Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगलोकतन्त्रमा बालेनवादको सन्देश

लोकतन्त्रमा बालेनवादको सन्देश


काठमाडौं । नेपाललगायत विश्वका लोकतान्त्रिक शासकीय पद्धतिलाई आत्मसात् गर्ने मुलुकहरूमा लोकतन्त्रको महत्वपूर्ण उपलब्धिको रूपमा नागरिक समाजबाट निर्वाचनजन्य व्यवहारको सन्दर्भमा सामूहिक रूपमा अभिव्यक्त भएका जनभावनालाई अब्बल लोकतन्त्रको मूल–आदर्श मान्ने गरेको पाइयो । जसले यथार्थपरक ढंगबाट जनमतको सन्देशलाई सम्बोधन गर्ने प्रयास गर्दछ । प्रस्तुत क्रममा द्विविधा उत्पन्न भए द्वन्द्वगत मनोभावनाको अभिवृद्धि भई नागरिक समाजले वैकल्पिक राजनीतिक गन्तव्यको चाहना राख्ने अवस्था सिर्जना हुने तथ्यलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन । किनकि जनमतको असन्तुष्टिगत सन्देश नै दलीय व्यवहारको सुधारको मार्गदर्शन समेत हो भन्दा त्यति फरक नपर्ला ।

निर्वाचन हुने अघिल्लो रातसम्म मौनता साचेको जनअभिमतले मतपत्रका माध्यमबाट आफ्नो अभिव्यक्तिहरू बाकसमा खसालेका मात्र हुन् । प्राप्त स्थानीय तहको निर्वाचनको नतिजालाई सूक्ष्म रूपबाट अध्ययन गर्ने हो भने पक्कै पनि सम्प्रभू नेपाली नागरिक समाज केही हदसम्म भए पनि कायमी दलीय प्रतिस्पर्धा एवं व्यवहारप्रति असन्तुष्ट रहेको प्रतिविम्बित भएको छ ।

परिणामजनक असरको रूपमा स्वतन्त्र बालेन प्रवृत्तिको छनोटमा न्यूनरूपमा भए पनि विशेष अभिरुचि रहेको पाइयो । हुन त लोकतन्त्रको आधारभूत मान्यतालाई आत्मसात् गर्ने हो भने दलीय शक्तिको जति महत्व रहेको हुन्छ सोही अनुपातमा स्वतन्त्र जनप्रतिनिधिहरूको छनोटलाई पनि न्यून मूंल्याकन गर्न खोज्नु सुखद लोकतान्त्रिक व्यवहार मान्न सकिँदैन ।

कुरा स्वतन्त्र वा दलीय प्रतिनिधित्वको विजय वा पराजयको पक्कै पनि होइन । यसलाई गौणरूपमा हेरिने हो भने निकट भविष्यमा सम्पन्न हुने सर्वोच्व विधायिका संसद्को निर्वाचन समेत चुनौतीपूर्ण बन्न जाने देखिन्छ । किनकि जनमतले प्रतीकात्मक रूपमा बोध गराएको सन्देशमा मुलुकको भावी राजनीतिको मार्गचित्र प्रस्टरूपमा कोरिएको वर्तमान अवस्था हो । तसर्थ : सिरा–सिरामा समस्याको समाधान एवं निकास निकाल्दै सकारात्मक थालनीको सुरुवातको लागि आजैदेखि कम्मर कस्नुपर्ने बेला आइसकेको दृष्टान्तलाई पृथक राखेर हेर्न मिल्दैन । यदि बेवास्ता गर्ने प्रयास गरिन्छ भने उल्लेख्य मात्रामा बालेनहरूको उदय हुने निश्चित प्राय भइसकेको छ ।

राष्ट्रिय राजनीतिमा आज पर्यन्त लोकतन्त्रको वास्तविक जनभावनालाई पूर्णरूपले साकार तुल्याउने कार्यमा आएको न्यूनताको प्रतिफल नै बालेनहरू उदयको हो । आर्दश लोकतन्त्रको गतिशीलतालाई बेवास्ता गर्ने प्रवृत्तिको परिणाम कस्तो हुन्छ भन्ने कुराको निक्र्योल हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामले नेपाली राजनीतिको क्षेत्रमा तरंगगत अवगत गराएको वर्तमान अवस्था हो । जसलाई जनमतको प्रतिनिधिमूलक विरोधको रूपमा लिँदा त्यति अनुपयुक्त नहोला ।

दलीय शक्तिले मनोमालिन्य ढंगबाट भ्रष्टाचार, अनाचार एवं अवसरवादीलाई अत्यधिक मात्रामा उपभोग गरेकै कारण दल प्रवृत्तिलाई सच्चिने मौका स्वरूप देखाएको असन्तुष्टिको सन्देशको रूपमा प्रस्तुत व्यवहारलाई लिन सकिन्छ । जब नागरिक समाजमा तीव्र राजनीतिक निराशाले जरो गाड्छ तत्पश्चात विकल्पको चाहना उत्पन्न हुने राजनीतिक सैद्धान्तिक व्यवहारहरू हुन् । उक्त सैद्धान्तिक पृष्ठभूमिमा नेपाल पनि अछुतो रहन सक्दैन ।

सामाजिक व्यवहारका विविध पक्षलाई राजनीतिमा समाहित गर्दै आवश्यक तालमेल मिलाउनुपर्नेमा त्यसमा आएको अभावलाई पूर्ति गर्न नसक्नुको साथै विकल्पमा अन्य कुनै शक्तिशाली राजनीतिक समूह पनि नभएकै कारण बालेन प्रवृत्तिगत विशेषतालाई राष्ट्रिय राजनीतिमा विराजमान गराउन नेपाली जनमत बाध्य रहेको देखिन्छ । प्रस्तुत कदमलाई सुधारको मार्गदर्शनको रूपमा लिँदै दलीय आत्ममूल्यांकन गर्ने हो भने भविष्यको कुनै पनि कालखण्डमा यस प्रवृत्तिको विकास हुने सम्भावना अत्यन्त न्यून रहन्छ ।

लोकतान्त्रिक शक्तिले नेपाली सामाजिक परिवेश र जनचाहनाअनुसारको कार्यमा समयानुकूल ध्यान दिन नसक्दा जनमतले फेरि एक पटक भिन्न परिवेशमा अप्रत्यासित व्यवहारहरू देखाउन खोजेको संकेतको रूपमा बालेनहरूको उदयलाई लिन सकिन्छ । यद्यपि नागरिक आवाजका प्रतिनिधिहरू भनेका निश्चितरूपमा मुलुकमा रहेका लोकतान्त्रिक शक्तिहरू नै हुन् भन्ने कुरामा हामीहरू कसैको पनि भिन्न मत रहन सक्दैन ।

सम्बद्ध राजनीतिक शक्तिहरूको समूहगत भावनाको विकासले मात्र मुलुकमा सामजिक कार्यको अतिरिक्त श्रम संगठनको विकास उपभोक्ता जनअधिकारको संरक्षण, सुरक्षा, समानता तथा न्यायिक सुरक्षाको पूर्ण प्रत्याभूति बहाल रहने भएको हुँदा जनसन्देशलाई पाठको रूपमा लिँदै भावी रणनीतिक कार्यदिशाको मार्गचित्र कोर्नु आजको आवश्यकता हो । किनभने राजनीतिक शक्तिहरूको अभावमा प्रत्येक मतदाता समूहले निर्वाचनको समयमा व्यक्तिगतरूपमा उम्मेदवारको स्वमूल्यांकन गर्दै मत दिने पद्धतिलाई आधुनिक लोकतन्त्रको संवद्र्धन, प्रवद्र्धन तथा विकासमा त्यति उपयुक्त मान्न सकिँदैन ।

तसर्थ : राजनीतिक समूहले मतदातालाई सामूहिक निर्णय गर्न सहज रहोस् भन्नाको खातिर आस्थागत विचारको आधारमा आबद्ध रहेका जनप्रतिनिधिहरूलाई सम्बद्ध राजनीतिक समूहको छाता संगठनभित्र समाहित रहने अवसर प्रदान गर्दै सोही आधारमा मत माग्ने पद्धतिको विकास गरेकै कारण लोकतान्त्रिक राज्य व्यवस्थामा व्यक्तिभन्दा दलीय अस्तित्व सधैँ नै उँचो रहन गएको मात्र हो । विशेषगरी आज देखिएको राजनीतिक असन्तुष्टिलाई द्वन्द्वात्मक प्रवृत्तिगत विशेषताको उदयको रूपमा लिर्दै आमूल परिवर्तनको सुधारतर्फ निर्देश गरेको बुझनु जरुरी छ । जसलाई चेतनशील नागरिक समाजको लोकतन्त्रप्रतिको सचेत व्यवहारको रूपमा लिन सकिन्छ ।

नागरिक समाजले लोकतान्त्रिक शक्तिलाई रुष्ट व्यवहार देखाउनुको प्रमुख कारकतत्वको रूपमा राजनीतिक जनचेतनाको अभावमा सम्बद्ध पक्षको राजनीतिक दूरदर्शितालाई समयसापेक्ष आत्मसात् गर्न नसक्नु अथवा पूर्ण राजनीतिक क्षमतावान् रहँदारहँदै पनि आफ्नो क्षणिक रुष्टताको प्रतीतस्वरूप चुनावका माध्यमबाट बालेनमुखी प्रवृत्तिलाई विजयको जयमाला पहिल्याएको मात्र हुन् भन्ने तथ्यलाई गहनरूपमा अध्ययन गर्दै निचोडमा पुग्न जरुरी हुन्छ ।

कहिलेकाहीँ जनमतले गरेका निर्णयहरू कालातन्तरमा गई सच्याउनुपर्ने अवस्था तयार हुन सक्दछ । प्रस्तुत परिस्थितिको नियती भोग्नुपर्ने अवस्था तयार भए मुलुकमा अत्यन्तै ठूलो राजनीतिक दुर्घटनाको सम्भावनाको पूर्वसंकेतको रूपमा प्रस्तुत व्यवहारलाई लिन सकिन्छ । यद्यपि यथार्थपरक नतिजा हेर्नको लागि भने आगामी संसद्को निर्वाचनसम्म अवश्य पनि प्रतीक्षारत रहनुबाहेक अर्को विकल्प हामीसामु रहेको पाइएन । किनभने उक्त समयमा बालेनप्रवृत्ति वा दलीय प्रतिनिधित्वमध्ये कस्को पल्ला भारी रहन्छ भन्ने तथ्यले नेपालको राजनीतिमा भिन्नै अर्थ राख्ने देखिन्छ । प्रस्तुत राजनीतिक अवस्था नेपालको मात्र नभई विश्वका अन्य मुलुक जहाँ राजनीतिक जनचेतनाको अभाव रहन्छ त्यहाँ सधैँ नै पुनरावृत्तिको सम्भावनाको खतरा पनि त्यतिकै मात्रामा रहेको पाइन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया