Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगगुणस्तरीय जीवनमा शाकाहारी खानाको महत्व

गुणस्तरीय जीवनमा शाकाहारी खानाको महत्व


काठमाडौं । मानिसलाई स्वस्थ्य राख्ने प्रमुख आधार नै खाना हो । खाना स्वस्थ, सन्तुलित हुनुपर्दछ तब मात्र हाम्रो स्वस्थ्य गुणस्तर हुन्छ । गुणस्तर स्वास्थ्य बनाउनको लागि तागत वा शक्ति दिने खानेकुराको त्यतिकै महत्व हुन्छ । सो को लागि शाकाहारी खानाको भूमिका महत्वपूर्ण हुन्छ । जस्तैः गहुँ, मकै, कोदो, तितेफापर, जुनेलो, जौ, सखरखण्ड, तरुल, पिँडालु, गिठ्ठा, आलु, चामल, फलफूललाई स्वस्थ्य भोजनको रुपमा लिन सकिन्छ । शरीरको तामक्रम र सन्तुलन बनाई राख्न, मांशपेशी बलियो बनाउन, शरीरको मुख्य अंगहरू (मृगौला, मुटु, फोक्सो, मष्तिष्क)लाई निरोगी राख्न एवं विभिन्न समस्याहरू निराकरण गर्न यी शाकाहारी खाना नै हुन् । स्वास्थ्य समस्याहरू निराकरण गर्न नाथ्रो भएको वा नफलेको अन्नले शरीरको विकासमा सन्तुलनको लागि चाहिने प्रोटिन, भिटामिन विशेष गरेर ‘बी, रगत राम्रो बनाउने तत्व, शरीरबाट काम नलाग्ने बस्तु बाहिर हटाउने र शक्ति प्रदान गर्दछ । तरकारीको रुपमा प्रयोग गरिने आलुबाट भिटामीन सी प्राप्त हुन्छ । यसले घाउ निको पार्न र बलियो बनाउन सहयोग पु-याउँछ ।

खानामा भएको तत्व पचाउन शरीरलाई शक्ति दिन्छ । आलुमा प्रशस्त प्रोटिन हुन्छ जसले शरीरको वृद्धि गर्न र यसलाई सन्तुलित राख्न मदत गर्दछ । कम चिल्लो प्रयोग गरी आलु बोक्रासहित पकाउनाले स्वास्थ्यलाई फाइदा पु-याएको कुरा विभिन्न अध्ययनले जनाएको छ । यसैगरी कोदोमा शरीर विकासका लागि चाहिने उत्तम प्रोटिन पाइन्छ, यसबाट दाँत र हाड बलियो बनाउने क्याल्सियम पनि पाउन सकिन्छ । मानिसलाई ताप वा शक्ति दिने खानाको कमी भएमा दुब्लाउँछ, सो कारणबाट मांशपेशी कमजोर हुनगई जाँगरसमेत निम्न हुन्छ । थकाई छिटो लाग्छ, जाडो भएको महसुस भई जिउ काँप्छ ।

शरीरको विकास र यसलाई सन्तुलित राख्न शाकाहारी खाना मुख्य हो । यो गेडागुडी र अन्य वस्तुबाट प्राप्त गर्न सकिन्छ । मास, भटमास, राजमा, सिमी, गहत, रहर, बकुला, तील, मुगी, मुसुरो, चना, बोडी, केराउ, मस्याङमा प्रशस्त प्रोटिन पाइन्छ । फर्सीको बियाँ, लट्टेको गेडा, ओखर, ज्वानो आदिबाट पनि प्रशस्त शरीर रक्षा गर्ने प्रोटिनको मात्रा पाइन्छ । अतः शरीरको विकास र दीर्घ जीवनका लागि माथि उल्लेखित प्रोटिनयुक्त शाकाहारी खाना खानु पर्दछ । प्रोटिन कपाल, हाड, मांशपेशी र रगतलाई स्वस्थ राख्न आवश्यक तत्व हो । यसले शरीरको मुटु, मिर्गौला र कलेजो कोषहरूलाई करिब दुई हप्तासम्म जीवित राख्न सहयोग गर्दछ । छाला, हाड र मांशपेशीका कोषहरू ६–७ महिनासम्म जीवित राख्दछ ।

प्रोटिनले घाउ छिटो निको गर्न मदत पु-याउँछ । केही प्रोटिनयुक्त खानेकुराले शरीरलाई आवश्यक पर्ने तत्व क्याल्सियम पनि प्रदान गर्दछ । प्रोटिन र भिटामिन खाएनौँ भने खानामा भएको तत्वहरू सबै शरीरले पचाउन सक्दैन र त्यस्ता तत्वहरू दिसामा बगेर खेर जान्छन् । अन्नबाट शरीरलाई चाहिने ७० देखि ९० प्रतिशत प्रोटिन पूर्ति हुन्छ । खानामा प्रोटिन र कार्बोहाइड्रेड समान अनुपातमा हुनु अति महत्वपूर्ण हुन्छ । प्रोटिनयुक्त खानेकुरा शक्ति दिने र भिटामिन दिने खानेकुराहरूसित खायौँ भने शरीरले पूरा मात्रामा खानामा भएको पौष्टिक तत्व पचाउन सक्दछ । त्यसैले विभिन्न किसिमका खानेकुराहरू मिलाएर खानु फाइदाजनक हुन्छ । जस्तैः दालभात, साग, गेडागुडी, दूध, मोही, घिउ फरक–फरक खायौँ भने खानामा भएका पौष्टिक तत्वहरूको सही उपयोग हुँदैन ।

शरीरलाई आवश्यक मात्रामा चाहिने प्रोटिनयुक्त खाना नखाँदा उमेरअनुसार उचाइ बढ्दैन, केटाकेटीहरू ख्याउँटे, दुब्लो र कमजोर हुन्छन् । उनीहरूको छाला पनि बुढो मान्छेको जस्तो चाउरी परेको हुन्छ । कपाल पातलो र खैरो हुन्छ । शरीर सुन्निने पनि हुन्छ । कपाल फुस्रो हुन्छ । कहिलेकाहीँ छालामा दाग पनि देखिन्छ । घाउ भयो वा खटिरा आयो भने निको हुँदैन । घाउ छिट्टै राँक्किने र पाक्ने हुन्छ । अतः प्रोटिनयुक्त खानेकुरामा सबभन्दा असल स्रोतहरू भएको खानेकुरा शाकाहारी खानाबाटै पाइन्छ । जस्तैः भटमास, मह, सागसब्जी राम्रो स्रोतको रुपमा प्रयोग गर्नुपर्ने हुन्छ । दुध, दही शरीर बढाउने प्रोटिनयुक्त उत्तम खानेकुरा हुन । आमाको दुध बच्चाको लागि अमृतसरह हुन्छ ।

यदि आमाले बच्चा गर्भमा छँदा र जन्मेपछि प्रोटिन पुग्दो मात्रामा खान्छिन् भने त्यस आमाको दुध खाने बच्चा पुष्ट र स्वस्थ्य हुन्छ । आमाले मिश्रित खाना सेवन गर्दा आमाको दुध प्रशस्त मात्रमा आउँछ । हाम्रो शरीरलाई आवश्यक पर्ने तत्वहरू गाढा हरियो रंगको तरकारीमा भिटामिन र खनिज पदार्थ हुन्छन् । जसले रोगका किटाणु र सरुवारोग र कमजोरी हुनबाट बचाउँछ । फर्सी, गाजर, बकुला र उमारेको गेडागुडीहरूमा प्रशस्त शरीरलाई आवश्यक पर्ने तत्वहरू हुन्छन् साथै सामान्यतयाः भिटामिन ‘ए’ शरीरको निम्ति अति आवश्यक हुन्छ । शारीरिक विकास, राम्रो आँखा, आँखाको तेज, स्वस्थ्य छाला, बलियो दाँत र हाडहरू बनाइराख्नको लागि भिटामिन ‘ए’ आवश्यक हुन्छ । भिटामिन ‘बी’ले नशासम्बन्धी रोगबाट बचाउँछ ।

भिटामिन ‘सी’ले शरीरका कोषहरू बलियो बनाउँछ । विशेषगरी जोर्नीहरू, मुख र गिजालाई फाइदा पु-याउँछ । यसबाहेक यसले घाउ चाँडो निको हुने र शरीरलाई फलामको मात्रा वृद्धि गर्न पनि मदछ गर्दछ । फलाम भएका खानाले रगत बनाउन सहयोग गर्दछ । क्याल्सियमयुक्त खानाले हाड र दाँत बलियो हुन्छ । बोक्रा वा त्यान्द्रा भएका खानाले दिसा खलास गराउँछ । हाम्रो समाजमा अज्ञानका कारण केही साना बालबालिका र वयस्क व्यक्ति पनि गाढा हरियो सागपात खाँदैनन् अतः गाढा हरियो सागपात नखाएर भिटामिन ‘ए’को कमी हुन्छ ।

भिटामिन ‘ए’ आँखाका लागि अति आवश्यक हुन्छ । यसको कमीले रतन्धो रोग हुन्छ । यस किसिमको समस्या विशेषगरी केटाकेटीमा पाइन्छ । त्यस्तै आँखा ज्यादै दुख्ने समस्या हुन सक्छ । सानो बालक छ भने आँखा मिचिरहन्छ त्यसैगरी आँखामा सेतो थोप्ला देखिन थाल्छ । आँखाको नानी नरम र घाउ भएको हुन्छ । सेतो भागको आकार असाधारण हुन्छ । आँखाको सबै कालो भाग सेतोले ढाक्छ अनि आँखा देख्न सक्दैन र अन्धो हुन्छ । भिटामिन ‘ए’ कमी भएका व्यक्तिलाई केही हप्तासम्म भिटामिन ‘ए’ भएका फलफूल जस्तै गाढा हरियो सागपात, पाकेको फर्सी, आँप, गाजर आदि खुवाउनु पर्छ । यदि यस्तो व्यक्तिलाई प्रशस्त हरियो सागपात दिइन्छ भने केही हप्तामा नै आँखाको समस्या हटेर जान्छ । तर उसले निको नभएसम्म सधैँ हरियो सागपात खानुपर्दछ र जीवनभर हरियो सागपात प्रयोग गर्नु अति उत्तम हुन्छ । गाढा हरियो सागसब्जीमा लौहतत्व पाइन्छ । लौहतत्वको अभावले रगतको कमी हुने रोग लाग्छ । अतः यस्तो खानेकुराहरू खानु स्वास्थ्यको लागि आवश्यक छ ।

यसै सन्दर्भमा शाकाहारीको आयु लामो हुने एक अनुसन्धानले जनाइएको छ । जर्नल अमेरिकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा ७० हजार मानिसमाथि गरिएको अनुसन्धानको निष्कर्षमा भनिएको छ मृत्युदर घटाउन शाकाहरी भोजनले महिलाको तुलनामा पुरुषलाई बढी सहयोग पुग्ने जनाएको छ । अनुसन्धान टोलीको अनुसार शाकाहारी भोजनले मेटाबोलिक सिन्ड्रोम, उच्च रक्तचाप, इमोसिक हर्ट डिजिज, मधुमेहलगायतका कैयौैँ दीर्घ रोगहरू लाग्न कम गराउँछ । सो सिलसिलामा ६० हजारभन्दा बढी बेलायतीमा गरिएको अर्को अनुसन्धानले समेत मांशाहारीको दाँजोमा शाकाहारीलाई कम क्यान्सर हुने देखाएको छ । जसअनुसार अनुसन्धानमा सहभागी शाकाहारीहरू बढी उमेरसम्म बाँच्ने, अधिक शिक्षित र वैवाहिक सम्बन्धमा रहने सम्भावना भएका देखिएको थियो । अल्कोहलमा कम रुचि हुने तथा धुमपान पनि कम गर्ने र उनीहरूले शारीरिक अभ्यस्तमा बढी ध्यान दिएर गुणस्तरीय जीवन हुने अनुसन्धान टोलीले जनाएको पाइन्छ ।

नेपालमा धेरैजसो सुत्केरी आमामा रगतको कमीको रोग हुन्छ । यस कारण उनीहरूले प्रशस्त हरियो सागपातको तरकारी खानु पर्दछ । आमा कमजोर हुनु नै बच्चा कमजोर हुनु हो । बालकहरू र बढ्ने केटाकेटीहरूलाई पनि गाढा हरियो सागपात राम्रो रक्तचापको निम्ति चाहिन्छ । सागपातलाई सफा पानीले राम्रोसँग पखालेर हातले चुन्ने र त्यसलाई पकाउँदा कम मात्रामा चिल्लो पदार्थ र नुन, पिरो हाल्नु पर्दछ । सागलाई धेरैबेर पकाएमा भिटामिन नष्ट हुन्छ । सागपात काट्दा पनि भिटामिन नष्ट हुन्छ । त्यसैले सकेसम्म होसियारी साथ सागपात खानयोग्य बनाउनुपर्दछ । हाम्रो शरीर रक्षा गर्ने शाकाहारी खानेकुरा आँप, हलुवावेद, खुर्सानी, सुन्तला, मेवा, गोलभेँडा, सागपातहरूमा कर्कलो, लट्टे साग, खोसे साग, फर्सीको मुन्टा आदि पर्दछन् । यी फलफूल तथा सागसब्जीमा पनि भिटामिन ‘ए’ प्रशस्त पाइन्छ । यस्तै अम्बा, मेवा, भुइँकटहर, अमिलो जातका फलफूलहरू पर्दछन् । काँक्रो र आलुमा पनि भिटामिन सी पाइन्छ । अतः गुणस्तरीय जीवनका लागि शाकाहारी खाना खाने बानी बसाल्न अति आवश्यक हुन्छ । तब मात्र हरेक वर्ष मनाइने विश्व खाद्य स्वच्छता दिवसको नारा ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’, ‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता’ ले सार्थकता पाउनेछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया