Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविद्युत्को व्यापार आर्थिक समृद्धिको आधार

विद्युत्को व्यापार आर्थिक समृद्धिको आधार


काठमाडौं । आजभन्दा एक सय १० वर्षअघि विसं १९६८ जेठ ९ मा पाँच सय किलोवाटको फर्पिङ जलविद्युत् केन्द्रबाट विद्युत् विकासको थालनी भएको नेपालमा हालसम्म एकीकृत नेपाल विद्युत् प्रणालीमा दुई हजार एक सय मेगावाटबराबर बिजुली जोडिएको छ । त्यसैगरी करिब पाँच हजार मेगावाटका विद्युत् आयोजना निर्माणाधीन छन् भने करिब नौ हजार मेगावाट क्षमताका आयोजना निर्माणको चरणमा प्रवेश गर्ने तयारीमा छन् । देशभित्रै उत्पादनमा भएका यी विद्युत् आयोजनाहरूको उत्साहजनक विकासले आर्थिक वृद्धिको ढोका खोल्ने निश्चित छ किनभने विद्युत् विकासको आधारभूत पूर्वाधार मात्र होइन समृद्धिको आधार पनि हो । उद्योग, यातायात, व्यावसायिक गतिविधि र हाम्रा भान्साहरूमा यो आधुनिक ऊर्जाको प्रयोगको स्तर विकासको स्तरको आँगन हो । बिजुली कसरी देशको समृद्धिको आधार बन्न सक्छ र बिजुलीको व्यापारबाट कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे यहाँ चर्चा गर्न खोजिएको छ ।

समृद्धिको आधार : बिजुलीको स्वदेशी उत्पादनले हामीलाई बिजुलीमा आत्मनिर्भरताको अवस्थामा ल्याउँछ । यसले धेरै हिसाबले मुलुकको समृद्धिमा योगदान पु-याउँछ । सबैभन्दा पहिले पर्याप्त मात्रामा बिजुलीको उपलब्धताले उद्योग, यातायात र व्यावसायिक गतिविधिहरूमा विद्युत् खपतको स्तरमा वृद्धि गर्नेछ । बिजुली उत्पादनको एक महत्वपूर्ण सामग्री हो र बिजुलीको बढ्दो उपलब्धता र खपतले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिमा योगदान पु-याउँछ । कुनै देशको विकासको मुख्य सूचक जीडीपीलाई लिने गरिन्छ तर यसको सहसम्बन्ध कारक देशहरूका लागि विकासको विभिन्न चरणहरूमा फरक–फरक हुन सक्छ । हाम्रोजस्तो अल्पविकसित देशका लागि यो सहसम्बन्धको कारक मुख्य रहेको छ । बिजुलीको मागमा करिब १ दशमलव ९ प्रतिशत वृद्धिले १ प्रतिशत आर्थिक वृद्धि पनि गर्नसक्ने केही अध्ययनहरूले देखाएको छ । त्यसैले यस चरणमा नेपालले ७ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेमा विद्युत्को माग करिब १४ दशमलव २५ प्रतिशतले बढ्नुपर्छ । ठूला उत्पादन र प्रशोधन उद्योग स्थापना र सञ्चालनले कुल गार्हस्थ्य उत्पादनमा १ प्रतिशत वृद्धि गर्न सक्छ र त्यस्ता उद्योगहरूले पर्याप्त विद्युत् खपत गर्छन् ।

वर्षभरि गुणस्तरीय सुनिश्चित नगरेसम्म स्वदेशी वा विदेशी लगानीकर्ताले यस्ता उद्योगमा लगानी गर्दैनन् । तर घरेलु उत्पादनका साथै सीमावर्ती बजारमा व्यापार गरेर वर्षैभर गुणस्तरीय बिजुली सुनिश्चित गर्न सकिन्छ । आवश्यक मात्रामा आपूर्तिको उपलब्धताले परम्परागत साना तथा मझौला उद्योगहरूलाई विद्युतीयरूपमा आधुनिकीकरण गर्न, विद्युतीय सवारीसाधन र सिँचाइ प्रणालीको प्रयोग र ठूला उद्योगहरूको स्थापना गरी कुल गार्हस्थ्य उत्पादन बढाउन प्रोत्साहित गर्न सक्छ ।

दोस्रो, आन्तरिक उत्पादनले व्यापारघाटा कम गर्नेछ । केन्द्रीय बैंक अर्थात् नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले चालू आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा मुलुकको वस्तुगत व्यापारघाटा ४६ दशमलव ६ प्रतिशतले बढेर सोही अवधिमा आठ सय ८० अर्ब ४९ करोड रुपैयाँ व्यापारघाटा रहेको देखाएको छ । यसले निर्यातको तुलनामा वस्तुको आयात धेरै भएको प्रस्ट हुन्छ । ऊर्जासँग सम्बन्धित वस्तुहरू इन्धन र बिजुलीको आयातले यो आयातमा ठूलो योगदान पु-याउँछ । नेपालले सबै इन्धन भारतबाट आयात गर्ने भएकाले यो व्यापारघाटाको प्रत्यक्ष श्रेय भारतलाई परेको छ । व्यापार सन्तुलन आर्थिक समृद्धिका लागि मात्र नभई मुलुकको समग्र अर्थतन्त्रको स्थायित्वका लागि महत्वपूर्ण हुन्छ र व्यापारघाटाको बढ्दो ग्राफले त्यो स्थायित्वलाई खतरामा पार्छ ।

प्रचुर जलविद्युत् सम्भावना नेपालको तुलनात्मक लाभको क्षेत्र हो । ठूलो मात्रामा विद्युत् उत्पादनको लागि यो तुलनात्मक लाभको सदुपयोग गर्नाले जीवाष्म अर्थात् खनिज इन्धनको आयातलाई प्रतिस्थापन गर्न र व्यापार सन्तुलनमा योगदान दिन विदेशी मुद्रा विदेशिनबाट रोक्न सक्छ । बिजुलीको पर्याप्त उपलब्धताले इन्धनसम्बन्धी वस्तुको आयात मात्र होइन, अन्य उपभोग्य वस्तुको आयातलाई पनि नियन्त्रण गर्छ किनभने यसले उद्योग र औद्योगिक उत्पादनलाई बढावा दिन सक्छ । विदेशी मुद्रा बहिर्गमन हुनबाट रोक्न, आयात प्रतिस्थापन गर्न र नगद प्रवाहको लागि स्वदेशमा उत्पादित वस्तुहरूको निर्यात व्यापारलाई वृद्धि गर्न सकिएमा व्यापारघाटा न्यूनीकरण गर्न सकिन्छ । तर हिमाली नदीको प्रवाहमा आउने फेरबदलका कारण विद्युत् आपूर्तिमा हुने मौसमी घाटालाई सीमावर्ती बजारमा विद्युत्को व्यापार वृद्धि गरेर फाइदा लिन सक्नु पर्दछ ।

तेस्रो, देशमा उत्पादित अतिरिक्त बिजुलीलाई सीमावर्ती बजारमा निर्यात गर्न सकिन्छ जसले गर्दा नगद प्रवाह हुन्छ । यसले नेपालको हितमा व्यापार सन्तुलन सकारात्मक हुन सक्छ । नेपालले आन्तरिक उपभोगभन्दा माथिको उत्पादन निर्यात गर्न सीमावर्ती बजारहरू खोजिरहेको छ । हाल नेपालमा विद्युत् उत्पादन वर्षाको समयमा मात्र बढी हुन्छ र खपतभन्दा उत्पादन धेरै हुँदा खेर जाने अवस्था छ भने हिउँदमा आन्तरिक माग धान्न सक्दैन र भारतबाट आयात गरी पूर्ति गर्ने गरिएको । भारत, बंगलादेशलगायतका छिमेकी मुलुकहरू हाम्रा लागि ठूलो बजार हुन् । बंगलादेशले छिमेकी मुलुकबाट हजारौँ मेगावाट बिजुली आयात गर्न खोजिरहेको छ । बंगलादेशले छिमेकीसँग १० हजार मेगावाट किन्न तयार रहेको जनाएको छ । त्यसमध्ये नेपालबाट तत्काल सात सय ५० मेगावाट किन्छु भनिसकेको अवस्था छ । त्यति भए पनि तत्काल निर्यात गर्न सकियो भने झण्डै ३० अर्बको व्यापार हुन्छ । नेपालले अहिले पनि वार्षिक २० अर्ब रुपैयाँको बिजुली आयात गर्दै आएको छ जसलाई मौसमी निर्यातबाट पूर्ति गर्न सकिन्छ ।

नेपालको जलविद्युत्को सम्भावना र सीमावर्ती बजारमा पहुँचले यसलाई दक्षिण एसियाको पावर हाउसमा परिणत गर्न सक्छ र नेपालमा उत्पादन हुने जलविद्युत् नेपालको मात्र नभई सम्पूर्ण दक्षिण एसिया क्षेत्रको समृद्धिको जग बन्न सक्छ । विकासको दौडमा पछाडि परेका दक्षिण एसियाका देशहरूका लागि यो आशीर्वाद हुन सक्छ । विद्युत्को क्षेत्रीय बजारका लागि दक्षिण एसियाली मुलुकहरूबीचको राम्रो समन्वय र समझदारी नै यी देशहरूको समृद्धिको मुख्य आधार हो । बेलायतको ग्यास्लोमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनले सफा र वातावरणमैत्री ऊर्जाको लागि निश्चित निर्देशनहरू गरेको छ । यस सम्मेलनकमा प्रतिबद्धताहरू अन्तर्गतको दायित्वले छिमेकी राष्ट्रहरूलाई नेपालबाट ठूलो मात्रामा जलविद्युत् आयात गर्न प्रोत्साहन र बाध्य पार्न सक्छ । यो नेपालका लागि अवसर हुनेछ ।

के गर्न आवश्यक छ ? समृद्धिको राष्ट्रिय सपना विद्युत्मा आत्मनिर्भरता, परम्परागत र आधुनिक आयातित इन्धनको प्रतिस्थापन मुलुकमा उत्पादित विद्युत्बाट, बिद्युत्को आन्तरिक बजारको विकास र सीमावर्ती बजारमा पहुँचसँग प्रत्यक्ष जोडिएको छ । यसरी दुई अंकमा तीव्र आर्थिक वृद्धिको सरकारको लक्ष्य हासिल गर्ने आधारस्तम्भको रूपमा विद्युत््लाई मानिन्छ । आन्तरिक माग पूरा गर्न र सीमावर्ती बजारमा रहेको बचतको निर्यातलाई पर्याप्त मात्रामा उत्पादन गर्न ठूलो आर्थिक लगानीको आवश्यकता मात्र नभई मुलुकमा बिद्युत्को विकासका लागि समग्र वातावरण सकारात्मक छ । यसले नीति, कानुनी, नियामक, संस्थागत सुधार र आवश्यक सहयोगी पूर्वाधार निर्माण गर्न माग गर्नेछ । यस प्रक्रियामा निजी क्षेत्रलाई महत्वपूर्ण भूमिका खेल्न सहज बनाउन पनि सुधारहरू लक्षित हुनुपर्छ । विद्युत्को जीवन्त क्षेत्रीय बजार र प्रसारण कनेक्टिभिटी निर्माण गर्न यस क्षेत्रका देशहरूसँग समानान्तर रूपमा बृहत्तर समन्वय र सहयोग उच्च मात्रामा विद्युत्को व्यापार गर्न आवश्यक छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया