Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगस्वघोषित स्वामी महाराजजीहरू र नेपाली समाज

स्वघोषित स्वामी महाराजजीहरू र नेपाली समाज


लक्ष्मण सिटौला
नेपाली समाज धर्मका दृष्टिकोणबाट ज्यादै कमजोर र संवेदनशील छ । नेपालीहरू भावना र आत्मरञ्जनाबाट छिटोभन्दा छिटो पग्लिन्छन् र यसैलार्ई मध्यनजर राखेर स्वघोसित देवदूतहरूको नेपालमा ठगी धन्दा मौलाएको छ । चाहे चर्चका पास्टर हुँ भन्ने हुन्, चाहे गुम्बाका लामा वा बुद्धका अवतारी हुँ भन्ने हुन्, चाहे मन्दिरका पूजारी वा संस्कृत साहित्य अनुशरणका स्वामी, प्रपन्नाचार्य, आचार्य, भागवताचार्य, वाचन प्रवीण हुँ भन्ने हुन्, कहीँ न कतै तिनका स्वार्थ धनसँग, यौनसँग , तरुनी मोहसँग र राजनीतिसँग जोडिएको छ ।

बौद्ध धर्मका नाउँमा स्थापित सेता गुम्बाभित्रका आनी र अवतारी लामाहरूको अवैधानिक धन्दा होस् कि चर्चभित्र मौलाएको यौनजन्य क्रियाकलाप होस् वा स्वघोषित स्वामीजीहरू र मठका मठाधीसहरूका ठगी चर्चा होस्, यसका लागि हाम्रो देश नेपाल खुला विश्वविद्यालय भैसकेको छ । धर्मको आवरणलार्ई जब राजनीतिक सुरक्षा मिल्छ अनि आफूलाई ईश्वरको दूत सम्झिने महाराजजीहरूले समाजमा कन्कोल मच्चाउन थाल्छन् । नेपालीलार्ई सबैभन्दा ठग्न सजिलो माध्यम भनेको धर्मप्रतिको विश्वासका कारणले हो ।

भागवत गीताका नाउँमा सपथ खुवाएर सारा धन लुटाउन सक्ने व्यापारीहरूका पनि कहँ न कतै स्वार्थ जोडिएको हुन्छ । धर्मलार्ई समातेर भोट माग्ने नेता, धर्मको नाउँमा स्थापित भएका गुम्बा, मन्दिर, मस्जिद, चर्च, चैत्य, बिहार यी सबै स्थानमा हुने अनेकौँ शोषण यदि बाहिर आउने हो भने धर्मप्रति मानिसमा यति वितृस्णा पैदा हुन्छ कि उनीहरू सबै नास्तिक बन्न सक्छन् । देवताका मन्दिरमा बलि चढाइएकी देउकी हुन वा अहिले छुइका नाममा भत्काइएका छाउगोठ हुन् वा धामीझाँक्रीका माध्यमबाट सन्तान नहुनेलाई सन्तान हुन्छ भनी सपना देखाएर स्त्रीको सतित्व हरण गर्ने मनुष्य हुन् ती सबै धर्मका नाउँमा हुर्किएका गलत परम्परा हुन् । देउकीको दारुण कथाले लतपतिएको भूमिमा यस्ता आडम्बरी क्रियाकलाप कति धेरै भए होलान् यसको हिसाबकिताब समयले राखिरहेको होला ।

सन्सारको सबैभन्दा पवित्र र अहिंसावादी धर्म बौद्ध धर्मलाई मानिन्छ । नेपाल बुद्धकै पावन देश हो । बुद्धको नाउँमा बुद्धका शरणगतका खातिर सामाजिक कार्य गर्दै आएकी प्रसिद्ध आनी छोइङ डोल्मासमेतको अकुत सम्पत्तिका बारेमा राज्य स्वयं पनि आल्मलिनुपरेको छ। एउटा झुलुङ्गे पुल हाल्न करोडौँ दान दिन सक्ने हैसियत ती आनीको कसरी भयो भन्ने कुरामा नेपाली समाज आफैँ अलमलिएको छ । आफूलाई बुद्ध अवतारी मान्ने रामबहादुर बम्जनका कर्तुतका बारेमा व्यापक बहस र चर्चा भए पनि अन्ततः उनले पनि राजनीतिको संरक्षकत्व पाएकै छन र आनी छोइङ डोल्मालाई पनि अन्ततः राजनीतिक सुरक्षा मिल्यो उनी अहिले चुपचाप छिन् ।

नेपालका धेरै स्वघोसित बाबाजीहरूका पछाडि यौन चर्चा जोडिएको हुन्छ । उनीहरूका शरणमा धेरै युवतीहरू शरणार्थी भएर होमिन्छन्, जस्तो बत्तीको उज्यालोमा पुतली होमिन्छन् र सकिन्छन् सजिलैसँग । धर्मसँग त पाप कहिले पनि नजोडिनु पर्ने थियो तर सधैँ धर्मसँग पाप किन नाता लगाएर आउँछ ? समाजका ९० प्रतिशत मान्छे आडम्बरमा बाँचेका हुन्छन् ।

पहिले पहिले धर्म, त्याग, तपस्या एकान्तमा गरिन्थ्यो यो योगसाधना हुन्थ्यो र अन्ततः यसले मनुष्य जीवनलार्ई सदमार्गमा डोहो-याउने काम पनि गर्थ्यो । मनुष्य जीवनलार्ई पवित्र बनाउने माध्यम पनि धर्म नै हो । खराब आचारसंहितामा नफस्नु वा खराब कर्म नगर्नु धर्म हो यति हो धर्मले आफैँलाई व्यक्त गरेको परिभाषा पनि । तर, नेपाली समाजमा धर्म यति व्यापक बन्दै गयो कि यहाँ धर्म व्यापार बन्यो । धर्म नै किनबेच भयो । धर्मसँग नाता छैन भन्ने प्रगतिशीलहरूले धर्मका अवतारीहरूलाई बोकेर हिँडिरहनु उचित थिएन ।

धर्म सधैँ गरिबीसँग बसेन । यो केवल हुनेखाने धनीमानी राजनीतिसँग जोडियो । नेपालका अभिजात्य वर्गले धर्मलाई समेत आफ्नो पेवा सम्झिए र आफूअनुकूलको राजमार्ग निर्माण गरी यसमा नेपाली समाजलाई जवर्जस्ती हिँड्न् लगाए । यसपछि धर्म स्वयं पापमा परिवर्तन हुँदै गयो । बुद्ध शरणागतमा होमिएकी आनी छोइङ कसरी करोडौँ सम्पत्तिको मालिक्नी बनिन् । बुद्धले उनको नाउँमा पैसा कमाउने धन्दा गर त कहिले पनि देशना गरेर हिँड्दा भनेका थिएनन् होला । धर्मको बाटो त अति सुन्दर साक्षात सहज सलिल हुनुपर्ने हो नि तर किन नेपाली समाजमा धर्मको बाटो यति धेरै असुन्दर असहज र अँध्यारो बन्दै गइरहेको छ ? यसको कारण के हो ?

महाभारतमा भगवान कृष्णले अर्जुनलार्ई धर्मयुद्धका लागि गीता वचनामृतका माध्यमबाट हौसला दिएका थिए । अन्यायको नाश गर्नका लागि हो धर्म । अहिलेको परिभाषामा भन्नुपर्दा दुर्योधनको दुश्चक्र नाशका लागि भएको थियो माहाभारत । धर्म र युद्ध एकअर्कासँग जोडिएर आउँछ नै । धर्मको उद्देश्य पाप र पापीहरूको विनाश गरी शान्त समाजको निर्माणका खातिर हो ।

अहिलेको नेपाली समाज धर्मका माध्यमबाट झनै आतङ्कित हुँदै गएको छ । जब राजनीतिले जनतालाई गुटबन्दीमा गोलबद्ध हुन सिकाउँछ त्यति नै बेला धर्मलार्ई धाम जाने बाटो नमानेर कमाउने धन्दा र रमाइलो गर्ने मधुशाला बनाउँछन स्वामीजी महाराजहरूले । धर्म स्वयं शान्तिको बाटो हो तर धर्मका ठेक्का बोकेर समाजसुधारको क्षितिज खोल्छु भन्ने विजय भन्डारी हुन् कि आनी छोइङ हुन वा रामबहादुर बम्जन हुन् वा वाचनप्रवीणहरू हुन यिनको मोहनी लीलामा अलमलिएको नेपाली समाज झन् बर्बादीतर्फ धकेलिँदै गएको महसुस भैरहेको छ ।

चितवनको नारायणी नदी किनारमा भर्खरै घटित सप्ताह यज्ञका नाउँमा आफूलाई कलङ्कित साबित गरे त्यस आयोजनाका मठाधीश विजय भन्डारीले । सुनसरीका सिद्धबाबा भनिने रामबहादुर गिरी हुन् वा अर्का आफैँद्वारा स्वघोषित लिटिल बुद्ध रामबहादुर बम्जन हुन्, यहाँ बाबाजीहरूको वा स्वामिजीहरूको कुनै कमी छैन । कमी छ त केवल धर्मको । कमी छ त केवल सत्य, उज्यालो र शान्तिको ।

नेपाली समाजलाई अग्रता दिन सिकाउने त शिक्षा नै हो । समाज परिवर्तनका नाउँमा वा ज्ञान महायज्ञका नाउँमा समाजलार्ई नै सिध्याउने यस्ता भोले भन्डारीहरूको के काम । स्वघोषित बाबाहरू हुन्, कि पास्टर हुन् वा महाराजजीहरू हुन् वा रिङ्बोचेहरू हुन् वा आनीहरू हुन् धर्मका नाउँमा चलाइएका ठगीधन्दाबाट नेपाली समाजले कालान्तरमा पाउनेचाहिँ के हो ? धर्ममा लागेका मठाधीशहरूले नै हिन्दु धर्मको बेइज्जत गरिरहेका छन् । कहिले यौनसँग, कहिले चन्दासँग, कहिले जमिन र मन्दिरसँग कहिले चर्चसँग कहिले चर्चासँग कहिले राजनीतिसँग जोडिएर आउने पास्टर हुन् वा पादरी हुन्, स्वामी हुन् वा अवतारी लामा हुन् वा आनी हुन् यी सबैलार्ई समयमै चिनौँ र यिनको स्वरूपको होइन कर्तुतको प्रचार गरौँ ।

देशको राजनीतिक गतिविधि र राजनीतिमा लागेका मनुवाहरूको मगज नसङ्लिएसम्म धर्मले यस्तै आततायी दुर्योधन युगयुगसम्म जन्माइरहन्छ । नेपाली समाजमा अन्धा धृतराष्ट्रहरूको कुनै कमी छैन र स्त्रीहरूलाई विवश गान्धारीजस्तै बनाउने समय अझैसम्म पनि हुँदै छ ।

पौरख गर्नुपर्ने कौरव सेनाहरू अरुको लुट्नुमै मस्त छन् र पो मालपोत कार्यालयको एउटा पियनको सम्पत्ति नौ करोड हुन्छ । खेत बाँझिएको नदेखी ठग महाराजजी, स्वामी र गुरुजीहरूकोको च्यूत चरण छोएर पानी खाने आचारहीन स्त्री के काम ? पटमुर्ख पुरुष के काम ?


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया