Techie IT
×
गृहपृष्ठविचारयुरिक एसिडको बाथ के हो ?

युरिक एसिडको बाथ के हो ?


काठमाडौं । युरिक एसिड भनेको हाम्रो शरीरमा उत्पादन हुने एक किसिमको विकार तत्व हो । हामीले दिनहुँ सेवन गर्ने खाद्य पदार्थ पाचन हुने क्रममा शरीरका कोषिकाहरू परिवर्तन हुने क्रममा कोषिकाहरूमा रहेको न्युक्लिक एसिड निष्क्रिय भएर (डीएनए, आरएनए)बाट युरिक एसिड बन्दछ । शरीरले उत्पादन भएको युरिक एसिडलाई मिर्गौलाको सहयोगले पिशाबमार्फत विर्सजन गर्ने गर्दछ । यसरी युरिक एसिड बन्ने र बिर्सजन गर्ने कार्यको सन्तुलन बिग्रिएर गएमा रगतमा युरिक एसिडको मात्रा बढ्दछ । सोही युरिक एसिड शरीरको जोर्नीहरूमा (मूलतः बुढी औँलाको जोर्नी, गोली गाँठो, घुँडा र पछि गएर शरीरका मझौला तथा साना जोर्नीहरूमा) क्राइस्टलको रूपमा गम्भीर सुजन हुने र रातो हुने अवस्थालाई नै युरिक एसिडको बाथ भनिन्छ । वयस्कको शरीरमा प्रति एक सय मिलिलिटर रगतमा सात एमजी पुरुषमा र महिलामा ६ दशमलव २ एमजीसम्म युरिक एसिडको मात्रा हुने भएकोलाई सामान्य नै मानिन्छ । महिलाहरूमा महिनावारी नरोकिन्जेलसम्म युरिक एसिडको बाथ हुने सम्भावना न्यून हुन ।

यद्यपि युरिक एसिड बाथ भइसकेको र पटक–पटक जोर्नीको सुजन हुने र दुख्ने भएको मानिसमा (२–३ पटक प्रत्यक वर्ष) यो युरिक एसिडको लेभललाई पनि धेरै भनिन्छ र यसलाई उपचार गरी सामान्य लेभलको आधा जति लेभलमा पु-याउनु पर्दछ । युरिक एसिडको बाथ नभएको मानिसमा पनि शरीरमा युरिक एसिडको मात्रा जचाउँदाखेरी बढी देखिए पनि उसलाई जोर्नीमा जमेर सुन्निने र दुख्ने भएको छैन भने यस्तो अवस्थालाई युरिक एसिडको मात्रा बढी भएको अवस्था भनिन्छ । जसलाई खासै उपचार गर्नुपर्दैन । यसलाई आफ्नो खानपान मिलाएर, अम्मल, सुर्ती चुरोट सेवन हटाएर, सन्तुलित भोजनमा ध्यान दिएर र शरीरमा बोसोको मात्रा नियन्त्रण गरेर पनि युरिक एसिडको मात्रा घटाउन सकिन्छ ।

क्रमिक रूपमा जाँच गर्दा पनि युरिक एसिडको मात्रा धेरै भएमा र जोर्नीको दुखाइ नभए पनि यसलाई घटाउनुपर्ने हालै गरिएको अनुसन्धानले देखाएको छ । किनकि युरिक एसिडको मात्रा रगतमा धेरै देखिए पिसाब बनाउने तन्तुमा समस्या, मुटुको समस्या गराउँदछ । किड्नीको समस्या पहिला नै भइसकेको र डायलासिस गरिएको छ भने युरिक एसिड घटाउने औषधिको प्रयोग गर्नुपर्दछ ।

युरिक एसिडको बाथ कुन उमेरमा देखिन्छ र यसको लक्ष्यणहरू के–के हुन् ?
संसारमा लाखौँ मानिसहरू युरिक एसिडको बाथबाट पीडित छन्, त्यसमध्ये आधाजति संख्यामा युरिक एसिड बाथले पटक पटक दुःख दिइरहेको पाइन्छ । पश्चिमी देशको तथ्यांकको आधारमा भन्नुपर्दा ३० वर्षमाथिका पुरुष र ५० वर्षमाथिका महिलाहरूमा कुनै न कुनै बखत गाउटको समस्याले पिरोलेको हुन्छ । गाउटले धेरैजसो बिरामीमा खुट्टाको बुढीऔँला, गोलीगाँठा र यसवरपरका जोर्नीमा टन्किएर दुख्ने, सुन्निने हुन्छ । रोग बढ्दै गएपछि भने घुँडा तथा हातका जोर्नीहरूमा युरिक एसिड मात्रा जमेर बिग्रने र जोर्नी खिइने समस्या हुन्छ ।

के खाँदा र नखादा युरिक एसिडको बाथ बढ्छ ? लगातार रक्सीको सेवन, उच्च फ्रुक्र्टाइज (गुलियो) सेवनले गर्दा पनि युरिक एसिड बढेको पाइन्छ । हाम्रो समाजमा युरिक एसिडको बाथद्वारा ग्रसित बिरामीहरूले जहिले पनि आफ्नो आहारविहार र खाना खाने तरिकालाई दोष दिने गरेको पनि पाइन्छ । युरिक एसिडको बाथ हुनुमा आहारविहार र खानपानको भूमिका एक चौथाइ मात्रै हुन्छ । अर्थात् तीन चौथाइ जति भूमिका त हाम्रो शरीर आफैँले उत्पादन गर्ने युरिक एसिडको मात्रामा भर परेको हुन्छ । यस्तो पनि भनिन्छ कि प्रोटिनयुक्त आहार सेवन गर्नाले एक सय मिलि रगतमा बढीमा एक मिलिग्राम युरिक एसिडको मात्रा बढ्छ ।

युरिक एसिडजन्य प्रोटिनयुक्त खानाको बाबजुद अन्य कारणले गर्दा पनि युरिक एसिड उत्पादन भएको हुन्छ । अर्थात् वंशाणुगत कारण, शारीरिक मोटोपन, लामो अवधि भोको बस्ने बानी, मिर्गौलाको कार्य विफलता, मिर्गौलाको पत्थरी, मुटुसम्बन्धी रोगहरू, मधुमेह आदिजस्ता कारणहरूले र कुनै प्रकारका दीर्घरोगहरू साथै केही किसिमका औषधिहरूको प्रयोगको कारण (जस्तै : लगातार थायजाइड गु्रपको औषधि, जुन उच्च रक्तचापमा प्रयोग गरिन्छ) पनि कतिपय व्यक्तिको रगतमा युरिक एसिड बढेको हुन्छ ।

युरिक एसिडको बाथको उपचार कसरी ? अन्य किसिमको बाथरोगभन्दा युरिक एसिडको बाथलाई सजिलै व्यवस्थापन गर्न सकिन्छ । यस्तो बाथलाई व्यवस्थापन गर्नको लागि विशेषज्ञ डाक्टर र बिरामीबीच उचित छलफल, परामर्श र सहकार्य अनिवार्य हुन्छ । अन्यथा बिरामीहरूले डाक्टरको परामर्शबिना विविध प्रकारका औषधि छोटो समयको लागि सेवन गर्दा रोग झन्झन् जटिल हुँदै जाने सम्भावना रहन्छ ।

युरिक एसिडको बाथद्वारा पीडित बिरामीहरू अस्पताल वा डाक्टरको क्लिनिकमा उपचारार्थ उपस्थित हुँदाखेरी रोगको सुरुवात कहिले र कसरी भयो, कति पटक भयो र अन्तिम पल्ट कहिले बढ्यो भनेर सोधपुछ गरिन्छ । यस्ता बिरामीहरूले प्रायजसो एक्कासि दुखाई बढेर त्यसविरुद्ध औषधि सेवन गरेको वा दुखाइ कम गर्ने औषधिको सुइ प्रयोग गरेको कुरा बताउने गरेको पाइन्छ । यसरी एक्कासि रोग बढ्ने वा बल्झिने कुरामा सामान्यतया खानपानकै भूमिका रहेको पाइन्छ । त्यसैले त्यतिखेर खानपान र आहारविहारमा परिवर्तन गर्न परामर्श दिइन्छ ।

त्यतिखेर युरिक एसिड घटाउने वा बढाउने खाद्यपदार्थ, तत्काल प्रयोग गरिने औषधि र त्यसको सेवन मात्रालगायत धेरै प्रोटिनयुक्त खानेकुरा सेवनको परहेजमा रहँदाखेरी सामान्यतया घट्नसक्ने युरिक एसिडको मात्राबारे पनि डाक्टरसँग जानकारी लिनुपर्दछ । अर्को कुरा आहारविहार र दैनिक जिवनयापन पद्धतिमा परिमार्जन गर्नेबित्तिकै युरिक एसिडको मात्रा घटिहाल्छ भन्ने कुरा पनि कतिपय बिरामीहरूमा लागू नहुन सक्छ । किनकि वंशाणुगतलगायत अन्य कारणले पनि युरिक एसिड बढाएको हुनसक्छ ।

जे होस् आहारविहार खानपानमा सन्तुलन व्यायाम गरेमा, प्रशस्त मात्रामा तरलपदार्थ र पानी सेवन गर्ने बानी बसालेमा, शारिरिक तौल नियन्त्रण गर्ने, नियमित शारीरिक व्यायाम गर्ने र शंका लाग्नासाथ डाक्टरको परामर्श लिने बानी बसालेमा युरिक एसिडको बाथलाई व्यवस्थापन गरेर सहजै छुटकारा पाउन सकिन्छ । (डाक्टर सिग्देल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र आरोग्य स्वास्थ्य सदन, नेपाल बाथ रोग उपचार केन्द्र जावलाखेलमामा कार्यरत छन् )


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया