Techie IT
×
गृहपृष्ठविचारनेपालका साहसिक पदयात्रा मार्ग र शेर्पेनी कोल

नेपालका साहसिक पदयात्रा मार्ग र शेर्पेनी कोल


काठमाडौं । साहसिक पर्यटनका लागि हाम्रो देश नेपाल विश्वकै उत्कृट गन्तव्यको रूपमा प्रख्यात रहेको छ । हुन पनि हाम्रो देशमा कयौँ हिमाल र हिमालका घाँटी पार (पास) गर्दै कठिन यात्रा गर्नुपर्ने पदयात्रा (ट्रेकिङ रुट) मार्गहरू रहेका छन् । जस्तै उदाहरणका लागि भन्दै पर्दा ‘ग्रेट हिमाल ट्रेल, शेर्पेनी कोल, टाशी लाप्चा पास, आमा लाप्चा पास, कालापत्थर, मिङ्माला, मेराला पास (मेरा पिक नजिकबाट पदयात्रीहरू हिँड्नुपर्ने), गोक्यो–री, रिन्जोला पास, चोला पास, कञ्चनजंघा दक्षिण (सेलेले पास, मिरिङला पास, सिनियोनला पास), कञ्चनजंघा उत्तर ल्होनाक, पाङ्पेमा बेस क्याम्प, कागमारा पास, माथिल्लो डोल्पा, शे–गुम्बा, धो–तराप पास, छार्काभोट पास, गणेश हिमाल, रुबी भ्याली, नार–फु, थोरोङपास (अन्नपूर्ण राउन्ड), तिलिचो पास, मनास्लु पास, चुम भ्याली, धौलागिरि पास (धौलागिरी राउन्ड) गोसाईकुण्ड पास, अप्पर मुस्ताङ, माछापुच्छ्रे तथा अन्नपूर्ण बेस क्याम्प, मार्दी हिमाल, अन्नपूर्ण धौलागिरि (एडी) सर्कट, अपी हिमाल, हुम्ला (लिमी) पास’ आदि रहेका छन् ।

विश्वकै उच्च हिमाली भेग भएर गरिने धेरै कम पदयात्रा मार्गमा पर्ने शेर्पेनी कोलबारे केही लेख्दै छु । धेरै उचाई र साह्रै कठिन यात्रा गर्नुपर्ने भएकोले गर्दा यो पदमार्ग भएर पदयात्रा गर्नका लागि धेरै कम विदेशी पर्यटक मात्रै आउने गरेका छन् । यो रुटमा ट्रेकिङ गर्न विगतमा सुनसरी जिल्लाको धरान बजार, भेडेटार, धनकुटा बजार, हिले, पाख्रीवास, ताङ्माया, तुम्लिङटार हुँदै पैदल यात्रा गर्नुपर्थ्यो । अहिलेचाहिँ संखुवासभा जिल्लाको चिचिला–नुमसम्मै गाडी चल्ने गरेको छ । त्यहाँबाट पैदल यात्रा टाशी गाउँ, याङले खर्क, खोङमा–ला, मकालु बेस क्याम्प, बरुत्चे हिमालको बेस क्याम्प हुँदै शेर्पेनी–कोल (६,१२५ मिटर) पास गरेर सोलुखुम्बु जिल्लाको मेरा–ला, खारे, ठाङना, क्षेत्र–ला हुँदै लुक्ला पुगेर पदयात्रा सक्ने गरिन्छ । केही पदयात्रीले चाहिँ मेरा–ला वा बरुत्चे हिमालबाट आम्फु लाप्चा पास हुँदै छुकुङ गाउँमा निक्लेर दिङबोचे, फेरिचे, पाङबोचे, तेङबोचे, नाम्चे बजार हुँदै लुक्ला आएर आफ्नो २६/२७ दिनदेखि २९/३३/३४ दिनसम्मको पदयात्रा समाप्त गर्छन् ।

यो पदयात्रा मार्गमा विभिन्न उपमार्ग पनि छन् । तापनि मानेभञ्ज्याङ, चिचिला, नुम, सेदुवा, टासिगाउँ, खोङ्मा डाँडा, नुम्बुक, याङ्ले खर्क, हिलारीबेस क्याम्प हुँदै शेर्पेनी कोल (६,१२५ मिटर) मा क्याम्प गर्नुपर्छ भने यहाँ सिधा भिरालो (पर्वतारोहण/पदयात्राको भाषामा भन्नुपर्दा ‘स्टिभ–डाउन’ छ । यहाँको बाटो हिउँ नै हिउँले ढाकेको हुन्छ, जहाँ नीलो जमेको ‘ब्लु आइस’को ढिक्काको बाटो क्रस गर्दै हिँडेर पास गर्नुपर्छ भने भोलिपल्ट, छ हजार दुई सय मिटरको हाराहारीमा बरुणत्चे हिमालको क्याम्प–१ मा बास बस्नुपर्छ । टासी गाउँपछि प्रायः सबै क्याम्प खर्क–चउरमा गरिन्छ । हिलारी बेस क्याम्पदेखि हिउँमाथि हिँड्न सुरु गर्नुपर्छ ।

हिलारी बेस क्याम्प चार हजार दुई सय मिटर उचाइमा अवस्थित छ । त्यस्तै एक दिन पूरै नाक ठोक्किने उकालो बाटो हिँड्नुपर्छ । पदयात्रीहरू शेर्पेनी कोल र बरुणत्चेको छ हजार दुई सय मिटरको सेरोफेरोमा यात्रा गरिरहेका बेला उनीहरूले खुबै सास्ती खेपिरहेका हुन्छन् । किनभने, हिउँमाथि यात्रा गरिरहेका हुन्छन्, थाकेको वेला बिसाउन, आराम गर्न र सजिलोसँग बस्ने ठाउँ समेत हुँदैन । हिँड्दा–हिँड्दै थकाइ लागेमा हिउँमाथि नै थचारिएर सास फेर्छन्/सास लिन्छन्, पदयात्रीहरूले । सबै पदयात्री, स्टाफ तथा भरियाको हालत त्यस्तै हुन्छ । तापनि भरियाको अवस्था बढी नै दयनीय हुन्छ । कतिपय भरिया उच्च हिमाली भेगमा अत्यधिक चिसोका कारण लाग्ने अस्थायी रोग (फोक्सो र दिमागमा पानी जम्ने ‘हेप’ र ‘हेस’)का कारणले सिकिस्तै हुन्छन् भने कतिको हिँड्दा–हिँड्दै ज्यानै जान सक्ने खतरा हुन्छ ।

स्मरणीय छ, शेर्पेनी कोल पास गरेर बरुणत्चे बेस क्याम्प आउने दिन लगभग पाँच सय मिटरजति त डोरी मात्रै टाँग्नु पर्छ । मान्छे, खाना, पाल, पर्यटकको सरसामान भएको बेडिङलगायत सबै सरसामान डोरीबाटै पास गर्नुपर्छ । कति भरियाले भारी बोक्न नसकेर बाटो छाडेर हिंँड्छन्, ज्यानभन्दा ठूलो होइनन् ती खानेकुरा र सरसामानहरू । बाटामा कताकती हिउँले कठ्यांग्रिएर र लेक लागेर मरेका मान्छेको लास पनि भेटिन्छ । ती लासहरू प्रायः नेपाली त्यसमा पनि भरियाहरूको हुन्छ । त्यसमाथि तिर्खा लाग्दा पानी पिउन समेत पाइँदैन । दिउँसोको चर्को घाममा हिउँ टल्किएर आँखाले केही देखिँदैन । भारी बोक्ने मान्छेलाई पार लगाउँदाको हैरान होइन्छ नि हौ । फेरि तल बस्नेले गलत संंकेत दियो भने दुर्घटना हुने सम्भावना बढी नै हुन्छ । त्यसैले यो पदयात्रा मार्गमा हत्तपत्त कुनै पनि विदेशी पदयात्रीहरूले पदयात्रा गर्दैनन् । ज–जसले यो मार्गमा पदयात्रा गर्छन्, ती जुनसुकै देशका हुन्, उनीहरू आफूलाई गौरवान्वित र भाग्यमानी भएको ठान्छन् । किनभने, यो पदयात्रा मार्गमा पदयात्रा गर्ने विदेशी पर्यटकहरूले विश्वकै उच्च हिमाली भेगको पास एवं खतरापूर्ण र साहसिक पदयात्रा गर्न सफल हुन्छन् ।

विगतमा आधुनिक सूचना र सञ्चारको अभाव र मानव बस्ती नभएका कारण बीचबाटोमा कथंकदाचित विदेशी पर्यटक अथवा नेपाली स्टाफहरू बिरामी भइहालेमा उद्धारका लागि हेलिकोप्टर मगाउन हत्तपत्त सम्भव हुन्थेन । लेक लागेर बिरामी भएका मान्छेलाई बचाउन सके वा बिरामी बाँचेमा पनि सद्धे र तगडा मान्छेले सकी–नसकी बोकेरै उद्धार गरिन्थ्यो । केही गरी विदेशी पर्यटक मरेमा लासलाई बोकेरै सुगम ठाउँमा ल्याइन्थ्यो र हेलिकोप्टरले उद्धार गरेर काठमाडौँ ल्याउँथ्यो । नेपालीहरू मरिहालेमा लास त्यतै छाडिन्थ्यो । किनभने, त्यो बेला चेतना थिएन ।, बीमा पनि गरिन्थेन । अर्को महत्वपूर्ण कुरो भनेको त्यस्तो अन्नकन्टार र हिउँ नै हिउँको बाटोमा कोही बिरामी भइहालेमा बिरामीका साथमा तीन÷चार जना स्टाफ साथ लगाएर पठाउनुपर्ने हुन्थ्यो । बिरामी एक्लै फर्किन सम्भव नै हुँंदैनथ्यो । बाटोमा खाने खाना, बास बस्ने पाल र साथीविना बिरामी मात्रै पठाउने कुरो पनि भएन । बिरामीलाई एक्लै फर्काएमा/फर्केमा बाटोमा मर्ने या बाँच्ने केही ठेगान हुँदैनथ्यो, अझ त्यसरी एक्लै पठाउँदा धेरैजसो बिरामी मर्ने सम्भावना नै हुन्थ्यो ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया