Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगथलिएको पर्यटन क्षेत्र पुरानै लयमा

थलिएको पर्यटन क्षेत्र पुरानै लयमा


काठमाडौं । नेपालमा कोभिडले थलिएको पर्यटन क्षेत्र पुरानै लयमा फर्किने संकेत देखिएको छ । गत वर्षको अप्रिलमा २२ हजार चार सय पर्यटक भित्रिएकामा यो अप्रिलमा ५८ हजार तीन सय आए । यसरी नै अप्रिल २०२२ मा दैनिक औसतमा दुई हजार विदेशी पर्यटक नेपाल भित्रिएसँगै पर्यटन क्षेत्रमा आशा पलाएको पर्यटन व्यवसायीहरूले बताएका छन् । यसैगरी अप्रिलमा विभिन्न राष्ट्रबाट ५८ हजार तीन सय ४८ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो संख्या अप्रिल २०२१ को तुलनामा एक सय ६० प्रतिशतले बढी हो । गत वर्षको अप्रिलमा २२ हजार चार सय ५० पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डको तथ्यांक छ  ।

कोभिडअघि अप्रिल २०१९ मा एक लाख नौ हजार तीन सय ९९ पर्यटक भित्रिएकामा कोभिड संक्रमण फैलिन थालेपछि अप्रिल २०२० मा १४ जना मात्र पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यसताका नेपालसहित विश्वका धेरै देशमा लकडाउन गरिएको थियो । फलतः सन् २०२२ को सुरुवातसँगै कोभिड महामारी फैलिन कम हुँदै गएपछि पर्यटक आगमन बढ्दै गइरहेको पर्यटन बोर्डले बताउँदै आएको छ । यस वर्षको जनवरीमा १६ हजार नौ सय ७५ पर्यटक आएका छन् भने फेबु्रअरीमा १९ हजार सात सय ६६ र मार्चमा ४२ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटन बोर्डको तथ्यांक हेर्दा हरेक महिना पर्यटक आगमन बढ्दै गइरहेको देखिन्छ । यसको साथसाथै पर्यटक आगमन बढेसँगै हेलिकोप्टरको बिजनेस पनि फँस्टाउन थालेको छ । यसरी हाम्रो देशमा हिमाल आरोहण गर्न आउने पर्यटकहरू बढेसँगै हेलिकोप्टर, होटेल व्यवसाय, ट्रेकिङलगायतका पर्यटन क्षेत्रमा उत्साह छाउन लागेको छ । वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७४ देशका आठ सय ९९ आरोहीले अनुमति लिइसकेको पर्यटन विभागले जनाएको छ । यस वर्ष आरोहणका लागि २५ हिमाल खुला गरिएका छन् । आरोहणको सिजन सुरु भएसँगै तारे होटेल र बेस क्याम्पहरू पर्यटकले भरिभराउ छन् । यस्तै, ट्रेकिङ, कल्चरल, वाइल्ड लाइफमा रुचि राख्ने पर्यटक पनि नेपाल आइरहेको पर्यटन व्यवसायी बताउँछन् । नेपालमा आउने पर्यटकको कुल संख्यामध्ये छिमेकी देश भारतबाट मात्रै ३८ दशमलव ५२ प्रतिशत पर्यटक आउने गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

गत अप्रिलमा भारतबाट २२ हजार चार सय ७७ पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ । भारतमा गर्मी चढेसँगै स्कुल होलीडे सुरु भएको हुँदा धेरै भारतीय गर्मी छल्न नेपाल आएका होटेल संघ नेपाल (हान)ले जनाएको छ । अर्को छिमेकी मुलुक चीनले आफ्ना नागरिकलाई घुमफिरमा निस्कन कडाइ कायमै राखेपछि त्यति पर्यटक आएका छैनन् । अप्रिलमा चीनबाट दुई सय ८१ पर्यटक आएका छन्, जबकि चीन भारतपछि सबैभन्दा बढी पर्यटक आउने देश हो । यसरी नै अमेरिकाबाट छ हजार नौ सय ५४, बंगलादेशबाट एक हजार पाँच सय ३७, बेलायतबाट पाँच हजार दुई सय ५२, अस्ट्रेलियाबाट दुई हजार सात सय २६, क्यानडाबाट एक हजार २८, जर्मनीबाट दुई हजार ९७, फ्रान्सबाट एक हजार नौ सय २२ पर्यटक भ्रमणमा आएको सम्बन्धित क्षेत्रले जनाएको छ । त्यस्तै गरी अप्रिलमा नेपाल भ्रमणमा आएका कुल पर्यटकमध्ये सार्क मुलुकका मात्रै ४२ दशमलव ०७ प्रतिशत हिस्सा रहेको छ । सार्कका भारत, बंगलादेश, पाकिस्तान, भुटान र श्रीलंकाबाट अप्रिलमा २४ हजार पाँच सय ४८ पर्यटक आएका छन् ।

यस्तै, अन्य एसियन मुलुकबाट दुई हजार एक सय ३० पर्यटक आएका छन्, जुन कुल पर्यटक संख्याको ३ दशमलव ६५ प्रतिशत हो । युरोपेली मुलुकबाट १६ हजार तीन सय २७ दशमलव ९४ प्रतिशत, अस्ट्रेलिया र न्युजिल्यान्डबाट दुई हजार आठ सय २४ अर्थात ४ दशमलव ४८ प्रतिशत र अमेरिका र क्यानडाबाट चार हजार नौ सय ८२ अर्थात १३ दशमलव ६८ प्रतिशत पर्यटक आएको बोर्डले जनाएको छ । पछिल्लो समय बाह्य पर्यटकले तारे होटेलहरू ७० प्रतिशतसम्म भरिएका छन् ।

समग्रमा भन्नुपर्दा काठमाडौं उपत्यकाका छेउछाउ र बाहिरका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकले होटेल भरिभराउ छन् । त्यसरी नै पोखरामा भारतीय पर्यटकको संख्या धेरै देखिन थालिनुको साथसाथै तेस्रो देशहरूका पर्यटकहरू पनि बढ्दै गइरहेका छन् । यही उत्साह कायम रहिरहे आगामी सिजनदेखि पर्यटन लयमा फर्किन थाल्ने अनुमान पर्यटन व्यवसायिहरूको रहेको पाइन्छ । यसर्थ पछिल्लो समय पर्यटक आगमन बढ्दै गइरहेको छ । हरेक महिना पर्यटक बढ्दा पर्यटन क्षेत्रमा आशा पलाएको छ । कोभिडअघि सन् २०१९ अप्रिलको तुलनामा २०२२ अप्रिलमा पर्यटक आगमन ५३ प्रतिशत रिकभर भइसकेको छ । गत महिना मार्चमा ४५ प्रतिशत हाराहारी रिकभरी भएको थियो । यसको मतलब, रिकभरी रेट बढ्दै गइरहेको छ, जुन उत्साहप्रद छ । यसरी नै पर्यटन लयमा फर्किन थालेको देखिन्छ । अरू राष्ट्रको तुलनामा नेपालको रिकभरी चाँडै हुने प्रवृत्ति छ । विगतको भूकम्पका वेलामा पनि चाँडै रिकभर भएको थियो । अहिले पनि अरू राष्ट्रको तुलनामा नेपालको रिकभरी रेट बढी नै छ । यसवेला राज्य र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढेमा अझ बढी सफलता मिल्थ्यो ।

गत जेठ २ गते छिमेकी देश भारतका प्रधानमन्त्रीले लुम्बिनी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण पर्यटन सेवामूलक होटलहरूमा अर्बौंको लगानी थपिएको छ । कोरोना संक्रमणले पर्यटन क्षेत्र थिलोथिलो भएको थियो । अब बिस्तारै माथि उठ्ने क्रममा भारतीय प्रधानमन्त्री नेपाल र त्यसमा पनि लुम्बिनी भ्रमणमा आउँदा बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार विश्वस्तरमा भएको छ । निश्चय पनि अब धार्मिक मात्र नभई अन्य भारतीय पर्यटक पनि नेपालमा बढ्छन् । धार्मिक पर्यटनको महत्व बेग्लै छ । मोदीको सम्बोधनको क्रममा पनि धर्म र धार्मिक पर्यटनको महत्व, नेपाल र भारतको बौद्ध सम्पदाहरू मिलाई एकीकृत बौद्ध सर्किटलगायतका विषयमा चर्चा गर्नु र बुद्ध जयन्तीकै दिन लुम्बिनी आउनुले पनि लुम्बिनीको विश्वस्तरमा पुनः प्रचार भएको छ । अब हामीले पनि त्यहीअनुसारको थप पूर्वाधार बनाउनु पर्छ । पर्यटकहरूलाई सुविधा दिनुपर्छ, उनीहरूलाई बढी टिकाउने अर्थात् बसाइ अवधि बढाउने योजनासहित अघि बढ्नुपर्छ ।

जे होस् भारतीय प्रधानमन्त्रीको भ्रमणले धार्मिक पर्यटकहरूलाई लुम्बिनी भ्रमण गर्न अभिप्रेरित गरेको छ । अब निश्चय पनि धार्मिक पर्यटकहरूको संख्या नेपालमा वृद्धि हुन्छ । अब कोरोनाको संक्रमण पनि घटिसकेको छ । पर्यटकहरू आउने क्रम बिस्तारै सुरु भएको छ । यसै क्रममा भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणले विश्वभरका पर्यटनप्रेमीहरूको ध्यान आकृष्ट भएको छ । यसै क्रममा टुर अपरेटरहरूको, पर्यटन व्यवसायीहरूको ध्यान नेपाल र लुम्बिनीमा खिचिएको छ अब यसलाई हामीले क्यास गर्न सक्नु पर्दछ । एकदमै धार्मिक एवं आध्यात्मिक प्रवृत्तिका प्रधानमन्त्री मोदीको नेपालसँग धार्मिक कनेक्टिभिटी देखिएको छ । धर्मका माध्यमबाट ठूलो नाता नेपालसँग रहेको र हिन्दुको उद्गमस्थलको रूपमा नेपाल रहेको हामीले बुझ्यौँ । विश्वका अन्य देशभन्दा नेपालको धार्मिक, सांस्कृतिक महत्व भिन्दै रहेको मोदीको बुझाइ लुम्बिनी भ्रमणमा उनले आध्यात्मिक गतिविधिमा खर्चेका समयलाई हेरेर बुझ्न सकिन्थ्यो । दुवै पक्ष सहकार्य गरेर अगाडि बढ्नै पर्छ ।

सन् २०२० का लागि प्याकेज किनेर बसेका कतिपय पर्यटकले कोभिड चाँडै हराउला भन्ने आशाले प्याकेज रद्द गरेका थिएनन् । उनीहरू अहिले अवस्था सहज हुँदै गएपछि आउन थालेका छन् । अतः कोरोनाले थलिएको नेपाली पर्यटन बजारमा अब भारतीय पर्यटकहरू बढ्न सक्छन् । यसर्थ धार्मिक पर्यटनको अधिक सम्भावना रहेको छ । यद्यपि, पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ, भारतीयहरूको महत्वपूर्ण धार्मिक गन्तव्य हो । यो लुम्बिनीमा पनि धेरै भारतीय आउने गरी पर्यटकीय प्याकेजहरू बनाउनु पर्दछ । जसलेगर्दा धार्मिक पर्यटनलाई बढावा दिनेगरी सरकारले अब आकर्षक प्याकेज बनाउनु पर्दछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया