Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअर्थतन्त्रको आकार साढे ४८ खर्बको हुँदा प्रतिव्यक्ति आय १३ सय ८१ डलर

अर्थतन्त्रको आकार साढे ४८ खर्बको हुँदा प्रतिव्यक्ति आय १३ सय ८१ डलर


काठमाडौं । मुलुकको आर्थिक वृद्धिदर न्यून भए पनि अर्थतन्त्रको आकार भने बढ्दै गएको छ । बढ्दो अर्थतन्त्रले आर्थिक क्रियाकलाप फैलाउँदै जान्छ । आर्थिक वृद्धिदर उच्च बनाउन मदत पुग्दछ । आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत हुने प्रक्षेपण केन्द्रीय तथ्यांक विभागले गरेको छ । कोभिडबाट भर्खरै तङ्ग्रीन लागेको अर्थतन्त्र भएकोले यसवर्ष आर्थिक वृद्धिदरमा सुधार हुने र निर्धारित लक्ष्यमा पुग्न सकिने प्रक्षेपण रहेको छ ।

विश्वका संघसंस्था विश्व बैंक, एसियाली विकास बैंक, आईएफएफजस्ता संस्थाले नेपालको कुल आर्थिक वृद्धिदर न्यून हुने प्रक्षेपण गरिरहेको समयमा तथ्यांक विभागले आशलाग्दो तस्बिर सार्वजनिक गरेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन आधार मूल्यमा ४१ खर्ब पाँच अर्ब ५४ करोडबराबर रहँदा चालू मूल्यअनुसार कुल ग्रार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ४८ खर्ब ५१ अर्ब ६३ करोडबराबर पुगेको छ ।

विभागका अनुसार चालू मूल्यमा कुल स्थिर पुँजी निर्माण १४ खर्ब २५ अर्ब आठ करोडबराबर छ । चालू मूल्यमा अन्तिम उपभोग खर्च ४४ खर्ब एक अर्ब ६७ करोडबराबर छ । चालू मूल्यमा वस्तु तथा सेवा निर्यात तीन अर्ब २० अर्ब ७१ करोडबराबर छ ।

यसैगरी वस्तु तथा सेवा आयात १८ खर्ब २० अर्ब ८२ करोड, चालू मूल्यमा कुल राष्ट्रिय बचत कुुल गार्हस्थ्य उतपादनको ३१ दशमलव ९५ प्रतिशतबराबर छ । कुल गार्हस्थ्य उत्पादनको १९ दशमलव ८१ प्रतिशतबराबरको विप्रेषण आय भएको विभागको ठहर छ । नौ खर्ब ६१ अर्ब सात करोडबराबरको विप्रेषण चालू आर्थिक वर्षको अन्त्यसम्म आप्रवाह हुने यसबाट देखिन्छ ।

प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक लाख ६४ हजार पाँच सय ९८ बराबर पुगेको छ । त्यो भनेको अमेरिकी डलरमा एक हजार तीन सय ७२ बराबर हो । त्यस्तै प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन एक लाख ६५ हजार छ सय ४९ बराबर पुगेको छ । त्यो भनेको अमेरिकी डलरमा एक हजार तीन सय ८१ बराबर हो ।

आर्थिक वर्ष २०७७/७८ मा आर्थिक वृद्धिदर ४ दशमलव ३ प्रतिशत भएको थियो भने आव २०७६/७७ मा माइनस २ दशमलव ४ प्रतिशतबराबरको आर्थिक वृद्धि भएको थियो । सरकारले चालू आवमा ७ दशमलव १ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विभागले वृद्धिदरका विभिन्न आयाम प्रस्तुत गरेको छ । त्यसमा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ता मूल्यमा ५ दशमलव ८४ प्रतिशत रहने अनुमान गरिएको छ ।

आधारभूत मूल्यमा ५ दशमलव ४९ प्रतिशत र कुल उत्पादन आधारभूत मूल्यमा भने ७३ खर्ब ५६ अर्ब ६१ करोडबराबर रहेको छ । यस्तै कुल मध्यवर्ती उपभोग उपभोक्ता मूल्यमा ३२ खर्ब ५१ अर्ब छ करोडबराबर छ । चालू आर्थिक वर्षमा कुल आयात कुल २० खर्बबराबर पुग्ने अवस्था देखिएको जानकारी विभागले दिएको हो । निर्यात भने तीन खर्ब २० अर्बबराबर पुग्ने देखिएको छ ।

एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ भन्ने उदाहरण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रस्तुत गरेको छ । कुल चार सय ५६ मेगावाट क्षमताको सो आयोजना गत असार २१ गतेदेखि सञ्चालनमा आएको हो । आयोजनाले हालसम्म झण्डै पाँच अर्बबराबरको बिजुली बिक्री गरेको छ ।

चालू आर्थिक वर्षमा कुल आयात कुल २० खर्बबराबर पुग्ने अवस्था देखिएको छ । यस्तै निर्यात भने तीन खर्ब २० अर्बबराबर पुग्ने देखिएको छ । अर्थतन्त्रका जानकारहरूले एक युनिट बिजुलीबराबर एक सयबराबरको बहुपक्षीय प्रभाव पर्ने बताउँदै आएका छन् । यही आधारमा चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत माथिल्लो तामाकोशीले महत्वपूर्ण योगदान पु-याएको पाइएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सो परियोजनाले कुल छ महिना नेपालको ऊर्जा क्षेत्रलाई पूर्णरूपमा आत्मनिर्भर समेत बनाएको छ । विभागले भनेको छ, खासगरी माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट गत आवको अन्त्यदेखि विद्युत् उत्पादन सुरु अन्य आयोजनाको निर्माणमा भएकोे वृद्धि तथा औद्योगिक उत्पादनमा भएको वृद्धि आदिका कारणले यस क्षत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदरमा सकारात्मक प्रभाव परेको छ ।

विगत ६० वर्षदेखि लगातार राष्ट्रिय लेखामान सार्वजनिक गर्दै आएको विभागले सन् २०११ लाई आधार वर्षका रूपमा मान्यता दिएको छ । हरेक तीन आवको विवरणलाई प्रस्तुत गर्दै चालू आवको छदेखि नौ महिनाको विवरणका आधारमा विवरण सार्वजनिक गरेको हो ।

बेमौसमी बाढी तथा पहिराका कारण गत कात्तिकमा धानखेतीमा परेको नकारात्मक असरका कारण आर्थिक वृद्धिदरमा केही समस्या देखिएको विभागको भनाइ छ । बेमौसमी वर्षा नभएको भए आर्थिक वृद्धिदर अझै माथि जानसक्ने स्थिति थियो तर जान सकेन । रुस–युक्रेन संघर्षका कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण नेपालको अर्थतन्त्रमा पनि प्रभाव परेको छ । कोरोना महामारीबाट अर्थतन्त्र क्रमशः आफ्नो लयमा फर्किँदै गएको अनुभूति हुन थालेको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया