाउँदो विद्युतीकरणलाई सबै पक्षबाट सकारात्मक सहयोग गर्न सदैव प्रयत्नरत रहौँ । जसले हालसम्म कायम रहँदै आएको ग्यासजन्य इन्धनको एकाधिकारलाई क्रमशः विस्थापन गर्दै बिजुलीको उपभोग एवं उपयोगमा अझ बढी प्राथमिकता प्रदान गर्नेछ भन्दा फरक नपर्ला । तर, यस सन्दर्भमा मननीय कुरा के रहेको छ भने, ऊर्जा वचत नै ऊर्जा उत्पादन हो भन्ने मूल मन्त्रलाई उपभोेक्तावर्गले सधैँ ध्यानमा राख्दै कार्य गर्ने हो भने दीर्घकालसम्म अनवरतरूपमा ऊर्जाको उचित सदुपयोग गर्दै लाभान्वित हुन सक्ने अवस्था प्रारम्भ हुने देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया