Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअन्तरदेशीय विद्युत् व्यापार : चाहना या आवश्यकता

अन्तरदेशीय विद्युत् व्यापार : चाहना या आवश्यकता


काठमाडौं । नेपालमा विद्युत माग र आपूर्ति अवस्था : आजभन्दा करिब चार/पाँच वर्षअघि विद्युत् मागको तुलनामा आपूर्ति अत्यन्त न्यून भएका कारणले नेपाली विद्युत् उपभोक्ताले दैनिक १४ घण्टासम्मको विद्युत् कटौती भोग्नुपरेको तुलनामा हाल विद्युत् आपूर्तिमा उल्लेख्य सुधार भएको छ । हाल विद्युत् उत्पादनको कुल जडित क्षमता दुई हजार मेगावाटभन्दा बढी छ भने अधिकतम विद्युत् माग १५ सय मेगावाटको हाराहारीमा छ । यसरी हेर्दा नेपालले पहिलोपटक विद्युत् उत्पादन र उपयोग गरेको एक सय १० वर्षपछि बल्ल विद्युत्मा मौसमी आत्मनिर्भरताको अवस्थामा पुगेको छ । कुल जडित क्षमता र अधिकतम विद्युत् मागलाई दृष्टिगत गर्दा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने वर्षायाममा नेपालले लगभग पाँच सय मेगावाट निर्यातसमेत गर्ने अवस्था सिर्जना भएको छ ।

केही वर्षभित्र विद्युत् आपूर्तिमा आएको यस चामत्कारिक सुधारको ठूलो श्रेय देशको सबैभन्दा ठूलो जलविद्युत् आयोजना चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीलाई जान्छ । यो आयोजना सम्पन्न भएपछि देशको विद्युत् उत्पादन क्षेत्रले साँच्चै फड्को मरेको छ । यसै आयोजनाका कारण भारतबाट २० अर्ब रुपैयाँ खर्चेर लगभग आठ सय मेगावाट विद्युत् आयात गरिरहेको नेपाल आन्तरिक माग पूरा गरेर विद्युत् निर्यातको अवस्थामा पुगेको छ । अवस्था कतिसम्म आशलाग्दो छ भने अबको पाँच वर्षभित्र नेपालको आफ्नो विद्युत् उत्पादन क्षमता पाँच हजार मेगावाट नाघ्ने देखिएको छ ।

प्रणालीगत समस्या : विद्युत् उत्पादनले मात्र आमविद्युत् उपभोक्ताले निर्विघ्न उपभोग पाएका छैनन् । यसका दुई कारण छन् :
पहिलो कारण भनेको अपर्याप्त विद्युत् प्रशारण र वितरण क्षमता हो । विद्युत् प्रसारण र वितरण क्षमताको अभावमा कतपय औद्योगिक कोरिडोरमा अझैसम्म विद्युत् कटौती जारी छ भने कमजोर वितरण प्रणालीका कारण गार्हस्थ्य उपभोक्ताले विद्युत्मा खान बनाउनेजस्ता उपयोग खुलेर गर्न पाएका छैनन् । यसरी प्रणालीमा उत्पादन क्षमता हुँदाहुँदै पनि उपभोग गर्ने सीमितताले वर्षायाममा विद्युत् खेर जाने अवस्था छ । उत्पादित विद्युत् स्वदेशमै खपत गर्न प्रसारण तथा वितरण प्रणालीको क्षमता वृद्धि, विस्तार एवं सुदृढीकरण आवश्यक छ ।

दोस्रो कारण भनेको अधिकांश जलविद्युत् उत्पादन आयोजना नदी बहाव प्रणालीमा आधारित छन् । यद्यपि केही आयोजनामा दैनिक जलसञ्चय गर्न सकिने पिकिङ सुविधा छ । तथापि, जलप्रवाहमा आधारित आयोजनाहरूको सुख्खायामको उत्पादन जडित क्षमताको एक तिहाइ मात्र हुने गरेको छ । यसकारण हालको जडित क्षमताले सुख्खा याममा बढीमा आठ सय मेगावाट उत्पादन गर्न सक्छ । लगभग चार सय मेगावाट थप उत्पादन पिकिङ सुविधाबाट भए पनि अझै पनि तीन सय मेगावाट भारतबाट आयात नगरी साँझको अधिकतम विद्युत् माग आपूर्ति हुन सक्दैन ।

अन्तरदेशीय विद्युत् व्यापार : समस्याको भरपर्दो समाधान
विद्युत् उत्पादन क्षमताको बढ्दो ग्राफले जति आशावादी बनेको छ, विविध कारणले विद्युत्को आन्तरिक खपतको सीमितता र उत्पादनमा मौसमी प्रभावले प्रणालीमा गम्भीर असन्तुलनको सङ्केत समेत गरेको छ । जुनसुकै प्रकारको असन्तुलनले अन्त्यमा वित्तीय क्षति निम्त्याउँछ र विद्युत् क्षेत्रमा पनि त्यस्तो क्षति आसन्न भइसकेको आभास हुन्छ । नेपाल विद्युत् प्राधिकरण लेउ वा तिर (टेक अर पे)का आधारमा गरेका विद्युत् खरिद सम्झौताअनुसार वर्षायाममा उत्पादन हुने विद्युत्को बजारीकरण गर्ने सकेन भने नेपाल विद्युत प्राधिकरणले उत्पादकलाई, उत्पादकले ऋण प्रदायक बैंकलाई र बैंकले सञ्चयकर्तालाई रकम तिर्न सक्दैन । यसले गम्भीर आर्थिक सङ्कट निम्तिन सक्छ । अर्कोतर्फ उत्पादन क्षपता पाँच हजार मेगावाट पुगे पनि सुख्खायाममा १५/१६ सय मेगावाट मात्र उत्पादन हुने हुँदा सुख्खायाममा आन्तरिक खपतका लागि अझै विद्युत् नपुग हुने भइरहन्छ । वर्षात्मा बढी र सुख्खायाममा विद्युत् नपुग हुने यी दुईटै समस्याको समाधन तत्काल आन्तरिक बजारमा छैन । यसको समाधान खोज्न अन्तरदेशीय बजारमा जानु पर्छ ।

वर्षायाममा आन्तरिक खपतपछि बढी हुने विद्युत् उत्पादन गरेर अन्तरदेशीय बजारमा अन्तरदेशीय बजारमा बेच्ने र सुख्खायाममा मौसमी कारणले आन्तरिक उत्पादनमा हस आउँदा नपुग विद्युत् अन्तरदेशीय बजारबाट खरिद गरी आन्तरिक बजारमा आपूर्ति गर्ने मोडेल नै हाम्रासामु देखापरेका समस्याहरूको समाधान हो । तसर्थ, अन्तरदेशीय बजारमा पहुँच बनाई विद्युत् व्यापार गर्ने हाम्रो चाहना वा रहर होइन, हाम्रो विद्युत् प्रणालीको माग आपूर्ति सन्तुलन सँगसँगै वित्तीय सन्तुलनका लागि पनि अन्तरदेशीय विद्युत् व्यापार हाम्रो चाहना नभई अवश्यकता हो ।

अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी प्रयासहरू
पछिल्लो समय छिमेकी मुलुकहरूसँग व्यापार मोडेलमा विद्युत् आदानप्रदान गर्न केही द्विपक्षीय नीतिगत र पूर्वाधारसम्बन्धी सकारात्मक प्रयास भएका छन् । सन् २०१४ मा नेपाल र भारतबीच सरकारीस्तरमा विद्युत् व्यापार र ग्रिड संयोजनसम्बन्धी सम्झौता भएको छ । त्यस्तै नेपाल र बंगलादेशबीच सन् २०१८ मा दुई देशीय विद्युत् व्यापारलाई प्रवर्द्धन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसैगरी सन् २०१८ मा नेपाल र चीनबीच सीमापार प्रसारण लाइन एवं ग्रिड विकास, नवीकरणीय ऊर्जा विकास, जलविद्युत् एवं अन्य ऊर्जा आयोजना विकासका लागि सहयोग प्रवद्र्धनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

अन्तरदेशीय विद्युत् आदानप्रदानसम्बन्धी पूर्वाधार सम्बन्धमा नेपाल–भारत बीच उच्च भोल्टेजको ढल्केबर–मुजफरपुर चार सय केभी प्रसारण लाइन आयोजना सम्पन्न भएको छ भने बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइन आयोजना निर्माणमा महत्वपूर्ण समझदारी भैसकेको छ । त्यस्तै संयुक्त राज्य अमेरिकाको सहयोग नियोग एमसिसीमार्फत प्राप्त अनुदान सहयोगले देशभित्र अन्तरदेशीय विद्युत् व्यापारलाई समेत सघाउ पुग्ने उच्च क्षमताको चार सय केभी प्र्रशारण लाइन निर्माण गर्ने सम्झौतासमेत भएको छ । यी सबैले एकातर्फ देशभित्र विद्युत् प्रसारणको मेरुदण्ड तयार हुन्छ भने अर्कोतर्फ अन्तरदेशीय विद्युत् व्यापार समेत सहज हुन्छ । मुजफ्फरपुर–ढल्केबार चार सय केभी प्रसारण लाइन आयोजनाले यस कुराको पुष्टि गरिसकेको छ ।

यसका अतिरिक्त केही दक्षिण एसिया क्षेत्रीयस्तरका बहुपक्षीय नीतिगत समझदारी समेत भएका छन् । विद्युत् उत्पादनमा वृद्धि र ग्रिड सुरक्षा अभिवृद्धि गर्दै सार्क सदस्य राष्ट्रहरूबीच सन् २०१० मा अन्तरदेशीय विद्युत् व्यापार र विद्युत् आदानप्रदानका लागि आपसी सहयोग र सहकारी अभिवृद्धि गर्न सार्क ऊर्जा सहयोगसम्बन्धी सम्झौता भएको थियो । त्यसैगरी ऊर्जाका विभिन्न स्रोतहरूको अधिकतम उपयोग गर्न, ग्रिड संयोजन (आबद्धता)लगायत ऊर्जासँग सम्बन्धित पूर्वाधार विकास गर्न तथा अन्तरदेशीय विद्युत् व्यापारलाई सहयोग तथा सम्वर्द्धन गर्न सन् २०१८ मा बिमस्टेक ग्रिड अन्तर–आबद्धतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस्ता द्विपक्षीय र क्षेत्रीय सम्झौता तथा समझदारी कार्यान्वयन पक्षहरू प्रतिबद्ध हुनु आवश्यक छ । भारतले आन्तरिक रूपमा विद्युत् आयात–निर्यात निर्देशिका जारी गरेको छ भने नेपालले समेत विद्युत् व्यापारसम्बन्धी कार्यविधिको मस्यौदा तयार परिसकेको छ । नेपाल सरकारले संसदमा पेस गरेको नया विद्युत् विधेयकमा विद्युत् व्यापारलाई व्यवसायको मान्यता दिई विद्युत् व्यापार अनुमति पत्रको व्यवस्था गरिएको छ र केही विद्युत् व्यापार कम्पनी दर्ता समेत भइसकेका छन् ।

अन्तरदेशीय विद्युत् व्यापार प्रवर्द्धनमा वैदेशिक सहयोग
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) अन्तर्गत स्थापित सार्क इनर्जी सेन्टर इस्लामावादले सार्क क्षेत्रमा ग्रीड संयोजन र विद्युत् व्यापार प्रवर्द्धनका लागि क्षेत्रीय प्रयास गरिरहेको छ । यस्तै अमेरिकी सहयोग नियोग युएसएडले सन् २००० देखि नै साउथ एसिया रिजनल इनिसिएटिभ अन इनर्जी र इनर्जी इन्टिग्रेसन कार्यक्रम सञ्चालन गरेर क्षेत्रीय विद्युत् व्यापारको आधार तयार गर्न महत्वपूर्ण सहयोग गरेको छ ।

यी विभिन्न नीतिगत व्यवस्था, पूर्वाधार निर्माण र विद्युत्लाई व्यापारजन्य वस्तुको रूपमा लिन सकिन्छ भन्ने सोचका कारण आगामी दिनमा नेपालको विद्युत् स्वदेशी खपतसँगै छिमेकी मुलुकहरूमा निर्यातको सम्भावनालाई बढाएको छ । यसले आयातित इन्धनको खपतलाई न्यून गर्न र बढ्दो व्यापार घाटालाई कमी गरी मुलुकको आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने देखिन्छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया